निगममा तनाव, डलर काण्ड अख्तियार पुग्यो : खरेलले सक्लान् चुनौतीका चाङ पर्गेल्न ?



 

राष्ट्रियध्वजावाहक नेपाल वायु सेवा निगम (एनएसी)को नेतृत्वमा आएदेखि नै एमडी सुगतरत्न कंसाकार अनेक विवादमा पर्दै आएका छन् । वाइडबडी विमान खरिद प्रक्रियादेखि आन्तरिक व्यवस्थापनका अनेक काण्डमा उनको नाम जोडिएर आइरहेको छ । अब भने उनीबाट निगमले मुक्ति पाउने संकेत देखिन थालेको छ ।

 

कंसाकार एमडीको जिम्मेवारीमा रहेकै बेला सरकारले पूर्वमहाप्रबन्धक मदन खरेललाई कार्यकारी अध्यक्षसहितको जिम्मेवारी दिएर पठाएपछि निगमभित्र ब्यवस्थापकीय शक्ति सन्तुलनमा द्वन्द्व बढ्ने सम्भावना बढेको छ ।

 

कंसकारको अधिकारलाई खुम्च्याउन सरकारले खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरे पनि उनी भने राजीनामा नगर्ने मनस्थितिमा देखिएका छन् । खरेल नियुक्त भएसँगै कार्यकाल ८ महिना बाँकी रहेका कंसाकारले  एनएसीमा नयाँ चाखलाग्दो ट्वीस्ट भएको टिप्पणी गरेका छन् ।

 

‘एनएसी व्यवस्थापनमा सरकारले चाखलाग्दो ट्वीस्ट गरेर कार्यकारी अध्यक्षमा नियुक्त गरे पनि मैले राजीनामा नदिने निश्चय गरेको छु’, कंसाकारले ट्वीटरमा लेखेका छन्, ‘म कार्यकारी अधिकारविनाको सीईओका रुपमा रहनेछु जसले धेरैलाई आश्चर्यमा पार्नेछ ।’

 

केही समयदेखि निगम अध्यक्षको जिम्मेवारी पर्यटन सचिवलाई दिएर प्रबन्ध निर्देशकलाई कार्यकारी अधिकार दिइँदै आएको थियो । झलनाथ खनालको प्रधानमन्त्रीत्वकालदेखि यस्तो अभ्यास गरिएको भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले अर्को कार्यकारी प्रमुख अगाडि सारेका छन् ।

 

जसले गर्दा दुई कार्यकारीबीच संघर्ष हुने चिन्ता पनि कर्मचारीबीचमा उत्तिकै व्यक्त भइरहेका छन् । तर कंसाकार स्वयंले यस्तो खिचातानीमा आफू नलाग्ने प्रष्ट पारिसकेकाले त्यस्तो अवस्था आउने सम्भावना छैन ।

 

कंसाकार पछि हटे पनि नवनियुक्त कार्यकारी अध्यक्ष खरेलका लागि निगमभित्रका वेथितीका डंगुर सोहोर्न भने सहज छैन । निगमभित्रका बेलगाम कर्मचारी र खस्कँदो विजनेसलाई कार्यकारी अध्यक्ष खरेलले कसरी ‘ट्याकल’ गर्छन् ? त्यसमा नै उनको सफलता या विफलता निर्भर हुनेछ ।

 

मकालु र सगरमाथा ग्राउण्डेड 

नेपाल वायु सेवा निगमको लागि विमान ग्राउण्डेड हुनु कुनै नयाँ विषय होइन । ब्यवस्थापकीय कमजोरीका कारण नयाँ वाइडबडी खरिद गरेर ल्याएलगत्तै ग्राउण्डेड गरेर उसले कहीँ नभएको जात्रा प्रदर्शन गरेको केही महिना मात्रै भएको छ । यहीबीचमा निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको मकालु वाइडबडी जहाज ग्राउन्डेड भएको छ ।

 

