बामदेव गौतम खतरनाक गुटको तयारीमा, मौन बस्नुको यस्तो छ ५ कारण, ओली र प्रचण्डको गयो सातो



 

झन्डै दुई हप्ता चलेर गत पुस १३ गते सकिएको नेकपाको स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतमको चासो निकै थियो । उनले आफ्नो असन्तुष्टि मौखिक र लिखित रूपमा राख्दै आएका थिए । तर पछिल्लो एक महिना गौतम गुमनाम अनि मौन छन् । भेटघाट पनि पातलो बनाएका छन् ।

 

आखिर गौतम किन मौन छन् ? के उनी मौन बसेर शक्तिसञ्चय गर्दैछन् ? मौन बसेका गौतमले अहिले पार्टीका को–को नेतासँग संवाद गरिरहेका छन् ? र के गौतम अब चुनाव नलड्ने मनस्थितिमा पुगेका हुन् ? अहिले नेकपाभित्र धेरै नेता–कार्यकर्ताबीच उठ्ने प्रश्न हुन् यी । यी प्रश्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि सुनिन्छन् र नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पनि ।

 

नेकपाभित्र उठेका प्रश्नको जवाफ जान्न हामीले गौतमको विगत, उनका पछिल्ला अभिव्यक्ति र भेटघाट तथा उनी नजिक रहेका नेकपाका केही नेतासँगको कुराकानीलाई जोडेर केही तथ्यहरू निकाल्ने कोशिस गरेका छौँ । यसरी हेर्दा गौतम मौन बस्नुका केही कारण भेटिए ।

 

तथ्य १–
चुनावको चर्चा, पार्टीभित्र असहयोग र बदनाम

तत्कालीन बामगठबन्धनको तर्फबाट साझा उम्मेदवारका रूपमा बर्दिया–१ बाट चुनाव लडेका गौतम पराजित भए । त्यसपछि नेता गौतमले आफ्नो पराजयको प्रमुख कारण ‘अन्तर्घात’ ठाने । यो कुरा उनले सार्वजनिक रूपमै पनि भने । अनि तत्कालीन एमालेले छानविन समिति पनि बनायो । तर उक्त समितिको विस्तृत प्रतिवेदन बाहिर आएन ।

 

त्यसपछि नेता गौतमले आफ्नो रणनीति बदले । अन्य ठाउँबाट चुनाव लडेर अन्तर्घात गर्ने नेता–कार्यकर्तालाई जितेरै जवाफ दिन चाहन्थे । र, लगत्तै तयारी पनि थाले ।

 

डोल्पाका सांसद धनबहादुर बुढालाई राज्यमन्त्री बनाए । यसमा शर्त थियो– चुनाव क्षेत्र खाली गर्ने । यो विषय नेकपामा प्रवेश गर्नासाथ ठूलो हल्लखल्ली भयो । नेकपामा एकाएक तरङ्ग नै ल्याइदियो । पार्टीभित्र र बाहिर गौतमको आलोचना धेरै भयो । अन्तिम समयमा आएर नेता गौतमलाई सांसद बुढाले नै धोका दिए । गौतमको आलोचना र आफ्नो पक्षमा प्रधानमन्त्री केपी ओली रहेपछि बुढा आफ्नो निर्वाचन क्षेत्र खाली गर्नबाट पछाडि हटे । जसले गर्दा नेता गौतमको डोल्पाबाट चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लाग्यो ।

 

त्यसबाहेक नेता गौतमको चुनाव लड्ने चर्चा अन्य जिल्लामा पनि हुन थाल्यो ।  ललितपुर–१, नवलपुर, पूर्वी रुकुम, प्युठान, धनकुटा–१ र बाँके–३ बाट उपनिर्वाचन लड्ने चर्चा चल्यो । ती क्षेत्रमा पनि सांसदहरूले राजीनामा दिन मानेन् । त्यतिबेलासम्म पनि गौतम थाकेका थिएनन् त्यसपछि अर्को वैकल्पिक क्षेत्र काठमाडौँ ७ को चर्चा चल्यो ।

 

