भक्तपुरमा अपहरण, बाबुको हत्या, छोरा बेहोस, चार अपहरणकारी पक्राउ



हाम्रो इकोनोमि

 

 

गाडी र छोरासहित हराएका श्रीमान खोज्न गाडीमै गएकी श्रीमतीले श्रीमानको गाडीसँग आमनेसामने हुँदा स्थिति कस्तो होला ? श्रीमतीले श्रीमानको गाडी रोक्न भन्दा पनि नरोकिएपछि श्रीमतीको अवस्था के होला ?

 

शनिबार भक्तपुरमा यस्तै घटना घटेको छ। महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको घटना विवरणअनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलस्थित आदर्श बस्ने २६ वर्षीय निकेश भुजू आफ्नो चार वर्षीय छोरालाई साथमा बिग्रेको गाडी बनाउन घरबाट निस्कन्छन्।

 

बा ५ च ६३२१ नम्बरको निलो रंगको मारुती गाडी चलाएर बिहान नौ बजे निस्केका निकेश साँझ ६ बजेसम्म घरपरिवारको सम्पर्कविहीन हुन्छन्। श्रीमती सिर्जना भुजूले पटकपटक श्रीमानको मोबाइलमा सम्पर्क गर्छिन्।

 

तर,  सम्पर्क हुँदैन। छोरा पनि साथमा लगेकाले उनलाई छटपटी हुन्छ। आफन्तलाई लिएर सम्भावित ठाउँमा खोजतलास पनि गर्छिन्। कहीं पत्तो नलागेपछि साँझ ६ बजेतिर महानगरीय प्रहरी वृत्तमा श्रीमान र छोरा सम्पर्कविहीन भएको मौखिक उजुरी गर्छिन्।

 

प्रहरीलाई जानकारी दिए पनि श्रीमती सिर्जना चुप बस्दिनन्। दुईजना आफन्तको साथमा गाडी नै लिएर श्रीमान र छोराको खोजीमा भक्तपुर चहार्छिन्। खोज्दै जाने क्रममा संयोगले साँझ पौने सात बजेतिर भक्तपुर नपा ८ लिवालीमा श्रीमानले चलाउने गरेको मारुती भ्यान र सिर्जना चढेको गाडी आमनेसामने पर्छन्। सिर्जनाले हात हल्लाएर मारुती भ्यान रोक्न भन्छिन्।

 

मारुती रोक्दै नरोकी लिवालीको बस्तीभित्र भगाइन्छ। मारुतीको पिछा गर्ने क्रममा गाडी रोकेर चारपाँच जना अज्ञात व्यक्ति भाग्छन्। सिर्जनाले हत्तपत्त गाडी खोलेर हेर्दा आफ्ना श्रीमान निकेश र छोरा बेहोस अवस्थामा भेट्टाउँछिन्। तत्काल प्रहरीलाई खबर गरेर उनीहरुलाई भक्तपुर अस्पताल पुर्‍याइन्छ। चिकित्सकले निकेशलाई मृत घोषणा गर्छन्। चार वर्षीय छोरा भने सकुसल छन्।

 

शंकास्पद चार पक्राउ
प्रहरीले उक्त घटनामा संलग्न भएको आशंकामा शनिबार र आइतबार गरी चारजनालाई नियन्त्रणमा लिएको छ।

 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका ८ बस्ने २५ वर्षीय सुमन बाला, दाङको हापुरे गाउँपालिका ४ बस्ने १९ वर्षीय भुपबहादुर रोका, सिन्धुपाल्चोकको मार्मिङ गाउँपालिका १ ट्याङथली घर भई हाल चाँगुनारायण नपा ९ ताथली बस्ने २६ वर्षीय  किरण श्रेष्ठ र चाँगुनारायण नपा ९ ताथलीमै बस्ने २१ वर्षीय सुकु भन्ने राज बनमालालाई पक्राउ गरिएको हो।

 

उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखिएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको परिसरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...

प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...