जाने होईन त ? स्वर्गको ढोका अर्थात स्वर्गद्वारी
हिन्दू धर्मावलम्बीमा विश्वास छ, सात धामको दर्शनपछि स्वर्ग पुगिन्छ। पशुपतिनाथबाट सुरु हुने एउटा धार्मिक यात्राको अन्तिम बिन्दु हो— स्वर्गद्वारी। धर्मलाई नै विश्वास गर्ने हो भने प्युठानको पवित्र तीर्थस्थल स्वर्गद्वारीले हरेक वर्ष करिब पाँच लाखलाई ‘स्वर्ग तारेको’ छ। यही स्वर्ग जाने बाटो प्युठानको मात्रै नभई प्रदेश ५ कै समृद्धिको एउटा ढोका हो।
नेपालका सात धाममध्ये एक स्वर्गद्वारी। पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल। नाम सुन्ने सबैलाई लाग्छ, ‘एकपटक पुग्नैपर्छ।’ प्युठानलाई चिनाउने सबैभन्दा प्रमुख माध्यम स्वर्गद्वारी नै हो। ‘साँच्चिकै कस्तो होला स्वर्गद्वारी ?’ धेरैको मनमा यही खुल्दुली भएको सुनिन्छ। तर, पुगेर फर्केकाहरूलाई स्वर्गद्वारी ‘स्वर्गको द्धार’ जस्तै लागेको छ। यहाँ पुग्ने जो कोहीलाई स्वर्गकै अनूभुति हुनेगर्छ। स्वर्गद्वारी नगरपालिका वडा नम्वर १ स्थित खालमा स्वर्गद्वारी आश्रम अवस्थित छ। यहाँको स्वच्छ हावापानी, डाँडाबाट देखिने हिमशृंखलाहरूले पर्यटकको मन अझ तानेका छन्। स्वर्गद्वारीलाई पहिल्यै ‘स्वर्गको लेक’ पनि भन्ने गरिन्थ्यो।
यहाँको गरिमा पछिल्लो समय बढ्दै गएको छ। हिन्दू धर्मावलम्बीहरूले गर्ने सबै खालका पूँजा स्वर्गद्वारीमा हुने गर्छ। पशुपतिनाथपछिको धार्मिक पर्यटकको मुख्य गन्तव्य ‘स्वर्गद्वारी’ बनिरहेको छ। स्वर्गद्वारीमा आन्तरिकभन्दा बाह्य पर्यटक धेरै आउँछन्। अझ बढी भारतको महाराजगन्ज, गोरखपुर, बलरामपुर, कृष्णनगरलगायत ठाउँबाट पर्यटक भित्रिने गरेका छन्।
भारतीय पर्यटकले चढाएको भेटी यहाँको प्रमुख आम्दानीको स्रोत बनेको छ। उनीहरूले भारतीय रुपैयाँ भेटीका रूपमा चढाउँछन्। यसले नेपाली रुपैयाँको तुलनामा दोब्बर भेटी जुट्न मद्दत गरेको छ। आश्रम व्यवस्थापन समितिका अनुसार ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली पर्यटक स्वर्गद्वारी दर्शनका लागि आउँछन्। आन्तरिक र बाह्य गरी बर्सेनि करिब पाँच लाख पर्यटक स्वर्गद्वारी घुमेर फर्कने गरेको आश्रम व्यवस्थापन समितिले बताएको छ।
मन्दिरमा पुगेर पूजाअर्चना गरेपछि स्वर्ग पुगेजस्तै अनुभूति हुने भएकाले नै आकर्षण दिनानुदिन बढ्दै गएको हो। ‘स्वर्गद्वारीमा पर्यटकको संख्या बढ्दो छ’, आश्रमका सहायक कोठारी बाबुराम न्यौपानेले भने, ‘स्वर्गद्वारीलाई पहिल्यै स्वर्गको लेक भनेर पनि चिन्ने गरिन्थ्यो।’ स्वर्गद्वारी समुद्री सतहदेखि २ हजार ३ सय मिटर उचाइमा छ। बिहानीपख धौलागिरी, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृंखलाहरू यहाँबाट स्पष्ट दृश्वालोकन गर्न सकिन्छ।
के हुन्छ स्वर्गद्वारीमा ?
