कसैलाई नपरोस यस्तो आपत, घर जलायो दैवले, छोरी जलाए पापीले (सक्दो शेयर गरौ)



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरका देवनारायण रसाइलीलाई आगोले घर खरानी भएको अस्ति जस्तो लाग्छ । तर एक महिना भइसक्यो । आगोको पीडा बिर्सन नपाउँदै उनको परिवारमा अर्काे वज्रपात पर्‍यो— छोरीलाई बलात्कारपछि जलाइयो । नौ वर्षीया कलिली छोरी रेश्माको  जलाएर बीभत्स हत्या गरे, पापीहरूले ।

 

९० वर्षीया हजुरआमा सूर्यमायाले जब नातिनीको हत्या भएको थाहा पाइन्, उनी मूच्र्छा परिहालिन् । रेश्मा हत्याका कारण सूर्यमाया मात्र होइन, उनको परिवार, नातागोता, इष्टमित्र पनि गहिरो शोकमा छन् । घरमा रुवाबासी चलेको छ ।  चुलोमा आगो बलेको छैन ।

 

‘राम्ररी संसार देख्न नपाउँदै नातिनीको इज्जत लुटेर अपराधीले जलाई मार्‍यो’, सूर्यमायाले भनिन््, ‘कुन पापीको नजर लाग्यो, थाहा भएन । विवाहमा नाच्दै गरेकी मेरी नानीलाई उखुखेतमा  लगेर मारेर फालिदियो ।’

 

रेश्माको बीभत्स हत्याबारे शनिबार सुनाउँदै गर्दा सूर्यमाया नातिनीलाई सम्झिएर भक्कानिइन्। गला अवरुद्ध भयो । छिमेकीको वैवाहिक उत्सवमा बुधबार अबेरसम्म नाच्दै गरेकी स्कुले बालिका रेश्माको शव बिहीबार बिहान जलाइएको अवस्था गाउँलेले फेला पारेका थिए । रेश्माको खास नाम दितीया हो । तर, उनलाई परिवारले माया गरी रेश्मा भन्थ्यो ।

 

बलात्कारपछि जलाइयो

‘नाचिरहेकी रेश्मालाई कसैले उठाएर उखुबारीमा लगेर बलात्कार गर्‍यो ।  बालिकाले कुरा खोलिदिने डरले कुटेर हत्या गर्‍यो । प्रमाण नष्ट गर्न पापीहरूले उनको लासै जलाइदियो’, बालिकाका काका देवराजले भने, ‘निर्मम तरिकाले अवोध बालिकाको हत्या भएको छ । हामी कोही सुरक्षित छैनौं । घाँस–दाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’ रेश्माको घर धनुषाको ढल्केवर चोकदेखि चार किलोमिटर उत्तर–पूर्वमा पर्छ । बालिकाको हत्या भएको चार दिन बितिसक्दा पनि प्रहरीले हत्यारालाई पक्रन सकेको छैन । दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै महिला अधिकारकर्मीले शनिबार सडकमा प्रदर्शन गरे ।

 

एक्ली सन्तान

रेश्माको परिवारमा बुबा देवनारायण र हजुरआमा सूर्यमाया थिए । तीन वर्षकै उमेरमा रेश्माकी आमा पार्वती पोइला गइन् । उनको लालनपालन हजुरआमा र काकी मीराले गर्थे । प्रस्ट बोल्न नसके पनि रेश्मा पढ््नमा तेज थिइन्् । घरनजिकै राष्ट्रिय आधारभूत विद्यालय कक्षा दुईमा पढथन्् । बुधबार छिमेकी सुमित्रा थापाकी छोरी मन्दिराको विवाह थियो । गाउँले सबैलाई बिहेभोजमा निम्तो थियो । महोत्तरीको गौशाला रामनगरबाट जन्ती आएका थिए ।

 

परिवारमा बज्रपात

बुवा देवनारायण सुस्त मनस्थितिका छन् । उनको एक मात्र छोरी हुन्् रेश्मा । छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना बुनेका थिए उनले । सात वर्षअघि श्रीमतीले छाडेर गए पनि उनले छोरीको मुख हेरेर अर्को विवाह गरेनन् । लगत्तै बुवा कृष्णवीरलाई गुमाए । एक महिनाअघि उनको घर आगलागीबाट खरानी भयो । अन्नपात, लत्ताकपडा, नगद जल्यो । घर जलेपछि देवनारायण भाइको घरमा बस्थे ।  ओत लाग्ने सानो घर थियो त्यो पनि जल्यो । बिरामी पर्दा पानी तताएर खुवाउने छोरी पनि छैनन्् उनीसँग ।

 

हजुरआमा सूर्यमायाको बुढेसकालको साहारा थिइन् रेश्मा । बालिकाले हजुरआमालाई खाना खुवाउने, लुगा धोइदिने, पसलबाट सामान किनेर ल्याइदिने गर्थिन् । ‘अब यो बूढीआमाको स्याहार कसले गर्छ, पानी ल्याएर खान कसले दिन्छ’, हजुरआमाले भनिन्् । सात वर्षअघि हजुरआमाको काखमा सुत्दा अतालिएर रेश्माले खुट्टा फाल्दा उनको आँखामा लागेको घाउ अझै निको भएको छैन ।

 

‘नाच्न उनलाई औधी मन पर्थ्यो’, रेश्माकी काकी मीराले भनिन्, ‘हामी सबै विवाहको भोज खाएर घर आयौं । उनी डिजे बाजामा साथीहरूसँग अबेर रातिसम्म नाच्दै थिइन् । घर आइहाल्छन् भनेर सुतिहाल्यौं ।’

 

बिहीबार बिहानसम्म घरमा नआएपछि परिवारजनले उनको खोजी गर्न थालेको थियो । केही समयपछि गाउँ नजिकैको उखुबारीमा लास फेला परेको खबर आयो । परिवारजन पुग्दा उनीहरूले रेश्माको आधा जलेको शरीर देखे । शरीरमा लगाएको सबै लुगा जलिसकेको थियो ।

 

उनले लगाएको स्वेटरको केही अंश बाँकी थियो । जलेको स्वेटरकै आधारमा शव रेश्माकै हो भनेर परिवारजनले पुष्टि गरेका थिए । खेत जोत्न गएकाहरूले उखुबारीमा जलेको शव देखेपछि प्रहरीमा खबर गरेको मिथिला नगरपालिका—३ का वडासदस्य उमेशजंग गजमेरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...