राणालाई तरुणी देख्नै नहुने, कुमारी तान्ने दिन दरबारमा केटी !
१०२ वर्षे हजुरआमा रामदेवी श्रेष्ठ एउटा यस्ती कथा हुन् । जसको सुरु र मध्य निकै रोमाञ्चक छ । तर, त्यसपछि कठिन्, झन् कठिन…। १०२ सय वर्ष पुगेको उपलक्षमा ‘बर्थ डे केक’ काटिदिने परिवारजन कोही पनि उनका समीपमा छैनन् ।
दिलशोभाले सञ्चालन गरेको आमाको घर (वृद्धाश्रम) को चौथो तलामा लठ्ठीको साहाराले रामदेवी बेलाबखत लो-बेडबाट बल्लतल्ल उठेर जब पट्यारलाग्दो गरी एक-एक पाइला सार्छिन्, लाग्छ, उसरी नै उनको सकसपूर्ण जिन्दगीको यात्रा अघि बढिरहेछ ।
अहिले रामदेवीको अवस्था देख्दा पत्याउन गाह्रो पर्छ कि कुनै दिन उनको सुन्दरतामा मोहित हुनेहरुको लर्को थियो, चार तले घर थियो, सुनका गहना मात्र होइन, चुरा र क्लीप पनि सुनकै लगाउँथिन् । र, राजा महेन्द्रले खबर गर्नासाथ दौडेर नारायणहिटी पुग्थिन् अनि बक्सिस थापेर र्फकन्थिन् ।
तर, रामदेवीको जीवनको चर्खा यस्तो रहस्यमय तरिकाले घुम्यो कि त्यो चर्खाले आज उनलाई बृद्धाश्रममा ल्याएर फ्याँकिदियो । धेरैले भनेजस्तै साँच्चीकै जीवन सप्तरंगी हो भने उनी जीवनको निकै फिक्का रङको अनुभूति गर्दैछिन् ।
१०२ वर्षसम्म आइपुग्दा उनले बुझेको जिन्दगी हो, ‘जीवन केही छैन, सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी ।’
हो, रामदेवी अहिले कसैले ल्याइदिएको एक बोतल हर्लिक्स र चिनीमै सन्तोष गर्छिन्, जुन उनको निकै फेफरेट हो । गहभरि आँशु पार्दै भन्छिन्, ‘अहिले मसँग एक पैसा छैन । तर, केही फिक्री छैन । भगवान मलाई लैजाने भए खुत्रुक्क लैजाउँ, कुनै सास्ती नदेउ । यति भए पुग्छ मलाई ।’
आमाघरमा यसरी आइपुगिन्
विवाहित भए पनि निसन्तान रामदेवी ७० वर्ष हुँदा ७२ वर्षीय श्रीमान कृष्णदास श्रेष्ठको निधन भयो । मृत्युशैय्यामा छटपटाइरहेका श्रीमानले रामदेवीलाई भनेका थिए, ‘म जान्छु अब । भकारीमा टन्न चामल छ । घर छ । बेलाबेला असामीको पैसा पनि आउँछ । तिमीलाई केही दुःख हुँदैन । राम्ररी बस्नु ।’
रामदेवीले पति स्नेह गुमाएको त्यस्तै पाँच/छ वर्ष बितेको थियो । आफ्नै घरका एक डेरावालले एक दिन हातमा तमसुक बोकेर आए र रामदेवीलाई ल्याप्चे लगाउन कर गरे । ७५ वर्षीया रामदेवीले जब त्यो ल्याप्चे लगाइन् अनि उनी रोडमा पुगिन् ।
ती डेरावालले त नौ लाखमा घर बेचिदिएछन् । रामदेवी हातमा एक लाख रुपैयाँ बोकेर ठिहीटीको घर सम्पत्ती छोडी श्रीमानकी बहिनी-ज्वाइँकहाँ पुगिन् । उनले ज्वाइसँग बिलौना गरिन्, ‘हेर्नुस् त ज्वाइँ किन यस्तो गरेको ?’ ज्वाइँले उत्तर दिए, ‘अब झगडा गरेर के गर्नु फेरि त्यही पैसा पनि गुम्छ ।’
रामदेवी चुप लागिन् ।
रामदेवीको उमेरले सतक छुँदै थियो । घरमा उनले एक सेट नयाँ ओच्छ्यान तयार पार्दै गरेको देखिन् । सोधिन्- ‘किन सिएको यो सिरक ?’ ज्वाइँले यतिमात्रै जवाफ दिए-‘काम छ ।’
