नेकपामा यसरी एक्लिँदै माधव नेपाल, कस–कसले छाड्दैछन् गुट ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमा नै लेखिन्– अब म कुनै गुटमा रहन्न । स्वतन्त्र बस्छु ।

 

तत्कालिन नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष समेत चलाइसकेकी झाँक्री कहिले पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गुटनजिक भइनन् ।

 

ओलीइतरका विभिन्न नेताका समूहमा सक्रिय भइन् तर सुरक्षित नभएको महसुस गरिन् । तत्कालिन अध्यक्ष झलनाथ खनाल गुटमा सक्रिय रहेकी उनी पछिल्लो कालमा ओलीइतरको गुटको नेतृत्व गरेका नेता माधवकुमार नेपालको लाइनमा थिइन् । सायद उनको ठम्याई छ, नेपालले अवसरलाई पक्रने र अवसर नपाउनासाथ कार्यकर्तालाई वास्ता गर्दैनन् ।

 

नेपाल समुहका होनाहार नेता भएर पनि योगेश भट्टराईले अवसर पाएनन् । सांसद जित्दा जित्दै उनी मन्त्री बन्ने चर्चा थियो । तर नेता नेपालले मन्त्रीका लागि उनको नाम अघि सार्न सकेनन् । तत्कालिन एमाले सचिव भट्टराई पनि अब नेपाल समूहबाट दिक्क भइसकेका छन् ।

 

उनी पार्टीको जिम्मेबारीमा स्वतन्त्र भएरै अघि बढ्ने तयारीमा छन् । ‘न सरकारमा जिम्मेबारी न पार्टीमा कुनै हैसियत भएपछि नेताको पछि लागेर हिँड्नु वा त्यो समूहको भन्नुको के अर्थ रह्यो र ?’, भट्टराईनिकट एक नेताले भने,‘यसैले अब युवा र मनमिल्ने साथीहरूको नयाँ समूह बनाएर प्रभावकारिता देखाउने योजना बन्नेक्रममा छ ।’

 

पार्टीमा वैचारिक र सैद्धान्तिक दृष्टिकोण राखेर अघि बढे नेता घनश्याम भुसाल । उनका कतिपय विचारलाई अन्य पार्टीले आफ्ना अवधारणापत्र समेत बनाए । उनको वैचारिक र राजनीतिक हैसियतका आधारको दबाबले नेताहरू बोल्न सकेनन् नत्र नेपाल समूहका व्यक्ति भन्ने ट्याग लागिरह्यो ।

 

उनी पनि स्वतन्त्र हिसाबले नै कम्युनिस्ट विचार र समाजवादको सैद्धान्तिक पक्षका विषयमा विमर्श र मन्थनमा व्यस्त हुने मुडमा छन् ।

 

विद्यार्थीको नेतृत्व गरेर पार्टीमा पनि लामो समयसम्म वैकल्पिक केन्द्रीय सदस्य बनेका ठाकुर गैरे पनि स्वतन्त्र वैचारिक समूहको पक्षमै उभिने तयारीमा छन् । झन् तत्कालिन माओवादी केन्द्रसँगको एकीकरणपछि उनलाई दबाबमा मात्र राखियो, मौका दिने छाँटकाँट नै देखिएन ।

 

नेपाल कम्युनिस्ट पार्टीमा अध्यक्ष ओलीको सशक्त समूह छ । उनले आफ्नो टोलीलाई सुरक्षित गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीलाई पार्टी र सरकारमा सकेसम्म समेट्ने प्रयास गरेका छन् । तर, तेस्रो वरियतामा रहेका नेता नेपालले भने आफ्नै समूहका ‘प्रभावशाली’हरूलाई बेवास्ता गरेका छन् ।

 

एक नेता भन्छन्,‘वरियतामा तेस्रोमा पर्दा उहाँ खुशी हुनुभयो त्यसपछि टिमको वास्ता पनि गर्नु भएन । अहिले उहाँलाई नसोधी गरिएका निर्णयमा विवाद गरिरहनु भएको छ । त्यस विषयमा पनि टिमसँग छलफल गर्नु भएन ।’

 

ओली अगाडी खनालको समूहमा रहेका यी युवा नेता नवौं महाधिवेशनमा नेपालको सहयोगसहित समूहमा स्थानान्तरण भएका थिए । खनालले गर्न नसकेको काम नेपालले गर्छन् भन्ने विश्वास थियो ।

 

तर त्यसैबेलादेखि नै मौका नपाएका युवा नेतालाई पार्टी एकीकरणपछि झन् भित्तामै पुराएपछि गुटगत राजनीति त्याग्ने मनसायमा पुगेका छन् ।

 

‘पार्टीमा एउटा लाइन हुन्छ तर त्यो लाइनले पनि सुरक्षा गर्न नसक्ने र प्रभावकारिता देखाउन नसकेपछि साथ दिनुको अर्थ हुँदैन ।

 

हामीले पनि पार्टीमा योगदान गरेका कारणले नै यहाँसम्म आएका हौं तर यहाँभन्दा माथि त नेताले पनि सोच्नुपर्छ’, नेकपाका एक युवा नेताले भने,‘यसैले हामी यस्तो मनस्थितिमा पुगेका छौं ।’

 

यसै पनि केही दिन यतादेखि नेकपामा नेपाल र अध्यक्षद्वयको कटाक्ष चलिरहेको छ । प्रचण्ड मध्यमार्गी भएर बसेका छन् भने ओलीसँग नेपालको कटाक्ष चलिरहेको छ ।

 

सरकारको काम कारबाहीप्रति नेपालले असन्तुष्टी जनाउँदै संसदमा आलोचना गरेका थिए भने स्थायी कमिटीको छुट्टै बैठक डाकेर असन्तुष्टी पोखेका थिए ।

 

विहीबार दिउँसो मुलुक आइपुगेका अध्यक्ष ओलीले नेपाललाई पुराना गीत र कविता भनेर असन्तुष्टी पोख्नु स्वभाविक भएको भनी व्यंग्य समेत गरेका थिए ।

 

यस्तो अवस्थामा नेपाल समूहलाई नै अघि बढाएका युवा नेताको मनस्थिति परिवर्तन भएपछि नेकपामा पनि युवाको चौथो धारको उदय हुनसक्ने अनुमान गरिएको छ ।

नेता सुरेनद्र पाण्डेले पनि आउने महाधिवेशनलाई ध्यानमा राखेर गुट चेन्ज गर्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...

राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...