प्रधानमन्त्रीज्यू ! मोटरसाइकल चढेर थानकोट आउनुस्, गम्छाले धुलो पुछिदिउँला !!



हाम्रो इकोनोमि

 

‘बुबा गए लाहुर सम्पत्ति प्रशस्तै, खेत लग्यो पहिरोले जस्ताको त्यस्तै ।’ सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओली ज्यू, चन्द्रागिरी नगर बासीलाई यस्तै भएको छ अचेल। साँघुरो सडक र धेरै सवारी व्यवस्थापन गर्न केही वर्ष अघि सुरु भएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकखण्ड विस्तार कार्यले गति नलिँदा अहिले हामीले गज्जबको उपहार पाएका छौं । त्यो हो, धुलोधुँवा र सास्ती।

 

चिल्लो सडकमा हुइँकिनुको सपना छ कताकता? विस्तार भएको सडकमा पानी छर्किने कामसमेत नहुँदा यस क्षेत्रका बासिन्दाले मात्र नभएर दैनिक यही बाटो हुँदै आवतजावत गर्ने हरेकले धुलोको मुस्लो खानुपरेको छ यस्तो मुस्लोले हाम्रो स्वास्थ्य दिनानुदिन खस्कँदो त छँदैछ, सडकका किनारमा व्यवसाय सञ्चालन गर्नेहरुको दैनिकी झनै चौपट बनेको छ। तपाईंलाई हेक्का नै होला, काठमाडौं प्रवेशको सबैभन्दा ठूलो नाका हो, नागढुंगा।

 

काठमाडौंको लाइफ-लाइनको मूल ढोकाबाट दैनिक हजारौं गाडी भित्रिन्छन्। तर, १२.५ किलोमिटर सडक विस्तार कार्य सुरु भएको चार वर्ष बित्नै लाग्दा पनि अवस्था ज्यूँको-त्यूँ छ। २८ महिना भित्रमा काम सम्पन्न हुनु त परै जाओस्, ४५ महिना बितिसक्दा आधा पनि काम सकिएको छैन। २०७२ असार ३१ मा चारवटा कम्पनीलाई ठेक्कामा दिइएको यादै होला नि प्रमज्यू।

 

त्यो याद नभएपनि चाबहिल-जोरपाटी सडकखण्डसँगै कलंकी-नागढुंगा पनि भदौ १५ गतेभित्र कालोपत्र गरिसक्ने गरी दिएको निर्देशन त पक्कै हेक्का होला। छैन भने पनि मैले नै स्मरण गराइदिएँ, साउन १५ गते तपाईं आफैंले सरोकारवाला सबै मन्त्रालयका मन्त्री, सचिव र सम्बद्ध सबै संस्थाका पदाधिकारीलाई बोलाएर सडक मर्मतमा ध्यान दिन र तोकिएको समयभित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएको होइन?

 

वर्षातमा हिलाम्य सडक अहिलेको धुलाम्य भएका छन्। दिउँसै लाइट बालेर सवारी गुडाउनुपर्ने बाध्यता छ। हो प्रमज्यू, चिल्ला सडकमा चिल्ला गाडी चढ्ने तपाईंलाई हाम्रो पीडा थाहा नहोला। हो अब त अत्ति भइ सक्यो। हामी संगठित बनेर सडकमा उत्रन थालेका छौं, सरकारले हाम्रो कुरा सुन्ला की भनेर। मजस्तै ८ बजे सर्टपाइन्ट लाएर कार्यालय हिँडेकालाई बाटोमा अवरोध सिर्जना गर्ने इच्छा मलगायत कसैको पनि छैन।

 

हो, प्रधानमनत्री ज्यू, हामीलाई हेपिएको अनुभव भइ रहेको छ। सुदूरका गाउँ र हामीमा केही फरक छैन। बन्दै गरेको सडक, बुङबुङति उडेको धूलो, खाल्डा खुल्डी केही नयाँ कुरै होइन। दैनिक २५-३० टन भारी बोकेर काठमाडौं बचाउने बाटो हो यो। यो क्षेत्र प्राथमिकतामा नपर्नु गम्भीर कुरा होइन र? हो, धुलो उडेर मान्छे नचिन्ने हुनु, गाडी हिँड्दा खाल्डाखुल्डीले पल्टिएला झैं हुने समस्या सामान्यजस्तै भइसक्यो।

 

यति हुँदा हुँदै तपाईं स्वयम् बसेको राजधानी मुख्य नाका पहिलो प्राथमितकामा पर्नुपर्ने होइन र ? प्रमज्यू, तपाईं त भिभिआइपी । यो बाटोको पीडा भोग्‍नु पर्दैन। तर, तपाईं एकबेला यो बाटो हिँड्नु भएको मौकामा म पनि यही बाटोमा सरर हुँइकिन पाएको थिएँ। साँच्चै, मलाई अरु बेला ४० देखि ४५ मिनेट लाग्ने बाटो १० मिनेटमै पूरा भएको थियो। अचम्म लाग्छ होला है तपाईंलाई?

