वाइडबडी घोटाला : ‘काले काले मिलेर खाम् भाले’



 

आँखा छ हाम्रो तर देख्छ अरूले
कलम छ हाम्रो तर लेख्छ अरूले
गाउँ  छ हाम्रो तर बस्छ अरूले
धर्ती छ हाम्रो तर टेक्छ अरूले
जीवन छ हाम्रो तर खेल्छ अरूले 

वरिष्ठ संगीतकार चन्दन लम्जेलको यो गीत जस्तै छ  देश । हामीलाई सबथोक हाम्रैजस्तो लाग्छ तर आखिरीमा हुन्छ अर्कैको । झण्डै टाट पल्टिएको नेपाल वायुसेवा निगमले ढिलै भएपनि खुशियालीको बहार ल्याएको थियो वाइडबडी जहाज किनेर तर त्यो खुशी लामो समय टिक्न सकेन । हाम्रो भनिएको थियो त्यो वाइडबडी तर रहेछ अर्कैको अर्थात् भाडाको । हामी आफैंले किनेको भनिएको थियो  तर चर्को हालीमुहाली रहेछ कमिसनखोरहरूको ।

 

विषय वा प्रसङ्गले अन्य अर्थ नलागेमा ‘काले काले मिलेर खाम् भाले’ भनेर कालो वर्ण वा कालो रंगप्रति अपमान गरेको किमार्थ हैन । कागजपत्रमा मिलाएर गरिने नीतिगत भ्रष्टाचार वा पदको दुरुपयोग गरी मिलेमतोमा गरिने भ्रष्टाचारलाई ‘काले काले मिलेर खाम् भाले’ भन्न खोजिएको हो । हाम्रो राज्यको संरचना तथा सरकारी अड्डाहरूमा यस्ता कालेहरू धेरै छन् जसले मिलेर यो मुलुकलाई टाट पल्टाएका छन् ।

 

जस्तो कि नेपाल वायुसेवा निगम टाट पल्टिएको छ । सेता लुगा लगाएका काले कालेहरू, चोर चोरहरू, फटाहा फटाहाहरू, डाँका डाँकाहरू आ–आफैं झगडा गरेजस्तो गर्छन् तर भित्री रूपमा यिनीहरू मिलेका हुन्छन् र भाले काटेर सँगै खान्छन् । नेपाल वायुसेवा निगममा पनि यस्तै प्रवृत्तिका मनुष्यहरू देखापरेका छन् जो बाहिर देख्दा आफू आफू झगडा गरेजस्तो नाटक गर्छन् तर रात परेपछि सँगसँगै भाले काटेर खान्छन् ।

 

केहीले पखेटा तानेका छन्, केहीले खुट्टा तानेका छन्, केहीले टाउको तानेका छन् । बिचरा भाले वेग हान्न नसकेर हप्तौं भयो थला परेर बस्याछ । प्वाँखहरूमा जुम्रा परेका छन् । यी कुरा मैले किन लेखें भने, टेक्निकल्ली म वाइडबडीको विषयमा खासै जान्दिनँ, बुझ्दिनँ किनभने म क्याप्टेन विजय लामा हैन ।

 

तर समाचारहरूमा आएका टिप्पणी हेर्दा सातोपुत्लो जान्छ । हजारको कुरा हैन, लाखको कुरा हैन, करोडको कुरा नि हैन । अर्बौं खर्बौंको कुरा जोडिएर आएको छ यो भालेसँग । अरे बाबा ठकुरे, कमजोर मुटु भएकाहरूले कसरी पढ्न सक्लान् यी भयानक समाचारहरू ? बालुवाटारको मुकामभित्र यी समचारका एकथान कागज पुग्दैनन् भन्या ? के हाम्रा शासकहरूको आँखामा पट्टी बाँधिएको छ ?

