अमेरिका जानुअघि हतार हतारमै नेकपा प्रवेश गर्ने को हुन् दाहाल ?



 

 

मंगलबार बिहानै नेपाल कम्युनिस्ट पाटी (नेकपा) केन्द्रीय कार्यालय धुम्बाराहीमा नेताहरू जुटिसकेका थिए। कार्यक्रम थियो – पार्टी प्रवेश ।

 

सामूहिक पार्टी प्रवेश कार्यक्रमले भीडभाड हुने पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै भाषामा मंगलबार बिहान भने “एकल प्रदर्शन” भएको थियो।

 

पार्टी प्रवेश गर्ने व्यक्ति थिए – चितवनका महेश दाहाल।

 

नातामा प्रचण्डका भाइ पर्ने दाहाल मंगलबार बिहान ९ बजेको फ्लाइटबाट अमेरिका उड्दै थिए। अमेरिका उड्नुअघि उनलाई पार्टी प्रवेशको तारतम्य मिलाएका थिए नेकपा अध्यक्ष प्रचण्डले स्वयंले।

 

बिहानै कार्यक्रमको तयारी गर्न दाहालले महासचिव विष्णु पौडेललाई सोमबार राति नै निर्देशन दिएका थिए।

 

‘हिजो भेटेर कुरा गर्दा आज बिहान ९ बजेको फ्लाइएटमा बाहिर जाने र एकडेढ महिना नआउने भनेपछि ढिला गर्नुभन्दा (पार्टी प्रवेश) टुंग्याएर जाँदा राम्रो हुन्छ भनेर महासचिव कमरेडलाई फोन गरेर बिहानै भएपनि प्रवेश गराउनुको अर्थ र महत्व छ भनेँ र यो कार्यक्रम भयो’, पार्टी प्रवेश कार्यक्रमपछि प्रचण्डले भने।

 

भरतपुर महानगरपालिका पार्वतीपूरका महेश दाहाल प्रचण्डका तेह्रदिने दाजूभाइ हुन्। प्रचण्ड र महेशका हजुरबा दाजुभाइ हुन्। दाहाल पारिवारिक हिसाबले नेपाली कांग्रेस निकट थिए।

 

उनका बाबु टिकाराम दाहाल कांग्रेसका जिल्लास्तरका प्रतिष्ठित नेता मानिन्छन्। बाबुको प्रभावकै कारण उनी लामो समय कांग्रेस निकट थिए तर पछिल्लो समय उनी खुलेर प्रचण्ड र उनकी पुत्री रेणुको चुनावी प्रचार अभियानहरूमा लागेका चितवन कांग्रेसका नेताहरू बताउँछन्।

 

पछिल्लो समय कांग्रेसभित्र माओवादी (हाल नेकपा) लाई समर्थन गरेको भनेर उनको आलोचना भएको थियो। पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले त्यसको छनक दिए।

 

‘उहाँ जल्दोबल्दो युवा नेता भएकोले जहाँ हुनुहुन्थ्यो (कांग्रेस), त्यहाँबाट धेरै माथिल्लो तहबाट दबाब, अप्ठ्यारो र प्रलोभन भएकोले अब रोकिराख्न हुन्न भनेर कार्यक्रम गरियो’, उनले भने। कांग्रेस पार्टीमा आबद्ध हुँदाहुँदै उनले रेणु दाहाल र प्रचण्डको चुनावी अभियानमा सहयोग गरेका थिए।

 

दाहाललाई प्रदेश र संघको निर्वाचन अघि नै पार्टी प्रवेश गराउने विषयमा प्रधानमन्त्री केपी ओली र आफूबीच छलफल भएको तर चुनावका मुखमा त्यसो नगरिएको प्रचण्डको भनाई छ।

 

‘चुनावको मुखमा उहाँको मन हामीतिर आएकै छ। पार्टी र गठबन्धनको पक्षमा वातावरण बनाउन सहयोग गर्ने तर पार्टी प्रवेश अलि पछि गर्दा राम्रो हुन्छ भन्ने सल्लाह भएको थियो’, दाहालले खुलाए।

 

कांग्रेसका सक्रिय सदस्य दाहाल पार्टी कमिटीमा भने प्रत्यक्ष संलग्न थिएनन्। विगतमा तरुण दलका केन्द्रीय सदस्य र नेविसंघका जिल्ला सदस्य भएर उनले काम गरेका तर पार्टी कमिटीमा भने संलग्न नरहेको कांग्रेस जिल्ला सचिव उत्तम जोशीले अन्नपूर्णलाई बताए।

 

लामो समयदेखि अन्तर्राष्ट्रिय सामाजिक संस्था जेसिजमा आबद्ध उनी यो संस्थाको राष्ट्रिय अध्यक्ष पनि भएका थिए। दाहालले समाजशास्त्रमा स्नातकोक्तर गरेका छन् भने कानुन र शिक्षाशास्त्रमा स्नातक गरेका छन्।

 

दाहालले विगतमा केही महत्वपूर्ण राजनीतिक नियुक्ति पनि खाइसकेका छन्। सुशील कोइराला नेतृत्वको सरकारमा मिनेनद्र रिजाल सूचना तथा सञ्चारमन्त्री हुँदा दाहाललाई नेपाल टेलिभिजनको अध्यक्ष बनाइएको थियो। यसबाहेक उनले उच्चस्तरिय सूचना प्रविधि आयोगको सञ्चालक समिति सदस्य तथा परराष्ट्र मामिला अध्यायन प्रतिष्ठानको सदस्य भएर उनले काम गरेका छन्।

 

प्रचण्डले दाहाललाई ‘बचपनदेखि नै तीक्ष्ण दिमाग भएका व्यक्ति’ को रुपमा चिनाए। ‘बचपनदेखि नै तीक्ष्ण, सामाजिक तथा राजनीतिक रुपमा पनि सक्रिय बहुआयामिक प्रतिभा मैले उहाँमा देखेको थिएँ’, प्रचण्डले भने, ‘यस्तो तीक्ष्ण बुद्धि भएको मान्छे एक दिन कम्युनिस्ट पार्टी आइपुग्नुपर्छ भन्ने त्यतिबेलै ठान्थेँ। आज त्यो स्थिति बन्यो।’

 

अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल दुबैले दाहाललाई पार्टीमा समुचित जिम्मेवारी दिइने बताए।

 

‘एकल प्रदर्शन जस्तो भयो यो’, अध्यक्ष प्रचण्डले यसो भनिरहँदा कार्यक्रम हलका सहभागीसहित मञ्चमा बसिरहेका नेताहरूबीच हाँसोको महौल बन्यो। ‘यो अर्थपूर्ण र महत्वपूर्ण छ’, प्रचण्डले आफ्नो भाषण टुंग्याए।

 

कार्यक्रम सकेर नेकपाका नवप्रवेशी दाहाल निर्धारित कार्यक्रम अनुसार अमेरिका उडे।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्