जातीय विभेदमा परेकी बुद्धमायाले किन गरे अस्पतालमा दोस्रो पटक आत्महत्या प्रयास
‘यस्तो समाजमा बाँचेर के गर्नु? मलाई मर्न दिनुहोस्।’
हामी झण्डै एकघण्टा मानसिक अस्पताल पाटनमा बस्यौं जहाँ बुद्धमाया विश्वकर्मालाई राखिएको थियो। बुद्धमायाले हामीसँग बोलेको यत्ति हो।
बुद्धमाया विश्वकर्मा बर्दिबासमा जातीय विभेदको शिकार भएकी बुद्धमाया हुन्। जसले पानी छोएको निहुँमा छिमेकीद्वारा कुटिएपछि अपराधीहरुलाई जेलसम्म पुर्याउने साहस देखाएकी थिईन्। तर उनै बुद्धमायालाई पछि मु्द्दा मामिला गरेको भन्दै अर्को सामाजिक बहिष्करण सुरु भएछ।
छिमेकीहरु बाटो तर्केर हिँड्न थालेछन्। आउजाउ गर्न छाडेछन्। बोल्न छोडेछन्। सन्तानलाई विद्यालयमा समेत हेयको दृष्टिले हेर्न थालिएछ। अघिल्लो पटकको आत्महत्या प्रयासपछि उपचारार्थ काठमाडौं आएका बेला उनले भनेकी थिईन्, ‘अदालतले न्याय दिए पनि, समाजले दिन सकेन।’
उनै बुद्धमायाले दोस्रोपटक पनि आत्महत्या प्रयास खबर पाएपछि हामी उनलाई पछ्याउँदै पाटन अस्पताल पुगेका थियौ, बिहीबार मात्र।
पाटन अस्पतालको बेड नम्बर ४२ मा बुद्धमायालाई राखिएको रहेछ। हामी पुग्दा बेड खाली थियो। खोज्दा पत्तो लाग्यो, उनलाई दुई जना आफन्त र श्रीमानको रोहवरमा चिकित्सकीय परामर्शका लागि अस्पतालको चौरमा राखिएको रहेछ।
‘उहाँले तीन दिनअघि फेरि सुसाइड अटम्प्ट गर्नुभो, परामर्श चलिरहेको छ’ काउन्सिलिङ्मा खटिएकी नर्स सविता खड्काले बताइन्, ‘उहाँमा गहिरो निरासा व्याप्त छ। हामीले उहाँलाई त्यो चरणबाट बाहिर निकाल्न प्रयास गरिरहेका छौं।’
गएको सोमवार आफ्नै सलले घाँटीमा पासो लगाई आत्महत्या गर्न खोजेकी बुद्धमायालाई नर्सहरुले बचाई निरन्तर निगरानीमा राखि काउन्सिलिङ् गर्दै आईरहेका रहेछन्। ‘त्यसदिन हामीले नदेखेकोभए अनर्थ हुने थियो’ नर्स सविताले भनिन्, ‘यो दुई दिनमा भने उहाँमा सुधार देखिएको छ।’
आत्महत्या कि हत्या?
