राष्ट्रकवि घिमिरे जीवनको सयौँ बसन्तमा
फूलको थुँगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला नि बरै यो जिन्दगानीमा ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो चर्चित गीत उनको आफ्नै जीवनमा भने मेल खाँदैन । उनको जीवनको थुँगा सधैँ फक्रिइरह्यो ।
सधैँ भेटिइरहे, उनी कतै किताबका पानामा, कतै शोधपत्रमा त कतै साहित्यिक माहोलमा । यतिमा मात्रै सीमित भएनन्, राष्ट्रकवि घिमिरे यसरी भेट भइरहे कि सय वर्षसम्म उस्तै ऊर्जाका साथ धर्तीले उनका पैतालाको स्पर्श पाइरह्यो । अझै पाइरहनेछ ।
सय वर्षसम्म पनि समयको पिचमा जीवनको ‘ओभरहीन बलिङ’ यसरी गरे कि उनका हरेक बलले मृत्युको स्टम्प ढालिरह्यो । अहिले उनले सयौँ विकेट लिएर दुर्लभ रेकर्ड कायम गरेका छन् । र, उनको सामु नतमस्तक छ, साहित्यिक दुनियाँ ।
०००
राष्ट्रकवि माधव घिमिरेले कति लेखे भनेर कसैले हिसाबकिताब गर्दैन । बरु, उनले लेखेका कविता र गीतले कति मानिसको जीवनमा प्रेम र मानवताको खेती ग-यो, कति मानिसको दिमागमा चेतनाको बिउ रोप्यो, त्यसको खोजी पक्कै हुन्छ ।
संसारका थोरै मानिस त्यस्ता हुन्छन्, जसले जीवनको ओलम्पिकमा महानताको झन्डा बोकेर मार्चपास गर्छन् । राष्ट्रकवि घिमिरेले त मार्चपास मात्र गरेनन्, नेपाली साहित्यलाई एउटा उचाइमा पु-याएर गोल्डमेडल नै जिते । जसका कारण नेपाल र नेपाली रहेसम्म बाँचिरहने वातावरण बन्यो :
नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे
जबसम्म नेपाल रहन्छ, त्यतिवेलासम्म माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीको काव्य सिर्जना बोकेर हरेक नेपालीको दिलमा बसिरहनेछन् ।
०००
उमेरको सयवटा लठ्ठी टेकेर उनी आइपुगेका छन्, जीवनको अग्लो चुचुरोमा । तर, थाकेका छैनन्, उनी अझै हिँडिरहेका छन्, हिँडिरहनेछन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेले जति नै लामो जीवनको यात्रा गरे पनि कहिल्यै एक्लै यात्रा गरेनन् ।
उनको साथमा सधैँ कविता, गीतको पोको पुन्तुरो थियो, छ र हुनेछ । त्यति मात्र होइन, उनले खनेको या उनी हिँडेको गोरेटोमा आइरहेछन्, धेरै पैतालाहरू, जसले गोरेटोलाई सडक बनाउनेछ र हुइँकिनेछ, नेपाली साहित्यको गाडी सानका साथ ।
मानिस के चाहन्छ ? यसको उत्तर मानिसपिच्छे फरक होला । जवाफ पाउनका लागि पनि उनीहरूलाई सोध्नैपर्छ । तर, माधवप्रसाद घिमिरे यस्तो समय बाँचिरहेछन्, जसले उत्तर दिइरहनुपर्दैन, उनका सिर्जनाहरूले नै दिन्छ, दिइरहनेछ । उनी अझै सिर्जनाको महासागरमै हेलिइरहेका छन् ।
‘ऋतम्भरा’ महाकाव्य आउँदै छ । लेखिसक्न लागेका छन् । आधा जीवन पनि बाँच्न नसकी निराश हुनेहरूका लागि गतिलो उदाहरण बनेका छन्, राष्ट्रकवि । जसका आँखामा अझै दशकौँसम्म सपनाहरू फुल्नेछन् । ती फुलेका सपनाले नेपाली साहित्यको बगैँचामा अझै धेरै फूल फुलाउनेछन् ।
जीवनको ब्याट घुमाएर शतक हानिसके । अझै ब्याटिङ गरिरहेका छन् । लाग्छ, उनी अझै चार–पाँचवटा छक्का हान्नेछन्, तर ‘क्रिज’मै रहनेछन् । कहिल्यै आउट हुने छैनन् । न त कुनै बलरले नै आउट गर्न सक्नेछन् ।
०००