२०७५ साउन १० गते ल्याइएको यो विमानले भदौ ८ गतेबाट व्यावसायिक उडान थाले पनि केही दिनदेखि ग्राउण्डेड भएर थन्किएको हो । विमान थन्किँदा एकातिर यात्रुले सास्ती र भुक्तमान खेपिरहेका छन् भने अर्कातिर निगमले दैनिक लाखौं आम्दानी गुमाइरहेको छ ।

 

ग्राण्डेडको सूचीमा एउटा विमान मात्रै छैन । अर्को एक न्यारोबडी पनि मकालुजस्तै गरी थन्किएको छ । निगमका दुई न्यारोबडी विमानमध्ये सगरमाथा ग्राउण्डेड भएको हो ।

 

दुई जहाज ग्राउण्डेड भएसँगै उडान गञ्जागोल हुन पुगेको निगमका एक अधिकारीले साँघुसँग बताए । व्यवस्थापनको गैरजिम्मेवार रवैयाले भएका विमानहरूको उपयोग हुन नसकेको ठम्याइ ती कर्मचारीको छ ।

 

उडान भद्रगोल 

नेपाल वायुसेवाको उडान अझैसम्म व्यवस्थित हुन सकेको छैन । पाइलट, प्राविधिक कठिनाइलगायत कारण देखाउँदै पटक–पटक गर्ने गरिएको उडान स्थगनले निगमप्रतिको विकर्षण बढ्दै गएको छ ।

निगमले दुई वाइडबडी विमान खरिद गरे पनि यसको उडान व्यवस्थित हुन सकेको छैन । पाइलट अभावको कारण देखाउँदै खाडी मुलुकमा हुने उडान केही सातादेखि रद्द हुँदै आएको छ ।

 

निगमले उडान रद्द गर्नुको कारणमा पाइलट अभाव भन्दै आएको छ जबकि यसको उडानका लागि पाइलट र को–पाइलट गरी ११ जनाको जनशक्ति छ । स्रोतका अनुसार, एउटा वाइडबडी उडाउन दुई क्याप्टेन र दुई को–पाइलट भए पुग्छ ।

 

निगमले वाइडबडी उडाउन विदेशी पाइलटसमेत हायर गरेको छ । तीन जना विदेशी र दुई जना नेपाली गरी ५ जना क्याप्टेन र ६ जना नेपाली को–पाइलट वाइडबडी उडाउनकै लागि तैनाथ छन् ।

 

तर दुनियाँलाई गुमराहमा पारेर जनशक्ति अभाव देखाउँदै निगमले यात्रुलाई होटलमा राख्ने गरेको छ । कारण निगमको विमानमा यात्रा गर्ने सोच अनुरुप टिकट काटेका यात्रुहरू अलपत्र त परेकै छन्, ठूलो आर्थिक भार संकटग्रस्त निगममाथि परिरहेको छ ।

 

उडान रद्दबारे छानबिन हुने 

यसैबीच काठमाडौं–दुबईको कमर्सियल उडान रद्द गरेर मलेसियामा हुने पाटाको ट्राभल मेलाका लागि लगिएको नेपाल वायु सेवा निगमको विमान घटनाबारे छानबिन हुने भएको छ । निगम व्यवस्थापनको यस्तो कदमको चौतर्फी आलोचना र विरोधपछि पर्यटनमन्त्री रवीन्द्र अधिकारीले छानबिनका लागि निर्देशन दिएका छन् ।

गैरसरकारी संस्था पाटाको २०७५ असोज ३ गते बुधबारदेखि मलेसियामा हुन लागेको तीनदिने मेलामा भाग लिनका लागि निगमको २०७५ भदौ ३१ गते आइतबार रातिको दुबई उडान रद्द गरेर मलेसिया लगिएको थियो ।

 

यो उडान रद्द भएपछि त्यस रात दुबई उड्न पर्खिरहेका ६३ यात्रुलाई सिनामंगलका तीनवटा साना होटलमा निगमकै खर्चमा राखेको थियो भने दुबईबाट काठमाडौं आउन लागेका १ सय ५६ यात्रु उतै रोकिएका थिए ।

