निर्मला हत्याकाण्डमा भेटियो संकास्पद एसएमएस, एसपीका चारवटा सीम
कञ्चनपुरमा बलत्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीहरू अझै पक्राउ पर्न सकेका छैनन् ।
प्रहरीले अझै केही पत्ता लाउन सकेको छैन । कञ्चनपुरमा घटनाको अनुसन्धान भइरहँदा प्रहरी प्रधान कार्यालय नक्सालले पनि प्रहरीमाथि नै अनुसन्धान जारी राखेको छ ।
कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट खटिएका डिएसपी अंगुर जिसी लगायत दुई दर्जन प्रहरीको दैनिकी अहिले हेडक्वार्टरमा बयान र पोलिग्राफ परीक्षणमा बितिरहेको छ ।
एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले निर्मला प्रकरणमा संलग्न प्रहरीको बयान लिइरहेको छ ।
समितिले लिएको बयानमा प्रहरीले एकअर्कोलाई दोषारोपण गरिरहेको अनुसन्धानसँग सम्वद्ध प्रहरी स्रोतले जनाएको छ ।
सिआइबीबाट गएको टोलीले कञ्चनपुर प्रहरीलाई र कञ्चनपुर प्रहरीले सिआइबी टोलीलाई दोषी देखाउँदै बयान दिएका छन् ।
सिआइबीको टोलीले कञ्चनपुर प्रहरीले घटनाका अभियुक्त भनिएका दीलिपसिंह विष्टलाई पक्राउ गरेको र आफूहरूले प्रमाण संकलन गरेको र प्रमाण मिलेकाले कारबाही अगाडि बढाएको बताएका छन् ।
सिआइबी टोलीले घटनामा अभियुक्त विष्टको डिएनए परीक्षण समेत आफ्नै टोलीले गर्न लगाएको बताएको छ ।
कञ्चनपुर प्रहरी प्रमुख लगायतले भने सिआइबीले प्रमाण र अनुसन्धान गर्दा अभियुक्त विष्टसँग नै मिलेकाले आफूहरुले कारबाही प्रकृयामा ल्याएको बताएका हुन् । बयानमा दुवै प्रहरीले कुनै पनि नियोजित रुपमा अनुसन्धान नगरेको दावी गरेका छन् ।
समितिले घटनामा संलग्न सबै प्रहरीको मोबाइलसमेत चेक गरेको छ । प्रहरीको फोन कलदेखि लिएर म्यासेजसम्मको अनुसन्धान गर्ने क्रममा कञ्चनपुरमा कार्यरत दुई प्रहरीको मोबाइलको म्यासेजमा भने केही कैफियत देखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
म्यासेजमा कस्तो प्रकृतिको कैफियत हो भने खुल्न सकेको छैन । समितिले कञ्चनपुरका १७ र निलम्बित ६ जना प्रहरी अधिकृतहरुको मोबाइल चेक गरेको थियो । निलम्वित एसपी विष्टले चारवटा सिम कार्ड प्रयोग गर्ने गरेको भेटिएको छ ।
एआइजी धीरु बस्नेतको नेतृत्वमा गठन भएको समितिले घटनाको छानबिन गर्न एक्सपर्ट प्रहरीहरू मगाएको छ । समितिले प्राविधिक, कानून, अपराध अनुसन्धान र मुद्दामा ज्ञान भएका प्रहरीहरू झिकाएको छ ।
कानून डेस्कमा एसपी गणेश रेग्मी, मुद्दामा महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापा, प्राविधिक पक्षमा महानगरीय अपराध अनुसन्धानका महाशाखाका सई गजेन्द्र रावत र प्रहरी एकेडेमीका सई सुमन थापालाई समितिमा राखिएको छ ।
१३ कर्मचारी राजीनामाको
संसद सचिवालयका १३ कर्मचारीले राजीनामा दिएका छन् । तर व्यवस्थापन समितिले कर्मचारीहरूको राजीनामा अस्वीकृत गरेको छ ।
असोज ७ गतेदेखि लागू हुने गरी दिएको कर्मचारीहरूको राजीनामा आइतबार बसेको समितिको बैठकले स्वीकृत नगरेको हो ।
राजीनामा दिनेहरूमा उपसचिव केशव आचार्य, ईलेक्ट्रोनिक अधिकृत दिल देशार, प्राविधिक अधिकृत उद्दव गौतम, मुद्रण अधिकृत सागरकुमार तुलाधर, नायव सुब्बा लालबहादुर चौहान, रेकर्डिङ अप्रेटर बासुनाथ श्रेष्ठ, हल्का सवारी चालक मचाकाजी डंगोल, कार्यालय सहयोगीहरू सन्तकुमार भण्डारी, टीकाबहादुर महत, नरकुमारी दाहाल, धम्मेकुमाल र हजहरि पुरी रहेका छन् ।
समितिले राजीनामा अस्वीकृत गरिदिएपछि घर बिदा बसिसकेका कर्मचारीलाई फेरि काममा बोलाएर हाजिर गराउने कि कहिले राजीनामा स्वीकृत गर्ने भन्नेमा सचिवालय अन्योलमा परेको छ ।
राजीनामा स्वीकृत गराउन फाइल लिएर गएका सचिवालयका कर्मचारीहरू व्यवस्थापन समितिका अध्यक्ष तथा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतका पदाधिकारीले राजीनामा स्वीकृत नगर्ने मनसाय बैठकमा व्यक्त गरेपछि अन्योलमा परेका हुन् ।
संसद सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्रबहादुर कार्कीले पनि केही समयअघि मात्रै कार्यावधि बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए ।
प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुबै नेकपा निकटका छन् । उनीहरूको पेलानमा परेपछि १३ जना कर्मचारीहरूले राजीनामा दिएको स्रोतले जनाएको छ ।