नारी दिवसको दिन कोमल ओलीले किन मागिन् माफी



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की राष्ट्रिय सभा सदस्य एवम् वरिष्ठ गायिका कोमल ओलीले आफूले बोलेको केही शब्दले जाति समुदायमा पर्न गएको पीडाप्रति दुःख व्यक्त गर्दै क्षमा मागेकी छिन् ।

 

एउटा निजी टेलिभिजनको कार्यक्रममा अन्तर्वार्ताका क्रममा ओलीले ‘आफू मरेपछि डुमै राजा’ भन्ने उखान भनेकी थिइन् । ओलीले टेलिभिजन कार्यक्रममा उखान भनेपछि दलित समुदायलाई होच्याएको भनेर आलोचना भएको थियो ।

 

आलोचना हुनेवित्तिकै सांसद ओलीले आफूले अञ्जानबस, भुलबस सो उखान भनेको भन्दै माफी मागेकी हुन् । दैनिक नेपालले लेखेको समाचारबाट ओलीको आलोचना भएको थियो ।

 

‘मेरो भनाइका कारण आफूलाई चोट पुगेको ठान्नुभएका नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गर्न चाहन्छु– मन नदुखाउनुहोस्, कोमल वली कसैका लागि छुरा बन्ने सोच्दिनँ र म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु’, सांसद ओलीले भनेकी छिन्, ‘त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । मैले प्रयोग गरेको उखानको शब्दले दिने अभिधार्थका कारण कसैलाई चोट पुगेको भए त्यसप्रति म क्षमा याचना गर्छु ।’

 

‘म विश्वस्त छु, अहिले राष्ट्रिय सभा सदस्यको हैसियतले मैले मेरै समाजका समस्याहरूलाई त्यहाँ आवाज उठाउने प्रयास गरिरहेको कुरा तपाईंहरूले बुझ्नु भएकै छ’, ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मलाई विश्वास छ, परिस्कृत र समुन्नत समाज, विकसित र शिक्षित समाज बनाउन मेरा कदममा तपाईंहरूको पनि साथ हुनेछ ।’

 

उनले भनेकी छिन्, ‘हाम्रो समाज विकसित भए हामी सबै खुसी हुन्छौँ, सबैले न्यायको प्रत्याभूति गर्न पाउँछौँ भन्ने मेरो विश्वास छ । यसका लागि हामीले यसअघि पढ्दै आएका, सुन्दै आएका र भन्दै आएका कतिपय प्रसङ्ग अब परिवर्तन गर्नु पर्ने भएको छ । यो प्रक्रिया भनेको अनलर्निङ अर्थात् पुनर्सिकाइको प्रक्रिया हो ।

 

म पनि अनलर्निङको प्रक्रियामा छु, हाम्रो समाज पनि यही प्रक्रियामा छ । हामीले यो प्रक्रिया अझ छिटो उपलब्धिमूलक बनाउनु पर्ने आवश्यकता छ, जसका कारण हिजोका कुविचार, कुव्याख्या तथा नमिठा शब्दहरू, भनाइहरू, उखानहरू, उत्पीडनहरू, समस्याहरु, सोँचहरू, विचारहरू, मानसिकताहरू परिवर्तन हुँदै जाउन् ।’

 

‘यो सन्दर्भ पछिल्लो समय मैले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हुँ’, ओलीले भनेकी छिन्, ‘त्यस कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा परम्परागत लोक उखान प्रयोग गरेकी थिएँ ।’

 

‘सामान्यतः उखानलाई यसले प्रवाह गर्ने अभिप्राय वा व्यग्यार्थ वा लक्ष्यका दृष्टिले मात्र महत्व दिनुपर्छ । नेपाली लोक जीवनमा यस्ता धेरै परम्परागत उखानहरू छन् जसले व्यञ्जनात्मक रूपमा अर्थ दिन्छन्’, वरिष्ठ गायिका समेत रहेकी ओलीले भनिन्, ‘कुनै–कुनै उखानहरूका शब्द तहमा देखिने अभिधार्थले कुनै जाति वा वर्गलाई होच्याउने वा उच्याउने किसिमका भूमिका खेलेको देखिन्छ । त्यसैले बदलिंदो समयमा त्यस्ता उखानहरू प्रयोग गर्दा हामीले विशेष सावधानी अपनाउनु जरुरी छ ।’

 

ओलीले भनेकी छिन्, ‘नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्‍याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पुर्याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो ।’

 

‘विडम्बना ! त्यो आकस्मिक प्रयोगलाई अहिले एउटा ‘इस्यु’ बनाएर ममाथि सामाजिक सन्जालमा प्रहार भइरहेको रहेछ’, उनले भनेकी छिन्, ‘जसले मैले भनेका शब्दहरूबाट आफ्नो मन दुखेको बताउनु भएको छ, उहाँहरूबाटै ममाथि त्योभन्दा बढी असभ्य शब्द प्रयोग भएको सामाजिक सन्जालमा भेटेकी छु । यसबाट मैले निष्कर्ष निकालेकी छु– हाम्रो समाजमा अनलर्निङको प्रक्रिया अझ आवश्यक छ, अझ प्रभावकारी रुपमा अगाडि बढ्नु पर्ने हुन्छ ।’

 

‘अन्त्यमा त्यो उखान प्रयोगको लक्ष्य कुनै समुदायको मर्यादाका आँच पुर्याउनु नभएको र मेरो सबै जाति तथा समुदायप्रति समान उच्चसम्मान रहेको व्यहोरा समेत विनयतापुर्वक अनुरोध गर्दछु’, उनले भनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...