 

यसबारे थाहा पाएका पर्यटन मन्त्री अधिकारीले पर्यटन बोर्डमा केही दिनअघि आयोजित कार्यक्रममा यसबारे छानबिन गरेर दोषीमाथि कारबाही हुने बताएका थिए । छानबिन कहाँ पुग्यो भन्नेबारे भने तालकुदार मन्त्रालयले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

 

अख्तियार पस्यो डलर काण्ड 

वायु सेवा निगममा अनेक अनियमितता हुने गरेको चर्चा भइरहन्छ । पछिल्लो समय वाइडबडी खरिदमा ठूलै घोटाला भएको भन्दै छानबिनका लागि दबाव बढेपछि संसद र अख्तियारले समेत यसमा तदारुकता देखाएको चर्चा छ । ठीक यहीबेला ५ सय डलर अनियमिता भएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगेको छ ।

 

निगमका अर्थ विभागका कामु उपनिर्देशक राजकुमार खड्काले ५ सय डलर गोलमाल गरेपछि यो मामला अख्तियार पसेको स्रोतको भनाइ छ । पार्किङवापतको रकम अपरेशन अफिसर प्रमोद बस्नेतले फिर्ता गरे पनि खड्काले निगमको खातामा दाखिला नगरेर आफैंले राखेको आरोप लागेको छ । यसमाथि अख्तियारले थप अनुसन्धान थालेको स्रोतले साँघुलाई बतायो ।

 

कर्मचारीमाथि जंगे उर्दी 

नेपाल वायु सेवा निगमको ब्यवस्थापक पक्षले गरेको अनियमितता र भ्रष्टाचारको ढाकछोप गर्न महाप्रबन्धक सुगतरत्न कंसाकारले त्यहाँ कार्यरत कर्मचारीहरूको अभिव्यक्ति स्वतन्त्रतामा समेत अंकुश लगाउन थालेका छन् ।

 

निगमभित्र भए÷ गरेका अनियमितता तथा भ्रष्टाचारका एकपछि अर्को काण्ड बाहिरिन थालेपछि जंगेशैलीमा कर्मचारीको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन थालिएको विषय अब कार्यकारी अध्यक्ष खरेलले कसरी लिने हुन् भन्ने प्रश्न पनि खडा भएको छ ।

 

वाइडबडी खरिदलगायतको विवादमा मुछिएको निगमसँग सम्बन्धित कुनै पनि विषयमा सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी नगर्न कर्मचारीहरूलाई उर्दी जारी गरिएको छ । एमडीले एक परिपत्र गर्दै निगममा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई निगमबारे सामाजिक सञ्जालमा नकारात्मक टिका–टिप्पणी नगर्न उर्दी जारी गरेका हुन् ।

 

कंसाकारको कार्यालयले सम्पूर्ण कर्मचारीका नाममा जारी गरेको परिपत्रमा निगमसँग सम्बन्धित कुनै पनि विषयमा नकारात्मक टिकाटिप्पणी सामाजिक सञ्जालमा सेयर गर्न र प्रचारप्रसार गर्न नपाइने उल्लेख छ ।

 

परिपत्रमा नेपाल वायु सेवा निगमको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली २०५८ को विनियम ७४ मा संस्थानबारे गलत प्रचारबाजी गर्न नपाइने भएको स्मरण गराउँदै भनिएको छ– विनियमको बर्खिलापमा गएर कसैले निगमबारे नकारात्मक टिप्पणी गरे ९२ (क) को खण्ड (ख) अनुसार तल्लो तहको पदमा घटुवा गरिने व्यहोरा जानकारी गराइन्छ ।’

निर्देशक, नेवानि आधिकारिक ट्रेड युनियनदेखि सम्पूर्ण विभाग र शाखालाई बोधार्थ दिइएको परिपत्रमा एमडी कंसाकारले हस्ताक्षर गरेका छन् ।