वेदमन्त्रद्वारा प्रकट गरिएको अग्निद्वारा सञ्चालित यज्ञकुण्ड स्वर्गद्वारीकोे प्रमुख आकर्षण हो। १९५२ सालदेखि उक्त यज्ञकुण्ड अहिलेसम्म पनि निरन्तर बलिरहेको छ। स्वर्गद्वारी महाप्रभुले पूजा सामग्री फेला पारी आश्रम निर्माण गरेको इतिहास छ। उक्त पूजा सामग्री पाँच पाण्डवले यज्ञ गर्दाको हो भन्ने किंवदन्ती रहेको विश्वासले गर्दा स्वर्र्गद्वारीको महत्व बढेको पाइन्छ। विशेषतः वैशाख पूर्णिमा, गाईतिहार औंसी, विजयादशमी, माघे संक्रान्तिलगायत पर्वमा यहाँ ठूलो मेला लाग्छ। अन्य समयमा पनि दैनिक पूजापाठ र मेला भइरहेका हुन्छन्।
ऐतिहासिक एवं मनोरम तलाउ, पाँच पाण्डव, स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गरेको गुफा, १९५२ सालदेखि अनवरत सञ्चालित वेदपाठशाला, गोवद्र्धन पहाड, आश्रममा पालिएका सयौं गाई, विभिन्न आकृतिका मठमन्दिर, आश्रम यज्ञशालाको दक्षिण भूभागमा अवस्थित ठूलो बाँझको वृक्ष नै धर्मावलम्बीका लागि मुख्य आकर्षण हुन्।
वैशाख पूर्णिमाको दिन आश्रममा सञ्चालन हुने अखण्ड महायज्ञमा आवश्यकताअनुसार ब्राह्मणहरू परिवर्तन गर्ने प्रचलन छ। सोही दिन वर्षभरका लागि विभूतिसमेत निकाल्ने गरिन्छ। स्वर्गद्वारीमा पुगेर पूजापाठ र मठमन्दिरको अवलोकन गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास छ।
पुग्ने कसरी ?
स्वर्गद्वारी पुग्न दुई सडक छन्। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्युठानको भिंगृ हुँदै र दाङको घोराही हुँदै होलेरी सडकबाट यहाँ पुग्न सकिन्छ। भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर (स्वर्गद्वारी गेट) भिंगृमा पुग्नुपर्छ। भिंगृबाट साढे १३ किलोमिटर उकालो कच्चीसडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। धरमपानीबाट झन्डै डेढ किलोमिटर सिँढीबाट उक्लनुपर्छ।
पैदल हिँड्न नसक्नेहरूका लागि निश्चित शुल्क तिरेर घोडा सवारीको पनि व्यवस्था छ। भारतीय तीर्थयात्री भिंगृबाट पैदल हिँडेर स्वर्गद्वारी जान मन पराउँछन्। पैदल हिँड्नेहरूका लागि भिंगृबाट स्वर्गद्वारी आश्रममा पुग्न चार घण्टा समय लाग्छ।
सडक सुविधा नहुँदा धेरैजसो पर्यटक पैदल हिँडेरै स्वर्गद्वारी मन्दिर पुग्ने गर्दथे। घोराही–होलेरीबाट स्वर्गद्वारी पुग्न ५६ किलोमिटर यात्रा गर्नुपर्छ। होलेरीसम्मको सडक कालोपत्रे भइसकेको छ। धेरैजसो पर्यटक यो सडक अवरुद्ध हुने भएकाले भालुवाङ–भिंगृ सडकलाई नै रोजाइमा पार्ने गर्छन्। भिंगृबाट स्वर्गद्वारी जाने कच्ची सडक कालोपत्रे भएपछि करिब ९० प्रतिशत तीर्थयात्री यही सडक भएर स्वर्गद्वारी पुग्ने सहायक कोठारी न्यौपाने बताउँछन्।
आश्रम व्यवस्थापनले रातको समयमा बस्ने तीर्थयात्रीलाई सुरक्षाको अनुभूति दिलाउने गरी आश्रम परिसरमै व्यवस्थित धर्मशालाको व्यवस्था मिलाएको छ। आश्रम परिसरभित्र धूमपान र मद्यपान निषेध छ। सोलार जडान गरेपछि चिसोतातो पानीको समेत व्यवस्था मिलाइएको छ। चिसो मौसममा भक्तजनलाई अग्र्यानिक साग, गाईको दूध, दही र मही नै यहाँको प्रमुख ‘खानकी’ हो। गत चैतदेखि फ्री वाइफाईको समेत व्यवस्थापन गरिएको छ। कात्तिकदेखि माघसम्म स्वर्गद्वारीको खाली जग्गामा धेरै जग्गामा साग रोपिने गरिन्छ। यही साग नै तीर्थयात्रीका लागि तरकारी हो। बृहत् मात्रामा लगाइएको सागबारी पनि यहाँको अर्को आकर्षण बनेको देखिन्छ।
