पर्सामा सामूहिक आत्महत्या प्रयास ! एक जनाको मृत्यु, दुई घाइते



हाम्रो इकोनोमि

 

पर्साको जीराभवानी गाउँपालिकामा तीन जना किशोर किशोरीले सामूहिक आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ ।

जसमा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भई भारतको इनर्वा बजारमा उपचार भइरहेको छ । जिराभवानी गाउँपालिका ४ सढीटोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको हो ।

भारतको इनर्वा बजारस्थित डा. अनिल कुमारको क्लिनिकमा उपचार क्रममा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा ल्याइएको छ ।

सोही गाउँकी १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास घाइते छन् ।

उनीहरु भारतको इनर्वा बजारमै उपचार गराई घर फर्किएका छन् ।  उनीहरुले विष सेवन गरेको आशंका गरे पनि पुष्टि भएको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘उनीहरुले विष सेवन गरेको आशंका गरिएको छ, मृतक किशोरीको शव पोष्टमार्टमका लागि वीरगञ्ज ल्याइसकेका छौं । घाइतेहरुको संभवत आज डिस्चार्ज हुन्छ होला’ उनले भने ‘भागेर विवाह गर्न खोज्दा घटना भएको जस्तो देखिन्छ । उनीहरुलाई यता ल्याएपछि थप कुरा खुल्छ । ’

के हो घटना ?

स्थानीयका अनुसार २६ गते सञ्जय दास, राम चौधरीलगायत ५ जना केटाहरु सजिता र मजितालाई लिन उनीहरुको गाउँ गएका थिए । तर उनीहरु मध्ये ४ जनालाई स्थानीयले पक्रेर प्रहरीलाई बुझाए । दुई किशोरीलाई लिएर सञ्जय मोटरसाइकलमा भागेका थिए ।

स्थानीयले दिनभरी खोजतलास गर्दा पनि उनीहरु फेला परेनन् । उनीहरु भारततर्फ भागेर राति मात्रै फर्केको बुझिएको छ । सञ्जय दुई किशोरी सहित आफ्नो घर पुगेका थिए । त्यसपछि उनीहरु बाहिर गएका छैनन् ।

बिहान सञ्जयको आमाले तीनै जना बेहोस भएको थाहा पाइन् । त्यसपछि गाउँलेलाई हार गुहार गरेर उनीहरुलाई उपचारका लागि भारतीय बजार इनर्वा पुर्‍याइयो । सजितालाई चिकित्सकले मृत घोषित गरे । पक्राउ परेकाहरुसँग प्रहरीले सोधपुछ गरिरहेको छ । पक्राउ परेका मध्येका राम चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ ।

घटनाबारे प्रहरीले फागुन २७ गते बिहान ११ बजे मात्रै जानकारी पाएको थियो । त्यसपछि घटनाबारे अनुसन्धानमा खटिएका इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले किशोर किशोरीहरु सुतेको भनिएको कोठामा विष सेवन गरेको पुष्टि हुने कुनै प्रमाण नभेटिएको बताए ।

‘ परिवारले विष सेवन गरेको भनेका छन्, तर विषको बोतल लगायतका कुनैपनि वस्तु कोठामा भेटेका छैनौं’ उनले भने ‘अहिले नै यकीन भन्न सक्ने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौं । ’

सामाजिक सचेतनाको खाँचो

कानुनले विवाहको उमेर २० वर्ष तोकेको भएपनि पछिल्ला दिनमा तराई मधेसका जिल्लामा कम उमेरमै भाग्ने प्रचलन बढी रहको छ । त्यसले गर्दा अभिभावक र प्रहरी प्रशासन हैरान भइसकेका छन्

कतिपय अभिभावकले छोरी भगाउने केटा विरुद्ध मानव बेचविखन, अपहरण तथा शरीरबन्धक र जर्बजस्ती करणीको मुद्धा दर्ता गराउन आउने गरेका छन् । प्रहरीले केटा केटी दुवैलाई झिकाएर अभिभावकको जिम्मा लगाएर पठाएपनि कतिपय किशोर किशोरी पुन भाग्ने गरेका घटना समत भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

समाजमा छोरा छोरीले अन्तरजातिय विवाह, भागी विवाह र प्रेम विवाह हुँदा इज्जत प्रतिष्ठामा आँच आउँछ भन्ने सोच विद्यमान रहेको जानकारहरुको भनाइ छ । अधिवक्ता विनोद कुर्मी समाजमा पछिल्लो समयमा देखिएको घटनाहरु रोक्नका लागि स्थानीय सरकार, अभिभावक र शिक्षकहरु सचेत हुनुपर्ने बताए । विद्यार्थीलाई नैतिक शिक्षा दिनु आवश्यक देखिएको पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...