शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने, कयर खोलामा तटबन्धनका लागि पन्ध्र करोड



हाम्रो इकोनोमि

 

सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।

सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताउनुभयो । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।

सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताउनुभयो ।

सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताउनुभयो ।

युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँले बताउनुभयो ।

सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताउनुभयो ।

 

ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।

कयर खोलामा तटबन्धनका लागि पन्ध्र करोड

 

पूर्वी चितवनको तीन वटा नगरपालिका हुँदै बग्ने कयर खोलामा तटबन्धन गरिने भएको छ ।

हरेक वर्षको वर्षात्मा स्थानीयवासीलाईे बाढीले दुःख दिँदै आएकोमा यस वर्षदेखि तटबन्धन गर्न लागिएको हो । तटबन्धनका लागि रु १५ करोड बजेट निकासा भएको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाले तटबन्धनको प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर मोहनकुमार शाक्यका अनुसार विस्तृत अध्ययन प्रतिवेदन तयार गरी काम अगाडि बढाइनेछ । नारायणी र राप्ती नदीमा तटबन्धनको कार्य गर्दै आएको सो कार्यालयले यस वर्ष कयर खोला र केरुङ खोलामा तटबन्धन गर्न लागेको हो ।

कयर खोला कालिका नगरपालिकाको वडा नं ७, ८, ९, खैरहनी नगरपालिकाको १, २, ४ र रत्ननगर नगरपालिकाको ३, ४, ५, ७, ८, १४ र १६ नम्बर वडा हुँदै बग्दछ । खोला शक्तिखोर पिठुवा, चैनपुर, बेल्सी, शान्तिचोक, देवौली, चित्रसारी, बाघमारा, खगेरी हुँदै राप्तीमा मिसिन्छ ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार तटबन्धनबाट ५० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुनेछन् ।

तटबन्धन गर्नुपर्ने क्षेत्र २५ किलोमिटर रहेको छ । पहिलो वर्ष सो बजेटबाट ३ किलोमिटर मात्रै तटबन्धन हुने जनाइएको छ ।

तटबन्धनसँगै दुवैतर्फ पाँच मिटर चौडा सडक हुनेछ । खोलाको क्षेत्र ४० देखि ६० मिटर फराकिलो रहेको छ । हिउँदमा कम पानी हुने भए पनि वर्षात्मा ठूलो बाढी आउने गर्दछ । सोही खोलाबाट पानी लगेर तीन नगरपालिकाका विभिन्न क्षेत्र सिँंञ्चित गरिंँदै आएको सो क्षेत्रका प्रदेश सांसद कृष्ण खनालले बताउनुभयो ।

तटबन्ध शक्तिखोरबाट शुरु गरिने छ । पूर्वी चितवनमा बाढीका कारण राप्ती, कयर, पम्पा, चात्रा, लद्रा, भड्ताल लगायतका खोलाले दुःख दिंँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
राजा बाटोमा निस्किने सुन्याछु, थुन्ने दम छ : दुर्गा प्रसाईं

    राजावादी अभियन्ता तथा व्यवसायी दुर्गा प्रसाईं १३ पटक पक्राउ परेपश्चात आज...

फागुन २१ को निर्वाचनमा देउवाले मतदान नगर्ने

    नेपाली कांग्रेसका ‘अपदस्त सभापति’ तथा ५ पटकका प्रधानमन्त्री शेरहवहादुर देउवाले फागुन...

गौरीगञ्जबासीले ओलीलाई भने, सुर्य बाहेक अन्त हातै जाँदैन

    झापा गौरीगञ्जका बासिन्दाले चुनावमा भोट हाल्दा आफुहरुको हात सुर्य बाहेक अन्त...

७४ लाख सहकारी पीडितबारे रबि किन मौन : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इटहरीमा...