देशका अब्बल महिला, विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति



 

विद्यादेवी भण्डारी पहिलो महिला राष्ट्रपति हुन् । उनले गणतन्त्र नेपालको दोस्रो र लगातार दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएर इतिहासमा नाम लेखाएकी छिन् । श्रीमान् मदन भण्डारीको ३ जेठ ०५० मा विवादास्पद जिप दुर्घटनामा मृत्यु भएपछि उनी राजनीतिमा प्रवेश गरेकी हुन् ।

 

भण्डारीको निधनपछि रिक्त काठमाडौं–१ मा भएको उपनिर्वाचनमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि उनी राजनीतिमा एकाएक स्थापित भएकी हुन् ।

 

भोजपुरमा जन्मेकी भण्डारी विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय थिइन् । राष्ट्रपति हुनुअघि तत्कालीन एमालेकी उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् । विश्वप्रसिद्ध पत्रिका फोब्र्सले भण्डारीलाई वर्ष २०१६ का शक्तिशाली महिलामध्ये ५२औँ स्थानमा सूचीकृत गरेको थियो ।

 

ओनसरी घर्ती, पहिलो महिला सभामुख

ओनसरी घर्ती नेपालको पहिलो महिला सभामुख हुन् । रूपान्तरित व्यवस्थापिका संसद्की सभामुख बनेकी घर्तीको जन्म रोल्पाको तत्कालीन जंकोट गाविसमा भएको थियो । ०४६ देखि राजनीतिमा लागेकी घर्ती माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाका चारजना महिलामध्ये एक हुन् ।

 

०५२ सालमा रोल्पा होलेरी प्रहरी चौकी आक्रमणमा लडाकुका रूपमा सहभागी भएर उनले सशस्त्र द्वन्द्वमा सहभागिता जनाएकी थिइन् । ०६७ को झलनाथ खनाल मन्त्रिपरिषद्मा युवा तथा खेलकुदमन्त्री भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पा २ बाट विजयी भएपछि उपसभामुख निर्वाचित भएकी थिइन् ।

 

उनी सभामुख भएपछि धेरैले अविश्वास गरेका थिए । उनको क्षमतामाथि धेरैले शंका गरे, कतिपयले त आलोचना नै गरेका थिए । तर, ती आलोचना र शंकालाई आफ्नो कार्यक्षमताले चिर्न सफल भएको उनको भनाइ छ । भन्छिन्, ‘सफल र न्यायिक सभामुखको रूपमा रहेर मेरो कार्यक्षमतामाथि शंका गरेर आलोचना गर्नेहरूलाई मेरो कामले गलत साबित गरेकी छु ।’

 

रामकुमारी झाँक्री, अनेरास्ववियुकी पहिलोमहिला अध्यक्ष

विद्यार्थी राजनीतिबाट राजनीतिमा छिरेकी रामकुमारी झाँक्रीलाई ०६२/६३ को जनआन्दोलनले चर्चामा ल्याएको हो । जनआन्दोलनमा युवाको नेतृत्व गरेकी झाँक्री अनेरास्ववियुकी पहिलो महिला अध्यक्ष हुन् । उनी ०६५ मा अनेरास्ववियुको अध्यक्ष भएकी थिइन् । आन्दोलनको क्रममा प्रहरीको कुटाइबाट घाइते भएकी झाँक्रीले जेलजीवनसमेत बिताएकी छिन् । नेकपा युवा नेतृको रूपमा परिचित झाँक्री प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

 

अष्टलक्ष्मी शाक्य, नेकपा प्रदेश संयोजक

काठमाडौं–८ ‘ख’ बाट प्रदेश सभामा निर्वाचित अष्टलक्ष्मी शाक्य कम्युनिस्ट राजनीतिमा सक्रिय छिन् । शाक्य अहिले नेकपा प्रदेश नम्बर ३ को इन्चार्ज र नेकपाकी स्थायी समिति सदस्य हुन् । उनी पहिलो महिला प्रदेश इन्चार्ज हुन् । १८ वर्षकी हुँदा कम्युनिस्ट राजनीतिमा आबद्ध भएपछि उनी निरन्तर सक्रिय छिन् ।

 

धेरैपटक जेलजीवनसमेत भोगिसकेकी शाक्य भन्छिन्, ‘नबुझेर १८ वर्षकी हुँदादेखि राजनीतिमा होमिएँ । २६ वर्षमा घर छाडेँ । सम्पन्न परिवारमा जन्मे पनि गाउँमा विपन्न परिवारसँग बसेर उनीहरूको दुःखलाई नजिकबाट नियालेँ ।’

 

