कलेजको ‘फी तिर्न’ सुन तस्करीमा, १ किलो बोकेको ५० हजार



हाम्रो इकोनोमि

 

 महानगरीय प्रहरी परिसर काठमाडौंलाई मंगलवार दिउँसो सूचना आयो, रसुवाको केरुङ नाका हुँदै काठमाडौंतर्फ सुन तस्करी हुँदै छ ।

 

प्रहरीले रसुवाबाट काठमाडौं भित्रिने सबै नाकामा हाइ अलर्ट जारी गर्यो । मंगलवार दिउँसो ४ बजेदेखि नै सुन समात्न परिचालन भएको प्रहरीको टोलीका सदस्यलाई साँझ साढे ७ बजे वकिटकीमा निर्देशन आयो, सुन फेला परिसक्यो मूभ हुनु ।

 

प्रहरीले मंगलवार साँझ ७ : ३० बजे नुवाकोटबाट काठमाडौं भित्रिने नाका काठमाडौंको पिप्ले बालाजुमा ५ किलो सुनसहित १ जनालाई पक्राउ गर्यो । सार्वजनिक बस चढेर काठमाडौं आएका ती व्यक्तिसँग सुन होला भन्ने कसैले अनुमान पनि गर्नसक्ने अवस्था थिएन् ।

 

रसुवाबाट नुवाकोट हुँदै काठमाडौं पुग्दासम्म उनी अरु यात्रुजस्तै सामान्य रुपमै सार्वजनिक यातायात चढेर काठमाडौं पुगेका थिए । तर, प्रहरीले उनीसँगै सुन रहेको यकीन सूचनाका आधारमा चेकजाँच गर्दा ५ किलो सुन फेला पर्यो ।

 

सुनसहित पक्राउ पर्ने व्यक्ति थिए, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–९ थमान घर भएका १८ वर्षीय सो बहादुर तामाङ ।

 

कलेजको फी तिर्न सुन तस्करी !

१८ वर्षीय सो बहादुर काठमाडौंको एक कलेजमा कक्षा १२ मा अध्ययन गर्छन् । बिदाको बेला घर गइरहने सो बहादुरको केही समय अगाडि चिनियाँ व्यापारीसँग सम्बन्ध बढ्यो ।

 

गाउँका छिमेकीले नै उनलाई चिनियाँ व्यापारीसँग चिनाएका थिए । पहिलो भेटमै चिनियाँ व्यापारीले अाफूसँग काम गर्ने भए ठूलै पैसा पाइने प्रस्ताव राखे ।

 

प्रहरीको अनुसन्धानबाट खुलेअनुसार चिनियाँ व्यापारीहरुले एक पटकको कामबाट कलेजको फीदेखि अन्य दैनिक खर्च गर्न पुग्ने पैसा दिने प्रस्ताव सो बहादुरसँग राखेका थिए ।

 

ठूलै पैसा आम्दानी हुने भएपछि सो बहादुर पनि राजी भए । त्यसपछि मंगलवार कम्मरमा लगाएको पेटी र जुत्तामा सुनका डल्ला कोचेर काठमाडौंका लागि हिँडे ।

 

उनलाई सामाजिक सञ्जाल वीच्याटमा सम्पर्क व्यक्तिको विवरण दिइएको थियो । काठमाडौं पुगेपछि चीनमा भएका व्यक्तिलाई वीच्याटमा खबर गरे सुन लिने व्यक्ति आउने भन्ने निर्देशन दिइएको थियो सो बहादुरलाई ।

 

तर, काठमाडौंको जमिन टेक्दा नटेक्दै उनलाई प्रहरीले पक्राउ गर्याे । उनले कम्मरमा लगाएको कपडाको पेटीमा पकेट बनाएर १–१ किलोको ३ टुक्रा सुन लुकाएका थिए भने दुवै खुट्टामा १–१ टुक्रा सुन लुकाएका थिए । रसुवाबाट काठमाडौं पुर्याएबापत उनले १ किलो सुन बराबर ५० हजार पाउने सहमति भएको बुझिएको छ ।

 

प्रहरीले सो बहादुरबाट बरामद भएको सुनको बजारमूल्य २ करोड ५० लाख रुपैयाँ बराबर भएको बताएको छ । जसअनुसार उनमाथि भन्सार ऐन २०६४ को दफा ५७ (१) बमोजिम थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त लामाले जानकारी दिए ।

 

भन्सार ऐन २०६४ को दफा (५७) को उपदफा (१) को (ङ) बमोजिम १ करोडदेखि ५ करोड रुपैयाँभन्दा बढीको बिगो भएमा १ देखि ३ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

 

विमानस्थलका तस्कर केरुङतर्फ 

२०४४ साल अगाडिदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर हुने गरेको सुन तस्करीको मुद्दा अहिले जिल्ला अदालत मोरङमा बिचाराधीन छ ।

 

विमानस्थलबाट हुने सुन तस्करीको घटना सार्वजनिक भइसकेपछि तस्करहरु भने चीनको नाकातर्फ गएको प्रहरीको दावी छ ।

 

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी प्रकरणको छानबिनमा समेत सहभागी भएका एसएसपी लामा विमानस्थलबाट हुने तस्करीमा सक्रिय भएका तस्कर अहिले चीनको नाकामा सक्रिय भएको बताउँछन् ।

 

‘विमानस्थलबाट हुने सुन तस्करी अहिले लगभग बन्द जस्तै भएको छ,’ एसएसपी लामाको दाबी छ, ‘विमानस्थलमा तस्करी गर्नेहरु अहिले केरुङतर्फ गएको जस्तो देखिन्छ ।’

 

मंगलवारसहित असोज महिनामा मात्रै काठमाडौं प्रहरीले ८ किलो सुन बरामद गरिसकेको छ । प्रहरीले गत सोमवार (असोज ८ गते) टोखाबाट ३ किलो सुनसहित २ जनालाई पत्राउ गरेको थियो ।

 

केरुङ नाकाबाट नेपाल भित्र्याइएको ३ किलो सुनसहित रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका २४ वर्षीय नर बहादुर घले र २० वर्षीय पेम्वा तामाङ पक्राउ परेका थिए ।

 

प्रहरीका अनुसार मंगलवार पक्राउ परेका सो बहादुर र गत सोमवार ३ किलो सुनसहित पक्राउ परेका नर बहादुर र पेम्बाबीच चिनजान थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...