जेट एयरवेजका कर्मचारीको रोदन – मेरा बच्चाबच्चीलाई किनिदिने औषधिको समेत पैसा छैन
कुनै समयमा ११९ वटा विमान राखेर दिनको ६०० भन्दा बढी उडान गर्ने जेट एयरवेजले उडान रोक्ने निर्णय लिएपछि त्यहाँ काम गर्ने १६ हजार कर्मचारीको भविष्य अन्योलमा परेको छ ।
तीमध्ये धेरै कर्मचारीले महिनौंदेखि तलब पाएका छैनन् ।
जेट एयरवेजका लागि बुधवार राति अमृतसरबाट मुम्बईको उडान नै अन्तिम रह्यो र उसले सबै कामकारवाही रोकिएको घोषणा गरिसकेको छ । ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजमा आपतकालीन लगानी आउने स्थिति नदेखिएकाले जेटले इन्धनका लागि तथा अन्य सेवा सञ्चालनका लागि पैसा तिर्न नसकेको भन्दै सबै काम रोकेको हो ।
यसै हप्ताको आरम्भमा एयरलाइनसँग जम्मा सात विमान थिए ।जेट एयरवेजका कर्मचारीले बिहीवार नयाँ दिल्लीको जन्तर मन्तरमा विरोध प्रदर्शन गरे अनि मुम्बईस्थित मुख्यालयअगाडि भेला भए ।
मुम्बईमा जेट एयरवेजको विमानस्थल एजेन्ट २३ वर्षीया जोया शेखले यो महिनाको तलब कुरिरहेको बताइन् । ‘के भइरहेको छ भन्ने कुनै स्पष्ट कुरा थाहा छैन । एयरलाइन व्यवस्थापकले हामीलाई लगानीकर्ताको योजनाको प्रतीक्षा गर्न भनेको छ,’ उनले भनिन् ।
जेट एयरवेजका पाइलटहरूले आफूलाई चार महिनादेखि तलब नदिइएको गुनासो गरेका छन् । नयाँ दिल्लीमा बिहीवार सयौं कर्मचारीहरू युनिफर्ममा भेला भएका थिए । जेटका विमान कर्मचारीले लगाउने पहेंलो ड्रेसमै उनीहरूले प्रदर्शन गरेका थिए । उनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा हस्तक्षेप गर्न अपील गरेका थिए । केहीले ‘जेट एयरवेज बचाऊ, हाम्रो परिवार बचाऊ’ भनी लेखिएका प्लेकार्ड बोकेका थिए ।
‘मेरा बच्चाहरूले औषधि मागिरहेका छन् । हामी कहाँ गएर भीख माग्ने रु हामीले सरकारलाई नभन्ने हो भने कसलाई भन्ने त रु’ जेट एयरवेजका ब्यागेज ह्यान्डलर राजेन्दर कुमारले बिलौना गरे ।
नयाँ दिल्लीस्थित ट्राभल एजेन्टहरूले जेट एयरवेजको काम बन्द हुँदा भारतभित्र र बाहिर जाने फ्लाइटको मूल्य र उपलब्धतामा असर परिरहेको बताए ।
उड्डयन नियमन संस्थाले यात्रुहरूका चिन्तालाई सम्बोधन गर्ने प्रयास गरेको छ । ‘हाम्रो प्राथमिकता भनेको हाम्रो उड््डयन प्रणालीको सुरक्षा, सहजता र सुलभता हो । हामीहरू एयरलाइन्स र विमानस्थलहरूलाई सहयोग गरी टिकटको मूल्य स्थिर र प्रतिस्पर्धात्मक राख्न तयार छौं,’ डीजीसीएले ट्वीट गर्दै लेख्यो ।
जेट संकटमा परेपछि अन्य एयरलाइन्स कम्पनीका लागि अवसर खुलेको छ । जेटले विमान उडाउन छोडेपछि उनीहरूले विमानस्थलहरूमा थप स्लट पाएका छन् । जेटले ओगटेका स्लटहरू अन्य एयरलाइन्सलाई विमान र कर्मचारी संख्याका आधारमा वितरण गरिने नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा बताए ।
यसरी स्लट पाएपछि एयरलाइन कम्पनीले उड्डयन सीजन वा ६ महिनाका लागि त्यो स्लट राख्न पाउँछ र जेट उड्ययन सीजनको अन्त्यसम्ममा बौरियो भने उसले फेरि आफ्नो स्लटमा दाबी गर्न पाउँछ, उनले बताए ।


