आइजीपी बनाउन अच्युतकृष्णसँग कसले माग्यो २० लाख ?



 

अच्युतकृष्ण खरेल र ध्रुवबहादुर प्रधान आइजीपीका दाबेदार थिए । आइजीपी बन्नका निम्ति २० लाख रूपैयाँ तयार पार्ने सुझाव खरेललाई  आयो । सरकार परिवर्तन हुने हल्लाबीच शक्तिशाली ब्यक्तिबाट यस्तो प्रस्ताव आएपछि खरेल द्बिधामा परे ।

 

उनको प्रतिक्रिया के रह्यो ? के खरेल आइजीपीको फुली लगाउनको निम्ति त्यो प्रस्ताव स्विकार्न तयार भए ? पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको प्रकाशोन्मुख आत्मकथा ती शक्तिशाली व्यक्तिहरूको वर्णन र यस्ता थुप्रै चाखलाग्दा कथाक्रमले भरिएका छन् ।
अच्युतकृष्ण फुटबलका सोखिन थिए । खेल्न पाइन्छ भनेरै प्रहरीमा भर्ती भए । कालान्तरमा उनले यी दुवै क्षेत्रमा सर्वोच्च तहसम्मको यात्रा तय गरे । उनी फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने र प्रहरी फोर्समा महानिरीक्षक पनि ।

 

आफ्नो फुटबल करिअरमा उनले खुब प्रशंसक कमाए । प्रहरी फोर्समा धेरैसँग दुष्मनी मोले । चितवन र भैरहवामा गुन्डा र तस्करसँग भिडे ।

 

डाँका पक्रन सीमापार गए । तस्करको बचाउ गर्ने राजनीतिक नेतासँग पटक-पटक झुत्ती खेले । लागुपदार्थ दुर्व्यसन र गुन्डागर्दी रोक्न लामो कपाल पाल्नेलाई समात्दै कपाल कटाइदिने गरेको घटना चर्चित छ ।

 

करिब ३१ वर्ष प्रहरी सेवामा बिताएका खरेल महत्वपूर्ण राजनीतिक र प्रहरी संगठनभित्रका उथलपुथलपूर्ण घटनाक्रमका साक्षी हुन् । पछिल्लो समय साढे ३३ किलो सुन तस्करी छानबिनमा केही वरिष्ठ प्रहरी अधिकृत मुछिएका छन् । खरेलको आत्मकथाले सुन तस्करीका थप रहस्य उजागर गरेको छ ।

 

विगतमा दरबारकै निगरानीमा सुन तस्करी हुन्थ्यो भन्ने खुलासा अच्युतकृष्ण खरेलले आत्मकथामा गरेका छन् । प्रजातन्त्र पुनर्स्थापनापछि राजनीतिक दलका केही नेताले तस्करको पक्षमा लागेर प्रहरी संगठनमाथि दबाव दिएको वृत्तान्त पनि आत्मकथामा छ ।

 

प्रहरी इतिहासमा पूर्व महानिरीक्षक डिबी लामा र तत्कालीन अधिराजकुमार धीरेन्द्रका एडिसी कर्णेल भरत गुरुङ पक्राउ परेको घटना धेरै चर्चित छ । उक्त प्रकरणमा लामा र गुरुङसँग बयान लिने जिम्मेवारी खरेललाई दिइयो ।

 

सार्वजनिक चासोका साथ हेरिएको यो ‘हाई-प्रोफाइल’ घटना कसरी अघि बढ्यो ? त्यसको स-विस्तार वर्णन पनि खरेलले यस पुस्तकमा गरेका छन् ।

 

वि.सं. २०५७ साउन २२ गते गाडीले ठक्कर दिएर गायक प्रवीण गुरुङको मृत्यु भयो । राजपरिवारकै सदस्य संलग्न यो घटना प्रहरी संगठन निम्ति सम्भवतः सबैभन्दा द्विधापूर्ण परिस्थिति थियो । त्यति बेला दोषीलाई जोगाउन कसरी चलखेल भयो भन्ने रोचक वर्णन पनि आत्मकथामा छ ।
यति मात्र होइन, प्रहरी नियुक्ति र सरुवा-बढुवामा हुने राजनीतिक हस्तक्षेपदेखि संगठनभित्रै उपल्लो दर्जाका हाकिमलाई गरिने चाकडीको खुलासा पनि पुस्तकबाट गरेका छन्, खरेलले ।

 

उनको जीवनको आरोह-अवरोह फोर्सको आँखाबाट देशको राजनीतिक घटनाक्रम नियाल्ने आँखीझयाल पनि हो । उनले तत्कालीन दरबार र पञ्चहरूको दबदबा देखे । २०३६ सालको प्रजातान्त्रिक आन्दोलन पनि भोगे । २०४६ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेको आरोप पनि उनैले खेपे ।

 

प्रजातन्त्र प्राप्तिपछि राजनीतिक दलहरू र दलीय प्रवृत्ति, राज्यका विभिन्न संयन्त्रसँग दरबारको अन्तरसम्बन्ध, माओवादी र सरकारबीच हिंसात्मक द्वन्द्व लगायत परिवर्तनका धेरै लहरको उनले सामना गरे ।

 

माओवादीसँग लड्न दरबारले प्रहरीलाई अत्याधुनिक हतियार नदिने र सेना परिचालन पनि नगर्ने जटिल परिस्थितिका उनी भुक्तमान हुन् ।

 

प्रहरी संगठनभित्र हाबी राजनीतिकरण उनले आफ्नै आइजीपी नियुक्तिमा बेहोरेका छन् । माओवादी द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनी दल, दरबार र सेनाबीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजीनामा दिएर बिदा भएका थिए ।

 

अच्युतकृष्ण खरेलको आत्मकथाले एक प्रहरी अधिकृतको चौबीसघन्टे रापिलो यात्रा अनुभूति गराउँछ । सँगसँगै, त्यो बेलाको नेपालको खेलकुद क्षेत्रको दुरावस्था पनि छर्लङ्ग पार्छ ।

 

एक प्रहरी अधिकृत र खेलाडीका रूपमा खरेलको भोगाइलाई आजको अवस्थासँग तुलना गरेर हेर्दा धेरै वस्तुस्थिति दुरुस्तै छन् । ‘आफूलाई नायकका रूपमा स्थापित गर्ने उद्देश्यले मैले आत्मकथा लेखेको होइन,’ खरेलले भनेका छन्, ‘मेरो उद्देश्य जीवनको आरोह-अवरोहमा भोगाइका परिधिभित्रको इतिहास हराउन नपाओस्, अपव्याख्या हुन नपाओस् र आमनागरिकको सुसूचित हुन पाउने अधिकारमा खिया लाग्न नपाओस् भन्ने मात्रै हो ।’

 

प्रहरी सेवाको आफ्नो कार्यकालका महत्वपूर्ण घटना, त्यस बेलाका पात्र, प्रवृत्ति, प्रशासनिक कायदा र मर्यादा, संस्थागत अन्तरसम्बन्धका साथै भिन्न भिन्न संस्थाको व्यवहार र आचरणको आलेख सुरक्षित रहोस् भनेर आत्मकथा लेखेको खरेलको भनाइ छ ।

 

पब्लिकेशन्स नेपालयले देशको राजनीतिक तथा सामाजिक विगतलाई उक्त कालखण्डका विभिन्न पात्रका माध्यमबाट बुझ्ने जमर्को गर्दै आत्मकथा शृंखला प्रकाशित गर्दै आएको छ । यो आत्मकथा पनि त्यसैको निरन्तरता हो ।

 

इतिहासको ऐना भनेको त्यो इतिहासका पात्रको व्यक्तिगत भोगाइ नै हो । मान्छेको व्यक्तिगत भोगाइमा ऊ आफू बाँचेको समाजको मनस्थिति पनि सँगसँगै अभिव्यक्त भइरहेको हुन्छ ।

 

खरेलको आत्मकथाले पञ्चायतदेखि प्रजातन्त्र पुनर्स्थापनापछिका केही महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई नजिकबाट नियाल्न सहयोग पुग्ने पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के बताउँछिन् ।

पुस्तक आगामी शनिबार (असोज २० गते) सार्वजनिक हुँदैछ । त्यही दिनदेखि पुस्तक अमेजोनको पीओडी (प्रिन्ट अन डिमाण्ड) मार्फत् संसारभर उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र