सीतादेवी यादव, कोषाध्यक्ष, कांग्रेस

सीतादेवी यादव अहिले कांग्रेस कोषाध्यक्ष छिन् । उनी कांग्रेसको पहिलो महिला जिल्ला सभापति हुन् । शान्ति तथा पुनर्निर्माणमन्त्रीसमेत भइसकेकी सीतादेवी श्रीमान्को हत्या भएपछि राजनीतिमा लागेकी हुन् । श्रीमान्को हत्यापछि कांग्रेस सिरहाको सभापति भएपछि उनी चर्चामा आएकी हुन् ।

 

सुशीला कार्की, पहिलो महिला प्रधानन्यायाधीश

सर्वोच्च अदालतको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुन् सुशीला कार्की । वरिष्ठ न्यायाधीश भएर लामो समय न्याय क्षेत्रमा काम गरेकी कार्की नेपालको न्यायिक इतिहासमा सर्वोच्च स्थानमा पुग्ने पहिलो महिला हुन् । न्याय क्षेत्रमा लोकप्रिय छवि बनाएकी कार्कीले २७ असार ०७३ मा प्रधानन्यायाधीशको रूपमा कार्यभार सम्हालेकी थिइन् ।

 

कार्यभार सम्हालेसँगै भ्रष्टाचार मुद्दामा राजनीतिक दलका प्रभावशाली नेतासम्मलाई जेल सजाय तोक्ने साहसी न्यायाधीशका रूपमा जनतामाझ स्थापित भइन् । बहालवाला सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचार मुद्दामा दोषी ठहरलगायतका चर्चित फैसला छन्, जसले उनलाई भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने न्यायाधीशको रूपमा चिनाएको थियो ।

 

हक्की स्वभावकी कार्कीले अवकाशको मुखमा आएर भने महाअभियोग झेल्नुपर्‍यो । प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोगको प्रस्तावमा परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले तत्काल कामकारबाही अघि नबढाउन अन्तरिम आदेश दिँदै तत्काल काममा फर्कन भनेपछि उनी नियमित काममा फर्किएकी थिइन् ।

 

सीता परियार, स्थानीय विकास अधिकारी

कास्की रूपाकोटकी सीता परियार पहिलो दलित महिला एलडिओ हुन् । दोलखामा पाँच महिना स्थानीय विकास अधिकारी भएकी परियारले भोजपुर जिल्ला विकास अधिकारीको रूपमा समेत काम गरिन् । अहिले उनी चन्द्रागिरि नगरपालिकामा कार्यरत छिन् ।

 

यामकुमारी खतिवडा, क्षेत्रीय प्रशासक पोखरा

०५१ मा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी यामकुमारी खतिवडा ०६५ मा सहसचिव भएकी थिइन् । उनी करिब आठ वर्ष उद्योग मन्त्रालयमा कार्यरत रहिन् । २० माघ ०७४ मा मन्त्रालयको निर्णयले उनलाई सचिव बनाएको थियो । सचिव भएसँगै पोखराको कामु क्षेत्रीय प्रशासकको रूपमा रहेर काम गरेकी खतिवडा पुनः उद्योगमन्त्रालयको सचिव भएर आएकी छिन् ।

 

 

कीर्तिपुरबाट अर्थशास्त्र र पब्लिक एडमिनिस्ट्रेसनमा स्नातकोत्तर र पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट विषयमा दक्षिण कोरियाबाट स्नातकोत्तर गरेकी हुन् । आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास रहेको बताइन् । भनिन्, ‘महिला कुशल व्यवस्थापक मात्र नभएर प्रशासक पनि हो । हरेक क्षेत्रमा पुरुषलाई भन्दा बढी चुनौती हुँदाहुँदै पनि पुरुषले भन्दा बढी जिम्मेवारी सम्हालेको हुन्छ ।’

 

पुष्पा चौधरी स्वास्थ्य मन्त्रालयको सचिव भएसँगै बहालवाला महिला सचिव अहिले दुईजना छन् । त्यस्तै, अहिले तीन जिल्लालाई महिला प्रमुखहरूले कमान्ड गरिरहेका छन् । मेनुका न्यौपाने ओखलढुंगा, हिरादेवी पौडेल भोजपुर र लक्ष्मी हुमागार्इं तेह्रथुम जिल्ला प्रमुख छन् ।

 

वृन्दा हाडा, लोकसेवा आयोग सदस्य

लोकसेवा आयोगकी सदस्य वृन्दा हाडा भट्टराई ०४८ सालमा शाखा अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेकी हुन् । उनी पहिलो महिला सचिव हुन् । अर्थ मन्त्रालयमा सहसचिवमा कार्यरत रहँदा हाडा ०६४ सालमा सचिव पदमा बढुवा भएकी हुन् ।

