चिनीको मूल्य ८० रुपैयाँ, एक सय पुग्ने अनुमान, दैनिक ७० लाखको लुट
दशैंको मौका छोपेर चिनी उद्योगी तथा व्यवसायीहरूले चिनीमा दैनिक ७० लाख रुपैयाँभन्दा बढी लुटिरहेका छन्। चिनी उद्योगी तथा व्यवसायीहरूको दबाबमा सरकार पर्नुका साथै उनीहरूको मनोमानी रोक्न नसक्दा अहिले विश्वबजारमा चिनीको मूल्य घटे पनि नेपाली बजारमा भने आकासिएको छ।
केही साताअघि मात्रै खुद्रा पसलहरूमा प्रतिकिलो ७० रुपैयाँ पर्ने गरेको चिनीको मूल्य अहिले बढेर ८० रुपैयाँ पुगेको छ। नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले सरकार र ठूला चिनी उद्योगीहरूका कारणले चिनीको मूल्य आकासिएको बताए।
यसप्रति सरकार अझै बेखबर रहने हो भने चिनी अभाव हुने र झनै भाउ बढ्ने उनले जानकारी दिए। ‘सरकारको स्वामित्वमा रहेको कम्पनी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट खुद्रा व्यापारीले चिनी पाउन छोडिसक्यो,’ उनले भने, ‘अहिले चिनी उद्योगीहरूले प्रतिकिलो चिनीको मूल्य ७२ रुपैयाँ पुर्याएका छन्।
राजधानीसम्म ल्याइपुर्याउँदा करिब प्रतिकिलो चिनीको मूल्य ७४ रुपैयाँसम्म पुग्छ।’ जबकि, यसअघि प्रतिकिलो चिनीको थोक मूल्य ६४-६५ रुपैयाँ मात्रै रहेको उनको भनाइ छ। जतिखेर चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँ थियो।
उपभोक्तावादी तथा सरोकारवालाहरूले सरकारले चिनी उद्योगीहरूको कमिसनको खेलमा परी आयातीत चिनीमा कोटा निर्धारण गरेको आरोप लगाएका छन्। सोही कारणले विश्व बजारमा चिनीको मूल्यमा गिरावट आए पनि नेपाली बजारमा भने ठीक उल्टो भएको छ।
सरकारले ३१ भदौमा देशका चिनी उद्योगीहरूसँग पर्याप्त मात्रामा स्टकमा रहेको बताउँदै १ वैशाखदेखि चैत मसान्तसम्मका लागि ९४ हजार नौ सय टन ननाघ्ने गरी विदेशबाट आयात गरिने चिनीमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको छ।
संघका निवर्तमान अध्यक्ष बज्राचार्यका अनुसार सरकारको उपस्थिति रहेको ठूला चिनी उद्योगी व्यवसायीहरूसँगका विभिन्न बैठकमा उनीहरूले मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक प्रतिकिलो ५७ रुपैयाँ ५० पैसामा उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए।
१३ प्रतिशत भ्याट जोड्दा पनि ६४.९७ रुपैयाँ (भ्याट ७.४७ रुपैयाँ) पर्न जान्छ। ‘तर, अहिले आएर त्यो प्रतिबद्धता पूरा भएन,’ उनले भने, ‘चिनी उद्योगीहरूले ढाँटे।’ प्रतिबद्धताअनुसार उद्योगीहरूले बजारमा चिनी उपलब्ध गराउने हो भने प्रतिकिलो मूल्य बढीमा ७० रुपैयाँ मात्रै पर्न जाने उनको बुझाइ छ।
चिनी उद्योगी तथा व्यवसायीहरूका अनुसार मुलुकमा वार्षिक दुर्इ लाख २५ हजार टन चिनीको खपत भइरहेको छ। यसमा एक लाख ७५ हजार टन स्वदेशमा उत्पादन हुन्छ भने बाँकी ५० हजार टन औपचारिक तथा अनौपचारिक रूपमा भित्रिने गरेको छ।
त्यसलाई आधार मान्ने हो भने दैनिक ६ सय १६ टन अर्थात ६ लाख १६ हजार किलो चिनी नेपाली बजारमा खपत हुन्छ। उक्त चिनीमार्फत दैनिक ६१ लाख ६४ हजार रुपैयाँभन्दा बढी रकम चिनी उद्योगी, व्यवसायीको पोल्टामा गइरहेको छ।
संघका निवर्तमान अध्यक्ष बज्राचार्यले दशैंमा चिनीको खपत २५ प्रतिशत बढ्ने बताए। त्यसअनुसार अहिले दशैंको मुखमा दैनिक ७० लाख रुपैयाँ बढी चिनी उद्योगी व्यवसायीहरूले बिनाकारण लुटिरहेका छन्।
१५ असोजमा बसेको सार्वजनिक लेखा समितिको बैठकले पनि चिनी उद्योगी/व्यवसायीहरूले प्रतिबद्धता जनाएअनुसार मूल्य कायम गर्न निर्देशन दिएको छ। समितिले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएपछि चिनीको मूल्यवृद्धि भएको बताउँदै सरकारसँग व्यवसायीहरूले गरेको प्रतिबद्धता कायम गर्न निर्देशन दिएको हो।
यस्तै, बैठकमा चिनीको परिमाणात्मक बन्देज खुला गर्न सांसदहरूले माग गरेका थिए। साथै, उनीहरूले आयात रोकिएको विषयमा छानविन गर्न पनि आ-आफ्नो धारणा राखेका थिए। उनीहरूले अयात रोकिनुमा करोडभन्दा बढीको आर्थिक चलखेल भएको बताउँदै तुरुन्त छानविन गर्न माग गरेका छन्।
के गर्दा घट्छ मूल्य?
खुद्रा व्यापारीहरूले सरकारको स्वामित्वमा रहेको नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसनलगायत संस्थान तथा कम्पनीहरूले उद्योगीहरूले प्रतिबद्धता गरेको मूल्यको आधारमा चिनी खरिद गर्नुपर्ने र खुद्रा व्यापारीहरूलाई उपलब्ध गराए चिनीको मूल्य स्वत: घट्ने बताएका छन्। उनीहरूले यसअघिकै मूल्यमा चिनी बजारमा उपलब्ध हुने दाबी गरेका हुन्।
‘सरकारी स्वामित्वका संस्था तथा कम्पनीहरूले खुद्रा व्यापारीलाई चिनी उपलब्ध गराउने हो भने नजिकिएको दशैंमा मूल्य घट्छ,’ निवर्तमान अध्यक्ष बज्राचार्य भन्छन्, ‘चिनीको खरिद बिक्रीसमेत पारर्दशी हुन्छ ।’
तर, सरकारले ध्यान दिन नसके अहिले प्रतिकिलो ८० रुपैयाँ पर्दै गरेको चिनीको मूल्य झनै आकासिएर ९० रुपैयाँ नाघ्ने उनको बुझाइ छ।