विहे के हो, नजान्दै बुहारी, श्रीमान भन्ने थाहा पाउँदा ‘विधवा’, अहिले मन्दिरमा मान्छेको जीवन …..



 

 

राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन् ।

 

पोखरा–बागलुङ राजमार्ग अन्तर्गत सहस्रधारा छेवैमा रहेको मुक्तिनारायण मन्दिर र सोही परिसरमा रहेको आश्रममा आफ्नो बाँकी जीवन बिताउने प्रणसहित उनीहरुले मन्दिरमा आश्रय लिएका हुन् ।

 

कुश्मा नगरपालिका पकुवा भिरमुनि माइती भएकी बाल विधवा पद्मा आचार्यको कर्म घर भने बाजुङ देवीस्थान हो । माइतीमा ठाकुरदेवी भुवाजी (कान्छी) भनेर बोलाइने उनले अहिले ७५ औं वसन्त पार गरिसकेकी छन् । विसं २०१३ मा विवाह बन्धनमा बाँधिएकी उनी त्यतिबेला जम्मा १० वर्षकी मात्र थिइन् ।

 

श्रीमान् र श्रीमतीको सम्बन्ध समेत राम्रोसँग बुझ्न नपाउनु भएकी उनले विवाह भएको ३ वर्षमा आफ्नो पति नारायण भुवाजीलाई गुमाउनु पर्‍यो । त्यतिबेलाको नेपाली समाजको दृष्टिकोण र महिलाप्रति गरिने व्यवहार पचाउन उनका लागि फलामका चिउरा चपाउनु सरह थियो ।

 

त्यसमाथि श्रीमान् गुमाएकी उनलाई ‘श्रीमान् खाई, अलच्छिना रैछे’ भनेर आरोप लगाउनेहरु प्रशस्तै थिए गाउँमा । ती सबै दुःख, पीडा बिर्सेर परिवारले दिएको सानो टुक्रा जमीनमा उनले आफ्नो बाँकी जीवन सम्हाल्ने कोशिस गरिन् ।

 

तर, उनको त्यो प्रयासले बाँकी जीवन गुजार्न मुश्किल थियो । विसं २०४३ मा आफ्नो भागमा परेको सानो टुक्रा जमीनलाई ४० हजार रुपैयाँमा बेचेर उनी मुक्तिनारायण मन्दिरको आश्रममा आएर बस्न थालिन् ।

 

जीवन जब बुझ्न थालिन् त्यतिबेलै उनको जीवन आधा मरिसकेको थियो । ‘त्यही आधा जीवन सार्थक बनाउन आश्रममा आएकी छु’, पद्मा आचार्य रुँदै बिलौना गर्छिन्, ‘१०–११ वर्षमा श्रीमान् के हो थाहा थिएन ।

 

जब बुझ्ने भएँ, मैले श्रीमान् गुमाइसकेकी थिएँ ।’ १६ वर्षको उमेरदेखि ४० वर्षसम्म आफूले धेरै खप्की र हण्डर खानुपरेको उनी सम्झिन्छिन् । उनी भन्छिन्, ‘विगत सम्झँदा भक्कानो फुटेर आउँछ तर, के गर्ने ? अहिले त भगवान्को शरणमा खुशी छु ।’

 

त्यस्तै, मूलपानी बागलुङ माइत भई मालिका गाविस पञ्चासे, बागलुङ कर्म घर भएकी पवित्रा सापकोटाले पनि ११ वर्षमै आफ्नो श्रीमान् गुमाइन् । विसं १९९१ मा जन्मिएकी उनलाई ७ वर्षको उमेरमै काखमा च्यापेर सिन्दूर हालिएको थियो । बिहे भएको २ वर्षमै श्रीमान् खगेन्द्र सापकोटा बिते पछि घरपरिवारबाट हेला भएको उनले गुनासो गरिन् ।

 

‘श्रीमान् टोकी, पिराहा रैछे’ भनेर परिवारले दुःख हैरानी दिएका ती दिन उनी झल्झल्ती सम्झिन्छिन् । देवरहरुले दिएको ७ हजार रुपैयाँमाथि आफूले दुःखजिलो गरेर थन्क्याएको ७÷८ रुपैयाँ हजार लिएर उनी मुक्तिनाथ मन्दिरको आश्रम आएकी हुन् ।

 

विसं २०४८-४९ तिर आश्रम झरेकी उनी श्रीमान् गुमाएपछि परिवारले दिएको पीडा सबैभन्दा तीखो रुपमा मुटुमा बिझिरहेको बताउँछिन् ।

 

उनी थप्छिन्, ‘सुख कहिल्यै पनि बुझ्न पाइनँ । पति गुमाएँ, जीवन एक्लै धकेलिरहेकी छु । अब त मर्ने बेला पनि हुन लाग्यो । भगवानको शरणमा छु ।’ आफ्नो कथा भनिरहनु हुँदा उनका आँखा आँशुले निथ्रुक्क भिजिसकेका थिए ।

