रक्सी सेवन गरी बलात्कार गर्ने अभियुक्त छुटाउन गलत रिपोर्ट दिने डाक्टर पक्राउ



 

आपराधिक घटनाको छानबिन र अनुसन्धानमा विशेषज्ञ डाक्टरले तयार पार्ने स्वास्थ्य जाँच प्रतिवेदन (मेडिकल रिपोर्ट) लाई महत्त्वपूर्ण प्रमाणको रुपमा लिइन्छ । तर, डाक्टरले नै बदमासी गरेर गलत मेडिकल रिपोर्ट बनायो भने पूरै छानबिन प्रक्रिया नै गलत कोणमा जान्छ ।

 

धनुषामा भएको एउटा बलात्कारको घटनामा प्रहरीले गलत मेडिकल रिपोर्ट तयार गरेर बलात्कारका अभियुक्त छुट्ने गरी षड्यन्त्र गरेको देखिएको छ । प्रहरीले समयमै सावधानी अपनाउँदा डाक्टरको बदमासी छर्लङ्ग भएको छ ।

 

जनकपुर अञ्चल अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण प्रतिवेदन दिँदा गलत प्रतिवेदन दिने गरेको रहस्य खुलेपछि चिकित्सकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल, गृह मन्त्रालय लगायतलाई पत्राचार गरेको छ ।

 

यसरी भयो रहस्यको पर्दाफास

धनुषाको जनक नन्दिनी गाउँपालिका–२ पुरानो भन्सारस्थित घरमा १२ वर्षीया बालिकाको बलात्कार भयो । आमाको निधन भइसकेको र बुवा विदेशमा भएका कारण बालिका ठूलीआमाको संरक्षणमा थिइन् । भान्सा ठूलीआमासँगै भएपनि सुत्नलाई बालिका आफ्नै घरमा आउँथिन् । ती बालिकाका ८ वर्षीया बहिनी र ६ वर्षीया भाइ समेत घरमै बस्छन् ।

 

भदौ ८ गते राति ठूलीआमाको घरमा खाना खाएर आफ्नो घरमा सुत्न आएका बेला छिमेकी रामकरण खत्वे मण्डलले १२ वर्षीय बालिकालाई बलात्कार गरे ।

 

बालिकाको मुख थुनेर ‘कसैलाई भने ज्यान मार्ने’ धम्की दिएपनि बालिका चिच्याएर रुन–कराउन थालिन् । त्यसपछि घरमा सँगै सुतिरहेका भाइ र बहिनी पनि उठेर कराउन थाल्यो । सबै कराउन थालेपछि अभियुक्त खत्वे फरार भएर भारततर्फ भागे ।

 

घटना भएपछि ईलाका प्रहरी कार्यालय खजुरीले घटनाको भोलिपल्ट भदौ ९ गते पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पु¥यायो । जनकपुर अञ्चल अस्पतालका चिकित्सक भीके सिंह भनिने विजयकुमार सिंह र डा. रम्भा गोइतले ११ दिनपछि भदौ २० गते स्वास्थ्य परीक्षण प्रतिवेदन प्रहरीमा पठायो ।

 

तर, प्रतिवेदनमा बलात्कार भएको कुरा सम्बन्धी कुनै पनि लक्षण देखा नपरेको भनेर उल्लेख गरेको थियो । अस्पतालको प्रतिवेदनमा कुनै पनि लक्षण नदेखिएको भनिएपछि प्रहरी झस्किए ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलिया भन्छन्, ‘बालिकाको बलात्कार भएको कुरा उसको तात्कालिक अवस्थाबाट प्रष्ट देखिएको थियो । गाला, ओठ लगायत विभिन्न भागमा दाँतले टोकेको थियौं । तर, मेडिकल प्रतिवेदन उल्टो आएपछि हामीले फेरि स्वास्थ्य परीक्षणका लागि अर्को सरकारी अस्पताल सिरहा जिल्ला अस्पताल पठायौं ।’

 

भदौ २५ गते सिरहा जिल्ला अस्पतालमा पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रतिवेदनका लागि पठाउँदा डा. राकेशकुमार सिंहले परीक्षण गरे । परीक्षण प्रतिवेदनमा बालिकाको यौनाङ्ग च्यातिएको, शरीरको दुवै गाला तथा ओठमा टोकाइको प्रमाण देखिएको प्रतिवेदन धनुषा प्रहरीलाई बुझाएको थियो ।

 

