१५ वर्षसम्म घर नफर्केका लालबहादुरको अन्त्येष्टि



हाम्रो इकोनोमि

 

 

१५ वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएका छैनन । परिवारले उनी आउने बाटो कुर्न भने छाडेनन् । तर, १५ वर्ष पुग्दा पनि डाँगी फर्किएनन् ।

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयाका डाँगी परिवारमा अहिलेसम्म पनि द्वन्द्वले बनाएको घाउ निको भएको छैन । घरमूली फर्किने आशामा लामो समयदेखि बाटो हेरेर बसेको डाँगी परिवार अन्ततः निराश बन्यो । घरमूली फर्किने आश त्याग्दै डाँगीको धार्मिक संस्कारअनुसार अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यो ।

डाँगी परिवारले लालबहादुर फर्किने आशा मार्दै कुशको प्रतिमा बनाएर अन्त्येष्टि गरेको छ । ‘बुबा फर्किने आशामा १५ वर्ष बित्यो, न बुबा फर्किनुभयो, न त उहाँको केही खबर नै प्राप्त भयो । त्यसैले हामी अन्त्येष्टि गर्ने निष्कर्षमा पुग्यौँ,’ लालबहादुरका जेठा छोरा प्रेमप्रकाशले भने ।

विसं २०६० असोज २ गते अपहरणमा परेका लालबहादुरको परिवारले सास र लास दुवै खोजी गर्‍यो । केही पत्तो लागेन । ‘यत्तिका वर्ष बित्दासम्म बुबाको जति खोजी गरे पनि केही खबर पाउन नसकेपछि कुशको प्रतिमा बनाएर अन्त्येष्टि गर्‍यौं’, प्रेमले भने । उनका अनुसार गाउँ नजिकै रहेको राप्ती नदीको घाटमा कुशको प्रतिमा बनाएर डाँगीको अन्त्येष्टि गरी काजक्रिया शुरु गरिएको छ ।

तत्कालीन नेकपा एमालेका सक्रिय कार्यकर्ता लालबहादुरलाई तत्कालिन माओवादी कार्यकर्ताले घरबाटै अपहरण गरेर बेपत्ता पारेपछि लामो समयसम्म अवस्था पत्ता लगाउन खोजी गरे पनि सफल नभएको लालबहादुरका कान्छा छोरा ओमप्रकाशले बताए । उनले भने, ‘बुवा जीवित हुनुहुन्छ भन्ने आशा मरिसकेपछि अन्त्यष्टि गर्ने निष्कर्षमा पुग्यौँ ।’ हरेक वर्ष बेपत्ता भएको मिति नजिक आउँदा डाँगी परिवारमा लालबहादुर फर्किने आशा जाग्थ्यो ।

‘परिवारका सदस्यका आँखामा बुबा बल्झिँदै आउँदा फर्किनुहुन्छ भन्ने आशा पनि लाग्थ्यो,’ उनले भने । लालबहादुरको दाहसंस्कारको प्रक्रियापछि उनकी श्रीमती गणमति र दाजुभाइ प्रेमप्रकाश र ओमप्रकाश क्रियामा बसेका छन् ।

तत्कालीन स्थानीय शान्ति समिति बाँकेको तथ्याङ्कअनुसार जिल्लाभर बेपत्ता हुनेको सङ्ख्या एक सय २१ जना छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...