 

उनीहरुलगायत मुक्तिनारयण मन्दिरमा अहिले चार जना बाल विधवा तथा महिला शरण लिइरहेका छन् छ । पुजारी, बाल विधवालगायत यहाँ अहिले आठ जनाको नित्य खानपानको व्यवस्था मन्दिरले नै गर्ने गरेको छ ।

 

मन्दिरका मूल पुजारी नारायण उपाध्याय भन्छन्, ‘भगवान् सम्झेर आउने सबैलाई भगवानले नै खान, बस्न पुर्‍याउनु भएको छ । उहाँहरु आएर हामी झन् खुशी भएका छौं । मिलेर भगवानको आराधना गर्छौं । मिलेर जीवन गुजारिरहेका छौं ।’

 

देशले संघीयता र गणतन्त्रको अभ्यास गरिरहँदा ठाकुरदेवी र पद्मा जस्ता बाल विधवाहरु देशैभर अभावको जीवन जिउन बाध्य छन् । आज पनि उनीहरु जस्ता अभागी महिलाको सहज जीवनयापनका लागि कसैले केही गरेको देख्न र सुन्न पाइएको छैन ।

 

जिउँदा इतिहास बनेका बाल विधवाहरु आफूलाई राज्यले उचित हेरविचार गरोस् भन्ने चाहन्छन् । अपेक्षा राख्दा राख्दै कपाल सेताम्मे भयो, जीउ कुप्रो पर्‍यो तर, उनीहरुको अपेक्षा मात्र अपेक्षामै सीमित रह्यो ।

 

‘विधवा, ज्येष्ठ नागरिक भत्ता बाहेक सरकारले उनीहरुको हितमा छुट्टै केही गर्न सकेको छैन, यद्यपि ज्येष्ठ नागरिकहरुमा पनि बाल विधवाहरु साँच्चै पीडा सहेर बाँचेका संघर्षशील महिलाहरु हुन्’, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले भनिन्, ‘नगरपालिकाभर कति बाल विधवाहरु छन् उनीहरुको खोजी गरी स्थानीय सरकारको तहबाट यथोचित व्यवस्थापनका लागि पहल गर्न लागिपर्नेछु ।’

 

जीवन नबुझ्दै आफू भन्दा कैयन् धेरै उमेरका पाकासँग विवाह गर्नुपर्दा वास्तवमै उहाँहरुले सुखको अनुभूति कहिल्यै गर्न पाउनु भएको भएन ।

 

बाल विधवाहरु समाजको सम्मान गर्न लायकका पात्र भएको बताउने उनी भन्छिन्, ‘उहाँहरुले भोगेका दुःख, पीडा सुन्दा सबैका आँखा रसाउँछन् । तर के गर्ने ? हिजोको जमाना त्यही थियो । बाउआमाले सानैमा उमेर नमिलाइ गरिदिएको विवाहका कारण आज पनि उहाँहरु संघर्षपूर्ण जीवन बाँच्न विवश हुनुपरेको छ ।’

 

कुश्मा बजारबाट ७ किलोमिटरको दूरीमा यो आश्रम रहेको छ । सहस्रधारा जरेवरबाट १०० मिटर उत्तरतर्फ पर्छ यो मन्दिर । आश्रममा भक्तजनहरुको आउने जाने क्रम चली नै रहन्छ । प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथधाम जाने आउने तीर्थालुहरुले यस मन्दिर आएर दर्शन गर्छन् ।

 

मुक्तिनाथ जानु पहिलो सहस्रधारामा नुहाएर गए मात्र फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । मुक्तिनारायण मन्दिर, आश्रम र सहस्रधारा एक किलोमिटरको आसपासमा रहेका छन् । यो आश्रम तथा मन्दिर मुक्तिनाथ जाने तीर्थालुहरुको पहिलो बासस्थानको रुपमा समेत चिनिन्छ ।

 

त्यति प्रचारमा नआएको यो मन्दिर पोखरा–बागलुङ राजमार्गको छेवैमा पर्दछ । पोखरादेखि ६४ किलोमिटरको दूरीमा यो आश्रम रहेको छ । यो मन्दिर तथा आश्रमको गुठीबाट आउने अन्नले नै यहाँ बास वस्ने भक्तजनहरुका लागि बिहान बेलुकाको भोजन जोहो गर्ने गरेको मन्दिरका पुजारी उपाध्याय बताउँछन् ।

 

सडक सञ्जालमा नजोडिएका बेला मुक्तिनाथधाम जाने र फर्कने तीर्थयात्रीहरुले खचाखच हुने यो आश्रम सडक सञ्जाल जोडिएसँगै आश्रम आउनेहरुको चाप घटेको उनको अनुभव छ । उनी भन्छन्, ‘गाडीमा सिधै मुक्तिनाथधाम जाने आउने भएका कारण यहाँ बास बस्ने तीर्थालुहरुको चाप घटेको हो ।’

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्