मलेसिया जान नेपालीलाई फ्रि, विष्टले भने अब १७ देशमा नि:शुल्क हुन्छ



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय श्रम अभ्यासको बारेमा नेपालका विज्ञमध्येकी हुन् सांसद विन्दा पाण्डे ।

 

नेपाल ट्रेड युनियन महासंघको महासचिव र राष्ट्रिय श्रम प्रतिष्ठानको नेतृत्व गरिसकेकी नेकपा नेतृ पाण्डेले गत साता प्रतिनिधिसभा श्रम समितिको बैठकमा नेपाली कामदारको हितमा पहिलो पटक सरकारले अडान राखेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टलाई धन्यवाद दिइन् ।

 

 

‘आजसम्म अरु देशले जे भन्यो त्यही मानेर नेपालीलाई वैदेशिक रोजगारीमा पठाउँदैछ । पहिलो पटक हामीले भने अनुसार तिमीले हाम्रा नागरिकलाई काम लगाउनुपर्छ, नत्र हामी पठाउँदैनौ भन्ने ढंगले मन्त्रीज्यू प्रस्तुत हुनुभयो । नेपाली कामदारको हकमा श्रमिक माथि हुने गरि एमओयू गर्ने प्रयासले मलेसियापछि अरु देशलाई पनि सबक हुनेछ,’ उनले भनिन् ।

 

 

विष्टको धरपकडपछिका ५ महिना

 

नेपाली कामदार ठगिएको भन्दै गोकर्ण विष्टले श्रममन्त्री भएलगत्तै मलेसियामा कामदार पठाउने प्रक्रिया बन्द गराएका थिए । उनले कामदारसँग अतिरिक्त रकम असुल्ने बायोमेटि्रक, माइग्राम, भीएलएन लगायतका संरचना पनि बन्द गराए ।

 

 

त्यतिबेला सत्तारुढ नेकपाका शीर्ष नेताले समेत विष्टले सेलिब्रेटी बन्न कामदार पठाउने संरचनामाथि धावा बोलेको भन्दै प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराएका थिए ।

 

 

मलेसिया जाने नेपाली कामदारको शोषण भएको भन्दै मन्त्री विष्टले जेठ २ गतेदेखि कामदार पठाउने प्रक्रिया रोकेका थिए । उनले मलेसिया नेपाली कामदारको हितमा सम्झौता गर्न तयार नभएसम्म आफ्ना नागरिक नपठाउने अडान लिए ।

 

यसबीचमा धेरै प्रयास भए । नेपालस्थित मलेसियाका कार्यवाहक राजदूतले यसअघिकै प्रक्रियाबाट कामदार लैजान पहल नगरेका होइनन् । उनले मन्त्री विष्टले भने जसरी मलेसियाले कामदार नलैजाने सन्देश पनि पठाए ।

 

जवाफमा मन्त्री विष्टले मलेसियालाई नेपाली कामदार चाहिएको हो भने नेपाल सरकारसँग सम्झौता गर्नुपर्छ भन्ने अडान कायमै राखे ।

अन्ततः गत साता मलेसियामा दुवै देशका उच्च अधिकारीहरुबीच महत्वपूर्ण समझदारी भएको छ । दुई देशबीच पहिलो पटक श्रम सम्झौताको मस्यौदामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् ।

 

अब सम्भवतः दशैंपछि तिहार अघिको बीचमा मलेसियाका मानव संशाधन मन्त्री नेपाल आउनेछन् र नेपाल-मलेसियाबीच एमओयू हुनेछ ।

 

नेपाली कामदारमाथि आर्थिक भार लगाउने संस्था खारेज गरी मलेसिया पठाउन बन्द गर्ने निर्णय आफैमा जोखिम थियो । किनकी भिएलएन, बायोमेटि्रक जस्ता संरचना मलेसिया सरकारले नेपाली कामदार लैजाने प्रक्रियाका लागि वैधानिक रुपमा खडा गरेको थियो ।

मन्त्री विष्टले बिना जानकारी र मलेसियासँग छलफल नगरि एक्कासी ती संरचनामाथि धरपकड गरेका थिए ।

 

मन्त्री विष्टले लगातार अडान लिएकै कारण झण्डै पाँच महिनापछि मलेसियासँग एमओयूको मस्यौदामा सहमति जुटेको हो । विष्टको निर्णयलाई नेपालभित्रै चुनौतीका रुपमा हेरियो ।

 

त्यसैले सार्वजनिक बहसको विषय बनेन । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले यो विषयमा बोले । त्यहाँको संसदमा पटक पटक कुरा उठ्यो ।

 

मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपालसँग छिट्टै श्रम सम्झौता हुने कुरा सार्वजनिक रुपमा कैयौंपटक बोले । विष्टले एकतर्फी रुपमा मलेसियामा कामदार पठाउन रोक्ने निर्णय गर्दा यसका धेरै जोखिम थिए ।

 

नेपाली कामदारको रोजगार गन्तव्य खोसिनेसम्मका चिन्ता पनि आए । तर मलेसियाको नयाँ सरकार सकारात्मक भएकाले यो प्रकरणले सुरक्षित अवतरण पाएको छ ।

 

१७ वर्षपछिको ‘मूभ’

 

यसबीच तीन पटक सम्म नेपाल र मलेसियाबीच एमओयूको मस्यौदा आदान प्रदान भयो । नेपाली कामदारमाथी आर्थिक भार थप्न नपाइने र सामाजिक सुरक्षाको ग्यारेण्टीमा मन्त्री विष्टले अडान छाड्नन् ।

 

नेपालकै अडान अनुसार एमओयूको मस्यौदामा सहमति जुटेको दावी सरकारी अधिकारीहरुले गरेका छन् । तर मन्त्रीस्तरीय हस्ताक्षर भएर सम्झौता सार्वजनिक नभएसम्म यो विषय बहसमै रहनेछ ।

 

नेपाल र मलेसियाबीच १७ वर्षे श्रम सम्बन्धमा अहिलेसम्म पटक पटक श्रम सम्झौताको सामान्य प्रयास बाहेक ‘भगवान भरोसा’ को शैलीमा कामदारहरु गइरहेका थिए । अहिलेसम्म नेपाली कामदार मलेसिया जाँदा सरकारले श्रम स्वीकृत दिने, म्यानपावरले पठाउने तथा मलेसियाको रोजगारदाताले बुझ्ने र काममा लगाउनेमै सीमित थियो श्रम सम्बन्ध ।

 

अब सम्झौता भएपछि हरेक कामदारको विषयमा पठाउने नेपाल सरकार अनि रोजगारदाता मुलुक मलेसिया जवाफदेहि बन्नेछन् । आधारभूत सेवा सुविधा मात्रै हैन कामदारको सामाजिक सुरक्षाको विषय पनि नीतिगत रुपमा व्यवस्थित हुने कुराले कामदारको सुरक्षा बलियो हुनेछ ।

 

सबैभन्दा महत्वपूर्ण कुरा त नेपाली कामदारले अब मलेसियामा काम गर्न जाँदा एक पैसा पनि कतै बुझाउनुपर्ने छैन ।

 

के छ एमओयूमा ?

 

मलेसिया पुगेर श्रमको एमओयूको मस्यौदामा सहमति जुटाएर फर्किएका एक सरकारी अधिकारीले यो सम्झौता लागू भएपछि नेपाली कामदारको करिब एक लाख रुपैयाँ बच्ने दावी गरेका छन् ।

 

अहिले स्वास्थ्य परीक्षणदेखि लेबीसम्म र टिकटदेखि सेवाशुल्कसम्मका सबै प्रक्रिया सकिँदा र मलेसिया पुग्दासम्म एकजना नेपाली कामदारको सरदर एक लाख रुपैयाँ खर्च हुने गरेको दावी उनीहरुको छ ।

 

एमओयूमा हस्ताक्षरपछि एक पैसा पनि तिर्नु नपर्ने गरि सहमति भएको उनीहरुले बताएका छन् । यद्यपी कुनै कामदार मेडिकल र इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा फेल भएको खण्डमा ऊ मलेसिया जान पाउँदैन ।

 

ती प्रक्रियामा लागेको रकम भने फेल भएको कामदारले नै तिर्नुपर्छ । सबै प्रक्रिया पास गरेको कामदारको शुल्कमात्र मलेसियाको रोजगारदाता कम्पनीले तिर्ने हो ।

 

यो सम्झौतापछि बायोमेटि्रकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि २९ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ । अब नेपाल सरकारबाट मान्यताप्राप्त र पुर्वाधार पूरा भएका जुनुसुकै स्वास्थ्य संस्थाबाट कामदारको मेडिकल हुनेछ । सिन्डिकेटका कारण ४५ सय तिर्ने कामदारले अब बढीमा २ हजारमा मेडिकल गर्नेछन्, त्यो पनि रोजगारदाताले दिनेछ ।

 

फि्र भिसा फि्र टिकेटको पपुलर पोकोभित्र तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङ, ‘बायोमेटि्रक माफिया’ कैलाश खड्का (जो अहिले फरार छन्) र अमिन नामका तत्कालिन मलेसियन गृहमन्त्रीका बिचौलियाले नेपाली कामदारबाट अतिरिक्त असुली गर्ने संयन्त्र खडा गरेका थिए । यसका लागि ३९ मेडिकल व्यवसायीबाट ५० करोड संकलन गरेर घुस वितरण गरिएको थियो ।

 

सम्झौता बमोजिम कैलाश खड्काले मेडिकल गरेबापत ४५ सय असुले पनि कमिसन मलेसिया नपठाएपछि अमिनले माइग्राम नामको अर्को अवैध संरचना खडा गरेका थिए । मेडिकल गर्न जानुअघि नेपाली कामदारको नाम दर्ता गर्न म्याननपावर कम्पनीले ३० डलर माइग्रामको खातामा पठाउनुपर्ने गरियो । अब सो संरचना पनि खारेज हुनेछ ।

 

वार्तामा सहभागी नेपाली अधिकारीका अनुसार बायोमेट्रिकको नाममा भएको सिण्डिकेट असुली, माइग्रामको नाममा भएको अवैध असुलीप्रति मलेसिया सरकार पनि चिन्तित रहेछ । माइग्राम जस्ता संस्थाले मलेसिया सरकारलाई पनि राजश्व तिरेका रहेनछन् । त्यसैले यी संरचना हटाउन मलेसिया तयार भएको हो ।

 

भिएलन लगायत भिसा प्रक्रियामा काम गर्ने संरचना खारेज गरेर मलेसिया सरकारले एउटै छातामुनि सबै संरचना राखोस भन्ने प्रस्ताव नेपाल सरकारले राखेको छ । मलेसियाले यी संरचनाको बारेमा सोचेर निर्णय दिने भनेको छ । ती संरचना रहे पनि नेपाली कामदारको भिसा प्रक्रियामा झन्झट नहुने र पैसा रोजगारदाताबाटै तिराउने सहमति भएको छ ।

 

एमओयू अनुसार अब नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार हुन्थ्यो । लामो करार अवधिले गर्दा नेपालले धेरै ठूलो पारिवारिक र सामाजिक मूल्य चुकाउनु परेको र परिवारहरु बिखण्डन हुने अवस्था रहेको भन्दै २ वर्षर्े करारमा मलेसियालाई सहमत गराएको छ । कम्पनीले चाहेमा २ वर्षको करार अवधिपछि पुनः कामदार फर्किन सक्नेछन् ।

 

कामदार पठाउने म्यानपावर एजेन्सीले सेवाशुल्क बापत कामदारको आधा महिनाको तलब बराबरको रकम पाउनेछन् । तर सो रकम कामदारको तलबबाट काटिने छैन ।

 

श्रम सम्झौताको मस्यौदामा सो रकम रोजगारदाताले तिर्नुपर्ने उल्लेख छ । कामदारले नेपालमा गर्ने सबै प्रक्रियामा लाग्ने शुल्क रोजगारदाताले दिने सहमति भएको छ ।

 

सरकारी सम्झौता निजीले मान्लान् ?

 

नेपाली कामदारको हक हितका लागि सम्बन्धित देशसँग अडान लिनुपर्छ भन्ने मान्यता स्थापित गरेकोमा मन्त्री विष्ट धन्यवादको पात्र बनेका छन् । तर यो श्रम सम्झौता नभएसम्म र सम्झौताको पालना रोजगारदाता कम्पनीहरुले पालना नगरेसम्म ढुक्क हुने अवस्था भने छैन । किनकी दुई देशका सरकारबीचको सम्झौतामा निजी कम्पनी कति बाँधिन्छन् ?

 

अर्को कुरा कामदार लिने र आपूर्ति गर्नेहरुको बीचमा अन्तर्राष्ट्रिय बिचौलियाहरुको चलखेल हुने गर्छ । दुवै देशका सरकारले सम्झौता पालना र अनुगमन कति बलियो पार्छन् भन्नेमा पनि धेरै कुरा निर्भर हुन्छन् ।

 

जे जति आर्थिक भार रोजगारदाता कम्पनीमा पारिएको छ, ती कम्पनीले सम्झौता पालना नगरेमा अर्को समस्या थपिनेछ ।

 

तर मलेसियासँग हुने एमओयू वैदेशिक रोजजारलाई व्यवस्थित गर्ने र नेपाली कामदारको हकहित स्थापित गर्ने सन्दर्भमा महत्वपूर्ण डिपार्चर भने हुनेछ । यसले अरु देशसँग पनि यहि मोडलमा श्रम सम्झौताको बाटो खोल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...