केही दिनपछि ओच्छ्यान बोकेर ज्वाइँले भने- ‘जाऔँ घुम्न ।’ पछिपछि लागेकी रामदेवी दिलशोभा श्रेष्ठको ‘आमाको घर’मा आइपुगिन् ।
अहिले त्यो सिरक उनको छेउमा अस्तव्यस्त छ । पछाडि कपडा पोको पारेको ठूलो बोरा छ । त्यही बोराबाट सारी झिकेर जबरजस्त पहिरिन्छिन् उनी ।
यी सबै हुँदा पनि कोही मानिसप्रति रामदेवीको गुनासो छैन । ‘खाओस् केही छैन । ज्वाइँहरुलाई पनि म मन पर्न छाडेंछु, अनि फालिदिए । मैले भनेर हुन्छ त ?’
रामदेवीका बुवा राजबैद्य थिए । यसर्थ उनको जन्म एक कुलीन घरमा भयो । उनका बुवाका तीनवटी श्रीमती थिए । जेठी श्रीमतीका ६ वटी छोरीमध्येकी एक हुन् रामदेवी । कान्छीपट्टी एक छोरा थिए । तर, भाइबुहारीहरु स्वयम्भुमा बस्छन् भन्ने मात्रै थाहा छ उनलाई । भेट नभएको धेरै वर्ष भइसक्यो, अंकमा गनेर भ्याउँदिनिन् उनी ।
भनिन्छ, बुढेकालमा नयाँ दाँत उम्रन्छन् । रामदेवीका दाँत झरेर नयाँ उमि्रसके । मासु खाँदा तीनवटा नयाँ दात पनि भाँचिए । एक शताप्दीको अनुभव बटुलेकी रामदेवीको अघिका दुई बुढा दाँत अझै बाँकी छन् ।
यो उमेरमा उनी राम्रोसँग पाइला सार्न त सक्दिनन् तर, बोली निकै टाठो छ । बुढो भएपछि स्मरण निकै कमजोर भएर जान्छ भन्ने बैज्ञानिक अनुसन्धान उनका लागि त्यति मेल खाँदैन । जब कुनै प्रश्न गरिन्छ, उनी चुराले भरिएको हात उठाउँछिन् र खुलेर हाँस्दै विगत सुनाउन थाल्छिन् ।
राणाहरुसँग अस्मिता जोगाउनै गाह्रो !
रामदेवी राणाशासन कालमा हुर्किन् । राणाहरुको क्रुरतालाई नजिकसँग अनुभुत गरिन् । आज राजतन्त्र इतिहास भइसकेको छ । तर, उनको दिमागमा राजाहरु दयालु हुन्छन् भन्ने छाप अहिले पनि उस्तै छ ।
ठहिटीमा रामदेवीको लामो चारतले घर थियो, झंगटीले छाएको । उनका बाबाको घर । बाबासँग कहिलेकाँही राजदरवार पुग्थिन् र राजपरिवारले बक्सिस दिएको चाँदी, तामाका सिक्का झोलाभरि बोकेर फर्किन्थिन् । कहिलेकाँही साथीहरु बटुलेर घरमै खेल्थिन् । खुलेर हिँड्दा केटीहरुलाई चर्को पर्थ्यो ।
‘राणाहरु खराब थिए’, रामदेवी स्मरण गर्छिन्, ‘राणाहरुलाई राम्रा तरुनी देख्यो भने लिनैपर्थ्यो । राणाहरुले राति तरुनी लिन पठाउथे ।’
लगभग १५ वर्षकी हुँदा रामदेवी पनि राणाको निशानामा परेकी थिइन् । रामदेवी डराएजसरी सास-सासमा बोल्छिन्, ‘धोवीचौरका राणाहरु खराब थिए । मलाई पनि लिन पठाए । म कोठामा ढोका लगाएर बसेँ । चार दिनसम्म खोल्दै खोलिनँ । त्यहीँ खाएँ, दिसापिसाव पनि कोठामै गरेँ । धन्न खाने कुरा थियो ।’
राणाकाल भए पनि स्कुल जान थालिन्, रामदेवी । उनकै शब्दमा भन्ने हो भने सर्टिफिकेट नभए पनि ‘चार किलास’ पास गरेकी छिन् उनले । तर, महिलालाई पढ्न कहाँ त्यति सहज थियो र ?