 

पत्रकारहरूलाई खिसीटिउरी गरेको दिन

केही महिनाअगाडि विमान खरिदका मुख्य योजनाकार सुगतरत्न कंसाकारले टीभीका पत्रकारहरूलाई वाइडबडीको सन्दर्भमा गिज्याएर बोलेको हेर्दा यिनको साइकोलोजी हल्का बुझेको थिएँ । टीभीका पत्रकारलाई यिनले हाँस्दै आलटाले जवाफ दिएका थिए, खिसी गरेजस्तो । वाइडबडीको छिनोफानो गर्ने बराउनीकर्ता यिनै थिए ।  हाल यिनी भित्तामै पुगेका छन्, लात खाएका छन् । र ट्विटरतिर बर्बराउँदैछन् ।

 

तिनको कथन थियो, ‘जे जसरी भएपनि विमान ल्याएँ, अरू कुरा किन चाहियो ? प्राविधिक कुरा तिमीहरूलाई के थाहा ? मैले त विमान कम्पनीबाटै यात्रु हालेर ल्याउने भनेको तर सकिनँ,’ उनले हाँस्दै भनेका थिए । “ह्या, त्यो के रे त्यो मिडियाको नाम के रे, खेदो खनेको छ । नचाहिने प्रश्न ! खेदो खनेर बस्नुहोस्, विमान त उड्यो उड्यो ।’ कंसाकारले यसो भन्दा निगमका कर्मचारीहरू गलल्ल हाँसेका थिए ।

 

म पावरमा भएको भए यी कंसाकार अहिलेसम्म सदरखोरमा भइसक्थे । तर पावरमा हुनुहुन्छ केपी ओलीज्यू । कहाँको राजाराम, कहाँको हल्लुडे भण्डारी भने जस्तो यो आक्रोश मात्र हो । आक्रोशले जय गर्दैन । तर भालेको छिनोफानो गर्ने यी कंसाकारलाई राज्यले ज्वाईं मानेर पूजा गर्न मिल्दैन । वाइडबडी खरिद प्रकरणमा तत्कालीन समयमा कोको जोडिएका थिए, उनीहरूलाई तत्काल पक्राउ गर्नुपर्ने बेला भइसकेको छ ।

 

कतिपयले सामान्य ठानेका तिनै प्रश्नहरूले आज राष्ट्रिय प्रश्नको रूप धारण गरेको छ । र विभागीय मन्त्रीलाई जवाफ दिन हम्मेहम्मे परेको छ ।

 

हेर्नुहोस्, यति ठूलो राज्यदोहनको घोटला एक्लै गर्न सकिँदैन । मतलब कंसाकार एक्लैले यो घोटाला गर्न प्राविधिक रूपमा पनि सक्दैनन् । वाइडबडी भनेको वीरगञ्जमा गएर गीयरवाला साइकल किनेजस्तो हैन । बैंकले कर्जा उपलब्ध गराएको छ । सरकार जमानी बसेको छ । त्यसैले वाइडबडीको घोटालामा राज्यको पूरै संयन्त्र नै सक्रिय भएर लागेको छ । हो, यो विषय प्रधानमन्त्रीलाई थाहा नहुन सक्छ ।

 

प्रधानमन्त्री स्वयं षड्यन्त्रकारीहरूको घेराबन्दीमा छन् कि जस्तो देखिन्छ । निकटस्थ मनुष्यहरू झट्ट हेर्दा दास र कारिन्दा जस्ता देखिन्छन् । तर पैसा अहिले नकमाए कहिले  कमाउने भन्ने ध्याउन्नमा छन् तिनीहरू ।

 

आलोचकहरूलाई देखी नसहने ओलीज्यूको छाती जबसम्म सगरमाथा जस्तो विशाल हुँदैन तबसम्म असफल भइसकेको यो सरकार फेरि सफल हुने कुनै सम्भावना देखिन्न । वाइडबडीको घोटाला यसको एक कडी हो ।

 

