अबदेखि युएई र ओमानले निशुल्क नेपाली कामदार लैजाने



हाम्रो इकोनोमि

 

वैदेशिक रोजगारीका लागि नेपालबाट शून्य लागतमा कामदार लाने विषयमा संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहमत भएका छन् । गतसाता श्रमसम्बन्धी सम्झौता तथा समझदारीमा छलफल गर्न ती देशमा पुगेको नेपाली कार्यदलसँग दुवै देशले श्रमिक ल्याउँदा लाग्ने लागत व्यहोर्न सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

 

दुवै देशसँग छलफलका लागि गत १२ माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख रामप्रसाद घिमिरेको नेतृत्वमा पाँच सदस्यीय टोली त्यसतर्फ गएको थियो ।

 

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक, अधिकार र सुरक्षाको प्रत्याभूति गर्ने नीतिअनुरूप नेपालको तर्फबाट सम्बन्धित मुलुकसमक्ष एजेन्डा प्रस्तुत गरिएको टोलीका संयोजक घिमिरेले जानकारी दिए । ‘कामदार भर्ना गर्दाको लागत रोजगारदाताले व्यहोर्ने विषयमा दुवै पक्ष सहमत भएका छौँ,’ उनले भने, ‘यद्यपि, म्यानपावरको सेवा शुल्क कति दिने भन्नेमा चाहिँ निश्चित हुन बाँकी छ ।’

 

कानुन मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिवसमेत सम्मिलित टोलीले आइतबार र सोमबार ओमानसँग तथा बुधबार र बिहीबार युएईसँग वार्ता गरी स्वदेश फर्किएका हुन् । नेपालको युएईसँग सन् २००७ मा एमओयू भए पनि ओमानसँग भने हालसम्म कामदारसम्बन्धी कुनै पनि किसिमको समझदारी भएको छैन । ओमानले नेपाललाई करिब तीन महिनाअघि र युएईले डेढ महिनाअघि एमओयूको मस्यौदा पठाएको थियो ।

 

सरकारले गत कात्तिकमा मलेसियासँग गरेको श्रम समझदारीलाई आधार बनाएर अन्य मुलुकसँग सम्झौता तथा समझदारीको तयारी थालेको छ । कामदारको हित, व्यवसायजन्य सुरक्षा, बिमा, महिना पूरा भएको निश्चित समयमा तलब सुविधा बैंक खातामै प्राप्त हुने, राहदानी कामदारसँगै रहनेलगायतका विषयलाई मूल एजेन्डाका रूपमा अगाडि सारिएको घिमिरेले बताए ।

 

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई पर्दै आएको अत्यधिक आर्थिक भार कम गर्नुका साथै बिचौलियाहरूबाट हुन सक्ने ठगी एवं आर्थिक शोषण नियन्त्रण गर्ने प्रयास सरकारले गर्दै आएको उनले बताए । त्यसका लागि विभिन्न गन्तव्य मुलुकहरूसँग कामदार छनोट, भर्नालगायतका शीर्षकमा हुने खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्थासहितको श्रम सम्झौता तथा समझदारी गर्ने कार्य अगाडि बढेको छ ।

 

पारदर्शी भर्ना प्रक्रिया, न्यूनतम तलब सुविधाको प्रत्याभूति, अन्तर्राष्ट्रिय श्रम संगठन र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका स्थापित सिद्धान्त, मूल्य मान्यता एवं मापदण्डअनुसारको व्यावसायिक श्रमिकको हक हित, व्यावसायिक स्वास्थ्य एवं सुरक्षा र असल कार्यवातावरण सुनिश्चित हुनुपर्ने प्रस्ताव कार्यदलले दुवै मुलुकसमक्ष प्रस्तुत गरेको थियो ।

 

यस्तै ओभरटाइम, कार्यस्थलबाहेकको समयमा हुने दुर्घटनाको बिमा, आफन्त बिरामी भएमा तथा गम्भीर घटना घटेमा बिदा दिनुपर्ने, महिला कामदारको हकमा विशेष व्यवस्था गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा कुनै पनि खालको सिन्डिकेट हुन नहुने जस्ता सर्त श्रम समझदारीमै उल्लेख गर्नुपर्नेमा नेपाली पक्षले जोड दिएको छ । श्रमिकलाई कुनै समस्या भए न्यायमा सहज पहुँच हुनुपर्नेलगायतका विषय पनि श्रम समझदारीमै सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेको नेपाली टोलीका संयोजक सहसचिव रामप्रसाद घिमिरेले बताए ।

 

युएई सरकारले जतिसक्दो चाँडो श्रम समझदारी गर्न तत्परता देखाएको छ । युएईसँग पहिलो चरणको छलफलपछि नेपाली टोलीले आफ्नो धारणा लिखित रूपमा बुझाएको थियो । केही दिनमा युएईले नेपालको प्रस्तावको लिखित प्रतिक्रिया प्राप्त हुने अपेक्षा गरिएको छ । वार्ताका क्रममा विशेष सीप आवश्यक नपर्ने आधारभूत तहको काममा मात्र सीमित नरही सीपयुक्त नेपाली जनशक्तिका लागि समेत युएईमा रोजगारीको अवसर सिर्जना गर्न सकिने विषयमा समेत गहन छलफल भएको जनाइएको छ ।

 

दुवै देशसँगको वार्ता सकारात्मक रहेको र तुलनात्मक रूपमा युएईसँगको वार्ता श्रम समझदारी पत्रलाई टुंगोमा पु(याउनेतर्फ नजिक रहेको नेपाली वार्ता टोलीले जनाएको छ । नेपाल र साउदी अरेबियाबीच श्रमिकहरूका सम्बन्धमा हुन लागेका सम्झौता छिटै निष्कर्षमा पुग्ने प्रतिबद्धता साउदी अरेबियाका राजदूत मुसैदविनसुलेइमन आइ मारवानले गरे ।

 

अर्थमन्त्री डा। युवराज खतिवडासँग भएको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटमा राजदूत मारवानले साउदी अरेबिया फन्डमार्फत नेपालमा भूकम्पपछिको पुनर्निर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको जानकारी दिए ।

 

त्यस्तै नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको भन्दै राजदूतले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु(याउने विश्वास व्यक्त गरे । यसअघि अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासमा साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई धन्यवाद दिएका छन् ।

 

सोही क्रममा करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत रहेको भन्दै साउदी अरेबिया नेपालीका लागि दोस्रो घर भएको बताए । त्यस्तै चैत १५ र १६ मा नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...