‘स्कुलको नाम बिर्सेँ तर, मखन महादेवको मन्दिर अगाडि लामो स्कुल थियो,’ उनी भन्छिन्- ‘तर, स्कुल हिँड्दा किताव लुकाउनुपथ्र्यो । नत्र बाटामा बसेकाहरुले भन्थे, उ बेश्या हुन हिँडी’ केटीले पढेपछि बेश्या भइन्छ भन्थे त्यतिबेला !’
१९९७ सालको अर्को घटनाले अहिले पनि त्रस्त बनाउँछ रामदेवीलाई । जतिबेला शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दलाई राणाहरुले गोली ठोकेर र झुण्ड्याएर हत्या गरेका थिए ।
रामदेवी जिब्रो टोक्छिन्, ‘आम्मा ! त्यतिबेला उनीहरुलाई टुँडीखेलमा ल्याए । र, सबै घरधनीलाई झ्याल ढोका बन्द गर्न भने । अनि गोली ठोकेर मारे । कसैलाई अर्को ठाउँ लगेर भुण्डाए । उनीहरुले ठोक गोली भनेर छाती खोल्ने रे ।’ रामदेवी रोकिँदैनिन्, ‘राजाको विरोध गरेपछि त मार्छन् नि ! होइन हजुर ।’
रामदेवीलाई के थाहा, जनताको स्वतन्त्रताका निम्ति उनीहरुले आफ्नो प्राण आहुती दिएका थिए । र, अन्यायको प्रतिकार गरेका थिए भन्ने कुरा ।
ती दिन गए !
आफू राजा महेन्द्रको सवारी चालक भएको रामदेवीको दाबी छ । यो दाबीको पुष्टि इतिहासकारहरुले नै गर्लान्, तर हामीले उनका मुखबाट एउटा मौखिक इतिहास सुन्यौं, जुन इतिहासकी वाचिका उनै हुन् !
राजा महेन्द्रबाट बक्सिसमा आएको गाडी थियो रामदेवीका बुबाको । ड्राइभरलाई फकाएर उनले गाडी चलाउन सिकिन् । अनि एक दिन राजाकहाँ पुगिन् र खुट्टामा दाम राखेर ढोग गर्दै भनिन्, ‘सरकार मनलाई गाडी चलाउन आउँछ, म हजुरको गाडी चलाउन सक्छु ।’
‘त्यतिबेला राजा मज्जाले हाँसिबक्यो । निकै खुशी होइबक्स्यो । धेरै राम्रो भन्दै जागिर दिइबक्सियो’, रामदेवी दिल खोलेर हाँस्छिन् । उनका श्रीमान कृष्णदास पनि राजाकै ड्राइभर थिए ।
उमेर पुग्दै गएपछि रामदेवीले राजाको सवारी हाँक्न थालेको बताइन् । दरबारसँग अझ नजिक भइन् उनी । उनले नजिकबाट राजपरिवारको दैनिकी नियालिन् ।
‘राजाहरु पछाडिको सिटमा बस्नुहुन्थ्यो । म गाडी चलाउथेँ,’ रामदेवी भन्छिन्- ‘राजाको सवारी मैले चलाउने गर्थेँ । कहिले सूर्यविनायक, दक्षिणकाली, गुहेश्वरी, कहिले पशुपति सवारी हुन्थ्यो । प्रायः टुँडिखेलको परेडमा सवारी हुन्थ्यो । म मनकामनासम्म पुगेकी छु । मनकामनामा त हामी एक रात बसेर फर्केका हौँ । ख्यालठट्टा गर्न माहिर हुनुहुन्थ्यो महेन्द्र सरकार ।’