असोज ७ गते (आज) सयवर्ष पुग्दै छन् । तर, ऊर्जा भने ४० वर्षको युवाको जस्तो छ । माधव घिमिरेलाई भेट्ने हरेकले भन्ने गर्छन्, ‘उहाँको स्मरण शक्ति त बाबै !’ अनि जिब्रो टोक्छन् ।
लैनचौरस्थित राष्ट्रकवि माधव घिमिरेको निवासमा शुभचिन्तकको घुइँचो छ । असोज ७ गते उनको सयौँ जन्मदिन हो । तर, ६ गते नै उनलाई बधाई दिनका लागि मानिस आइरहेका छन् । मानिसका आँखा राष्ट्रकवितिरै छन् ।
सबै मानिसको आँखामा प्रस्टै देखिन्छ, सम्मानको पुष्पगुच्छा । उनीहरूको अनुहार पढ्दा लाग्छ, उनीहरूले ईश्वरलाई भेटिरहेका छन् । कविताको ईश्वर, जसको अगाडि नेपाली साहित्यलाई प्रेम गर्नेहरू शिर झुकाउँछन्, आदर र सम्मानका साथ ।
ठूूलो तीनतले घरभित्र छिर्ने भित्री गेटको दुवैपट्टि हात्तीहरू उभिएका छन् । हात्तीका ती मूर्तिलाई छिचोलेर पार गरेपछि एउटा कोठा आउँछ, जहाँ राष्ट्रकविको अर्धकदको सालिक छ । विभिन्न भावभंगीमाकका तस्बिर छन् । कतै मुस्कुराइरहेका छन्, कतै सोचमग्न छन् । लाग्छ, उनी नयाँ कविताको हरफ सोचिरहेका छन् ।
रातो छिर्केमिर्के सोफा छ । दाहिनेपट्टि महाकाली घिमिरे बसेकी छिन्, जसले माधवप्रसाद घिमिरेसँग करिब सात दशक जीवनको रथ सँगै गुडाइन् । र, गुडाइरहेकी छिन् । उनी पनि यही भाद्र १२ गते ८४ पुगिन् । यही असोज ७ गते नै उनी सहस्र चन्द्र दर्शन गर्दै छिन् । कथन छ, ८४ पुगेपछि पूर्णिमाको चन्द्रमा मान्छेले हजारौँपटक देखिसकेको हुन्छ ।
संयोगवश, ७ गते नै राष्ट्रकवि घिमिरे १०० वर्ष पुग्दै छन् । राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले भनिन्, ‘म ८४ वर्ष भएँ र उहाँ १०० वर्ष हुनुभो । यो एकदमै थोरैको भाग्यमा मात्र हुन्छ ।’ उनले यसो भन्दै गर्दा उनको अनुहारमा जीवनप्रतिको चरम सन्तुष्टि झल्किएको थियो ।
०००
आफू यति धेरै सफल हुनुमा दुई कुराले काम गरेको राष्ट्रकवि बताउँछन् । एउटा लक्ष्यप्रतिको समर्पण र अर्काे स्वास्थ्यप्रतिको सचेतनाले गर्दा सय वर्षसम्म संसारमा रहेको उनी बताउँछन् ।
उनीप्रतिको सदाशयता र सम्मानका कारण त्यति धेरै मान्छे उनलाई भेट्न आइरहेका छन् । उनीहरूले महान् भनिरहेका छन् । तर, राष्ट्रकवि आफैँले आफैँलाई महान् भन्न नमिल्ने बताउँछन् । ‘म आफैँले भन्ने कुरा होइन, त्यो । सबैले मन पराइराखेका छन् ।
कसैले नराम्रो भनेका छैनन् । आज पत्रिकामा सबैले लेखेका छन्,’ उनी थप्छन्, ‘कसैले अलि प्रगतिशील भएन भन्लान्, कसैले राजावादी भन्लान्, अब राजावादी त सबै थिए । को राजावादी, नराजावादी । कविले कसैलाई वास्ता गर्दैन । आफू लेख्छ । म आफ्नो सिर्जनाको काम गर्छु ।’
आठ दशकसम्म सक्रिय लेखनमा बाँचिरहेका छन् । एउटा मान्छे कवि, मानवीय हुनका लागि सबैभन्दा ठूलो कुरा आफू के गर्न सक्छु भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताउँछन् । आफूले ‘ऋतम्भरा’ महाकाव्य सकाएपछि भने आए लेख्ने, नआए नलेख्ने बताउँछन्, उनी ।
कवि लेखक सबै सत्ताइतर रहनुपर्छ भन्ने गरिन्छ । उनी भन्छन्, ‘तर, कवि सत्ताको विरोधी पनि होइन, समर्थक पनि होइन । बिहानको उज्यालोको कविता उसले लेख्छ भने कुन सत्ताको विरोध गर्ने ?’
