सभापति देउवाविरुद्धको मोर्चाबन्दी, कोइराला परिवार फुटाउने दाउमा सिटौला
सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेता संगठित हुन थालेका छन् । संस्थापनइतर पक्ष छिन्नभिन्न बन्दा देउवाको कार्यशैली झनै एकलौटी हुने भन्दै पौडेलले मोर्चाबन्दी सुरु गरेका हुन् ।
पौडेलले बालाजुको धौलागिरि सहकारीको कार्यालयमा मंगलबार भेला डाकेका थिए। भेलामा महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, गगन थापा, नवीन्द्रराज जोशी, प्रदीप पौडेलसहितका नेता उपस्थित थिए। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने त्यहाँ गएनन्। पारिवारिक कारणले सिटौला अनुपस्थित भएको नेता अर्जुननरसिंह केसीले बताए।
नेविसंघ अधिवेशन, विधान संशोधन, क्रियाशील सदस्यता वितरणजस्ता मुद्दामा देउवाले एकलौटी गर्न खोजेको पौडेलपक्षको आरोप छ। महाधिवेशन तयारी अघि नबढेसम्म सभापतिको उम्मदेवारी घोषणा नगर्नेमा पौडेलपक्षीय नेता सहमत भएका छन्। यो पक्षबाट सभापति उम्मेदवार बन्न पौडेल आफैं इच्छुक छन्।
उनीबाहेक महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य शेखर कोइरालाले पनि उम्मेदवारीमा दाबी गर्दै आएका छन्।
१४ औं महाधिवेशनलाई केन्द्रित गरेर केही समयअघि सिटौलाले छुट्टै समूह अघि बढाउने अभियान थालेका थिए। सिटौलाको अभियान, कोइरालाद्वय (शशांक र शेखर) र पूर्वमहामन्त्री सिंहसमेतको नेतृत्व दाबीले संस्थापनइतर पक्ष अस्तव्यस्त बनेको थियो।
‘संस्थापन इतरपक्षमा जो लडे पनि अब एउटै व्यक्ति हुन्छ, पार्टीलाई यथास्थितिबाट अघि बढाउन सुधारका एजेन्डासहित हामी एकजुट भएर अघि बढ्छौं,’ केसीले भने।
संस्थापन इतरपक्षलाई एकजुट बनाउने विषयमा भेलामा छलफल भएको बताउँदै केसीले पार्टीलाई विधि, विधान र पारदर्शिताअनुसार सञ्चालन गर्न देउवालाई दबाब दिने बताए।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति देउवाले आफ्नो गुटबाहेक अरुलाई पेलेर अघि बढ्न खोजेका कारण संस्थापनइतर पक्ष संगठित भएको बताए। ‘देउवाको पेलाइको सिकार सबै हुँदै छन्, आफ्नालाई संरक्षण गर्न र अरुलाई पेल्दै जान थालेपछि एक ठाउँमा आउनुको विकल्प देखिएन,’ उनले भने, ‘सभापतिले पार्टी सञ्चालनसमेत प्रभावकारी रुपमा गर्न सक्नुभएको छैन। पार्टीमा सुधार ल्याउन अब सबै एक ठाउँमा हुनुपर्छ भन्ने महसुस भएको छ।’
शक्तिशाली बनाउन नहुने
संस्थापन इतरपक्षले सभापतिलाई बलियो बनाउने गरी विधान संशोधन मस्यौदा आए त्यसलाई नमान्ने निर्णय गरेको छ। देउवापक्षीय नेताहरूले सभापतिलाई थप शक्तिशाली बनाउने गरी विधान संशोधनको तयारी अघि बढाएपछि पौडेल पक्ष त्यसविरुद्ध उभिएको हो।
संस्थापन पक्षले १४ औं महाधिवेशनमा पनि देउवा नै निर्वाचित हुने अनुमानका आधारमा सभापतिलाई थप अधिकार दिने गरी विधान संशोधन गर्न लागेको छ। एक महामन्त्रीबाहेक सबै पदाधिकारी सभापतिले सिधै मनोनीत गर्न पाउने गरी विधान संशोधन गर्न लागिएको छ।
यसअघि पदाधिकारीमा सभापतिबाहेक एक महामन्त्री र कोषाध्यक्ष निर्वाचनबा छानिन्थे। उपसभापति, एक महामन्त्री र सहमहामन्त्री सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्यको बैठकबाट अनुमोदन गराउनुपर्ने व्यवस्था थियो।
यसलाई संशोधन गरी एक महामन्त्रीबाहेक सबै पदाधिकारी सभापतिबाट सिधै मनोनयन गर्न पाउने व्यवस्था राख्न सभापति पक्षीय सदस्य जुटेका छन्।
विधान संशोधन समितिका प्रवक्ता रमेश लेखकले भने सभापतिलाई काम गर्न सहज बनाउनुपर्छ भन्ने सुझाव सबै पक्षबाट आएको बताए। ‘यही विधानको व्यवस्थाका कारण हिजो सुशील कोइरालालाई र आज शेरबहादुर देउवालाई पदाधिकारी मनोनयन गर्न कठिनाइ भयो भन्ने आमभनाइ छ’, उनले भने, ‘पौडेलजी निकट रहेका नेताहरूले नै सभापतिलाई काम गर्न सहज हुनेगरी विधानमा संशोधन गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ। यसलाई एउटा पक्षको मागको रुपमा मात्रै लिन हुन्न।’
केन्द्रीय सदस्य केसी र पौडेलले भने भइरहेको व्यवस्थाबाट पछि हटन नसकिने बताए। ‘सबै पदाधिकारी र संसदीय समिति निर्वाचनबाटै आउनुपर्छ भन्ने हाम्रो जोड छ, यसबाट पछि हट्ने कुरै आउँदैन,’ केसीले भने, ‘केन्द्रीय कार्यसमितिमा सहमति बन्न नसके महासमितिबाट टुंगो लाग्छ।’