हालसालै मन्त्री र सचिवहरू सहभागी बैठकमा प्रधानमन्त्री ओलीले ‘वाइडबडी किन ल्याइयो, किन उडाइएन? जनताको पेट काटेर २५ अर्ब खर्च गरिएको छ, ती किन थन्किएका हुन् भनेर सोधेका थिए ।

 

प्रमको प्रश्नको जवाफमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले ट्याक्सीजस्तो आउनेबित्तिकै जहाज कहाँ उडाउन सकिन्छ र भनी जवाफ दिएका थिए । ती सचिवको यस्तो गैरजिम्मेवारपूर्ण जवाफबाट नै अनुमान लगाउन सकिन्छ कि दैनिक करोडौं घाटामा जानेगरी वाइडबडीलाई घाम तपाएर राख्नका लागि ल्याइएको हो ।

 

भालेजस्तो वाइडबडी

 

वाइडबडी ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएका छन् । विमानको ब्रेक सिस्टममा खराबी आएको भनिएको छ । तीन वर्षको वारेन्टी भएपनि तीन महिना नउड्दै समस्या आएको छ । खरिदका क्रममा भएको सम्झौताअनुसार बिग्रनुनपर्ने ब्रेक सिस्टम कसरी बिग्रियो ?

 

यो टेक्निकल कुरा पनि मान्न सकिन्न किनभने जहाज महिना दिन पनि राम्रोसँग उडेको छैन । यो वाइडबडी बन्दा पहिला ल्याइएका चिनियाँ जहाजहरू पनि उडेका छैनन् । तिनमा पनि विभिन्न प्राविधिक समस्याहरू देखिएका छन् ।

 

वाइडबडी विमान खरिद गरेका सम्पूर्ण कागजातहरू उपलब्ध गराउन संसदीय समितिले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले विमान खरिदको विषयमा धेरै विवाद भएको भन्दै आवश्यक छानबिनका लागि विमान खरिदका सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिएकी हुन् । यता मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणका कागजपत्रहरू २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिबद्धता जनाइसकेका छन् ।

 

 

यसरी गरियो ६ अर्ब ६० करोड घोटाला

एयरबस निर्मित ३३०-२४३ (पहिले ३३०-२०० भनिएका) सिरिजका वाइडबडीका जहाजको खरिदमा कम्तीमा पनि ६ अर्ब ६० करोड रुपैयाँभन्दा बढी रकम घोटाला भएको सहजै अनुमान गरिएको छ ।  निगमले ती जहाजहरूलाई १०८.२ मिलियन डलर रकम भुक्तानी गरिसकेको छ । त्यो पनि निगम आफैं नाफामा गएर भुक्तानी गरेको  हैन । टाट पल्टिने र सरकार जमानी बस्ने गरेर किनिएको हो ।

 

निगमले सुनियोजित रूपमा विभिन्न बिचौलियाहरूको गिरोह खडा गरेर मिडिया र सरोकारवाला निकायहरूलाई समेत थाहा नदिने चलाखीपूर्ण बाटो भएर दुई वाइडबडी जहाज त ल्यायो तर किनेर ल्याइएको भनेर हल्ला पिटिएका उक्त जहाजहरू निर्माता एयरबसको वेबसाइटमा ती जहाज हाईफ्लाई नामक कम्पनीले नेपाललाई भाडामा दिएको उल्लेख छ । मतलब ती जहाजहरू भाडामा ल्याइएका हुन् र भाडा तिर्न नसकेको अवस्थामा ती जहाजहरू फिर्ता हुन पनि सक्छन् वा निगम टाट पल्टिन सक्छ ।

 