 

खुला प्रतिस्पर्धामार्फत शाखा अधिकृतबाट सीधै सहसचिव भएकी उनले उद्योग, वाणिज्य तथा आपूर्ति, अर्थ, मन्त्रिपरिषद्, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल ट्रस्टको कार्यालयको जिम्मेवारी निर्वाह गरिसकेकी छिन् । त्रिभुवन विश्वविद्यालयबाट विज्ञान (अग्र्यानिक केमेस्ट्री) र सार्वजनिक प्रशासनमा स्नातकोत्तर वृन्दा सन् २००५ मा आउटस्ट्यान्डिङ वुमन अवार्डबाट समेत सम्मानित भइसकेकी छिन् ।

 

 

अनुराधा कोइराला, सिएनएन हिरो

अनुराधा कोइराला माइती नेपालकी संस्थापक अध्यक्ष हुन् । उनी हाल प्रदेश नम्बर ३ की प्रदेश प्रमुख छिन् । अनुराधा सन् २०१० को सिएनएन हिरोको उपाधि पाउन सफल पहिलो व्यक्तिसमेत हुन् । माइती नेपालले बेचिएका चेलिबेटीको उद्धार गर्ने गरेको छ । अनुराधालाई माइती नेपालको कार्यक्रम जारी राख्न एक लाख अमेरिकी डलर र २५ हजार अमेरिकी डलर कदरस्वरूप सिएनएनद्वारा प्रदान गरिएको थियो । उनले सन् २०१४ मा मदर टेरेसा सम्मानसमेत पाएकी थिइन् ।

 

 

सिएनएन सुपर हिरो, पुष्पा बस्नेत

समाजसेवी तथा प्रारम्भिक बाल विकास केन्द्र (इसिडिसी) र पुतली घर नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् पुष्पा बस्नेत । जेलमा रहेका आमाबाबुको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा २०१२ मा सिएनएन हिरो घोषित भइन् । सन् २०१६ मा उनी ‘सिएनएन सुपर हिरो’ घोषित हुन पुगिन् ।

 

‘सिएनएन सुपर हिरो’ अवार्ड पाउने उनी पहिलो नेपाली महिला हुन् । अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्डको १० वर्ष पुगेको अवसरमा पूर्वसिएनएन हिरोमध्येबाट सुपर हिरो अवार्ड प्रदान गरेको थियो । पुष्पाले ५० हजार अमेरिकी डलर प्राप्त गरेकी थिइन् ।

 

मीरा राई, धावक

भोजपुरकी मीरा राई राष्ट्रिय च्याम्पियन हुँदै अन्तर्राष्ट्रिय स्तरमा च्याम्पियन हुन सफल महिला हुन् । सन् २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो भएर उनले नेपालको झन्डा फहराएकी थिइन् । १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै मीरा पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन् ।

 

हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ किलोमिटर र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन बनेकी मीरा गत वर्ष मात्र विश्वको दोस्रो स्थानमा उक्लन सफल भएकी थिइन् ।

 

विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा नेसनल ज्योग्राफीले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ दी इयर) २०१७ हुन सफल भएकी छिन् । माओवादी पूर्वलडाकु रहेकी उनी सेना समायोजन क्रममा अयोग्य भएकी थिइन् ।

 

ननिता महर्जन, बडिबिल्डर

नेपाली महिला बडिबिल्डर ननिता महर्जनले अन्तर्राष्ट्रिय बडिबिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाइन् । उनी थाइल्यान्डको पटायामा गत १७ मंसिरमा सम्पन्न ‘आठौँ (डब्लुबिपिएफ) विश्व शारीरिक सुगठन तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप’की कास्य पदक विजेता हुन् । ३१ वर्षीया ननिता महिला ‘एथलेटिक फिजिक’को१६५ सेन्टिमिटर उचाइमा सहभागी भएकी थिइन् ।

 

संगीना वैद्य, तेक्वान्दो 

संगीना वैद्य ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २००४ को एथेन्स ओलम्पिकमा संगीनाले सो अवसर चुमेकी थिइन् । ०४८ बाट तेक्वान्दो खेल्न थालेकी उनले सन् १९९९ मा काठमाडौं र २००४ मा पाकिस्तानमा सम्पन्न दक्षिण एसियाली खेलकुद साफमा स्वर्ण पदक जितेकी थिइन् । सन् १९९६ मा एसियाली तेक्वान्दो च्याम्पियनसिपमा जितेको स्वर्ण पदक नै संगीनाको खेलजीवनको सबैभन्दा ठूलो सफलता हो ।

 