नेता गौतमले काठमाडौँ ७ बाट चुनाव लड्ने सोच बनाएका थिएनन् । तर काठमाडाँै ७ का सांसद रामवीर मानन्धर राजीनामा दिन आफू तयार भएको भन्दै नेता गौतम कहाँ पुगे । सांसद मानन्धरले राजीनामा दिने प्रस्ताव गरे पनि नेता गौतमलाई पार्टीबाट निर्णय गराउनुपर्ने अवस्था थियो । तर नेता गौतम काठमाडौँ–७ बाट उपनिर्वाचन लड्ने चर्चाले त्यसबेला पार्टीभित्रै र बाहिरबाट तीव्र आलोचना भयो ।

 

सांसद रामवीर मानन्धर राजीनामा दिन तयार भए पनि पार्टीभित्रैबाट नेता गौतमको चाहनामा ब्रेक लगाउने खेल सुरु भयो । त्यसपछि नेता गौतमको उपनिर्वाचन लड्ने च्याप्टर ‘क्लोज’ भयो ।

 

गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र बढ्दो अन्तरविरोध र पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नकारात्मक’ भूमिकापछि नेता गौतमको चुनाव लड्ने चाहनामा ‘ब्रेक’ लागेको थियो । गौतममाथि भारतीय चाहनामा चुनाव लड्न थालेको आरोपसमेत लाग्यो । त्यसपछि चुनाव लड्ने मनस्थितिबाट गौतम एक कदम पछाडि हटे । पछिल्लो समय प्रधानमन्त्री ओली, सचिवालय सदस्य इश्वर पोखरेल लगाएतका केहि नेताहरुबाट आफुँलाई बदनाम गराउने खेल भएको ठहर नेता गौतमले गरेका छन् । उनको मौनतामा एउटा यो फ्याक्टरले काम गरेको बुझिन्छ ।

 

तथ्य २–
स्थायी कमिटीमा पेश गरेको प्रस्ताव अलपत्र

मङ्सिर २९ देखि पुस १३ गतेसम्म चलेको नेकपाको स्थायी कमिटी बैठकमा पनि नेता गौतम एकाएक चर्चामा आए । त्यतिबेला नेता गौतमले अध्यक्षद्वय ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनलाई ‘काउन्टर’ दिँदै आफ्नो लिखित फरक मत बैठकमा प्रस्तुत गरे । अध्यक्षद्वय ओली र प्रचण्डको संयुक्त प्रतिवेदन अपूरो भएको भन्दै नेता गौतमले भिन्दै प्रतिवेदन अगाडि सारेका थिए ।

 

बैठक अवधिभर अधिकांश नेताहरूले उनको प्रतिवेदनमाथि सकारात्म र नकारात्मक दुवै टिप्पणी गरेका थिए । केही नेताले त नेता गौतमको प्रतिवेदन अध्यक्ष ओलीप्रतिको कुण्ठा भएको समेत टिप्पणी गरे । तर बैठकमा बोल्ने अधिकांश नेताले प्रतिवेदनमा भएका सकारात्मक कुरालाई अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा समावेश गर्न आग्रह गरेका थिए । बैठकको अन्तिम दिन अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन सच्याउने सर्तसहित पारित भयो । तर, नेता गौतमले उठाएका कुरा अध्यक्षद्वयको प्रतिवेदनमा समावेश हुने नहुने निश्चित छैन । किनभने बैठक सकिएको महिना दिन बित्दा पनि प्रतिवेदनले अझैसम्म अन्तिम रूप पाएको छैन । अर्थात प्रतिवेदनमाथि अझै पनि केही न केही लफडा नै छ ।

 

