मन्त्री मगरको घोषणा झुठो साबित : दशैंमा किन आएन काठमाडौंमा मेलम्ची ? !!



हाम्रो इकोनोमि

 

खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले गत चैत ७ गते दशैंअघि नै मेलम्चीको पानी काठमाडौं उपत्यकाका घर–घरमा वितरण हुने बताएकी थिइन् । उनले काठमाडौंवासीलाई विश्वस्त बनाउँदै उतिबेला घोषणा गरेकी थिइन्– ”अबको २५ दिनमा मेलम्चीको पानी सुन्दरीजलमा खस्छ, दशैंअघि उपत्यकाका उपभोक्ताको धारामा ।”

 

दशैं आइपुग्यो, तर काठमाडौंबासीको तिर्खा दशैंअघि मेलम्चीको पानीले मेटाउने मन्त्रीको वाचा पूरा भएन,  अधुरै रह्यो । बरु पानी आउने भाका थप दुई महिना सारिएको छ । आखिर मन्त्रीले गरेको मेलम्चीको पानी दशैंअघि नै आउने वाचा किन पूरा भएन ? आश्वासन अनुसार किन उपत्यकाबासीको धारामा पानी खसेन  ?

स्रोतका अनुसार, मेलम्चीको पानीबारे मन्त्रीले दिएको आश्वासन पूरा नहुनुमा यतिबेला अरुभन्दा पनि मन्त्री विनामगर स्वयं बढी बढी जिम्मेवार छिन् । मेलम्ची खानेपानी कहिलेसम्म आइपुग्छ भन्ने पाटो प्राविधिक भएकाले यो उनीहरुसँग सम्बन्धित विषय हो ।

 

प्राविधिक विषय भएकाले विषयविज्ञसँगको सल्लाहमा मात्रै मन्त्रीले यसबारे अभिव्यक्ति दिन सक्थिन् । तर, नेकपाका अध्यक्ष प्रचण्डको बुहारीसमेत रहेकी मन्त्री मगरले मेलम्चीलाई नजिकबाट नियालेका विज्ञहरुसँग खासै सल्लाह गर्ने गरेकी छैनन् ।

 

आफ्ना सचिवालयमा रहेका प्रविविधबारे ज्ञान नभएकाहरुसँग उनी बढी भर पर्ने गरेको मन्त्रालय स्रोत बताउँछ । त्यही सचिवालयका सदस्यको भर परेर मन्त्रीले पछिल्लो समय दशैंअघि नै मेलम्ची काठमाडौं आइपुग्ने घोषणा गरेको मन्त्रालयका एक उपसचिवले बताए ।

 

ती उपसचिवका अनुसार, सचिवालयमा रहेका सदस्यले प्राविधिकविनै गरेको अनुगमनपछि दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्न सम्भव रहेको हावादारी ब्रिफिङ मन्त्रीलाई गरेका थिए । त्यही ब्रिफिङमा भर परेर मन्त्री मगरले दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आइपुग्ने वाचा गर्दा उनी बेस्सरी चुकेको चर्चा मन्त्रालयतिर चल्न थालेको छ ।

 

मेलम्ची दशैंअघि ल्याउने वाचा पूरा गर्न नसकेकी मन्त्री विनाको कार्यसम्पादन समेत कमजोर हुने गरेको गुनासो बढ्न थालेको छ । मन्त्रालय स्रोतका अनुसार, खानेपानी मन्त्रालय प्राविधिक मन्त्रालय भए पनि उनले अहिलेसम्म यसलाई ठम्याउन सकेकी छैनन् ।

 

प्राविधिकहरुसँगको सल्लाहमा अघि बढ्नु हितकर हुने भए पनि उनी आफ्नै सचिवालयका सदस्यसँग भर परेर मन्त्रालयलाई गति दिन चुकेको आरोप उनीमाथि सघन रुपमा पर्न थालेको छ । सतही र हावादारी कुरा गर्ने भएकाले उनलाई मन्त्रालय तथा मन्त्रिपरिषद् बैठकमा समेत केटाकेटी मन्त्रीको संज्ञा दिन थालिएको छ ।

मेलम्ची खानेपानी आयोजना पीआइडीमा लुटतन्त्र : मन्त्री मगरलाई झुठ बकाउने को को हुन् ?

