भेनेजुएला प्रकरण, प्रचण्ड र ओलीको जुहारी, पार्टी एकतामा शंका
भेनेजुएला प्रकरण प्रचण्ड र ओलीबीच जुहार चलेको छ । दुई अध्यक्षबिच एक आपसमा चिसो बढेको छ ।
प्रचण्डको वक्तव्य चिप्लिएकै होः प्रधानमन्त्री
नेपाली राजनीतिमा ‘भेनेजुएला प्रकरण’ अझै गहिरिने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका अर्का अध्यक्ष प्रचण्डले जारी गरेको विज्ञप्तिप्रति खुला असन्तुष्टी जनाउँदै मुख खोलेका छन् ।
टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’मा सोधिएको प्रश्नको जवाफ दिने क्रममा ओलीले ‘आफू नेपालमा भएको भए भेनेजुएलाबारे त्यस्तो विज्ञप्ति नआउने’ प्रतिक्रिया दिए । उनले वक्तव्यमा ‘अलिकति स्लीप भएको’ बताए । प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड भ्रमणमा रहेका बेला प्रचण्डको विज्ञप्ति आएको थियो । त्यसको भोलिपल्टै नेपाल फर्केका ओलीले बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका थिए ।
जनतासँग प्रधानमन्त्री कार्यक्रममा प्रस्तोताले अन्तिममा भेनेजुएला प्रकरण कोट्याएका थिए । प्रधानमन्त्रीले लगभग साम्य हुन लागेको विषयलाई थप गिजोल्ने गरी जवाफ दिए । प्रधानमन्त्री ओलीलाई सोधिएको थियो, ‘हिजो अमेरिकी राजदूतलाई भेट्नुभयो, त्यसमा वक्तव्यको बारेमा छलफल भयो कि भएन ?’
प्रधानमन्त्रीले भने, ‘स्वभाविकरुपमा यो प्रसंग पनि चल्यो । जुन वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ यो त्यस्तो जरुरी छैन । अलिकति स्लिप भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लो दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन । त्यस्तो जरुरी विषय थिएन त्यो । र, जुन भाषा प्रयुक्त भयो, त्यो उपयुक्त अलि भएन । त्यसले एउटा तरंग ल्यायो ।’
आफ्नै पार्टीका अर्का अध्यक्षको विज्ञप्तिबारे ओलीले अगाडि भने, ‘कोही एकजना साथीले एउटा वक्तव्य दिनुभो । तर, त्यसकै पछाडि देश-देशका बीचका सम्बन्ध अडेका हुँदैनन् । त्यही सुरुवात वा अन्त्य होइन । स-साना घटना कहिले जानेर नजानेर गर्दै जाँदा हुन पनि सक्छन् । त्यस्तै कुरालाई लिएर केही लाइनको एउटा वक्तव्य… युद्धको घोषणा त गरिएको छैन त्यहाँ ।
अमेरिका यत्रो ठूलो देश, विशाल देश र सवल देश । सानो चिजले छुँदा पनि प्राणै जाने खालका स-साना जीवनहरु हुन्छन् । तर, विशाल जनावरको टाउकोमा केही बस्यो भने थाहा पाउँदैन उसले । त्यत्रो देशले यस्तो स-साना कुरामा अल्झिनु वाञ्छनीय हुन्न ।’ सोही क्रममा प्रधानमन्त्रीले हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई भारतको भूभाग ठानेको भनेर आएका समाचारका विषयलाई पनि छुन भ्याए ।
प्रधानमन्त्री ओलीले ट्रम्पको नाम नलिइ भने, ‘आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला । त्यस्तै चित्त दुखाउने कुरा हो भने हामीजस्तो सानो देशलाई अर्को देशको अंग होइन र भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ? अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन नपाउने, ठूलो भयो भने धेरै चित्त दुखाउनुपर्ने हो र ? त्यसकारण यस्ता स-साना स्लीप भएका कुराहरु… ठूलाहरुका पनि स्लीप हुन्छन्, हामी देखिरहेका छौं, भइरहेका छन् ।
अरुका पनि स्लीप हुन सक्छन् । त्यसर्थ हामीले तत्सम्वन्धमा आफ्नो दृष्टिकोण अझै स्पष्ट पारिरहेका छौं । जस्तो मान्छेले भयावह चित्रण गर्न खोजेका छन् । त्यस्तो होइन । सम्वन्ध सप्रिएको छ । सप्रिँदै जान्छ ।’
त्यसपछि प्रधानमन्त्रीलाई प्रस्तोताले सोधे, ‘यदि तपाईं नेपालमै हुनुभएको भए यस्तो विज्ञप्ति आउँथ्यो ?’प्रधानमन्त्रीले उत्तर दिए, ‘आउने थिएन, स्वभाविकरुपमा । हाम्रा सुस्पष्ट नीतिहरु छन् । स्थिर नीतिहरु छन् । त्यसकारणले गर्दा त्यस्तो हुने थिएन । मैले भने नी एउटा त्यो अलिकति स्लीप भएकै हो । त्यसैमा अल्झिराख्नु वाञ्छनीय हुँदैन ।’