उनले खेलेका सबै १० राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् । विभिन्न २० अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले १० स्वर्ण, एक रजत र चार कास्य जितेकी छिन् । नेपाली खेलकुदकै सर्वाधिक सफल महिला खेलाडीजीवनबाट सन्न्यास लिएकी संगीना वैद्यले भारतको बेंग्लोरमा सम्पन्न ५६औँ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनारबाट अन्तर्राष्ट्रिय निर्णायक लाइसेन्स पाएकी हुन् । हाल उनी तेक्वान्दोको सहायक मुख्य प्रशिक्षकमा नियुक्त भएर काम गरिरहेकी छिन् ।

 

 

भुवन चन्द, पहिलो नेपाली नायिका

भुवन चन्द पहिलो नेपाली नायिका हुन् । तत्कालीन श्री ५ को सरकारअन्तर्गतको सूचना विभागले ०२१ मा निर्माण गरेको ‘आमा’ चलचित्रबाट उनी नायिकाको रूपमा परिचित भएकी हुन् । चार वर्षको उमेरमै उनले बालकृष्ण समको नाटकमा बालकलाकारको भूमिका निभाएकी थिइन् । सांस्कृतिक संस्थान (नाचघर) मा जागिरे भएपछि उनलाई ०२१ सालमा चलचित्र खेल्ने अवसर प्राप्त भएको थियो । उनले नाचघरबाट ०६२ मा अवकाश पाएकी थिइन् ।

 

सुचित्रा श्रेष्ठ, पहिलो महिला चलचित्र निर्देशक

सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला चलचित्र निर्देशक हुन् । उनी नेपाल चलचित्र निर्देशक समाजकी पहिलो महिला अध्यक्ष पनि हुन् । करिब दुई दशक अगाडि आफैँले लेखेको कथाबाट अकल्पित र स्मृति नामक दुई टेलिसिरियलमा मुख्य सहायक निर्देशक भएर काम सुरु गरेकी सुचित्राले १० वर्षपछि चलचित्र ‘प्रेमयुद्ध’ निर्देशन गरिन् । उनले अहिलेसम्म ‘प्रेमयुद्ध’, ‘घाइते’, ‘खै को कसको’ चलचित्र निर्देशन गरेकी छिन् ।

 

प्रा.डा. सुधा त्रिपाठी शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय

प्राध्यापन पेसामा विगत तीन दशकदेखि आबद्ध प्रा.डा. सुधा त्रिपाठी हाल त्रिभुवन विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) छिन् । उनी पहिलो महिला शिक्षाध्यक्ष हुन् । दार्जिलिङको मिरिकमा जन्मेर दोलखामा निम्नमाध्यमिक शिक्षा लिएकी त्रिपाठी साहित्यकार तथा समालोचकको रूपमा पनि परिचित छिन् । उनले नारीवादमा पिएचडी गरेकी छिन् । सुधाले धेरै कविता, कथा, निबन्ध, नाटक, समालोचना, समसामयिक राजनीतिक एवं सांस्कृतिक रचना तयार पारेकी छिन् ।

 

निबन्ध, नाटक, समालोचना आदि गरी उनका नौ पुस्तक प्रकाशित छन् । सुधाका निबन्ध, कथा, समालोचना, कविताहरू विभिन्न पत्र–पत्रिकामा प्रकाशित छन् । उनी पारिजात सिर्जन पुरस्कार, युद्धप्रसाद मिश्र पुरस्कार, अन्तर्राष्ट्रिय साहित्य समाज उत्कृष्ट पुरस्कारजस्ता पुरस्कारबाट समेत पुरस्कृत भइसकेकी छिन् ।

 

भूषण श्रेष्ठ उपकुलपति, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय

भूषण श्रेष्ठ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति हुन् । श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेकी छिन् । ०४० देखि अध्यापन पेसामा लागेकी उनी सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा तीन वर्षदेखि कार्यरत छिन् ।

 

क्याम्पस प्रमुखहरू
निर्मलाकुमारी सुवाल प्रमुख, रत्नराज्य क्याम्पस काठमाडौं
मुना राना प्रमुख, वीरगञ्ज चिकित्सा क्याम्पस वीरगञ्ज
मिनु सिग्देल प्रमुख, पब्लिक युथ क्याम्पस
प्रा. सुलोचना श्रेष्ठ प्रमुख, नर्सिङ क्याम्पस महाराजगञ्ज
निरूपा थापा प्रमुख, पोखरा चिकित्सा क्याम्पस पोखरा
विमला शाक्य प्रमुख, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर
कल्पना पौडेल प्रमुख, नर्सिङ क्याम्पस नेपालगञ्ज
भगवती कालिकोटे प्रमुख नर्सिङ क्याम्पस विराटनगर

नयाँँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र