मेलम्ची खानेपानी आयोजनाबाट प्राप्त हुने पानी बितरण प्रणाली निर्माण गर्न आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) को स्थापना भएको हो । आयोजनाले वितरण सञ्जाल सुधार, पानी ट्यांकी निर्माण र थोक वितरण प्रणाली विस्तारलगायतका कार्यहरु गर्ने दायित्व तोकिएको छ ।

 

मेलम्ची खानेपानीको वितरण प्रणालीलाई व्यवस्थित गर्न यो आयोजना आर्थिक वर्ष २०६५।२०६६ बाट शुरु भई आर्थिक वर्ष २०७३।०७४ मा सम्पन्न गर्नेगरी एशियाली विकास बैंकसँग कुल ऋण सम्झौता रु.३८ अर्ब ८३ करोड ७६ लाख रहेको छ । तर, यति धेरै बजेट भएको यो आयोजनाले तोकिएको समयमा पानी बितरण प्रणाली निर्माण गर्न सकेन । यसो हुनुको मुख्य कारण भ्रष्टाचार नै भएको खुलेको छ ।

 

आर्थिक बर्ष २०७३–०७४ मा आउने भनेको पानी काठमाडौंबासीको घरमा त आएन नै । २०७५ को दशैंमा काठमाडौबासीको धारामा मेलम्चीको पानी आउने घोषणा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले पनि हचुवाको भरमा गरिन् भन्ने कुरा अहिले आएर पुष्टि भएको छ ।

 

पूरा नहुने कुरा मन्त्री मगरलाई कसले के स्वार्थले ब्रिफि¨ गरेर मन्त्री मगरलाई खानेपानी पीडित उपभोक्ता समक्ष झुठो सावित गरियो यो छानविनको विषय भएको छ ।

 

पीआइडीका आयोजना निर्देशक तिरेसकुमार खत्री र अर्थप्रबन्धक इश्वरप्रसाद काफ्लेको ध्यान पानी बितरण प्रणाली निर्माणमा भन्दा पनि घुसमा बढी केन्द्रित भएकाले पनि सुरुङ निर्माण सक्दा पनि काठमाडौंबासीले मेलम्चीको पानी खान यो दशैंमा पनि नपाउने भएका छन् । महालेखा परीक्षकको बार्षिक प्रतिवेदन २०७४ ले पनि पीआइडीको लक्ष्य बमोजिम प्रगति भएको नदेखिएको कुरा पुष्टि गरेको  छ ।

 

आयोजना प्रमुख खत्री र अर्थप्रबन्धक काफ्लेले ठेकेदारसित मिलेर आयोजनामा गरेको करोडौं रुपैयाँ अनियमितताबारे साँघुलाई थप विवरण प्राप्त भएका छन् । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल अनुसन्धान र छानविन गर्नुपर्ने माग जनस्तरबाट उठेको छ ।

 

खत्री र काफ्लेले ल्याब, फर्निचर र इक्वीपमेन्ट खरिद गर्ने क्रममा अनियमितता गरेको स्रोतको दावी छ । उनीहरुले प्रुडेन्ट भन्ने कम्पनीबाट १० लाख रुपैयाँ घुस लिएको आरोप छ । ल्याउँदै नल्याएको सामान स्टोर दाखिला गरी झुठो बिलबाट भुक्तानी गरी लाखौं रकम घुस लिएको स्रोतको दाबी छ । वल्र्डलिंकबाट इन्टरनेट जोड्दा पनि घोटाला भएको छ ।

 

अर्थप्रबन्धक काफ्लेले गाडी मर्मत गर्ने टोटल वर्कसप लगायतका वर्कसपबाट झुठो बिल बनाई चालीसौं लाख रुपैयाँ घोटाला गरेका छन् । काफ्लेले ठेकेदारसित मिलेर जथाभावी भुक्तानी गरेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको खण्डमा पुष्टि हुने दावी स्रोतले गरेको छ ।

 

पीआइडीमा बसेर खत्री र काफ्लेले मेलम्चीको पानी ल्याएपछि बितरण प्रणाली छिटोभन्दा छिटो निर्माण गर्नतिर भन्दा करोडौं रुपैयाँ घुस बटुल्नतिर मात्र केन्द्रित भएका केही उदाहरण फेला परेका छन् ।

 

उनीहरुले काममा प्रगतिभन्दा बढी भुक्तानी गरेका छन् । सर्भर, इन्टरनेट, बेबसाइट, निर्माणमा आफूखुसी आफ्ना मान्छे ल्याएर विना प्रतिस्पर्धा बजारमूल्यभन्दा धेरै बढी दररेटमा स्वीकृत गरेका छन् । स्रोतका अनुसार, स्टोरसित मिलेर जथाभावी सामान स्टोर दाखिला गराउने गरेका छन् । ल्याबको सामानमा काफ्लेले लाखौंलाख घुस खाएको स्रोतको दाबी छ ।

 

शर्मा एण्ड कम्पनीको ओमिटेड एरियाको सामान स्टोर इन्ट्री गराउन आफैं फाइल अगाडि बढाइरहेका छन् । १ लाख रुपैयाँमा तयार हुने बेबसाइट बनाएको बिलको ३ लाख २५ हजार भुक्तानी दिइएको छ ।

 

साथै बेवसाइट बनाउनेलाई बार्षिक ३० प्रतिशत सर्भिस चार्ज पनि दिने प्रावधान राख्न लगाएका छन् । १ लाख २५ हजारमा उपलब्ध हुने सर्भरलाई ३ लाख ९९ हजार भुक्तानी दिइएको छ ।

