धुर्मुस–सुन्तली र सरकारले बनाउने रंगशालाको नाम एउटै



हाम्रो इकोनोमि

 

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को चर्चा सर्वत्र छ । रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रममा सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली) मलेसियामा छन् ।

जनसहयोगबाट क्रिकेट रंगशाला बनाउने प्रयासको धेरैले तारिफ गरेका छन् तर, रंगशालाको नाममा विवाद देखिएको छ ।

‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नाममै सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७५/०७६ को कार्ययोजनामा नै यो रंगशाला समावेश गरेर बजेटसमेत विनियोजन भइसकेको छ ।

यही नाममा धुर्मुस सुन्तली फाउण्डसेनले अर्को रंगशाला बनाउँदा कानूनी र व्यवहारिक रुपमा अप्ठ्यारो देखिन्छ ।

राखेप सदस्य सचिव केशवकुमार विष्टले बजेटसमेत विनियोजन गरिसकेकाले यही नाममा रंगशाला बनाउने बताए । उनले भने, ‘हामी लामो समयदेखि रंगशाला निर्माण प्रक्रियामा अघि बढेका हौं र यही नाम रहन्छ ।’

धुर्मुस सुन्तली फाउन्डेसनले युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग समन्वय नगरेको उनको आरोप छ । ‘सरकार पहिल्यै अघि बढिसकेको छ, उहाँहरुले हामीसँग समन्वय गर्न पथ्र्यो । अध्ययन गर्नुपथ्र्यो,’ विष्टले भने ।

तर, क्रिकेट रंगशालाको विषयमा फाउण्डसेनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले पटकपटक खेलकुदमन्त्री जगत विश्वकर्मा र सदस्यसचिव विष्टसँग बारम्बार छलफल गरेका थिए । फिल्ड भिजिटमा विष्ट पनि गएका थिए । तर, अहिले उनी यो नाम सरकारले पहिल्यै बुक गरेको बताउँछन् ।

विष्टले थपे, ‘खेलकुदको सर्वाेच्च निकाय भनेको राखेप र खेलकुद मन्त्रालय हो । सम्बन्धित निकायसँग समन्वय नगरिकन जाँदा यस्तै खालका समस्याहरु उत्पन्न हुन्छन् भन्ने कुरा उहाँहरुले बुझ्नुपर्थ्यो ।’

एउटै नामले चाहिँ कत्तिको अप्ठ्यारो पर्छ ? भन्ने प्रश्नमा सदस्यसचिव विष्ट भन्छन्, ‘सकेसम्म नाम नजुध्दा राम्रो ।’

सरकारको पुरानै योजना भएको कारण कुनै पनि हालतमा नाम परिवर्तन नुहुने राखेपका सदस्यसचिव विष्ट बताउँछन् । ‘उहाँहरु आधिकारिक रुपमा आउनु पर्‍यो नि । उहाँहरुले समन्वय गर्नुभयो भने एउटा विधि खोजिएला । होइन भने हामी आफ्नो नाममा अघि बढ्छौं’ उनले भने ।

रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ पनि सरकारले बनाउन लागेको रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नै रहने बताउँछन् । भन्छन्, ‘सरकारले नाम पहिचान गरेर सैनामैना नगरपालिकामा रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको हो ।’

तर नामले मात्र खासै समस्या नआउने अध्यक्ष गुरुङ बताउँछन् । ‘नाममा भन्दा पनि काममा राम्रो हुनुपर्छ । राज्यले गर्नुपर्ने काम धुर्मुस सुन्तलीले गर्न खोज्नुभएको छ । उहाँको योगदानलाई कदर गर्नुपर्छ’ उनी थप्छन्, ‘हामीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला–रुपन्देही’ हुन्छ, उहाँहरुले बनाउने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला– चितवन’ राखे फरक पर्दैन ।’

सरकारले बनाउने रंगशाला कस्तो ?

रुपन्देहीको सैनामैना नगरपालिकामा सरकारले बनाउन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला पनि बहुउद्देश्यीय हुनेछ, जहाँ बिभिन्न खेलका खेलकुद गतिविधि हुनुका साथसाथै कभर्डहल र खेल मैदानहरु हुनेछन् ।

करिब १७ विघा जमिनमा फैलिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सुरुवाती समयमा करिब १३ हजार दर्शक क्षमताको हुनेछ । त्यसपछि यसको क्षमता बृद्धि गर्ने सदस्यसचिव विष्ट बताउँछन् ।

सरकारले चालु आर्थिक वर्षमा यो रंगशाला निर्माणको लागि जम्मा ३० लाख बजेट विनियोजन गरेको छ । यो बजेट रंगशालाको डीपीआर निर्माण गर्न मात्रै छुट्याइएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘बहुउद्देश्य गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डीपीआरको लागि बजेट विनियोजन भएको हो । डीपीआर तयार भएपछि रंगशाला निर्माणको काम अघि बढ्छ ।’

१६ माघमा धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणको सम्झौता हँुदा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुदमन्त्री विश्वकर्मा पनि उपस्थित थिए । तीन अर्ब लागतमा २५ हजार दर्शक क्षमताको रंगशाला बन्नेछ ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

    नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? अब गाडी किन्नका लागि कर्जा...

कांग्रेसका नेता शेखर कोइरालापनि देउवा गुटमा

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला साउन २९ गतेबाट सुरु हुने...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरु

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा...

देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...