यसरी एक्ल्याइँदै छ ओलीलाई, केपीविरुद्ध तीन तहको मोर्चाबन्दी



हाम्रो इकोनोमि

 

आशाअनुरूप काम गर्न नसक्ने केपी ओली नेतृत्वको सरकारलाई कसरी सफल बनाउने भन्ने कुरामा भन्दा ‘असफल सरकार’लाई विस्थापित गर्ने ‘उत्साह’ नेकपाका नेताहरूमा पलाएको छ ।

 

सरकारप्रति उदासीनता बढिरहेको यस स्थितिमा केपीलाई असफल सिद्ध गर्दै सरकारको नेतृत्व बदल्ने निष्कर्षमा नेकपाका नेताहरू प्रचण्ड र झलनाथ खनाललगायत पुगिसकेका छन् भने माधवकुमार नेपालको समेत साथ प्राप्त गर्ने प्रयास भइरहेको छ ।

 

केपीमाथि सरकार गठन भएको आठ महिना बितिसक्दा पनि कुनै ठोस काम गर्न नसकेको, केवल गफ गरेर समय गुजारेको, पार्टीका कुनै पनि नेताहरूसँग छलफल र परामर्श गर्ने नगरेको, न्यून क्षमताका सीमित व्यक्तिको इच्छा र इसारामा चल्ने गरेको तथा अहङ्कारी व्यवहार प्रस्तुत गर्ने गरेकोजस्ता आरोपहरू लागेको छ ।यिनै आधारमा ओलीलाई थप अलोकप्रिय तुल्याउन पार्टीका नेताहरूले कसरत गरिरहेका छन् ।

 

एकातिर सहअध्यक्ष प्रचण्ड ओलीलाई विस्थापित गर्ने गुप्त अभ्यासमा लागिसकेका छन् भने अर्कोतिर युवा पुस्ताका घनश्याम भुसाल र योगेश भट्टराईलगायतका नेताहरू केपीविरुद्ध बलियो ‘नेटवर्क’ बनाउन सक्रिय भएका छन् । भट्टराई र भुसालले सांसदहरूलाई केपीका विरुद्ध सङ्गठित गर्ने काम गरिरहेका छन् ।

 

मन्त्रिमण्डलमा सामेल गरिएका कुनै पनि ‘माओवादी’ मन्त्रीहरू प्रधानमन्त्रीप्रति सकारात्मक बनेका छैनन् । ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, रघुवीर महासेठ, गोकर्ण विष्ट र रवीन्द्र अधिकारी पनि केपीसँग असन्तुष्ट रहेको बुझिन्छ ।

 

केपीलाई विस्थापित गरेको अवस्थामा आफ्नो राजनीतिक भविष्य सुरक्षित रहने ग्यारेन्टी भएमा उल्लिखित मन्त्रीहरू प्रधानमन्त्रीलाई छोडेर ‘अन्तै लाग्न’ तयार भएको बताइन्छ ।

 

नेकपाको सचिवालयका नौ सदस्यमध्ये अधिकांश केपीका विरुद्ध उभिने स्थितिमा छन् । माधव नेपालको साथ भएमा प्रचण्ड सजिलै बहुमतमा पुग्ने देखिन्छ ।

 

प्रचण्डलाई झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादलको साथ रहने निश्चित मानिएको छ । केपी ओलीको पक्षमा रहेको मानिने ईश्वर पोखरेल र विष्णु पौडेलले समेत ओलीलाई साथ दिनेमा शङ्का गरिन्छ ।

 

नारायणकाजी श्रेष्ठ तटस्थ भूमिकामा देखिएका छन् । माधव नेपालको साथ रहेमा प्रचण्डको पक्षमा बहुमत पुग्ने र बहुमत पुगेमा अन्य नेताहरूको समेत साथ प्रचण्डलाई हुने विश्वास प्रचण्ड पक्षधरहरूले गरेका छन् ।

 

माधवकुमार नेपाललाई आफ्नो पक्षमा मिलाउन प्रचण्डले संसदीय दलको नेता तथा प्रधानमन्त्री बनाइदिने गरी गुप्त सम्झौता गर्ने योजना बनाएका छन् ।

 