हाल चर्चाको उचाइमा छ, वाइडबडी । वाइडबडी भनेको भाले हो । यसो हेर्दा पनि भाले जस्तो नै त देखिन्छ । पखेटा पनि छ । थुतुनो पनि छ । तर लोकल भाले हो भन्ने आशा थियो । आखिर रहेछ बर्डफ्लू लागेको ब्रोईलर भाले । जे होस्, भाले त भाले नै हो । यो भालेको मासुमा दादागिरी गर्नेहरूको लुछाचुँडी उदेकलाग्दो छ । मानौं कि तिनले वर्षौंदेखि मासु खान पाएका छैनन् । देशको मासु, आमाको मासु ।

 

टाट पल्टिसकेको निगमले भाडामा जहाज ल्याउँदा र सन्तोषजनक ढंगले उडान भर्न नसक्दा के हुन्छ ? यसको उत्तर राज्यसँग नै छैन । एक टेलिभिजन अन्तर्वार्तामा हालै पर्यटनमन्त्री मन्त्री रवीन्द्र अधिकारीले ‘भाडामा त हैन होला, हो र ? हो भने त ब्लन्डर नै भयो नि’ भनेर अनभिज्ञता प्रदर्शन गरेका थिए । त्यो जहाजमा कंसाकारको पारिवारिक सम्पत्ति हैन कि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको १२–१२ अर्बसहित करीब २५ अर्ब रुपैयाँ खर्च गरिएको छ ।

 

यसकारण यो मिलिजुलीमा जनता र राज्यलाई नै गुमराहमा राखेर गरिएको नीतिगत भ्रष्टाचार मात्र नभएर राज्यकै अपमान र दोहन गरिएको मेरो निष्कर्ष छ । यसमा राज्यका संरचनामा बसेका ठूला पदका मानिस, निगमका मानिस, विदेशी एजेन्टहरू सबै मिलेका छन् । सबैले बाँडीचुँडी खाएका छन् ।

 

त्यसैले त यो विषयमा शासकहरू तैं चुप मै चुपको अवस्थामा छन् । ती जहाजको दैनिक एक करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै तिर्नुपर्छ । अर्को दुःखको कुरा, अन्तर्राष्ट्रियतर्फ २०७३/७४ का तुलनामा २०७४/७५ मा निगमको बजार हिस्सा १.८ प्रतिशतले घटेको छ ।

 

पहिलो सहमतिअनुसार जहाज उपलब्ध गराउन प्रस्ताव पेश गरेको कम्पनी एएआर इन्टरनेसनल कर्पोरेसनले २०१६ को मूल्यमा आधारित भएर बढीमा १०४ मिलियन डलरमा जहाज उपलब्ध गराउने प्रस्ताव राखेको थियो ।

 

यो प्रस्तावसमेत सेटिङमा आएको हुन सक्छ किनभने २०१६ को वास्तविक मूल्यमा वार्षिक मूल्यवृद्धि थप्दा निगमले किनेको जहाज ९३.०५ मिलियनमा आउँछ । अरू टेन्डर हालेका कम्पनीहरूको बारेमा निगम मौन छ । लोककल्याणकारी राज्यमा यसो हुनु दुःखद विषय हो ।

 

हाल नेपाल वायुसेवा निगमको अधिकृत पूँजी ३० करोड रुपैयाँ छ । अर्थशास्त्रीहरू के बताउँछन् भने वाइडबडीमा कुल लगानी ३ अर्ब १० करोड रुपैयाँ छ । जहाजले तिर्नुपर्ने कर्जा रकम मात्रै ३२ अर्ब ८७ करोड रुपैयाँ छ । जहाज नियमित सञ्चालनमा आइसकेको पनि छैन । आन्तरिक उडानमा पनि सीट फ्याक्टर २०७४÷७५ मा औसत ८३ प्रतिशत थियो । २०७५ साउनमा ६६ र भदौमा ७३ प्रतिशत रह्यो ।

 

विना तयारी जहाज ल्याउँदा त्यो जहाज कसले उडाउने हो भन्ने पनि हचुवाको भरमा जानकारी दिइएको छ । विभिन्न कारण देखाएर जहाज ग्राउन्डेड गराइएको छ । जहाजले उडेपनि, नउडेपनि कर्जाका लागि वार्षिक १०.५ प्रतिशत ब्याज भुक्तान गर्नुपर्छ । यसको जिम्मा कसले लिन्छ ?