बुद्धमायाको अहिलेको दुर्दशा बुझ्न ६ महिना पछाडि फर्कनुपर्ने हुन्छ।
घटना बैशाख १५ गते साँझको हो। बर्दिबास वडा नम्बर ४ को माईस्थान भब्सी हवलदार टोलमा बस्ने बुद्धमायाकै छिमेकी कमला गिरी र उनका भान्जा रामबाबु दाहालले पानी छोएको भन्दै बुद्धमाया र छोरी मनीषालाई गाली–बेइज्जत गर्दै कुटपिट गरे।
अनाहकमा कुटाई खाएपछि बुद्धमायाले त्यसको प्रतिवाद गरिन्। न्यायका निम्ति सम्बन्धित निकाय गुहारिन्। गाउँलेले मिलापत्र गर्न दवाव र प्रभाव पार्दा समेत उनले आफ्नो अठोटलाई किन्चित डगमगाउन दिईनन्। उनले अदालती न्याय पनि पाईन्।
जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ को दफा ३ र दफा ४ (३०) बमोजिमको कसुर गरेको ठहर गर्दै न्यायाधीश डण्डपाणी शर्माको इजलासले कमला गिरीलाई ६ महिना जेल र दश हजार जरिवाना तथा पीडितलाई ५० हजार क्षतिपूर्ति तिराउने फैसला गर्यो। जिल्ला अदालत महोत्तरीको यो फैसला २४ असारमा सुनाईएको थियो।
तर त्यही फैसला बुद्धमायाको निम्ति अभिशाप बन्न पुग्यो।
बुद्धमाया आफूले न्याय पाएकोमा खुशी हुँदै घर फर्किइन्। तर गाउँलेहरु स्वागत हैन घृणा र दुरदुरले भरिएका शब्दहरुले आक्रमण गर्न आईपुगे। आफ्नै छिमेकीलाई जेल पठाउने कुलगाँर भन्दै उनीमाथि सबै एकोहोरो खनिए।
छरछिमेकमा बुद्धमायालाई उल्टै दोषी करार गरियो।
समाज एकातिर आफू मात्र एकातर्फ भएपछि बुद्धमायालाई पनि ‘ऐ साँच्चिकै गल्ती मेरै रहेछ कि क्या हो? मैले बेकारमा उजुरी गरेछु’ भन्ने चिन्ताले सताउन थाल्यो। सन्तापले भतभति पोल्न थालेपछि उनी राम्ररी निदाउन पनि सकिनन्।
त्यसपछि बुद्धमायाले लिएको निर्णय कठोर मात्र थिएन, हाम्रो सामाजिक न्यायको बिकृत मुहार समेत उदाँगो हुने प्रकृतिको थियो। २७ असारका दिन उनले विष सेवन गर्दै आत्महत्याको प्रयास गरिन्। उनलाई तत्काल बर्दिवासकै शुभस्वस्तिक अस्पतालमा उपचार गरिएको थियो। थप उपचार गर्न काठमाडौंको ग्रिन सिटी अस्पताल ल्याइयो।
उनको मुटुमा पनि समस्या देखियो। सहिद गंगालाल अस्पताल बासबारीका सर्जन डा.रामेश कोइरालाले निशुल्क शल्यक्रिया गरे।
बेलैमा उद्दार गरिएकोले उनको ज्यान त जोगियो तर बुद्धमायाको दिमागमा बसेको दलित हुनुको भयावह पीडाको जलन झन् झन् दन्किदै जान थाल्यो। बुद्धमायालाई क्रुर जात ब्यवस्थाको मानसिक चक्रब्यूहले यस्तरी फसाँईदियो कि उनको मानसिक क्षमताले समेत त्यसको बोझ उठाउने सामथ्र्य राखेन।
उनी बिक्षिप्त हुदैं जान थालिन्। मानसिक अवस्था बिग्रदै जान थालेपछि १३ दिनअघि उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनले दोश्रो चोटी आत्महत्याको प्रयास गरिन्।
अझै सुध्रिएको छैन अवस्था
बुद्धमायाको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइमा यो १३ दिनको अवधिमा उनी धेरै पटक अपस्पतालको गेटबाट बाहिर निस्किने प्रयास गरिन्। उनी न श्रीमानसंग बोल्छिन् न छोरीसंग खुल्छिन्। एकोहोर मनोदशाले छोपेको छ उनलाई।
उनलाई औषधी खुलाउन समेत हम्मे हम्मे पर्छ। उनको अवस्था सुध्रन अझै समय लाग्ने बताईएको छ। केही समयअघि हट्टाकट्टा बुद्धमायाको शरिर निकै गल्दै गएको छ। अनुहारमा कुनै तेज छैन। ओठ कलेटी परेर फुटेका छन्।
उनले हामीलाई पनि एकोहोरो हेरिरहिन्। उनको दृष्टिमा अदालतले दिएको न्याय र समाजले दिएको अन्यायको विरोधाभाष छ।
अझ त्योभन्दा बढि प्रश्न उनिएको छ, ‘म कसरी खुशी हुँला?, मलाई साँच्चैको न्याय कसरी मिल्ला?’