त्यतिबेला रामदेवीलाई नपुग्दो केही थिएन । गुच्चा खेल्दाखेल्दै लभ परेका कृष्णदास श्रेष्ठसँग बिहे गरेकी थिइन् उनले । बेलाबेला राजाले दिने बकसबाट झिंगटीको छाना फालेर जस्ताले छाएकी थिइन् । रामायण, गीता पढ्थिन् । माघ महिनामा कथा सुनाउँथिन् । घरमा जम्मा भएका सबैलाई टन्न खुवाएर पठाउँथिन् ।
शरीरभरि सुनका गहना थिए । ‘मैले ट्याक्सी पनि बकस पाएको थिएँ । ५५ लम्मरको ट्याक्सी’, रामदेवीको सम्झना बोल्छ, ‘छानीछानी लगाइयो, गहना पनि डिजाइन गरीगरी लगाइयो । मीठोमीठो खाइयो । धोको भन्ने केही बाँकी छैन जीवनमा ।’
रामदेवीले गरेको दाबीलाई पत्याउने हो भने उनले करिव २० वर्ष राजा महेन्द्रको गाडी हाँकिन् । तर, बेलाबखत मात्रै । किनभने, तालिमप्राप्त राजपहरियाहरु हुन्थे राजाको गाडी हाँक्ने । महेन्द्रले ‘डाइभर्नी’ बनेर बोलाउँथे रामदेवीलाई ।
यसो भन्दै गर्दा सेतै फुलेको थाइकट कपालमुनिका आँखा रसाए रामदेवीका । मैलो भइसकेको सेतो स्वीटरले आँखा पुछिन् ।
राजाहरुप्रति उनको खास गुनासो छैन । उनी भन्छिन्, ‘महेन्द्र सरकार मर्दा म कति रोएकी थिएँ । कति दिन त खाना नै खाइनँ ।’
दरबारमा बन्दूक पड्कन्थ्यो, हामी आवाजमात्र सुन्थ्यौं
राजाहरु के काम गर्थे ? रामदेवीको उत्तर साधारण छ, ‘राजाको के काम हुन्छ र ? सबै सुसारेले गरिहाल्छन् ।’
तर, रामदेवीले बेलाबेला राजाले क्यारेमबोर्ड र बागचाल खेलेको देखेको बताइन् । कहिले राणा साथीहरुसँग, कहिले रानीसँग ।
बेलाबेला बन्दुक बोकेर राजाहरु सिकार खेल्न गएको पनि देखेकी छिन् उनले । खुलेर हाँदै भन्छिन्, ‘कहिले नागार्जुन, कहिले सूर्यविनायक कहिले दक्षिणकालीमा सिकार खेल्न गइबक्सन्थ्यो । अनि बेलुकी परिवार मात्र होइन, जागिरेलाई पनि शिकार ख्वाइबक्सिन्थ्यो । हामीले पनि पाउँथ्यौँ ।’
राजाको दैनिकीसँग पनि जानकार छिन् रामदेवी । ‘बिहानैदेखि दरवारमा चाकडीको भीड लाग्थ्यो । पहिला खुट्टामा दाम चढाएर दर्शन गर्नुपथ्र्यो । राति सँधै गीत बज्थ्यो । उस्दादहरु आएर दरबारमा गीत गाउँथे । त्यतिबेला कति रमाइलो हगि ?’