 

स्रोतका अनुसार, नेपाल वायुसेवा निगमले सार्वजनिक गरेको टेन्डरमा १० वटा कम्पनीहरूले प्रस्ताव पेश गरेका थिए । ती प्रस्तावको मूल्यांकन गर्ने समितिले २०१६ को एयरबस ३३०-२०० को मूल्य करीब ८८.१ मिलियन (८८,०९९,३१७) डलर उल्लेख गरेको देखिन्छ । र मूल्याङ्कन समितिले पनि प्रभावमा परेको सहजै अनुमान गर्न सकिन्छ ।

 

दुई वाइडबडीको शुरूको ४५ दिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । काले काले मिलेर खाम् भाले भनिएजस्तै कंसाकार, सरकारका उच्च अधिकारीहरू तथा कथित मूल्याङ्कन समिति नै आर्थिक प्रलोभनमा परेको देखिन्छ ।

 

एयर फ्रेमको मूल्य जम्मा ७३.४ मिलियन र इन्जिनको मूल्य अमेरिकी डलर १४,६९९,३१७ उल्लेख गरिएको छ । मूल्यांकन समितिले पाँच वर्षको औसत मूल्यवृद्धि २.७६९९ प्रतिशत निकालेको छ । सोही मूल्यवृद्धि राख्दा पनि २०१८ मा किन्ने वाइडबडीको मूल्य ९३.०५ मिलियनभन्दा बढी हुँदैन ।

 

पछिल्ला दुई हरफका यी आँकडाहरू अध्ययनका लागि विभिन्न मिडिया स्रोत र वायुसेवा सम्बन्धी जानकारहरूबाट लिइएको हो र यो स्टोरीमा समावेश गरिएको हो । वायुसेवा निगमलाई भार पर्ने यस्तो कदम किन चालियो ? त्यो रहस्यमय छ ।

 

विमान त विवादमा फस्यो नै । खरिद प्रकरण समेत शंकास्पद भयो । विमान भाडाको हो कि नेपाल वायुसेवा निगमको हो त्यो पनि थाहा भइसकेको छैन । शायद अब यो विषयले निचोड पाउला ।

 

दुःखको कुरा यो हो कि विमानको बारेमा अन्योल त छ नै, साथसाथै वाइडबडी किन्न र अन्य प्रयोजनमा लिएको ऋणको ब्याज मात्रै वर्षको ३ अर्ब ८५ करोड ३१ लाख ३१ हजार १ सय ५१ रुपैयाँ पर्छ । ब्याजको दैनिक भार १ करोड ७ लाख रुपैयाँ हुन आउँछ । कमिसनखोरहरूले टाट पल्टाएको यो घाटा कसले बेहोर्छ ?लोकान्तरबाट

प्रतिक्रिया दिनुहोस
रुसी सेनामा दुई सय नेपाली रहेका जानकारी आएको छ : प्रधानमन्त्री

    रूसी सेनामा करिब दुईसय जना नेपाली रहेको जानकारी प्राप्त भएको प्रधानमन्त्री

देशको रक्षा गर्न एमालेको एकल बहुमतको सरकार आवश्यक छ : अध्यक्ष ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिगो ढंगले देशको रक्षा

कांग्रेस महासमिति बैठक तेस्रो पटक सार्ने तयारी

    नेपाली कांग्रेसले पुस १६ देखि १९ ललितपुरको गोदावरीमा तय गरेको महासमिति

एकदिन पनि टिकेन शेयर बजारको उछाल- १५ अंकले गिरावट

    शेयरबजार खुलेसँगै ओरालो झरेको बजार लामो उतार चढावपछि १५ अंकले घटेर