विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी



हाम्रो इकोनोमि

पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध केही समयपछि शारीरिक सम्बन्धमा परिणत भयो ।

 

गाउँकै एक माध्यमिक विद्यालयको कक्षा–९ मा पढ्दै गरेकी जानकी गर्भवती भएसँगै उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा रूपान्तरण गर्ने निर्णयसहित यही मङ्सिर १ गते घरबाट भागे । मङ्सिर ५ गते विवाहको तयारी गरिरहेको बेला बालविवाह भएको भन्दै गाउँलेले प्रहरीमा खबर गरे ।

 

इलाका प्रहरी कार्यालय सुलिचौरले केटाकेटी तथा केटाका अभिभावकलाई समातेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पेश ग¥यो ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलको अगुवाइमा भएको छलफलपछि हाल केटालाई सात हप्ताको तारेख रहने गरी र केटीसँग भेटघाट गर्न नपाउने सर्तमा मिलापत्र भयो ।

 

जानकीबाट जन्मने बच्चाको रेखदेख र भरणपोषण समेत शक्तिरामले गर्ने गरी दुवै पक्षको सहमतिमा हाल विवाह गर्न नपाउने गरी छोडिएको थियो । अहिले जानकी गर्भवती अवस्थामा बुबा आमासँग बस्न बाध्य छिन् भने शक्तिराम साप्ताहिक रूपमा जिल्ला प्रहरी कार्यालयमा तारेख लिइरहेका छन् ।

 

कानूनको अनभिज्ञताले बालविवाह गर्ने विष्ट र रोका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा यसरी विवाह गर्ने जोडीको सङ्ख्या ठूलो छ । जिल्लामा हुने विवाहमध्ये अधिकांश विवाह उमेर नपुगेरै हुने गरेका छन् । चेतनाको अभाव तथा परम्परागत मूल्यमान्यताका कारण अझै पनि ठूलो सङ्ख्यामा बालविवाह भइरहेको बताइन्छ ।

 

कानूनअनुसार २० वर्ष उमेर नपुग्दै गरिने विवाहलाई गैरकानूनी मानिए पनि उजुरीको सङ्ख्या भने निकै कम देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा आर्थिक वर्ष ०७३÷०७४ मा बालविवाहका दुईवटा उजुरी परेको थियो । आव ०७४÷०७५ मा यो सङ्ख्या घटेर एउटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पा मुद्दा फाँटले जानकारी दिएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयको अभिलेखमा गर्भवती जाँच गराउनेमध्ये ठूलो सङ्ख्याका किशोरी २० वर्षमुनिका देखिएका छन् । अघिल्लो आवको सात महीनाको तथ्याङ्कमा यसरी गर्भवती स्वास्थ्यजाँच गर्ने २० वर्षमुनिका किशोरीको सङ्ख्या ४७८ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका वरिष्ठ अनमी नैना डाँगीले जानकारी दिनुभयो ।

 

“सो अवधिमा भएका गर्भपतनमध्ये २६ वटा गर्भपतन त २० वर्षमुनिका किशोरीले गराएका छन्”, अनमी डाँगीले भन्नुभयो । त्यसो त अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि बढ्दै गएको देखिएको छ । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्षमुनिका किशोरीको सङ्ख्या ५५३ रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रूप भयावह देखिए पनि जिल्ला प्रहरी कार्यालयसम्म आइपुग्ने उजुरी भने नाम मात्रैको छ । “बालविवाह गर्नु गैरकानूनी हो भन्ने जनतामा चेतना नहुँदा उजुरी कम परेको हुनसक्छ, बालविवाहका उजुरी परे पनि गाउँमै मिलापत्रमा टुङ्ग्याइने चलनले पनि प्रहरीसमक्ष यस्ता उजुरी निकै कम आइपुग्छन्”, महिला अधिकारकर्मी श्रीकुमारी रोकाले भन्नुभयो ।

 

जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयाससमेत भइरहेका छन् । आमा समूह र बाल क्लबले पनि यस्ता विवाह न्यूनीकरणमा चासो देखाउन थालेका छन् । यसैगरी जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइले नियमितरूपमा जनताको सहभागितामा बालविवाह न्यूनीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिरहेको छ ।

 

संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले पनि जिल्लाका विभिन्न गाउँपालिकामा किशोरी शिक्षा सञ्चालन गरिरहेको छ ।

 

गोठमा होइन अब प्रसूति केन्द्रमा सुत्केरी

 

छेडागाड नगरपालिका–४ का धनसरा पुन चार बच्चाकी आमा हुनुहुन्छ । उहाँले चार सन्तानलाई गोठमै जन्म दिनुभयो । चिसो गोठ तथा सामग्री अभावका बीचमा बच्चा जन्माउँदा निकै पीडा भएको पुन बताउनुहुन्छ ।

उहाँकी बुहारीले भने पहिलो सन्तान सुत्केरी केन्द्रमा जन्माउनुभयो । भनसराले बुहारीलाई सुत्केरी गराउन स्टेचरमा बोकेर सुत्केरी केन्द्रसम्म पु¥याउनु भएको हो । पहिला घर नजिक सुत्केरी केन्द्र थिएनन् । अहिले घरदेखि दुई घण्टाको दूरीमा अस्पताल छ ।

उहाँजस्तै छेडागाड–८ का पातली विक पनि दुई बच्चाकी आमा हुन् । पहिलो सन्तान घरमै जन्माउनुभएकी उहाँले दोस्रो बच्चा सुत्केरी केन्द्रमा गएर जन्माउनुभयो । सुत्केरी केन्द्रमा गई बच्चा जन्माउँदा उहाँले रु दुई हजार २०० समेत बुझेर ल्याउनुभयो ।

 

“घरमा सुत्केरी हुँदा धेरै रगत बग्ने गर्दथ्यो, अस्पताल गएपछि सजिलो भयो,” उहाँले भन्नुभयो । विकले जस्तै अहिले छेडागाड नगरपालिकाका सुत्केरीले सुत्केरी केन्द्रमा गई बच्चा जन्माउने गरेका छन् ।

छेडागाड नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा सात सुत्केरी केन्द्र सञ्चालनमा ल्याएको छ । साविकका झार्पा, कार्कीगाउँ, पजारु क, ख, सुवानाउली, दसेरा र साल्मा गाविसमा सुत्केरी केन्द्र निर्माण गरी सेवा प्रदान गरिँदै आएको छ ।

 

छेडागाड नगरपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखाका उपसंयोजक भीमराज सिंहका अनुसार अघिल्लो आवमा सुरक्षित रूपमा सुत्केरी गराउनेको सङ्ख्या ११६ थियो । चालु आवको चार महीनामा ३५१ महिलाले सुत्केरी केन्द्रमा गई सो सेवा लिएका छन् ।

सुत्केरी सेवा लिन आउनेलाई प्रोत्साहनस्वरुप थप रु एक हजार २०० दिने व्यवस्था गरिएको छ । सुत्केरीलाई स्वास्थ्य संस्थासम्म ल्याउने स्वयंसेविकालाई नगरपालिकाले रु २०० उपलब्ध गराउँदै आएको छ ।

 

विद्यालय, व्यक्तिगत घरमा खोप सेवा उपलब्ध गराउँदै आएका यहाँका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाले नयाँ ६ खोपकेन्द्र स्थापना भएसँगै खोप सेवा लिनेको सङ्ख्या बढेको छ । कोही बालबालिका खोपबाट नछुटुन् भनेर नगरपालिकामार्फत सो अभियान सञ्चालन गरिएको नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...