चीनमा बस्छन् सुनका मालिक, केरुङ नाका हुँदै काठमाडौंमा तस्करी – भरिया तह तहमा



हाम्रो इकोनोमि

 

सुनसहित भरिया पक्राउ पर्छन् तर मालिक सधैँ किन उम्किन्छन् ? प्रहरीलाई पटक–पटक घोचिरहने प्रश्न हो यो । प्रहरीले हवाइमार्गबाट होस् या स्थलमार्गबाट समातिएको सुनका मालिक प्रायः पक्राउ पर्दैनन् ।

 

पछिल्लो समय साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणपछि हवाइमार्गबाट सुन भित्रिन ठप्प भएको प्रहरी स्रोत बताउँछ ।

 

सामान्य रुपमा हातमा बाला बनाएर ल्याउने, घाँटीमा सिक्री बनाएर ल्याउने, औंठी बनाएर ल्याउने काम भने वैदेशिक रोजगारबाट नेपाल फर्किनेहरुले गर्दै आएका छन् ।  हवाइमार्गबाट ठूलो परिमाणको तस्करी भने रोकिएको छ  । तर सुन तस्कारलाई अर्को बाटो तय भएको छ रसुवाको केरुङ नाका ।

 

पछिल्लो ४ महिनामा मात्रै काठमाडौं प्रहरीले केरुङ नाकाबाट भित्रिएको १७ किलो सुन बरामद गरेको छ । असार १५ गते महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक केशवराज भट्ट नेतृत्वको टोलीले काठमाडौंबाट भारत लैजाँदै गरेको अवस्थामा ३ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको थियो ।

 

उनीहरुले त्यो सुन भारतको नयाँदिल्ली लैजाने योजना बनाएको बयान दिएका थिए ।

भट्टकै टोलीले असार १६ मा केरुङबाट मोटरसाइकलमा भित्रिँदै गरेको अवस्थामा ६ किलो सुनसहित एकजना भरिया पक्राउ गरेको थियो । तर मालिक पत्ता लागेन ।

 

असोज ९ गते सोमबार रसुवाको केरुङ नाका हुँदै काठमाडौंं भित्रिएको ३ किलो सुनसहित टोखाबाट २ जना पक्राउ परे । यस्तै मंगलबार साँझ ५ किलो सुनसहित एकजना पक्राउ परे । उनी रसुवा हुँदै बसमा काठमाडौं आएका थिए ।

 

रसुवा गोसाइकुण्डका १८ वर्षीय सोबहादुर तामाङ पनि भरिया मात्रै हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाका अनुसार पछिल्लो समय तस्करहरुले केरुङ नाकाको बढी प्रयोग गर्दै आएका छन् ।

 

‘चीनमा बस्छन् सुनका मालिक’
लामाका अनुसार चीनको केरुङ नाका भएर स्थलमार्गबाट सुन काठमाडौं आइपुग्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४५ लाखको हाराहारीमा पर्छ । नेपालमा राष्ट्रबैंकबाट सुन किन्ने हो भने प्रतिकिलो सुनमा ५ लाख बराबर भन्सार कर तिर्नुपर्छ । यस्तोमा सुन पसलेहरुले तस्करीको सुन किन्न चाहन्छन् ।

 

नाकाबाट काठमाडौंसम्म सुन ल्याएको भरियाले ५० हजार रुपैयाँ पाउँछन् । ‘‘केरुङ मुख्य नाका नभएर तस्करहरुले अन्य सहायक बाटो प्रयोग गरेको हुन सक्छन् । तस्करीका लागि गिरोहले अनेक उपाय निकाल्छन्,” एसएसपी लामाले भने ।

 

“रसुवा सुन आइपुगेपछि त्यहाँबाट पत्याउनै नसकिने खालका भरियाको छनोट हुन्छ । ती भरियालाई सुन दिइन्छ तर काठमाडौं कसलाई दिने भन्ने जानकारी दिइँदैन,” लामा भन्छन्, ‘‘केरुङबाट भित्रिने सुनका अधिकांश मालिक चीनकै केरुङ आसपास बस्छन् । उनीहरु कोही नेपाली र कोही चिनियाँ नागरिक नै हुन्छन् । दुवैतिरकोे भाषा राम्रोसँग बोल्न सक्छन् ।’’

 

अनुसन्धानका क्रममा केरुङबाट सुन भित्र्याउने समूहले चीनको आफ्नै सामाजिक सञ्जाल ‘वी च्याट’ प्रयोग गर्छन् । ‘वी च्याट’ मा भएको कुराकानी मेटाइसकेपछि रिकभर गर्न सकिँदैन ।

भरियाले सुन काठमाडौं ल्याइसकेपछि काठमाडौंमा सुन प्राप्त गर्नेको फोटो ‘वी च्याट’ मा पठाइन्छ ।

 

त्यही फोटो र नम्बरको आधारमा कोड भाषाको प्रयोगबाट सुन प्राप्त गरिन्छ । तर उनीहरुलाई एकअर्काको बारेमा जानकारी हुँदैन । एसएसपी लामाका अनुसार सुन तस्करी गर्ने कार्यमा गिरोह नै सक्रिय हुन्छन् ।

 

यो गिरोहको सम्बन्ध तह तहमा रहेको तर एकको सम्बन्ध अर्कोसँग हुँदैन । यस्तो अवस्थामा सुनको वास्तविक मालिक को हो वर्षौंसम्म सुन बोक्ने भरियालाई र सुन प्राप्त गर्ने व्यक्तिलाई पनि थाहा हुँदैन ।

 

किन मालिकको नाम पोल्दैनन् भरिया ?

लामो समयसम्म सुनको अनुसन्धान गर्दै आएका प्रहरी अधिकारी अनुसार भरियालाई प्रायः मालिकको बारेमा जानकारी हुँदैन । जानकारी भएकै अवस्थामा पनि उनीहरुले मालिकको नाम पोल्दैनन् ।

 

एसएसपी लामाको बुझाइमा मालिकको नाम पोल्दा भरियाको ज्यानसँगै परिवारको ज्यानसमेत खतरामा पर्ने भएकाले उनीहरुले नाम नपोलेको हुनसक्छ । सुनका मालिकले आफ्ना एजेन्टमार्फत भरियाको पुरै पारिवारिक विवरण लिएको हुन्छ ।

 

भूकम्पपछि फस्टाएको केरुङ नाका

०७२ को भूकम्पअघि नेपाल–चीन जोड्ने प्रमुख नाका थियो सिन्धुपाल्चोकको तातोपानी ।  भूकम्पअघि सुन तस्करीको नाकाको नामले नै तातोपानी नाका चिनिन्थ्यो ।

 

तातोपानी नाकाबाट नेपाल भित्रिने कन्टेनर तथा भरियाको सहायतामा भन्सार छल्दै सुन तस्करी हुने गरेको थियो । ०७२ को भूकम्पपछि तातोपानी नाका बन्द भएपछि तस्करको रोजाइमा केरुङ नाका बन्न पुगेको हो ।

 

केरुङबाट सुन तस्करी गर्नेका अनेक दाउ हुन्छन् । बसमा झोलामा हालेर ल्याउने, फल्स बटममा लुकाउने, मोटरसाइकलमा आउँदा कम्मरमा बाँधेर ल्याउने काम भरियाले गर्दै आएका छन् ।

 

एसएसपी लामाका अनुसार पछिल्लो समय प्रहरी तस्करीविरुद्ध सक्रिय भएर लागेको छ । ‘‘रसुवाबाट सुन काठमाडौं भित्र्याइने मुख्य नाका भनेको नागढुङ्गा हो । नागढुङ्गा लगायतका नाकामा प्रविधिसहित प्रहरीको सक्रियता बढाइएको छ । तस्करीविरुद्ध कठोर भएर लागेका छौं,’’ एसएसपी लामाले भने ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...