सर्वदलीय सरकार बनाउन प्रचण्डको अग्रसरता, देउवासँग गुप्त भेटघाट



हाम्रो इकोनोमि

 

नेकपाका सहअध्यक्ष प्रचण्डले काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग गुप्त भेटघाट गर्नु र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारविरुद्ध सार्वजनिक अभिव्यक्ति दिनु संयोग मात्र भए पनि संयोग मात्र नभएको आशङ्का गर्न थालिएको छ ।

 

केपी ओली नेतृत्वको सरकारले सात महिनामा कुनै सकारात्मक उपलब्धि हासिल गर्न नसकेको र सरकारकै कारण आमजनतामा निराशा पैदा हुन थालेका बेला सत्तारुढ पार्टीका नेताहरू सरकारलाई सफल बनाउनभन्दा असफल सिद्ध गरेर आन्तरिक विकल्प खोज्ने मानसिकतामा देखापरेका छन् ।

 

केपीलाई फकाउने, तर्साउने, छक्याउने र काम पट्याउने भूमिकामा देखापरेका प्रचण्डले माधव नेपाल र केपीबीच उत्पन्न मतभेदबाट पनि लाभ उठाउने मानसिकता बनाएका छन् ।

 

केपीको शैली र सरकारको कामबाट चरम असन्तुष्ट रहेका प्रचण्डले गत साता (असोज ९ गते मंगलबार) केही सम्पादकहरूलाई आफ्नो निवासस्थानमा बोलाएर भनेका थिए, ‘सरकारको काम सन्तोषजनक छैन, म यो विषयलाई लिएर पार्टीभित्रै छलफल अघि बढाउँछु, आन्तरिक प्रयासले परिणाम निस्कने देखिएन भने कुन विकल्पमा जाने भन्ने सोचिन्छ, तर म पहिलेझैँ हतार गर्ने छैन ।’

 

ओलीको सीधै आलोचना गर्न प्रचण्ड सचेत देखिए, तर आफू सरकारको कामप्रति सन्तुष्ट नरहेको सङ्केत भने राम्रैसँग दिए ।

 

अघिल्लो दिन सम्पादकहरूसँग सरकारको विकल्प खोज्न हतार नगर्ने बताएर भोलिपल्ट बिहान प्रचण्ड बुढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवास स्थानमा पुगे । रुघा लागेर ‘गम्भीर बिरामी’ भएका देउवासँग भेटेर प्रचण्डले स्वास्थ्य स्थिति सोध्न बिर्सिए पनि केपी र उनको सरकारबारे असन्तुष्टि प्रकट गर्नचाहिँ बिर्सिएनन् ।

 

आफू सर्वपक्षीय सरकारको पक्षमा रहेको बताउँदै प्रचण्डले केही समयपछि सर्वपक्षीय सरकार गठनको निम्ति पहल हुन सक्ने सङ्केत दिए । सर्वपक्षीय सरकार गठनको नारा भनेकै वास्तवमा त्यो ‘एमाले’बाहेककाहरूबीचको गठबन्धन सरकार हो र त्यस्तो सरकार आफ्नो नेतृत्वमा मात्र गठन हुन सक्ने विश्वास प्रचण्डमा रहेको छ ।

 

भारत भ्रमणबाट उत्साही भएर फर्किएका प्रचण्ड चीनबाट निराश भए पनि आफ्नो हातमा शक्ति पार्न उनी अनेक ढङ्गले सक्रिय भएका छन् । वामदेव गौतमलाई उचालेर संसदमा पुऱ्याउने प्रयास गर्नु, माधव नेपालले सरकारको आलोचना गर्ने परिस्थिति बनाउनु र देउवासँग विशेष भेटवार्ता गर्नुलाई प्रचण्डको खेलका रूपमा हेरिएको छ ।

 

केपी ओलीविरुद्ध पार्टीभित्र र बाहिरसमेत मोर्चाबन्दी गर्ने–गराउने ‘म्यान्डेट लिएर बसेका’ प्रचण्डले आगामी तीन महिनापछि ओलीको विस्थापनका निम्ति विशेष अभियान शुरु गर्ने तयारी गरेको प्रचण्डका निकटवर्तीहरूबाट थाहा भएको छ ।

 

शेरबहादुर देउवासँग सर्वपक्षीय सरकार गठनबारे मानसिकता बनाउन सुझाव दिएकै दिन प्रचण्ड आफ्नी पत्नी सीताको उपचार गराउने भन्दै सिङ्गापुरतर्फ लागेका थिए । उनको भ्रमणखर्च कुख्यात व्यापारी सतिसलाल आचार्य र उनका भाइले व्यहोरेका छन् । ज्ञातव्य छ, एनसेलका साझेदार सतिसाललाई प्रचण्डको एक मुख्य व्यापारिक पार्टनरका रूपमा पनि लिइन्छ ।

 

गत साता प्रचण्डका कुरा सुनेपछि आफूहरूले केही गर्दै नगरे पनि कम्युनिस्ट पार्टीभित्र अन्तरसङ्घर्ष चर्कने र घुमिफिरी आफ्नो पालो फेरि आउने आशा देउवामा पलाएको महसुस उनका निकटवर्तीहरूले गरेका छन् ।

 

तर, अहिलेसम्मको स्थिति हेर्दा नेकपाभित्र प्रचण्ड ‘कम्फर्टेबल’ अवस्थामा देखिँदैनन् । उनको प्राथमिकता पार्टी अध्यक्ष हो र शक्तिकेन्द्रका रूपमा रहिरहन वा प्रधानमन्त्री बन्नका लागि पनि पार्टीको एकलौटि अध्यक्ष आफैँ बन्नुपर्छ भन्ने सोच प्रचण्डमा रहेको छ ।

 

जब कि प्रचण्डलाई सजिलैसँग कम्युनिस्ट पार्टीको एकलौटि नेतृत्व सुम्पिने पक्षमा उक्त पार्टीका अधिकांश नेताहरू देखिँदैनन् । कदाचित पार्टी विभाजन भयो भने पनि प्रचण्डलाई वामदेव गौतम र वर्षामान पुनलगायत केहीले मात्र साथ दिने अनुमान गरिन्छ ।

 

माधव नेपालले ज्यादा हातपाउ चलाएनन् भने केपीपछिको प्रधानमन्त्री र पार्टी अध्यक्ष नेपाल नै बन्ने सम्भावना प्रबल छ । आफ्नो हातमा पार्टी र राज्यको सत्ता परेन भने प्रचण्डले कुन विकल्प रोज्लान्, त्यो आजको राजनीतिमा मुख्य प्रश्न बनेको छ ।

 

जे होस्, नेपालमा दुईतिहाइ बहुमतकै सरकार गठन भयो भने पनि चल्न गाह्रो हुन्छ भन्ने पुष्टि गर्न कम्युनिस्ट पार्टीकै नेताहरू लागेका छन्, यसले मुलुकलाई कतातिर डोऱ्याउने हो प्रतीक्षाको विषय बनेको छ ।घटना र विचारबाट

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...