तथ्य ३–
ओली र प्रचण्डसँग असन्तुष्टि

आफू उपनिर्वाचन लड्ने प्रस्तावमा नकारात्मक भूमिका खेलेको भन्दै प्रधानमन्त्री ओलीसँग रुष्ट छन्, नेता गौतम । पछिल्लो समय काठमाडौँ–७ बाट उपनिर्वाचन लड्ने प्रसङ्गपछि नेता गौतम र प्रधानमन्त्री ओलीबीच बोलचालसमेत नहुने गरेको उनी निकट नेताहरूले बताएका छन् । त्यसैको परिणाम नेता गौतमले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचनासहित छुट्टै प्रतिवेदन पेश गरिएको टिप्पणी पनि हुने गरेको छ । त्यस्तै अर्का अध्यक्ष प्रचण्डसँग पनि पछिल्लो समय उनको सामान्य संवाद छ । पहिलाजस्ते नियमित संवाद छैन । अर्थात गौतम ओली र प्रचण्डसँग जानीजानी टाढा बसेका छन् ।

 

तथ्य ४–
भिन्दै गुटको तयारी र शक्ति सञ्चय

नेता गौतमले एक टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा नेकपामा आफूले छुट्टै गुट बनाउने घोषणासमेत गरेका थिए । उनले नेकपामा आफ्नो विचारसँग सहमत हुनेहरूलाई आफूले नेतृत्व प्रदान गर्ने बताएका थिए । नेकपामा आफूले गुट बनाएको खण्डमा सबैभन्दा शक्तिशाली हुने दाबीसमेत उनले गरेका छन् । नेकपामा गुट नबनाउँदा कमजोर भएको समेत उनले बताएका छन् । अहिले गौतमले आफ्नो गुट निर्माण थाले भन्ने ठोस अवस्था त छैन । तर आवश्यकताअनुसार गुट बनाउन सकिने सङ्केत दिएका छन् । त्यसकारण उनी अहिले मौन बसे पनि भविष्यका लागि शक्ति सञ्चय गरिरहेको अनुमान गर्न सकिन्छ ।

 

तथ्य ५–
विकास मोडल अलपत्र

पार्टी एकता संयोजन समितिले ०७४ माघ ७ मा ‘सुशासन तथा विकास प्राथमिकताका सम्बन्ध’मा सुझाव दिन भन्दै गौतमको संयोजकत्वमा एउटा कार्यदल बनायो । उनले ओली प्रधानमन्त्री बनेको तीन दिनपछि ०७४ फागुन ६ मा प्रतिवेदन बुझाए । ६१ पृष्ठको प्रतिवेदनमा उनले विकास मोडलको तस्बिर उतारे । तर प्रधानमन्त्री ओलीले त्यसलाई डस्बिनमा हालेको गौतमको बुझाइ छ ।  सरकारले प्रतिवेदनलाई प्राथमिकता नदिएको गौतमको निष्कर्ष छ ।

 

त्यसबाहेक ०७४ को चुनावमा वाम गठबन्धनका तर्फबाट घोषणापत्र मस्यौदा समितिका संयोजक गौतम नै थिए । तर सरकारले पार्टीको घोषणापत्रभन्दा बाहिरबाट नीति तथा कार्यक्रम बनाएको भन्दै गौतमले असन्तुष्टि जनाए । यसमा पनि ओलीबाट धोका भएको गौतमको ठम्याइ छ ।  पार्टी एकताका लागि आफूले पहल गरे पनि अन्तिम समयमा धेरै कुरा थाहै नदिई एकता गरिएको गौतमले बताउने गरेका छन् ।

 

गौतम एक ‘खतरनाक’ राजनीतिक खेलाडी
गौतम अहिले मौन छन् तर उपयुक्त समयमा कठोर निर्णय लिएर पार्टीभित्रको खेल उल्ट्याउने गरेको उनको इतिहास छ । त्यो सँगै अप्ठेरो परेका बेला चुनौतीपूर्ण कामको जिम्मेवारी दिने र प्रयोगपछि नेता गौतमलाई किनारामा धकेलिएका इतिहास पनि नभएका होइनन् ।

 

उदाहरणका लागि ०७२ असोजमा ओली, ०६८ माघमा झलनाथ खनाल र ०६६ जेठमा माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन गौतमको महत्त्वपूर्ण भूमिका रह्यो । तर प्रधानमन्त्री भएपछि तीनै जनासँग गौतमको सम्बन्ध राम्रो भने रहेन । गौतमले आफूलाई सधैँ धोका हुने गरेको गुनासोसमेत गर्दै आएका छन् ।

 