 

हो, हिँड्नु भएको छ नि? पक्कै छ। हो त नि, तपाईं चिल्ला कारमा चढेर हामीलाई ‘हाइ’ गर्दै हिँड्नु भएको मलाई चाहिँ याद छ । तर, तपाईंलाई कति सजिलो छ। अहिले हामीले दुःख पाएको बेला तपाईंलाई मतलब पनि छैन होला। चुनावको बेला वृद्ध भत्ता दिलाउने आश्वासनले भोट पाउँछु भन्‍ने सोच्नुभएको होला। तर, यो परिस्थिति भोग्दै आएका थानकोटबासीले तपाईंलाई गलत्याएर पठाइदिने सोचिसकें।

 

अझ हेर्नुस् त तपाईंले कल्पना गर्नुभएको चुस्त प्रशासन, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता र विकास कार्यमा गति शीलताका नारामा तपाईंकै कानुनीराजको ठेकेदारले धज्जी उडाइ दिए। भन्छु, प्रमज्यू तपाईंले दिएको निर्देशन पनि यो ठेकेदारले नमान्ने रहेछ। कस्तो अराजक! यही अराजकविरुद्ध प्रदर्शन गर्दा तपाईंले बल प्रदर्शन गर्नु चैँ भएन है। सरकार दुईतिहाइ हो भन्दैमा मनखुसी गर्न त पाइन्न।

 

तर प्रमज्यू तपाईंका उखान टुक्काले देश नबन्ने रहेछ तपाईंलाई एउटा ठेकेदारले त पत्याएन। हो प्रमज्यू, गोजीमा चार पैसा नहुनेले लाखका कुरा नगर्नुस्। आफ्नै देशका बाटो बनाउन सक्नु भएको छैन खाल्डा खुल्डी पुर्न सक्नु भएको छैन धुलो हटाउन सक्नुभएको छैन। रेल र पानीजहाजको बित्थाको सपना देशबासीलाई नदेखाउनुस्। यो मेरो मात्र आवाज होइन, म कुनै राजनीतिक दलको कार्यकर्ता पनि होइन।

 

चुनाव आउँदा ठूलो कुरा, अहिले हाँस्यकलाकार! तपाईंको यो पारा सह्य भएन नि। हो प्रमज्यू, अरु ठाउँको विचार गर्दै गर्नुस् तर सबैभन्दा पहिले राजधानीलाई बचाउनुस्। एकचोटी कलंकी-नागढुंगा सडकमा मोटरसाइकल चढेर हिँड्नुस्। त्यति पनि पर्दैन, सतुंगल देखि गुर्जुधारासम्म पैदल यात्रा गर्नुस्। अब उखान टुक्का हान्न छाडिदिनोस्, मुख्य राजमार्ग मर्मतसम्भार गर्नुस्।

 

एउटा राम्रो ठेकेदारलाई यो खण्ड बनाउने जिम्मा दिनोस्, त्यति पनि पर्दैन यही ठेकेदारलाई कारबाही गर्नुस्। तपाईंजस्तो देश खाएर भेष जान्नु भएकोलाई सम्झाउन म जस्तो आम नागरिकले त के सकौंला। तपाईंले जनताको पीडा बुझ्नुभएको छैन र ? कि सत्तामा पुगेर सबै वाचा बिर्सनुभयो? तपाईंलाई फेरि पनि हाम्रै घरदैलोमा भोट माग्न आउनुपर्दैन र?

 

हामीले जवाफ ठिक्क पारेर राखेका छौं, ओलीज्यू। हो मैले भनिहालें। आधा घन्टा कार्यालय नजानुस्, उद्घाटन गर्न नजानुस्। कार्यकर्ता रिझाउन एकछिन बल नगर्नुस्। देश आधा घन्टाले पछाडी पर्दैन, केही उथपुथल पनि हुँदैन। आधाघन्टा समय निकालेर यो बाटो मोटरसाइकलमा सरर्र हुँइ किनोस्। मुखैभरी लागेको धुलो पुछ्न गम्छा लिएर बाटोमा ठिक्क परेर बसेको हुनेछु।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...