अमेरिकामा ५ हजार डलरको कमाइ छाडेर आएका युवा नेपालमा दिनमै डेढ लाखसम्म कमाउछन



हाम्रो इकोनोमि

 

 

अमेरिकामा मेकानिकल इन्जिनियरिङ उत्तीर्ण युवाको योजना के हुन सक्छ ? भरसक अमेरिकामै राम्रो जागिर खोज्ने

। जिन्दगी उतै ‘सेटल’ गर्ने । कास्की घान्द्रुकका राहुल क्षत्री भने गाउँ फर्किए । बुबाको होटलमा भान्से बने ।

घान्द्रुक–घोरेपानी–पुन हिल पदमार्गमा पर्ने टाडापानीमा ८ होटल छन् । तीमध्ये होटल पानोरामा प्वाइन्ट राहुलको परिवारले चलाउँछ ।

उनी होटलमा खाना बनाउँछन् । पर्यटकसँग अर्डर लिन्छन् । वेटर आफैं बन्छन् । फोन उठाएर ‘बुकिङ’ लिन्छन् । भेटेजति काम गर्छन् । २८ वर्षीय राहुल इन्जिनियरिङ पढेर पनि होटल सम्हादै आएका छन् ।

घान्द्रुक मेलाचेका उनले एसईईसम्म पर्वतको कुश्मामा पढे । पोखराबाट विज्ञानमा ‘ए लेभल’ सकाए । उच्च शिक्षा अध्ययन गर्न विदेश नै जाने साथीसँग सल्लाह भइरहेको थियो ।

अस्ट्ेरलिया, न्युजिल्यान्ड र अमेरिकामध्ये एक देश जाने उनको इच्छा थियो । दुई वर्षपछि अमेरिकाको भिसा लाग्यो । इदाहो स्टेट युनिभर्सिटीमा ५० प्रतिशत छात्रवृत्ति पाएर मेकानिकल इन्जिनियरिङमा स्नातक गरे ।

साढे ५ वर्ष अमेरिका बसेपछि उनलाई लाग्यो, ‘अब नेपालमै फर्किन्छु ।’ उनले आफ्नो होटलमा राम्रो कारोबार भएको देखेका थिए । पर्यटकसँग बोल्न पाउँदा उनलाई रमाइलो लाग्थ्यो ।

अन्नपूर्ण र माछापुच्छ्रे हिमालको छाया, गाउँका टारी खेत, पाखापखेरा खुब सम्झिए । बुबालाई नेपाल नै फर्किने योजना सुनाए । बुबाले पनि नाइँनास्ती गरेनन् । ६ महिना भयो उनी नेपाल फर्किएका ।

होटलमा पाए जति काम गर्नु उनका दैनिकी बनेको छ । ‘यहाँ छरछिमेक, आफन्तले अमेरिका छोडेर किन आइस् भने गाली गर्छन् कि जस्तो लागेको थियो,’ उनले भने, ‘तर, त्यस्तो भएन । धेरैले सकारात्मक रूपमा लिनुभयो ।’ उनी स्वयंलाई पनि यहाँ आएकोमा कुनै पछुतो छैन । अमेरिकामा भन्दा गाउँकै होटलमा बस्दा कमाइ र सन्तुष्टि बढी भएको उनको अनुभव छ ।

‘उहाँ कमाएअनुसार खर्च हुन्छ,’ उनले भने, ‘५ हजार डलर महिनाको कमाइ छ भने कर, स्वास्थ्य बिमा, खाना, फ्ल्याट भाडा, गाडीको करमा २५ सय सकिन्छ ।’ जोगाउन जाने नेपालको कमाइले जित्ने अनुभव उनी सुनाउँछन् ।

हुन पनि उनको होटलमा पर्यटकीय मौसममा दिनमै एकदेखि डेढलाख रुपैयाँसम्म कमाइ हुन्छ । गाउँ फर्किनुको पछाडि अर्को एउटा कारण पनि उनले खुलाए । अन्नपूर्ण गाउँपालिका ११, मेलाचेमा गाउँको लगभग आधा जग्गा राहुलको परिवारको नाममा छ ।

तर ती जमिनको उपयोग हुन सकेको छैन । बाझो जग्गामा विदेशी जातका फलफूल खेती गर्ने उनको योजना छ । एभाकाडो र किबीको खेती गर्ने, उन्नत जातको बाख्रा पाल्ने, अर्गानिक तरकारी खेती गर्ने सोच बनाएका छन् । उनले भने, ‘आफूमात्र नभई अरू गाउँलेलाई पनि व्यावसायिक कृषिमार्फत सक्षम बनाउने योजना छ ।’ अमेरिका छँदा उनले पानी किनेर तरकारी खेती गरेर पनि पैसा कमाउने देखेका छन् । गाउँमा प्रशस्त पानी हुँदा पनि उपयोग हुन नसकेको देख्दा कहिलेकाहीँ विरक्तिन्छन् ।

अमेरिका बस्दा गाउँघरको खानालाई उनले खुब ‘मिस’ गरे । वनको टुसा, निगुरो, सागपात खाएर हुर्केका उनलाई अमेरिकाको प्रशोधित खानाले उतिसारो तानेन । पदयात्रामा आउने पर्यटकलाई गाउँकै परिकार खुवाउँदा उनीहरूको मुहारमा झल्किने खुसीले अमेरिका बिर्साइदिने उनी सुनाउँछन् ।

उनलाई गाउँमै फर्किन उनका बुबाले सहयोगी भूमिका खेले । गाउँका युवा विदेश पलायन हुन थालेपछि कामदार अभाव भएको बेला छोरालाई गाउँमै बोलाए । छोरालाई अमेरिकासम्म पढ्न पठाउन उनले कम्ता संघर्ष गरेका थिएनन् । ३५ वर्षअघि उनी पर्यटकको भारी बोकेर अन्नपूर्ण आधार शिविर ओहोरदोहोर गर्थे ।

बाटोमा पर्ने होटलले मनग्गे कमाएको उनले देखे । तीन वर्ष भारी बोकेपछि उनले आफ्नै होटल खोल्ने सोच बनाए । घान्द्रुक–घोरेपानी–पुनहिल पदमार्गमै पर्ने देउरालीमा होटल खोले । १८ वर्ष चलाए । पर्यटक ओहोरदोहोर गर्दा कि टाडापानी कि घोरेपानी बास बस्न पुग्ने गरेपछि उनलाई स्थान परिवर्तन गर्न मन लाग्यो । देउरालीको होटल ज्वाइँ छोरीलाई बेचे । टाडापानीकी सीता गुरुङसँग होटल खरिद गरे ।

होटलकै कमाइ उनको परिवारको जीवनस्तर फेरिएको छ । पोखराको लामाचौरमा घर बनाएर माइली छोरीलाई राखेका छन् । कान्छी छोरी न्युजिल्यान्डमा अध्ययन गर्छिन् । श्रीमती र कान्छा छोरा होटलमै खटिन्छन् । आठवटा भैंसी पालेका छन् । अर्गानिक तरकारीको आफ्नैं बगैँचा छ । तीनजनालाई रोजगारी दिएका छन् । बुबाको मिहिनेत देखेका राहुल उनकै बाटोमा छन् ।

लेकसाइडमा पनि छिट्टै होटल खोल्ने योजना बनाएका छन् । इन्जिनियरिङ पढाको अनुभव अप्रत्यक्ष रूपमा प्रयोग भइरहेको उनी बताउँछन् । कमाइ र बचतबीच सन्तुलन मिलाउन सक्ने हो भने युवा विदेशिनु नपर्ने उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...