गन्तव्य अनिश्चित 

निगमले नयाँ वाइडबडी खरिद गरेपछि नयाँ गन्तव्यमा उडान भर्ने बताएको थियो । स्वयं प्रबन्धक निर्देशक कंसाकारले पनि युरोपलगायतका देशहरूमा प्रभाव विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

अर्को दुर्भाग्य † वाइडबडी विमान भित्रिए पनि नयाँ गन्तव्य खोजी निगमले गरेको छैन । १० नयाँ गन्तव्य थपेर व्यापार गुल्जार पार्ने सपना बाँडेको निगमले उच्च क्षमताको वाइड बडी विमान पनि पुरानै ८ गन्तव्यमा उडाउने तयारी गर्दैछ । त्यो पनि जहाज भित्रिएको ३४ दिनपछि मात्र !!?

 

निगमका एमडी कंसाकार नयाँ गन्तव्यको खोजी भइरहेको दाबी गर्छन् । उनले नयाँ वाइड बडीले ३ महिना पुरानै गन्तव्यमा उडान भर्ने र त्यसपछि नयाँ गन्तव्यतर्फ उड्ने दाबी गरे । उनका अनुसार, जापान, कोरिया र साउदी अरेबिया उडान भर्ने लगभग निश्चितजस्तै भइसकेको छ ।

 

विमान खरिद युरोपबाट गर्ने, युरोपबाटै उडेर जहाज नेपाल भित्रिने, तर, बिडम्बना त्यो जहाजले फ्रान्स मै पनि उडान भर्न नपाउने ! युरोपमा उडान चाहिँ किन गर्न नपाउने ? भनेर साँघुले राखेको जिज्ञासामा उनले ‘‘यो प्राविधिक विषय भएको’’ जवाफ दिए । युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राखेकाले चाहँदाचाहँदै पनि युरोपका देशहरूमा उडान भर्ने निगमको योजना सफल हुन नसकेको गुनासो गरे ।

 

कालोसूचीबाट नेपाल हटेसँगै निगमले युरोपका देशहरूमा उडान भर्ने उनको दाबी छ । ‘नयाँ गन्तव्यको खोजी शुरु भइरहेको छ, केही भेटिएका पनि छन् । अन्तर्राष्ट्रिय प्रचलनअनुसार ३ महिना उडान भर्न नमिल्ने भएकाले त्यसपछि उडाउने योजना बनाएको छौं’, एमडी कंसाकारले भने ।

 

उता, नेपाल वायुसेवा निगमले तीन वर्ष अघि चीनमा उडान अनुमति मागेको थियो । तर अझैसम्म पाउन सकेको छैन । चीनको ल्हासा, ग्वान्झाउ, कुनमिङ, सांघाई, बेइजिङ, छेन्दु र सियानमा नेपालले उडान अनुमति मागे पनि चीनले दिन आनाकानी गर्दै आइरहेको छ । स्रोतका अनुसार, चीनले तत्काल यो सम्भव नहुने भन्दै अर्को वर्षसम्मका लागि पर्खन भनेको छ ।

 

स्मरणीय छ, सन् २००२ मा चीनसँग भएको दुई पक्षीय हवाई सेवा सम्झौता पुनरावलोकनपछि सातामा १४ उडान गर्ने सहमति भएको थियो । यो सहमतिलाई पनि बढाएर हाल सातामा ७० वटा उडानसम्म पुगिसकेको छ ।

 

चीनसँग भएको सम्झौताअनुसार दुवै मुलुकले बराबर उडान गर्न पाउने र सम्झौतामा उल्लेख भएअनुसार सातवटै गन्तव्यमा जान सक्ने व्यवस्था छ ।  सम्झौता यस्तो भए पनि निगमले भने एउटा पनि गन्तव्य पाएको छैन ।

 

चीनबाट भने  एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवानलगायत एयरलाइन्सले उडान भर्दै आइरहेका छन् । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र