जसलाई् ५४ पटक ‘विषालु’ सर्पले टोकिसक्यो आखिर किन ?



हाम्रो इकोनोमि

 

गोमन लगायत विषालु सर्प देख्ने बित्तिकै जुनसुकै व्यक्ति धेरै डराउँछन् । झन् टोकेपछि के हालत होला ? कल्पना नै गर्न सकिन्न ।

 

सर्पको टोकाइपछि बाँचेकाहरू पुनर्जन्मको अनुभूति गर्छन् । तर, एक जना व्यक्तिलाई गोमन र करेत सर्पले हालसम्म ५४ पटक डसेपनि सकुशलै छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्ला ।

 

कैलालीको भजनी नगरपालिका–६ नवलपुरका स्थानीय २५ वर्षीय रमेश चौधरीलाई हालसम्म ५४ पटक गोमन र करेत सर्पले डसिसकेको छ । सबैभन्दा विषालु मानिने गोमन र त्यसपछिको विषालु करेत सर्पले उनलाई १५ वर्षको अवधिमा ५४ पटक डसिरहेको हो ।

 

खुट्टाको घुँडाभन्दा मुनिको भागमा सर्पले डस्दै आएको बताउँदै उनले बुटजुत्ता लगाएपनि जुत्ताभित्र पसेर समेत सर्पले डसेको तीतो घटना उनले सुनाए ।

 

उनी भन्छन्, ‘यति धेरै पटक मलाई सर्पले डसिसकेका छन् । म सर्पदेखि परेशान छु । भगवानको कृपाले भनुँ कि भाग्य या संयोगले बाँचेको छु ।’

 

अर्काे अचम्मको पक्ष के छ भने सर्पले डसिसकेपछि उनले कहिल्यै पनि अस्पतालको मुख देखेका छैनन् । उनलाई हत्तपत्त गाउँमै लगिन्छ । निको पारिन्छ । आदिवासी थारु समुदायमा सर्पको विष झार्ने (चुस्ने) तान्त्रिक नगहर गुरूवाबाटै उनको झारफुकको माध्यमबाट  उपचार हुँदै आएको उनका दाई बृजमोहन चौधरी बताउँछन् ।

 

गत भदौ महिनामा मात्रै उनलाई २ पटक गोमन सर्पले डसेको थियो । धनगढी उपमहानगरपालिका–४ शिवपुरीधाम नजिकै डेरा गरी बस्दै आएका उनलाई भदौ ७ र १५ गते गोमन सर्पले डसेको थियो ।

 

तर, नजिकै सर्पको उपचार हुने सुविधासम्पन्न सेती अञ्चल अस्पताल नलगेर उनकै आग्रहमा परिवारजनले एम्बुलेन्समा राखेर नवलपुर गाउँ पुर्याए । नगहर गुरूवाको झारफुकबाट उनी निको भए ।

 

 

उनका दाई बृजमोहन भन्छन्, ‘भाइ सानो छँदा मलाई सर्पले डसेको थियो । त्यतिबेला भाइ (रमेश) ले झारफुकको लागि गाउँमै रहेका नगहर गुरूवालाई बोलाउन गएका थिए ।

 

त्यहीबेला बाटोमै सर्पले उसलाई (रमेश) डसेको थियो । पछि हामी दाइभाइ दुवै जनालाई झारफुक गरी निको पारे । त्यसदिनदेखि सर्पले भाइलाई पिछा गर्दै आएका छन् ।’

 

यतिधेरै पटक सर्पले डसेपछि उनी र उनको परिवारै त्रसित भएको छ । उनको परिवार मात्रै नभई गाउँभरीकै मानिस हैरान छन् । यतिसम्म कि झारफुक गर्ने नगहर गुरूवाहरू समेत हैरान भएको बृजमोहनले बताए ।

 

सर्पबाट उन्मुक्ति पाउन उनको परिवारजनले हरसम्भव प्रयास समेत गर्दै आएका छन् । सर्पको प्रतिमा स्थापना गरी पूजापाठ, हवनलगायत धार्मिक क्रियाकलाप समेत गरिसकेका छन् ।

 

तर, हालसम्म रहस्य पत्ता लगाउन सकेका छैनन् । किन उनलाई यति धेरै पटक सर्पले डस्यो ? निकट भविष्यमा अझै के–के हुने हो ? उनको परिवार चिन्तित बनेको छ ।

 

झारफुकमै उनको परिवारले धेरै खर्च समेत गरिसकेका छन् । नगहर गुरूवाले एक पटकको झारफुकमा कुखुरा र बोकाको बली चढाउने हुनाले धेरै खर्च गरिसकेका हुन् ।

हालसम्म १ सय ८ वटा कुखुरा, १ वटा बोकासहित रक्सी, गुरूवालाई भोजभतेर गराइसकेको बृजमोहन बताउँछन् । उनी धनगढीस्थित हाइड्रो इलेक्ट्रीकल्स् टेक्निकल एजुकेसन कलेजमा दोस्रो तहमा अध्ययनरत छन् ।

 

सेती अञ्चल अस्पताल धनगढीका आकस्मिक कक्ष प्रमुख डाक्टर कृष्ण बोहराले ५४ पटक सर्पले टोक्नु कुनै सामान्य कुरा नभएको बताए ।

 

नयाँ खोजको विषय हुन सक्ने बताउँदै उनले भने, ‘कि त विषालु र अविषालु सर्प पहिचानमा समस्या होला । हैन भने वास्तवमै विषालु सर्प नै हो भने यो कुनै मजाक होइन ।’

 

अविश्वासिलो घटना भएको बताउँदै उनले वास्तविकताको लागि व्यक्तिबारे खोज गर्नैपर्ने समेत बताए ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...