नेकपा एकीकरणमा कार्यदल असफल, पोखरेल र गुरुङको पद खोसुवामा पर्ने निश्चित



 

चार–चारओटा कार्यदल बन्दा पनि साढे आठ महिनासम्म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरणले पूर्णता पाउन नसकेपछि फेरि नेतृत्वको आलोचना सुरु भएको छ । पार्टीलाई विधि, प्रक्रियाअनुसार सञ्चालन गर्ने अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिबद्धता गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठक यता महिना दिन पनि टिक्न नसकेपछि नेतृत्वमाथि प्रश्न उठ्नेगरी आलोचना सुरु भएको हो । खासगरी स्थायी समिटि बैठकबाट एकीकरणलाई पूर्णता दिन बनाइएको नौ सदस्यीय पछिल्लो कार्यदललाई अध्यक्षद्वयकै निर्देशनअनुसार निष्क्रिय बनाइएको छ ।

 

फेरि कार्यदल काम गर्न असफल भएको भन्दै विधि र प्रक्रिया मिचेर दुई अध्यक्षको मनोमानीमा एकीकरणको बाँकी काम गर्नेगरी तारतम्य मिलाउन थालिएको नेकपा पंक्तिमा आशंका गर्न थालिएको छ । यसअघिका एकीकरणसम्बन्धी सबै काम विधि, प्रक्रिया र मापदण्ड मिचेर अध्यक्षद्वयको मनोमानीमा सम्पन्न भएकाले पनि त्यस्तो आशंका देखिनुलाई अन्यथा लिइएको छैन । कार्यदलको निष्कृयतासँगै देशभरका नेता–कार्यकर्ता पुनः निरास बनेका छन् ।

 

रामबहादुर थापा बादल, विष्णु पौडेल, योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल, शंकर पोखरेल, रघुवीर महासेठ र सुरेन्द्र पाण्डे नेतृत्वको कार्यदलमा १६ पुसयता ६ माघसम्म सातपटक एकीकरणबारे छलफल भयो । स्थायी समितिबाट बनेको कार्यदललाई विधान परिमार्जन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, प्रदेश कमिटी गठनको समीक्षादेखि एकीकरणका सबै बाँकी कामको गृहकार्य गरेर प्रतिवेदन तयार पार्ने म्यान्डेट दिइएको थियो । यति धेरै म्यान्डेटसहित बनेको कार्यदलको सातौं छलफलसम्म घुमिफिरी रुम्जाटार भनेझैं प्रदेश कमिटीको नाम पुनरावलोकन गर्ने कि नगर्ने विषयमै गाँठो प¥यो ।

 

त्यो गाँठो फुकाउन विकल्पसहितका प्रस्ताव पनि कार्यदलमा प्रस्तुत नभएको होइन, तर अध्यक्षले नै प्रदेश कमिटीको नाम नचलाउन निर्देशन दिएको बुझिएको छ । त्यसपछि न त कार्यदल संयोजक बादलले अरू बैठक नै बोलाएका छन् । सातपटक बैठक बस्दा पनि एक÷दुई घन्टाभन्दा बढी छलफल हुन नसकेपछि कार्यदलका नेताहरूलाई नै थप छलफल गर्ने कि नगर्ने ठूलै सकस परेकाले पनि बैठक अनिश्चितकालका लागि स्थगित गराइएको हुन सक्ने आशंका गरिएको छ ।

 

प्रदेशमा कुरा मिलाइए पनि कार्यविभाजनमा छलफल प्रवेश गर्नेबित्तिकै मापदण्डको कुरा उठ्ने मात्र होइन, दोहोरो जिम्मेवारीमा रहेका मुख्यमन्त्रीद्वय शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङको पद खोसुवामा पर्ने निश्चित थियो । किनभने, मापदण्ड अमूक नेताका लागि मात्र लागू नहुने प्रश्नै थिएन । यसअघि दोहोरो जिम्मेवारीबारे स्थायी समितिमै गम्भीर प्रश्न उठेपछि मुख्यमन्त्री पोखरेलले बरु आफू राजकीय जिम्मेवारी त्याग्न तयार भएको तर पार्टी जिम्मेवारी नछाड्ने भन्दै धम्कीयुक्त भाषामा चुनौती दिएका थिए ।