स्वर्गद्वारी आउने तीर्थयात्रीको संख्या दिनानुदिन बढ्दै जाँदा अझै पनि यहाँको भौतिक पूर्वाधार निर्माणले सोचेअनुसार फड्को मार्न सकेको छैन। आधारशिविर भिंगृदेखि स्वर्गद्वारी धरमपानीसम्मको कच्ची सडक कालोपत्रेको प्रक्रियामा गएपछि भक्तजनमा केही आशा पलाएको छ। केही वर्षभित्रमै सडक कालोपत्रे भइसक्ने सरोकारवाला निकायले बताएका छन्। सिँढी निर्र्माणको काम करिब पूरा भएको छ। धरमपानीमा दाङका एक भक्तजनको सौजन्यमा गेट निर्माण भएको छ ।
साविकको जिल्ला विकास समितिमार्फत निर्माण थालिएको धरमपानीको धर्मशाला निर्माण अलपत्र छ। स्थानीय निकाय भंग भएपछि यसको निर्माणमा सम्बन्धित निकायले पहल थालेका छैनन्। सयौंको संख्यामा भक्तजनलाई राख्न सकिने क्षमताको धर्मशाला निर्माण थालिए पनि यसले पूर्णता पाउन सकेन्। ठेकेदारको लापरवाहीले निर्माण हुन नसकेको आश्रमले जनाएको छ। यद्यपि, आश्रम परिसरमा दैनिक करिब चार सय भक्तजन अट्न सक्ने धर्मशाला पहिल्यै बनेको छ। कालोपत्रे सडकसँगै भक्तजनको संख्यामा वृद्धि हुने भएकाले व्यवस्थित थप धर्मशाला आवश्यक रहेको देखिन्छ।
भक्तजनलाई चारपाँच दिन राख्ने खालको वातावरण अझै पनि स्वर्गद्वारीमा बन्न सकेको छैन। अहिले पर्यटक आधुनिक शैलीमा पनि रमाउन चाहन्छन्। आश्रम क्षेत्रमा गार्डेन, चिल्डेन पार्क, प्रभु हिँडेको बाटोमा प्रभु पाइलालगायत संरचना बनाउनुपर्ने आवश्यकता देखिएको सहायक कोठारी न्यौपानेले सुनाए। ‘स्वर्गद्वारीको गुरुयोजना बनेको छ’, उनी भन्छन्, ‘योजना बन्यो। तर, संरचना निर्माणमा पैसा आएन।’
स्थानीय सरकारले स्वर्गद्वारीको विकासमा सोचेअनुसार अपनत्व नलिएको उनको गुनासो छ। स्वर्गद्वारी नगरपालिकाले गतवर्ष सडक निर्माणमा १० लाख र यस वर्ष ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए।
लाखौंको संख्यामा भक्तजन पुगे पनि अहिलेसम्म स्वर्गद्वारीको व्यवसायीकरण हुन सकेको छैन। स्वर्गद्वारीलाई नै आधार बनाएर थुप्रै व्यापार व्यवसाय सञ्चालन गर्न सकिने प्रशस्त सम्भावना छन्। स्वर्गद्वारी पुगेर लैजाने मायाको चिनो छैन। जिल्लावासीले यसबाट प्रत्यक्ष लाभ लिन नसकेको सरोकारवालाहरू सुनाउँछन्।
स्वर्गद्वारी आश्रम र प्युठानको ठूलो भूभाग अलगअलग क्षेत्रमा हुँदा जिल्लावासीले खास फाइदा लिन नसकेको टिप्पणी हुन थालेको छ। स्वर्गद्वारी आउने पर्यटकलाई यससँग जोडिएको जिल्लाका अन्य पर्यटकीय क्षेत्रमा पुर्याउने वातावरण गराउनुपर्छ। गौमुखी, ऐरावती, झाँक्रीस्थान, मल्लरानीलगायत स्थलमा पर्यटक पुग्ने वातावरण भएमा जिल्लाको अर्थोपार्जनमा थप टेवा पुग्न सक्छ। भारतीय पर्यटक स्वर्गद्वारीमा एक दिन पनि बस्दैनन्। आश्रम व्यवस्थापनले दुईचार दिन बस्ने वातावरण बनाउनुपर्ने देखिन्छ।
स्वर्गद्वारीसँगै छिमेकी जिल्ला गुल्मीको रेसुंगा, रिडी, अर्घाखाँचीको सुपादेउरालीलाई केन्द्रित गराएर पनि पर्यटकलाई यही बाटो हिँड्ने वातावरण गराउन सकिन्छ, जसले गर्दा यस रुटमा पर्ने धेरै क्षेत्रको विकास हुन सक्छ। लुम्बिनी–स्वर्गद्वारी–गौमुखी–ढोरपाटन–मुक्तिनाथलाई पर्यटन ‘रुट’का रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको होटल व्यवसायी संघ प्युठानका अध्यक्ष चन्द्रलाल भण्डारीले बताए। ‘पर्यटनको सम्भावनाले प्युठान धेरै धनी छ’, न्यौपाने भन्छन्, ‘सम्भावनाले धनी भएर पनि गरिब भई बस्नुपरेको छ।’ स्थानीय सरकारले दिगो पर्यटन विकासको अवधारणाअनुसार कार्ययोजना अघि बढाएर काम थाल्नुपर्ने उनको सुझाव छ।
स्वर्गद्वारी आउने पर्यटकलाई प्युठानभर घुमाउनुपर्ने कार्ययोजनामा सबैको साझा दृष्टिकोण बन्नुपर्छ। प्युठान चिनाउने स्वर्गद्वारीबाट जिल्लावासीले पनि लाभ लिन सक्ने खालको वातावरण बन्यो भने साँच्चिकै स्वर्गद्वारीको विकास र प्रवद्र्धनमा सबैको अपनत्व हुन सक्छ।