अभियुक्तद्वारा अपराध स्वीकार

भदौ ११ गते पक्राउ परेका अभियुक्त खत्वेले अनुसन्धानका क्रममा आफूले बालिकालाई बलात्कार गरेको स्वीकार गरे । असोज ५ गते धनुषा जिल्ला अदालतका न्यायाधीश युवराज गौतमको इजलासमा उपस्थित गराउँदा समेत खत्वेले कसुर गरेको स्वीकार गरेको थियो ।

 

रक्सी सेवन गरी नसामा बालिकाको घरमा गएर जबर्जस्तीकरणी गरेको खत्वेले अदालतमा बयान समेत गरेको अवस्थामा जनकपुर अञ्चल अस्पतालका चिकित्सकले पठाएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा ‘सबै कुरा सामान्य’ कसरी भयो भन्ने प्रश्न उठेको जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता टेकबहादुर कार्कीले बताए ।

 

चिकित्सकमाथि कारवाही प्रक्रिया शुरू

गलत प्रतिवेदन दिने चिकित्सकलाई नै आवश्यक छानबिन गर्न तथा छानबिनबाट दोषी देखिने चिकित्सकलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने निर्णयमा कार्की पुगेका छन् ।

 

सरकारी वकिल कार्कीले गरेको निर्णयमा लेखिएको छ, ‘जनकपुर अञ्चल अस्पतालबाट प्राप्त परीक्षण प्रतिवेदनमा पीडितको भेजिना र हाइमेन समेत नर्मल भनेर पठाएको प्रतिवेदनबाट परीक्षणमा संलग्न जनकपुर अञ्चल अस्पतालका डाक्टरको चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको,

 

त्यसरी पीडित नाबालिकालाई तत्काल स्वास्थ्य परीक्षण गर्न पठाउँदा ११ दिन ढिलो गरी जनकपुर अञ्चल अस्पतालले दिएको रिपोर्टमा यौनाङ्गमा केही नदेखिएको र पुनः स्वास्थ्य परीक्षण गर्न सिरहा अस्पतालमा पठाउँदा यौनाङ्गमा फ्याक्चर भएको देखिँदा स्वास्थ्य मन्त्रालय काठमाडौंमा दुवै मेडिकल परीक्षण प्रतिवेदन समेतको प्रतिलिपि र सीडी समेतको प्रतिवेदन राखी यकीन रिपोर्टको लागि स्वास्थ्य मन्त्रालयमा लेखि पठाउने र सोको कारबाहीको लागि नेपाल मेडिकल काउन्सिल काठमाडौंमा पठाई सो जानकारी महान्यायाधिवक्ताको कार्यालय, प्रहरी महानिरीक्षक तथा प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय समेतलाई परीक्षण रिपोर्ट दिने डाक्टरलाई कारबाहीको लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।’

 

निर्णय अनुसार डाक्टरलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले सम्बन्धित सबै कार्यालयमा असोज ७ गते पत्राचार गरेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए ।

 

‘विगतमा पनि कतिपय आपराधिक घटनामा तत्कालीन वस्तुस्थिति र स्वास्थ्य परीक्षण प्रतिवेदन अर्कै आउँथ्यो,’ प्रहरी उपरीक्षक थपलियाले लोकान्तरसँग भने, ‘एक त स्वास्थ्य परीक्षण प्रतिवेदन समयमा उपलब्ध नगराउने, प्रतिवेदन आउँदा शंका लाग्ने अवस्था विगतमा पनि हुन्थ्यो ।’

 

बलात्कारजस्तो मुद्दामा मेडिकल प्रतिवेदन नै महत्त्वपूर्ण प्रमाण हुने गरेकाले धेरैजसो मुद्दामा मेडिकल प्रमाणका अभावमा बलात्कारका घटनामा अभियुक्त अदालतबाट छुट्ने गरेका सरकारी वकिल कार्कीले बताए ।

 

‘मेडिकल रिपोर्ट सही आउनुपर्ने ठाउँमा गलत रिपोर्ट आइदिन्छ,’ उनले भने, ‘अनुसन्धानका लागि स्वास्थ्य परीक्षण गर्न अब जनकपुर अञ्चल अस्पताल पठाउने त कुन भरोसामा पठाउने ?’

 

विगतमा पनि जनकपुर अञ्चल अस्पतालका चिकित्सकले आर्थिक चलखेलको आधारमा मेडिकल रिपोर्ट दिने गरेको चर्चा हुने गरेको थियो । तर, चिकित्सकमाथि छानबिन गरेर कारबाही हुने गरेको थिएन ।

 

यसपालि जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाले आवश्यक निर्णय गर्दै छानबिन गरी कारबाहीका लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिललाई पत्राचार गरेको लोकान्तरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्