कतिपय प्रश्नहरु उत्तरको आस नभएर पनि गरिँदोरहेछ । त्यस्तै गरिन् राामदेवीले ।
रामदेवी हातमा गिलास समाएर चम्चा खेलाइरहेकी छिन् । जहाँ चिनी, हर्लिक्स र चिया छ । चियालाई बेलाबेला चम्चाले मुखसम्म लैजान्छिन् । तर, जीवनका दुर्लभ भोगाइहरु बोलेर थाक्दिनिन् उनी ।
‘राजाहरु निकै दयालु हुन्थे । दशैँमा दाम चढाएर ढोगेजतिलाई पैसा दिन्थे । सबैलाई माया गर्थे । हामी सबैलाई सरकार भन्थ्यौँ । उहाँहरु मज्जाले हाँस्नुहुन्थ्यो ।’
बोल्दाबोल्दै कहाँकहाँ पुग्छिन् रामदेवी । ‘कुमारी तान्ने दिन राजाले मन पराएकी केटीलाई डोली लिएर पठाउँथे । कति जान्थे, कति जाँदैनथे । गएकाहरु रातभरि बसेर र्फकन्थे । थुप्रै पैसा पाउँथे ।’
रोमाञ्चक कुरा गर्दागर्दै राजनीतिक कुरा उप्काइन् रामदेवीले ।
‘त्यतिबेला राजाको कसैसँग केही खटपट थियो होला । एउटा कोठाभरि नांगो तार बिच्छाएका रहेछन्, महेन्द्र सरकारलाई मार्न । यो कुरा राजालाई कसैले भनिदिएछ । मैले पनि थाहा पाएँ । पछि तार बिच्छ्याएको मानिसलाई लिएर जिब्रोमा करेन्ट लगाएर मारिदिए । यसरी राजाको मन दुखाउनेहरुलाई दरबारभित्रै मारिदिन्थे । हामीले बन्दुकको आवाज मात्रै सुन्थ्यौँ ।’
कौशीमा श्रीमानले गाएको सम्झना
रामदेवीलाई माया गर्ने र सहारा दिने राजा महेन्द्र नरहे पनि पति कृष्णदास ज्युदै थिएँ । श्रीमानले खुब माया गर्थे । तर, उनको मृत्युपछि रामदेवी झन् झन् बेसहारा बन्दै गइन् । अहिले त उनलाई भेट्न जानेहरु पनि कोही छैनन् । कोठाको चार दिवारमा कैद रामदेवी बाहिरी संसारबारे बेखबर छिन् । बह पोख्छिन्, ‘ज्वाइँ, नातिनातिना छन्, दशैंमा पनि भेट्न आउँदैनन् ।
कांग्रेेस नेता प्रकाशमानसिंहकी आमा स्वर्गीय मंगलादेवीसँग आफ्नो चिनजान रहेको सम्झँदै रामदेवीले भनिन्- ‘गणेशमानकी श्रीमती र म साथी थियौँ । त्यो प्रकाशमानले मसँग भात खाइरहन्थ्यो । ऊ पनि आउँदैन । एकचोटि भेट्न पठाइदिनु है उसलाई ।’
रामदेवीलाई अहिले वृद्धभत्ताले केही राहत दिएको छ । वृद्धभत्तालाई उनी ‘बृद्धाभट्ट’ उच्चरण गर्छिन् । भन्छिन्- ‘मैले पहिलोपटकबाटै बृद्धाभट्ट लिएकी हुँ । मनमोहनले फोन गरेर आमा लिन आउनुस् भनेर बोलाउनुभयो । मलाई यसैले खान पुगेको छ, आनन्द छ ।’
रामदेवीको जीवनमा धेरै परिवर्तन आए । कहिले बादल लाग्यो, कहिले झरी पर्यो, कहिले भूकम्प आयो । तर, उनको एउटा कुरा फेरिएको छैन । उनी अहिले पनि कथाहरु सुनाउँछिन्, श्लोकहरु गाउँछिन् । दिलशोभासहित धेरै वृद्धवृद्धाहरु वरिपरि बसेर उनका कथा र श्लोकहरु सुन्छन् ।
रामदेवीको दिव्य मन्त्र छ- ‘जिन्दगीमा सबैलाई माया, दया गर्नुपर्छ । सानो जात, ठूलो जात, पैसा हुने, गरिव, भन्ने दिमागमा कहिल्यै राख्नुहुँदैन ।’
र, रामदेवी हरसमय सम्झिरहन्छिन्, ‘श्रीमान कृष्णदासले आफ्नै घरको कौशीमा बसेर गीत गाइरहेको ।’
अनलाईनखबरबाट