२०७६ सालमा छैन सार्वजनिक विदा



हाम्रो इकोनोमि

 

सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ ।

 

समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले आह्वान गरेका छन् ।

 

आफूखुशी निस्कने पात्रोका कारण मानिसमा चाडबाडसम्बन्धी भ्रम सिर्जना हुने गरेको छ । गृह मन्त्रालयले विसं २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको उनले जानकारी दिए । यसअघि २०७४ र २०७५ सालमा पनि सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन गरिएको थियो । ‘सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरे बमोजिम हुनेछ’ भन्ने सूचना पात्रोमा राखिएको उनले भने ।

 

समितिमा सरकारले नियुक्त गरेका विद्वान्हरूको समूहले २०७६ सालमा पर्ने चाडपर्वको निर्णय गरी पात्रोमा समावेश गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कार्वाहीका लागि गृह र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।

 

नेपाल संस्कृत विश्वविद्यालयले प्रकाशन गर्ने पात्रोले पनि समितिको स्वीकृति लिने गरेको छैन । विश्वविद्यालय आधिकारिक प्राज्ञिक थलो भएकाले स्वीकृति लिनुनपर्ने अध्यक्ष गौतमले बताए । समितिले काठमाडौँमा हुने सूर्योदयका आधारमा गणना गर्ने र विश्वविद्यालयले गौरीशङ्कर हिमालमा हुने सूर्योदयका आधारमा गणना गर्ने गरेकाले घडी पलामा केही फरक पर्ने गरेको जनाइएको छ ।

 

संस्कृति मन्त्रालय अन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चाङ्गको मस्यौदा हेरी प्रकाशनका लागि स्वीकृति दिने गरेको छ । पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुन्छन् । विसं २०७६ को संवत्सर ‘परिधावी’ नामको रहेको समितिले जनाएको छ ।

मन्त्रिपरिषद्ले सार्वजनिक बिदा पुनरावलोकन गर्न गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले आगामी वर्ष कुन–कुन दिन बिदा दिने भनी निर्णय गरिसकेको छैन । विगत वर्षभन्दा यसवर्ष धेरै सांस्कृतिक पर्वको सार्वजनिक बिदा कटौती गरिएकाले पुनरावलोकन गर्न विभिन्न समुदायले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा नदेखाउनू : सभामुख

    सभामुख डोलप्रसाद अर्याल (डिपी)ले प्ले कार्ड र पर्चासहितको विरोधको शैली संसद्‍मा...

छातीमा प्लेकार्ड राखेर श्रम संस्कृति पार्टीका सांसदको विरोध

     श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा प्ले कार्डसहित प्रधानमन्त्री बालेन शाहको विरोध गरेको...

नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार

     दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल नि:शुल्क जलन...

मदन-आश्रित स्मृति दिवसमा पूर्वराष्ट्रपति भण्डारीसहित को-को नेता पुगे ?

    ३३औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमालेले स्मृति सभा कार्यक्रम आयोजना...