 

सुन्दरीघाट स्टोरमा आफ्नो सवारीचालकलाई क्वाटर दिनका लागि ठेकेदारलाई काफ्लेले चर्को दबाब दिंदैआएका छन् ।

 

एएमसी(एनुअल मेन्टिनेन्स कन्ट्याक्ट) मा पुरानो काम गरिरहेको प्राइम टेक्नोलोजीसँग २ लाख रुपैयाँ घुस माग गरेको तर उसले दिन इन्कार गरेपछि अर्को कम्पनीलाई दिन फाइल उठाउने काम पनि पीआइडीमा काफ्लेले गरेको आरोप छ ।

 

ठेकेदारको बढी भएको पाइप र फिटिङ सामान आफैं अग्रसर भएर स्टोरमा इन्ट्री गराउन खोज्ने, नियमसंगत भन्दै भुक्तानी गर्ने गरेका छन् ।

 

आफैं टिप्पणी पेश गर्ने, आफैं बिल मगाउने, आफैं चेक काट्ने, आफै सिफारिस गर्ने र भुक्तानी गर्ने काम काफ्लेले गर्दैआएका छन् । जुन आर्थिक अनुशासनभित्र पर्दैन र यसलाई भ्रष्टाचारको चरम नमुनाका रुपामा लिनु पर्ने हुन्छ ।

 

बैंकमा पैसा राख्दै कमिसन खाने

राष्ट्रबैंकले पीआइडीलाई नजिकको बैंकमा खाता खोलेर कारोबार गर्नका लागि परिपत्र गरे पनि त्यसको बेवास्ता गर्दै सानिमा बैंकमा कमिसन डिल गरेर खाता खोलेका छन् । पीआइडीको कार्यालय अनामनगरमा छ । तर सानिमा बैंक नक्सालमा छ । अनामनगरबाट नजिकै प्रभु बैंकलगायतका अन्य बैंकहरु नजिकै भए पनि खाता नखोली सानिमामा खोल्दा कमिसनको खेल भएको स्रोत बताउँछ ।

 

अर्थप्रबन्धक काफ्लेले मदिरालगायत महंगा रेष्टुरेन्टमा खाएको,  ह्वीस्की, बियर, वाईन पिएको र खुुवाएको बिलको भुक्तानी समेत पीआडीकै बजेटबाट खुरुखुरु दिने गरेका छन् । मदिराको बिलमा खाद्यान्न उल्लेख गरेर बिबरण राखी काफ्लेले वा आफ्नो वा आयोजना निर्देशक तिरेश खत्रीको नाममा चेक काटेर भुक्तानी लिने गरेका छन् ।

 

मदिरा, खाजाको बिलमा भुक्तानी गर्दा महालेखा परीक्षकले नमान्ने भएकाले अर्कै खाद्यान्नको विवरण लेखेर चेक काटिने गरिएको छ । पीआइडीमा खत्री र काफ्ले मिलेर २ बर्षको बीचमा २५ लाख रुपैयाँको त मदिरा मात्र खाएको बिल भुक्तानी गरेको कर्मचारी स्रोतको दाबी छ ।

 

महालेखा परीक्षक कार्यालयबाट लेखा परीक्षण गर्न आउने कर्मचारीलाई कमिसन दिनुपर्छ भन्दै ठेकेदार, सप्लायर्सहरुबाट लाखौं रुपैयाँ उठाएर काफ्लेले आफैं हजम गर्दैआएको आरोप छ । ठेकेदारबाट उठाएको घुस पनि महालेखाका कर्मचारीलाई दिनुपर्छ भनेर काफ्लेले लिने गरेको स्रोतको दावी छ ।

 

महालेखा परीक्षकको प्रतिवेदनमा पीआइडीमा कसरी बजेटको दुरुपयोग भइरहेको छ भन्ने उल्लेख छ–सडक विभाग, काठमाडौँं महानगरपालिका, वाग्मती सभ्यता, चक्रपथ सुधार निर्माण आयोजना, टेलिकम, एनसेल तथा चःमती लेन्डपुलिंग प्रोजेक्टले कार्य गर्दा यस आयोजनाको रु. २ करोड ४९ लाख लागतको १० हजार २०२ मिटर बिछ्याइएको पाइप क्षति गरेको देखियो ।

 

पाइप लेइङ डिजाइन गर्दा नै सम्भावित जोखिम पहिचान नगरेको र पाइपको काम गर्दा समन्वय तथा सुपरिवेक्षणको अभाव रहेको कारण क्षति व्यहोर्नु परेको देखिन्छ । जोखिमलाई ध्यान नदिई डिजाइन ड्रइङ गर्ने सम्बन्धित निकायबीच समन्वय नगरी निर्माण कार्य गर्ने जिम्मेवार पदाधिकारी र परामर्शदातालाई जिम्मेवार बनाउनुपर्दछ । साँधुबाट

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...