शक्तिखोरमा युद्ध सङ्ग्रहालय बन्ने, कयर खोलामा तटबन्धनका लागि पन्ध्र करोड
सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हतियार, दस्तावेजलगायतलाई सङ्कलन गरेर युद्ध सङ्ग्रहालय बनाउने गृहकार्य शुरु भएको छ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको जिल्लाको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माणको पहल शुरु गरिएको हो ।
सो क्षेत्र रहेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउनुपर्ने घोषणा गरेपछि गृहकार्य शुरु भएको बताउनुभयो । श्रेष्ठले विश्वका द्वन्द्व भएका मुलुकमा सङ्ग्रहालय रहेको भन्दै कुन ठाउँमा कस्तो सङ्ग्रहालय बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो ।
सो क्षेत्रका प्रदेश सांसद घनश्याम दाहालले पूर्व लडाकूहरु रहेको तेस्रो डिभिजनमा हाल नेपाली सेना रहेको भन्दै सेना हटेर औद्योगिक क्षेत्र बन्ने क्रममा ठाउँ तय गरी युद्ध सङ्ग्रहालय बनाइने बताउनुभयो ।
सो क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बन्ने प्रक्रिया अघि बढिरहेको छ । दाहालले १० वर्षको जनयुद्धमा प्रयोग भएका हातहतियार, दस्तावेजसहित युद्ध कसरी भएका थिए भन्ने इतिहास झल्काउने कला कुँदेर देखाइने बताउनुभयो ।
युद्ध सङ्ग्रहालय आम नेपालीका लागि इतिहास र महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने उहाँले बताउनुभयो ।
सो क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्य सौराहा नजिक पर्छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले विश्वका युद्ध भएका विभिन्न मुलुकमा युद्ध झल्कने सङ्ग्रहालय रहेको बताउनुभयो ।
ती ठाउँहरु स्वदेशी र विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने भएकाले चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय बनाउन सकेमा पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो ।
कयर खोलामा तटबन्धनका लागि पन्ध्र करोड
पूर्वी चितवनको तीन वटा नगरपालिका हुँदै बग्ने कयर खोलामा तटबन्धन गरिने भएको छ ।
हरेक वर्षको वर्षात्मा स्थानीयवासीलाईे बाढीले दुःख दिँदै आएकोमा यस वर्षदेखि तटबन्धन गर्न लागिएको हो । तटबन्धनका लागि रु १५ करोड बजेट निकासा भएको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाले तटबन्धनको प्रक्रिया अगाडि बढाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर मोहनकुमार शाक्यका अनुसार विस्तृत अध्ययन प्रतिवेदन तयार गरी काम अगाडि बढाइनेछ । नारायणी र राप्ती नदीमा तटबन्धनको कार्य गर्दै आएको सो कार्यालयले यस वर्ष कयर खोला र केरुङ खोलामा तटबन्धन गर्न लागेको हो ।
कयर खोला कालिका नगरपालिकाको वडा नं ७, ८, ९, खैरहनी नगरपालिकाको १, २, ४ र रत्ननगर नगरपालिकाको ३, ४, ५, ७, ८, १४ र १६ नम्बर वडा हुँदै बग्दछ । खोला शक्तिखोर पिठुवा, चैनपुर, बेल्सी, शान्तिचोक, देवौली, चित्रसारी, बाघमारा, खगेरी हुँदै राप्तीमा मिसिन्छ ।
कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार तटबन्धनबाट ५० हजारभन्दा बढी जनसङ्ख्या लाभान्वित हुनेछन् ।
तटबन्धन गर्नुपर्ने क्षेत्र २५ किलोमिटर रहेको छ । पहिलो वर्ष सो बजेटबाट ३ किलोमिटर मात्रै तटबन्धन हुने जनाइएको छ ।
तटबन्धनसँगै दुवैतर्फ पाँच मिटर चौडा सडक हुनेछ । खोलाको क्षेत्र ४० देखि ६० मिटर फराकिलो रहेको छ । हिउँदमा कम पानी हुने भए पनि वर्षात्मा ठूलो बाढी आउने गर्दछ । सोही खोलाबाट पानी लगेर तीन नगरपालिकाका विभिन्न क्षेत्र सिँंञ्चित गरिंँदै आएको सो क्षेत्रका प्रदेश सांसद कृष्ण खनालले बताउनुभयो ।
तटबन्ध शक्तिखोरबाट शुरु गरिने छ । पूर्वी चितवनमा बाढीका कारण राप्ती, कयर, पम्पा, चात्रा, लद्रा, भड्ताल लगायतका खोलाले दुःख दिंँदै आएको छ ।