केन्द्रीय सदस्य पौडेलले निर्वाचित व्यवस्थाबाट मनोनयनमा जानुपर्छ भन्ने सुझाव तल्ला तहका नेता तथा कार्यकर्ताबाट नआएको बताए। ‘निर्वाचनको व्यवस्थालाई अझै बढाएर विधानलाई प्रगतिशील बनाउनुपर्छ भन्ने धारणा छ’, उनले भने।
सभापतिलाई धेरै अधिकार गलतः शेखर कोइराला
नेपाली काग्रेंस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् ।
दसैं, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले बुधबार यहाँ गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयता सफल व्यवस्थापन र विकासका लागि अन्ततः काङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।
काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रित गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत हो भने । ‘पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छु ।’
जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए । सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पुर्याएर अहिलेको अन्योलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।
कांग्रेस कार्यसमिति बैठक शुक्रबार
कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठकमा विधान संशोधन मस्यौदा र समसामयिक राजनीतिक विषयमा छलफल हुने विज्ञप्तिमार्फत जनाइएको छ ।
कांग्रेसले ७ वटै प्रदेशमा विधान संशोधन मस्यौदामाथि छलफल चलाएको थियो । प्रदेशबाट आएका सुझावलाई विधान संशोधन मस्यौदामा समावेश गर्नेबारे समेत पार्टीले निर्णय लिनेछ । विधान मस्यौदा अनुमोदन गरी मंसिरमा बोलाइएको महासमिति बैठकमा पेस गर्ने कांग्रेसले जनाएको छ ।
महासमिति बैठकको दुई तिहाइबाट पारित भएपछि संशोधित विधान कार्यान्वयनमा आउनेछ ।आजको कान्तिपुरमा खवर छ।
कोइराला परिवार फुटाउने दाउमा सिटौला
नेपाली कांग्रेसभित्र अलग गुट बनाएका कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ ।
सिटौलाकै कारण कांग्रेसभित्र सहमति हुन नसकेको आरोप लागिरहेका बेला कोइराला परिवारसँग सम्बन्ध सुधारको प्रयास भएको छ । सिटौलाले नै कांग्रेसका नेताहरु मिल्न नदिएको आरोप छ ।
सिटौलाले सुजाताको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारका कामकारबाही र पार्टीको आन्तरिक विषयमा छलफल गरेका हुन् । मंगलबार भएको भेटवार्तामा कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा मात्र छलफल केन्द्रित भएको थिएन ।
सरकारको गतिविधि र संविधान जारी भएपछि कांग्रेस कहाँ चुक्यो र अब कसरी अगाडि जाने भन्नेमा पनि उनीहरुबीच डेढ घण्टा गम्भीर कुराकानी भएको स्रोतले जनाएको छ ।
दुई नेताबीच आगामी महासमिति बैठक र महाधिवेशन तयारीसहित अब पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्ने विषयमा पनि छलफल भएको थियो ।
छलफलमा सहभागी कांग्रेस नेता रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर भएको बताए । उनले पूर्वसंस्थापनका रूपमा सिटौला र सुजातालाई एक ठाउँमा उभिन आग्रह गरेका थिए ।
कांग्रेस नेतृ सुजाता कोइरालाले आफू स्वास्थ्य ठीक भएपछि सक्रिय हुने भन्दै सिटौलासहितका नेतालाई सक्रिय भएर लाग्न सुझाव दिएकी छिन् ।
पछिल्लो समय कोइराला परिवारका तीन नेताहरू महामन्त्री डा. शशांक कोइराला, नेताद्वय सुजाता कोइराला र डा. शेखर कोइरालाले पनि पारिवारिक भेटघाटलाई बाक्लो बनाउँदै आएका छन् ।
आफूहरू तीनमध्ये एकजना १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा उनीहरू छनर । सभापति देउवालाई परास्त गर्न पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्नेमा यी नेताहरू पनि एकमत छन् ।
नेता सिटौला १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाबाट मनोनीत महामन्त्री हुन् ।
सिटौलाले देउवालाई समर्थन गर्दा तत्कालीन संस्थापन पक्षका नेता रामचन्द्र पौडेल पराजित भएका थिए । देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै सिटौला असन्तुष्ट रहँदै आएका छन् ।
सिटौलासँग युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरीसहितका नेताहरू रहेका छन् ।
सिटौलाले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग पनि छलफल गरेका छन् । सिटौलाले केसीलाई आफ्नो गुटमा ल्याउन खोजेका छन् ।
केसीकै पहलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महतसहितको छलफल भएको थियो । सो छलफलपछि सिटौला सुजातालाई भेट्न उनकै निवास पुगेका हुन् ।