सचिवालयले बोलिसक्यो, व्यक्तिको अर्थ छैन : प्रचण्ड
भेनेजुएला प्रकरणलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच जुहारी चलेको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली विदेशमा रहेका बेला प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै वक्तव्य दिएका थिए । यसले अमेरिका रुष्ट भएको छ ।
पछिल्लो पटक अमेरिकी राजदूतलाई भेटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डको वक्तव्य चिप्लिएको अभिव्यक्ति दिए । तर, भोलिपल्ट प्रचण्डले त्यसमा काउन्टर दिए । सचिवालयले वक्तव्य दिइसकेकाले व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डले बताएका छन् ।
चितवन पुगेका प्रचण्डलाई सञ्चारकर्मीहरुले प्रधानमन्त्रीले त तपाईंको वक्तव्य चिप्लिएकै हो भन्नु भएको छ नि भन्ने प्रश्न सोधेका थिए । जवाफमा उनले भने, ‘प्रधानमन्त्रीजीले कुन सन्दर्भमा कसरी भन्नुभयो मैले हेरेको छैन । तर, प्रधानमन्त्रीजीसहित बसेको सचिवालय बैठकले त्यही स्पिरिटमा वक्तव्य जारी गरिसकेपछि व्यक्तिले कसले के भन्छ त्यसले अर्थ राख्दैन ।’
स्वतन्त्र, सावभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरी हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले राजनीतिक वक्तव्य दिएको उनले स्पष्ट पारे । परराष्ट्र मन्त्रालयबाट जारी भएको वक्तव्य पनि त्यही स्परिटको भएको उनले बताए ।
आफ्नो वक्तव्यमा अडिग हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाई फसाइयो भन्यो प्रचण्डले भन्ने जस्ता कुरा आएपछि सचिवालयले वक्तव्य जारी गरेर त्यो होइन, पार्टीको तर्फबाट जे वक्तव्य आयो, सरकारको तर्फबाट जे वक्तव्य आयो, त्यही आधिकारिक हो, त्यही नै सही हो भनेर प्रष्ट पारेको छ ।’ सचिवालयले नै वक्तव्य जारी गरेपछि व्यक्तिले के भन्छ, त्यसको अर्थ नरहने प्रचण्डको दाबी छ ।
नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएला प्रकरणले नेपाल-अमेरिका सम्बन्ध नविग्रने समेत दाबी गरे । ‘सम्बन्ध बिग्रिएकै चाहिँ होइन । एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्र, त्यहाँका पार्टी र नेताहरुले राजनीतिक पोजिसनबारे स्वनिर्णय गर्छन् । त्यो अधिकार यूएन चार्टरले पनि दिएको छ,’ उनले भने, ‘हामीले पनि त्यही प्रयोग गरेको मात्र हो ।’
संयुक्त वक्तव्यको विरोध
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रसंघ, युरोपेली युनियन र सात देशले जारी गरेको संयुक्त वक्तव्यको भने विरोध गरेका छन् ।
प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशमा नभएको बेलामा यसरी वक्तव्य आउनु कूटनीतिक मर्यादाले पनि उपयुक्त नभएको दाबी गर्दै उनले भने, ‘शान्ति प्रक्रियामा केही समस्या छैन । बाँकी कामहरु अगाडि बढाउन दलहरुबीच सहमति छ । ऐन संशोधनको तयारी छ । छिमेकी, अमेरिका, युरोपसँग पनि कुरा भएको छ ।’
स्वतन्त्र, सावभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिरी हस्तक्षेप नहोस् भन्ने उद्देश्यले आफूले राजनीतिक वक्तव्य दिएको उनले स्पष्ट पारे । परराष्ट्र मन्त्रालयबाट जारी भएको वक्तव्य पनि त्यही स्परिटको भएको उनले बताए ।
आफ्नो वक्तव्यमा अडिग हुनुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘मलाई फसाइयो भन्यो प्रचण्डले भन्ने जस्ता कुरा आएपछि सचिवालयले वक्तव्य जारी गरेर त्यो होइन, पार्टीको तर्फबाट जे वक्तव्य आयो, सरकारको तर्फबाट जे वक्तव्य आयो, त्यही आधिकारिक हो, त्यही नै सही हो भनेर प्रष्ट पारेको छ ।’