०७० को संविधानसभाको दोस्रो चुनावमा नेता खनाल जितको जस लिन चाहन्थे । यसका आधारमा उनी संसदीय दलको नेता बन्न चाहे । माधव नेपालको पनि खनाललाई नै समर्थन थियो । तर, केपी ओली पनि संसदीय दलको नेता बन्न चाहेका थिए । ओलीले गौतमलाई आफुँलाई सहयोग गर्न प्रस्ताव गरे । त्यसकै आधारमा गौतमले अध्यक्ष र संसदीय दलको नेता एउटै व्यक्ति हुनुपर्छ भन्ने कहाँ छ ? केपी ओलीले पनि मौका पाउनुपर्छ । भन्ने अडान राखे । उनको यही अडानले ओली संसदीय दलको नेता बने । त्यसबेला संसदीय दलमा गौतमका पक्षमा झन्डै १५ जना सांसद थिए ।

 

त्यतिवेला ओलीले गौतमलाई विभिन्न आश्वासन दिएका थिए । नवौँ महाधिवेशनमा गौतमले ओलीलाई सहयोग गर्ने, ओली पार्टी अध्यक्ष भएपछि गौतमलाई संसदीय दलको नेता बनाउने सहमति भएको बताउने गरिएको छ । यसबाहेक ओली प्रधानमन्त्री भएपछि केही समयका लागि भए पनि गौतमलाई अध्यक्षको जिम्मेवारी दिने उनीहरूबीच सहमति भएको कुरा नेता गौतमले आफुँ निकट नेताहरुलाई बताएका थिए । तर, सहमतिअनुसार ओलीले पद नछाडेको गौतमको गुनासो रहँदै आएको छ ।

 

रुक्माङ्गद कटवाल प्रकरणमा प्रचण्डको राजीनामापछि काँग्रेस–एमालेबीच सहकार्य भयो । काँग्रेस एमालेलाई प्रधानमन्त्री दिएर सरकारमा सहभागी हुन तयार भयो । त्यतिवेला पार्टी अध्यक्ष खनाल थिए । तर केन्द्रीय समिति बैठकमा गौतमले नेपाल प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव राखेका थिए । र, यही प्रस्ताव पास भयो । अनि नेपाल प्रधानमन्त्री भए । नेपाल प्रधानमन्त्री भएपछि गौतम–नेपाल सम्बन्ध विग्रियो र नेपाल नेतृत्वको सरकार ढल्यो । ०६८ जेठमा नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिए ।

 

यति मात्र पनि होइन, खनाललाई प्रधानमन्त्री बनाउन पनि गौतमले भूमिका खेले । नेपालको कार्यशैलीबाट असन्तुष्ट गौतम पछि खनालकै पक्षमा उभिए । पछि खनाल–गौतमबीचको सम्बन्ध पनि राम्रो भएन ।

 

अब के होला गौतमको रणनीति ?  
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डको पछिल्लो सम्बन्ध साथै विगतको भूमिका हेर्ने हो भने गौतम आवश्यकताअनुसार कदम चाल्ने खेलाडी हुन् । उनले एउटा टर्निङ पोइन्ट पुगेर नेकपाको शक्ति सन्तुलन र नेताहरूको भूमिका बदल्ने हैसियत राख्छन् भन्ने अनुमान गर्न सकिन्छ ।

 

पछिल्लो पटक ओलीबाट ठूलो धोका पाएको र आफूलाई किनारा लगाउन खोजेको बुझाइ रहेका गौतमले त्यस्तो कदम कहिले चाल्ने हुन्, अहिल्यै भन्न सकिन्न । तर, ओलीसँग भेटघाटै बन्द गरे पनि प्रचण्ड, भलनाथ, माधव र नारायणकाजीसँग आवश्यकताअनुसार संवादमा रहेका गौतमले कहाँ पुगेर कसकसको खेल विगार्ने हुन् ? अब नेकपाभित्र यसको ठूलो अर्थ रहने छ ।रातोपाटीबाट

 

प्रतिक्रिया दिनुहोस
हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

  राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन

श्रीलंकामा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ

    चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ

१३ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

    बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो