आवागमन रोकेर सडक मर्मत : घटौंसम्म जाम, दशैमा घर जानेलाई सास्ती



 

 

राजधानी प्रवेश गर्ने मुख्य नाकानागढुंगा-पिपलामोड सडकखण्ड मर्मतका लागि भन्दै रातिको समयमा बन्द गरिएपछि दशैंको मुखमा यात्रुहरू मर्कामा परेका छन् । मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालय अन्तर्गत डिभिजन सडक कार्यालय, काठमाडौं – २ ले मर्मतका लागि रातिको समयमा सवारी आवागमन बन्द गराएको हो ।

 

 

कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गर्दै असोज १५ देखि २२ गतेसम्म रातिको समयमा सवारी व्यवस्थापन गर्न आग्रह गरेको थियो । सोही अनुसार गएरातिदेखि यस खण्डमा रातको समयमा सवारी आवागमन बन्द भएको छ । पूर्वसूचना नपाएका सयौं सवारी साधन र हजारौं यात्रुहरू मर्कामा परेका छन् ।

 

सडक मर्मत कार्य जारी रहेकाले रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधनलाई आवतजावत गर्न नदिइएको महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए । ‘एम्बुलेन्ससहित अत्यावश्यक बाहेकका सवारी साधनलाई रातिको समयमा आवतजावत गर्न दिइएको छैन,’ प्रहरी निरीक्षक भट्टले भने, ‘सडक पिच भइसकेपछि समस्या हल हुन्छ ।’

 

 

दशैंको मुखमा सवारी आवागमन बन्द गरेर सडक मर्मत गरिँदा त्यसको प्रभाव दिउँसोमा पनि देखिएको छ । गएराति सडक बन्द भएकाले आज बिहानैदेखि यस क्षेत्रमा लामो जाम छ । रातिको समयमा जाम धादिङतर्फ सीम्लेभन्दा परसम्म पुगेको थियो । काठमाडौंतर्फ पनि कलंकीसम्म यसको प्रभाव थियो ।

 

 

अत्यधिक चाप, बिग्रिएका सवारी तथा सडकको खाल्डाखुल्डीका कारण केही दिनदेखि यस क्षेत्रमा सवारी जाम देखिएको प्रहरी निरीक्षक भट्टको भनाइ छ ।

 

 

वैकल्पिक मार्ग खोल्ने तयारी

 

नौबिसे नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ । बडा दशैंका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न लागिएको हो ।

 

 

अचेल हरेक दिन नौबिसे नागढुङ्गा सडकमा २५ किलोमिटर सडकमा यातायात अवरुद्ध भई उक्त दूरी पार गर्न चार घण्टाभन्दा बढी समय लाग्ने भएकाले धादिङको धार्केबाट सीतापाइला जाने कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न मर्मत थालिएको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

 

नौबिसे नागढुङ्गा सडक खण्डमा एउटा सवारीसाधन बिग्रियो भने पाखा लगाउने ठाउँ छैन । सोही कारण सयौं सवारी साधन घण्टौंसम्म जाममा पर्ने गरेका छन् । सानो सडक र धेरै घुम्ती भएका कारण यो सडकको स्तरोन्नति गर्नुपर्ने अवस्था छ ।

 

निर्माण शुरू गर्दा दिनमा एक हजारसम्म सवारीसाधन गुड्न सक्नेगरी बनाइएको सो सडकमा हरेक दिन १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

रातिको जाम धार्केभन्दा निकै तलसम्म पुगेकाले वैकल्पिक मार्क प्रयोग गर्ने सम्भावना समेत थिएन ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्