प्रधानमन्त्री र दलको नेता बन्ने ग्यारेन्टी पाएपछि नेता नेपाल आफ्नो पक्षमा उभिने विश्वासमा प्रचण्ड र उनका पक्षधरहरू रहेका छन् । ज्ञातव्य छ, प्रचण्डको प्राथमिकता पार्टी अध्यक्ष हो र अध्यक्ष बनिसकेपछि मात्र सर्वशक्तिमान प्रधानमन्त्री बन्ने सपना उनले बुनेका छन् ।

 

अर्कोतिर नेपाली राजनीतिमा विशेष प्रभाव राख्ने भारत पनि यतिबेला केपीको बक्री भएको ठानिन्छ । प्रतिबद्धता जनाएर पनि गत महिना संयुक्त सैन्य अभ्यासमा सहभागिता नजनाएपछि क्रूद्ध बनेको भारत अहिलेसम्म शान्त बनेको महसुस गरिएको छैन ।

 

एक्लो केपीको कारण सैन्य अभ्यासमा नेपाली सेनाको सहभागिता नरहेको बुझाइ भारतको भएको बुझिन्छ । त्यसैले केपीको विस्थापनका निम्ति नेपालभित्र हुने प्रयासप्रति भारत पनि नकारात्मक बन्ने ठानिएको छैन ।

 

पहिले कङ्ग्रेस आई नेतृत्वको सरकार भारतमा रहँदा नेपालभित्रका हरेक सानातिना विषयमा समेत चासो राख्ने भारतले पछिल्लो समयमा आफ्नो नीति–व्यवहार परिवर्तन गरेको महसुस नेपालमा गरिएको छ ।

 

आन्तरिक मामिलामा चासो घटाएको भए पनि नेपालले संयुक्त सैन्य अभ्यासमा प्रतिबद्धता जनाएको तर सहभागिता नजनाएको विषयबाट चाहिँ भारत ज्यादै नै दुःखी भएको बुझिन्छ । त्यसैले केपी ओलीलाई विस्थापित गर्न प्रचण्डलगायतबाट भएका प्रयासहरूमा भारत निरपेक्ष रहने विश्वास यहाँ गरिएको छैन । त्यस्तै पश्चिमा शक्तिहरू पनि ओलीसँग प्रसन्न नरहेको बताइन्छ ।

 

सरकारमा सहभागी भएको सङ्घीय समाजवादी फोरम र सरकारलाई बाहिरैबाट समर्थन दिने राजपाले पनि केपी ओलीसँग निहुँ खोज्न थालिसकेका छन् । प्रचण्डले कदम अघि बढाउनेबित्तिकै उनको सहयोगका निम्ति कुनै पनि प्रकारले अघि बढ्ने स्थितिमा मधेशकेन्द्रित दलहरू रहेका छन् । झलनाथ खनाल र वामदेव गौतमको साथ प्राप्त गरिसकेका प्रचण्ड यतिबेला माधवकुमार नेपालको मन जित्न प्रयत्नशील छन् ।

 

केपीविरुद्ध नेपालको साथ मिल्ने भएमा संसदीय दलको नेताबाट उनलाई हटाउने सोचमा प्रचण्ड रहेको बुझिएको छ । केपीविरुद्ध तीन तहको बलियो मोर्चाबन्दी बनाउने योजनाअनुरूप प्रचण्ड क्रियाशील भएका छन् ।

 

केपीविरुद्ध पहिलो मोर्चाबन्दी नेकपाभित्र, दोस्रो मोर्चाबन्दी सत्तारुढ पक्षभित्र र तेस्रो मोर्चाबन्दी प्रमुख विपक्षी शक्तिलाई समेत समेटेर गर्ने रणनीतिक योजना भएकैले दुई साताअघि प्रचण्डले प्रतिपक्षी नेता शेरबहादुर देउवासँग समेत भेटेर एक स्तरको ‘अन्डरस्ट्यान्डिङ’ बनाएका हुन् ।

 

प्रधानमन्त्री केपी ओलीलाई एक्ल्याउने, प्रहार गर्ने र विस्थापित गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई निस्तेज बनाउन केपीले कसरी सक्ने हुन्– प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...