उनै पोखरेललाई कार्यदलमा राख्नुको अर्थ थियो, उनलाई अनुकूल हुनेगरी मापदण्ड बनाउने या कार्यदल निष्क्रिय बनाउने । तर, कार्यदलमा रहेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरूले प्रदेश कमिटी सदस्यहरूको नाम मापदण्डअनुसार हेरफेर गर्नुपर्ने आवाज जोडदारसँग उठाएर अडान नछाडेपछि बाँकी सन्दर्भमा सम्झौता हुने सम्भावना कम थियो । त्यसैले पनि अध्यक्ष ओलीकै निर्देशनअनुसार अहिले कार्यदललाई बिस्तारै निष्क्रिय बनाएर असफल पारिएको चर्चा हुन थालेको छ ।

 

साँढे पाँच महिनापछि लामो अन्तरालमा बसेको स्थायी समिति बैठकमा नेताहरूले मन माझामाझ गरेर पार्टी र सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्ने संकल्पपछि गत १२ पुसमा सम्पन्न भएको थियो । पार्टी एकताबद्ध र गतिशील बनेपछि मात्र तीनै तहको सरकारलाईसमेत प्रभावकारी ढंगले सञ्चालन गर्न सकिने निष्कर्षसहित संगठनात्मक एकीकरण छिटो सम्पन्न गर्न स्थायी समितिबाट कार्यदल गठन भएको थियो । कार्यदलभित्र दोहोरो जिम्मेवारी पनि मापदण्ड लागू गर्न समीक्षाको विषय बनेपछि पछिल्लोपटक पोखरेल आफू पाँच दिनसम्म बैठकमा आउन नभ्याउने जानकारी गराएर प्रदेश फर्किएका थिए ।

 

त्यसयता एकपटक बैठक बसे पनि कार्यदलका नेताहरूबीच थप कुनै सहमति हुन सकेन । म्यान्डेटअनुसार मापदण्डअनुसार एकीकरणको काम गर्न विभिन्न विकल्पहरू प्रस्तुत गर्नेभन्दा पनि यसअघि भएका कुनै पनि निर्णय परिवर्तनका लागि केही नेता तयार भएका छैनन् । जसका कारण शक्तिशाली भनिएको कार्यदलले समयसीमा मात्र गुजारेको छैन, लाखौं–लाख नेता–कार्यकर्ताहरूको आशामाथिसमेत तुषारापात गरेको छ ।

 

जसले गर्दा नेकपाको एकीकरणको काम अझै धकेलिने मात्र होइन, जसको लाठी उसैको भैंस भनेजस्तै पार्टीलाई फेरि विधि, प्रक्रिया र मापदण्डविपरीत सञ्चालन गर्ने प्रयास देखिएको छ । प्रदेश कमिटी सदस्य चयनका सन्दर्भमा केन्द्रीय सचिवालयले निश्चित मापदण्ड बनाएकोमा त्यसविपरीत तीन दर्जनभन्दा बढी व्यक्तिलाई मनोमानी तरिकाले मनोनीत गरिएको छ ।

 

अध्यक्ष ओलीको गृह जिल्लाबाट मात्रै मापदण्डभित्र नपर्ने जिल्ला कमिटी सदस्य तहका तीन जनालाई अनुभवी भन्दै प्रदेश कमिटीमा मनोनीत गरिएको छ । झापाबाट त्यसरी मनोनीत पर्नेहरूमा होमबहादुर थापा, हृदय ठाकुर र अम्मर शिवाकोटी छन् । प्रदेश १ मा मात्रै ६ जनालाई मापदण्डविपरीत मनोनीत गरिएको छ । त्यस्तै, प्रदेश २ मा राजपा, फोरमलगायतबाट प्रवेश गरेका, तत्कालीन एमालेमा जिल्ला सदस्य मात्रै रहेर काम गरेका एक दर्जनभन्दा बढी व्यक्तिलाई प्रदेश सदस्य बनाइएको छ ।

 

त्यस्तै, प्रदेश ३ मा सातजना, ५ मा कोमल ओलीसहित चारजनालाई मापदण्डविपरित मनोनीत गरिएको छ । कर्णाली प्रदेशमा ईश्वर पोखरेलसँगको व्यक्तिगत सम्बन्धमा लामो समयदेखि राम्रो हिमचिम रहेकी एक जिल्ला सदस्य तहकी महिलासहित अन्य केहीलाई पनि मापदण्डविपरीत मनोनीत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हेटौँडा-१२ मा चुनावी सरगर्मी बढ्दो, एमालेको पल्लाभारी

    प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता

  राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन

श्रीलंकामा कम्युनिस्ट पार्टीलाई दुई तिहाइ

    चुनावी इतिहासमै चमत्कार गर्दै श्रीलंकाको कम्युनिस्ट पार्टी एनपीपीले संसदमा दुई तिहाइ

१३ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

    बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो