पप्पु कन्सट्रक्सनका सञ्चालक भारतमा लुकेर बसेको अनुमान, पक्राउ नपरेपछि प्रहरीमाथि नै शंका
पुर्जी जारी भएको दुई साता नाघिसक्दा पप्पु कन्सट्रक्सनका सञ्चालक सुमित रौनियार पक्राउ नपरेपछि प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ । स्थानीयले रौनियार पक्राउ नपर्नुमा प्रहरीको सक्रियतामाथि प्रश्न उठाएका छन् । रौनियार पक्राउ पर्न नसक्नुमा प्रहरीको उदासीनता रहेको स्थानीयको आरोप छ ।
९ भदौमा पप्पु क्न्सट्रक्सनले ठेक्का लिएर निर्माण गरिरहेको पुलको पिल्लरमा डुंगा ठोकिँदा ५ जनाको मृत्यु भएको थियो । त्यसपछि टिकुलियाका स्थानीयले पप्पु कन्ट्रक्सनमाथि मुद्दा दायर गरेका थिए ।
प्रहरीले पप्पु कन्ट्रक्सनका सञ्चालक रौनियारलाई कार्यालयमा उपस्थित हुन आग्रह गरेको थियो । रौनियारले अटेर गरेपछि जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति पुर्जी जारी गरेको थियो ।
हाल रौनियार कहाँ छन् ?, प्रहरीले कुनै जवाफ दिएको छैन । प्रहरीले रौनियारलाई पक्राउ नगरेपछि पीडित परिवार र स्थानीय सरोकारवालाले प्रहरीमाथि शंका गर्न थालेका छन् । प्रहरी अदालतको आदेशको अवज्ञा गर्दै राजनीतिक हस्तक्षेपका कारण मौन बसेको स्थानीयको आरोप छ ।
‘हामीले हत्यारा रौनियारलाई कारबाहीसहित क्षतिपूिर्तको माग गर्दै उजुरी दिएका हौँ, दुर्घटनामा मृतक ५५ वर्षीय कान्तिदेवीको छोरा रामबाबु साहले भने, ‘न रौनियार पक्राउ परे न क्षतिपूर्ति पायौँ ।’
अब कसरी न्याय पाउने होला निकै चिन्ता लागेको उनले सुनाए । प्रहरी कार्यालयले मूलुकी फौजदारी कार्य विधिसहित ऐन ०७४ को दफा ९ को उपदफा २ बमोजिम पक्राउ गर्न अदालतसमक्ष माग गरेको छ ।
अदालतले असोज ४ गते आदेश दिएपछि स्थानीयले केही राहत महसुस गरेका थिए । ठेकेदार पक्राउ पर्नुपर्ने, पुल निर्माणको कार्य अगाडि बढ्नुपर्ने, दुर्घटनामा ज्यान गुमाएका र घाइतेले क्षतिपूर्ति पाउनुपर्ने स्थानीयको माग छ ।
रौतहट पर्सा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बानेश्वरलाई पक्राउ गर्न पत्राचार गरिए पनि सुमित फेला परेका छैनन् । रौनियार हाल भागेर भारततर्फ गएको प्रहरीको अनुमान छ ।
‘योजनाको ठेक्का लिएर योजना अलपत्र पारी देश बर्बाद गर्ने रौनियार जनताका शत्रु हुन्, डुंगा दुर्घटनामा पत्नी गुमाएका भरत पटेलले भने, ‘उसलाई सरकारले रेड कर्नर नोटिस जारी गरी पक्रनुपर्छ ।
’ उनको सडक दुर्घटनामा खुट्टा भाँचिएपछि हाल २ वर्षदेखि उपचाररत छन् म शारीरिक रूपमा अशक्त छु, भगवान्ले पत्नी पनि खोस्यो, सरकारबाट क्षतिपूर्ति पनि पाइनँ, उनको गुनासो छ ।
दुःख पाए पनि टिकुलिया घाटमा पुल बनेको हेर्ने रहर नमरेको उनले सुनाए । लालबकैया पारिका बन्जाराहा, औरैया, मठिया लगायतका स्थानीयलाई सदरमुकाम गौर आउजाउ गर्न तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पुल शिलान्यास गरेका थिए ।
०७१ साल २९ गते १४ करोड ९३ लाखमा पप्पु कन्सट्रक्सनले ठेक्का सकार गरेको थियो । ०७४ साल असार २५ गतेभित्र निर्माण कार्य पूरा गर्न लिखित सम्झौता गरेका हरिनारायण रौनियार (सुमितको बुबा)ले हालसम्म पुलको पिलर मात्र ठड्याएको र सोही पिलरमा ठोकिएर डुंगा दुर्घटना भएपछि स्थानीयले पप्पु क्न्सट्रक्सनविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
प्रहरी खोजीमा रहेका सुमित पर्सा क्षेत्र नं.३ का सांसद हरिनारायण रौनियारका छोरा हुन् । ०७३ चैत अन्तिम साता उपेन्द्र यादवको हातबाट टीका थाप्दै संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका हरिनारायण चुनावी अभियानका क्रममा छोरा सुमितलाई ठेक्का पट्टाको जिम्मा सुम्पेका थिए ।
देखावटी रूपमा कन्ट्रक्सनको काम छोरालाई सुम्पे पनि सम्पूर्ण कारोबारमा हरिनारायण स्वयं हस्ताक्षर गर्ने खुलेको छ । रकमी चलखेलको कारण टिकट लिई चुनावी मैदानमा उत्रिएका हरिनारायण ठेक्कामा आफ्नो संलग्नता नदेखाउन छोरा सुमितलाई कागजी सञ्चालक बनाएका थिए । त्यसैको आधारमा रौतहट प्रहरीले दुर्घटनापछि सुमितलाई सोधपुछका लागि बोलाएको हो ।
डुंगा दुर्घटनामा परी गौर नगरपालिका–४ की ४५ वर्षीया इन्दुदेवी पटेल, ६४ वर्षीया शान्तिदेवी साह, १० वर्षीया उष्माकुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र ईशनाथ नगरपालिका औरैयाकी ४५ वर्षीया रुनादेवी पटेलको ज्यान गएको थियो ।
‘भवितव्य ज्यान मुद्दामा सुमितलाई पक्राउ गर्न खोजिरहेका छौँ,’ प्रहरी उपरीक्षक केदार ढकालले भने, ‘सुमित भारतमा लुकेको आशंका छ ।’ ऊ जहाँ भए पनि कानुनले नछोड्ने उनले बताए ।
पप्पुका पुल कतै भाँचिए, कतै भासिए
रौतहटको लालबकैया नदी कटहरियाघाटमा आर्थिक वर्ष ०७१÷७२ मा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो । स्थानीयको विरोधपछि पुलको पूर्वपट्टिको पिल्लर पप्पु कन्स्ट्रक्सन आफैँले मर्मत गरेर सञ्चालनमा ल्यायो ।
पछि पश्चिमपट्टिको पिलर भासियो । पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो । महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँचियो ।
गत भदौमा बबई नदीमा आएको बाढीका कारण पुलको पिलर भासिएपछि पुल भाँचिएको थियो । पुल निर्माण गर्दा पानीमा बनाइने फाउन्डेसन कमजोर भएकाले पुल निर्माण कमजोर भएको सडक विभागको प्रारम्भिक अध्ययनले देखायो ।
यसको भुक्तानी रोकिएपछि पप्पु कन्सट्रक्सनले सडक विभागविरुद्ध सर्वोच्च अदालतमा मुद्दा नै दायर गरेको छ । परामर्शदाताको सुझावअनुसार पुल नबनाएको र कमजोर कंक्रिट तथा पिल्लर प्रयोग गरेका कारण नतिजा कमजोर देखिएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।
भदौमा भाँचिएपछि पुल अलपत्र अवस्थामा छ । पप्पुको ठगका यी दुई अलपत्र पुल उदाहरण मात्रै हुन् । रौनियारको पप्पु कन्सट्रक्सनले निर्माण गरेका धेरै आयोजना यस्तै समस्यामा फसेका छन् । पप्पु कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेका पुलहरूमा यस्तै समस्या देखिएका छन् । अधिकांश निर्माणाधीन पुलको काम समयमा हुन सकेको छैन ।
कम्पनीले अहिले एकल तथा अन्य कम्पनीसँग मिलेर ४० वटाभन्दा धेरै पुलको ठेक्का लिएको छ । पप्पु कन्सट्रक्सनले एक्लै निर्माण गर्न लागेको पुलको लम्बाइ ५ हजार ७ सय ८० मिटर छ । तर, अधिकांश पुलको निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा काम भने सुरुसमेत भएको छैन । निर्माण सम्पन्न भएका पुल कमजोर अवस्थामा रहेका सडक विभागले जनाएको छ ।
‘हाम्रो मूल्यांकनमा सबैभन्दा खराब काम गर्ने ठेकेदार कम्पनी मध्येको पप्पु कन्ट्रक्सन रहेको विभागका एक अधिकारीले भने, ‘पप्पु कन्स्ट्रक्सनले बनाएका सबै आयोजनामा कुनै न कुनै समस्या देखिएका छन् ।’
पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुनेमा बागमती नदीमाथि आर्क ब्रिज निर्माणको ठेक्का पनि पाएको छ । यो वर्ष पूरा हुने भनिएको आयोजनाको फाउन्डेसन निर्माणको काम भइरहेको छ ।
ठेकेदारले समयमै काम नगरेका कारण आयोजनामा ढिलाइ भइरहेको विभागले जनाएको छ । यस्तै टेकुमा बन्न लागेको मोटरेबल पुल तीन वर्षअघि नै निर्माण सक्नुपर्ने भए पनि कम्पनीले बल्ल निर्माण थालेको छ ।
एसियाली विकास बैंकको सफ्ट लोनमा बन्न लागेको पुलको काम समयमा नभएपछि दाताले ऋण रोक्ने चेतावनी दिएपछि बल्ल काम अघि बढेको छ । कम्पनीले देशका विभिन्न सडक खण्डमा रहेका पुल तथा कान्ति राजपथ, मध्यपहाडी राजमार्ग, धरान, चतरा, हेटौँडा सडकका पुलहरूको पनि ठेक्का लिएको छ ।
देशैभरिका पुलहरूको निर्माण कार्य सन्तोषजनक नरहेको विभागको भनाइ छ । ठेक्का मात्रै लिने र गुणस्तरीय काम गर्न नसक्ने ठेकेदार कम्पनीलाई सडक विभागले कारबाही गर्न सकेको छैन ।
सडक विभागको पुल महाशाखाका एक अधिकारीका अनुसार अनुगमन नभएका बेला र राति तथा बिदाको दिन यो कम्पनीले निर्माणको काम गर्छ । जसका कारण अनुगमनमा जाने कर्मचारीलाई समस्या हुने गरेको ती अधिकारीले बताए ।
सडक विभागले कमसल काम गरेको भन्दै कालोसूचीमा राख्न पप्पु कन्सट्रक्सनलाई स्पष्टीकरण पनि सोधेको थियो । तर, विभागबाट पत्र प्राप्त भएपछि पप्पुले सर्वोच्च अदालतमा विभागविरुद्ध मुद्दा दायर ग¥यो ।
सर्वोच्च अदालतले पप्पु कन्सट्रक्सनलाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएपछि सडक विभागको प्रयास पनि बीचैमा असफल हुन पुगेको थियो ।
रौतहटमा हाल पप्पु कन्स्ट्रक्सनका आधा दर्जन पुल निर्माणाधीन अवस्थामा छन् । पप्पुको लापरबाहीमा लमहा खोला पुल पनि एक हो । १२५.९ मि. लम्बाइ रहेको सो पुल लाई निर्माण गर्न ०७३–६–२६ गते सम्झौता गरेको पप्पुले ०७५–६–१५ सम्म निर्माण सम्पन्न गनुपर्नेछ ।
त्यसैगरी, ६० मिटर लम्बाइ रहेको रौतहटको तरहरीको झाझ नदीको पुलको ०७३–६–९ गते सम्झौता गरेको पुलको निर्माण कार्य ०७५–२–१० सम्म सक्नुपर्ने थियो । तर, हालसम्म कार्य सम्पन्न नभएको अवस्था छ । ४७० मि. चाँदी पुलको निर्माणका लागि ०७३–३–३ मा ठेक्का लिएको पप्पुले ०७६–३–३ सम्म निर्माण कार्य सम्पन्न गर्नुपर्ने अवस्था छ ।
लालबकैया खोला पुलको ०७२–३–३० मा ठेक्का पाएको हुँदा ०७६–३–२९ गते २५० मि. को पुल बनाइसक्नुपर्ने चुनौती छ । ती सबै पुलको हालसम्मको निर्माण प्रगति १० देखि ३५ प्रतिशतसम्म रहेको तथ्यांकले देखाएको छ ।