उनी घरीघरी लठ्ठी समात्थे । घरी छाड्थे । हत्केला उठाएर बोल्थे । उनलाई हेर्दा लाग्थ्यो, उनी अझै युवा नै छन् । सय वर्ष त परको कुरा । उनले भने, ‘पृथ्वीनारायणलाई राष्ट्र निर्माता भन्ने पहिलो व्यक्ति म नै हुँ । तर, ‘राष्ट्र निर्माता’ खण्डकाव्यमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई मात्र भनेको थिइनँ । त्यो संसारभरका सबै राष्ट्र निर्मातालाई भनिएको थियो ।’
राष्ट्रकवि माधव घिमिरेलाई प्रकृति पूजक भन्छन् । माटोका गायक भन्छन् । कारण उनले लेखेका अधिकांश कविता पहराको छातीबाट छङछङ खसेका झरनाजस्ता छन् । जलवायु परिवर्तनले गरेको असरप्रति उनी भन्छन्, ‘मेरो हिमाल पग्लिँदा मेरो मन दुख्छ । प्रकृति दुखिरहेका छन् ।
आज अणु भट्टी बिग्रियो भने अमेरिकाले आफैँलाई पनि ध्वस्त हुनबाट रोक्न सक्दैन ।’ राष्ट्रकविलाई सोधियो, ‘तपार्इंले यति लामो सामयसम्म आइपुग्दा उहाँ (धर्मपत्नीतिर देखाउँदै)लाई एक वाक्यमा परिभाषित गर्नुप-यो भने कसरी गर्नुहुन्छ ?’ जवाफ थियो, ‘उनी एउटा काँध हुन् र म अर्को काँध हुँ ।
हामी दुवै एक–अर्काका परिपूरक हौँ र जिम्मेवारी पनि आधा–आधा छ ।’ करिब ५ बजेतिर सिस्नुपानी नेपाल टिम राष्ट्रकविको घरमा आइपुगेको थियो । उनीहरूले दियो बाल्दै, त्यसलाई मिलाएर ‘१०० वर्ष’ बनाएर राखेका थिए ।
राष्ट्रकविलाई भित्रबाट बाहिर ल्याइयो । सोफामा राखियो । फूलको माला पहि-याइयो, राष्ट्रकवि र उनकी धर्मपत्नी महाकालीलाई । उनीहरू भर्खर बिहे गरेका बेहुला–बेहुलीजस्ता देखिए ।
राष्ट्रकविलाई सिस्नुपानी नेपालले उपहार दियो, सेतो प्लास्टिकको झोला । उनले ‘खोलेर हेरूँ ?’ भने । खोलेर हेरे, हाइनेक थियो । उनले त्यसलाई हेर्दै गर्दा सिस्नुपानी नेपालका कार्यक्रमका संयोजक टंकराज आचार्यले भने, ‘अब यो हाइनेक नफाटेसम्म लगाइरहनुपर्छ ।’ उपस्थितबीच हाँसोको फोहोरा छुट्यो । हास्य कलाकार मनोज गजुरेल, लक्ष्मण गाम्नांगे, गायक शिशिर योगी, कवि रामप्रसाद ज्ञवाली, मोमिलालगायतले कविता सुनाए ।
बाँसुरीबादक नगेन्द्र राईले तबलामा जगन्नाथ धौगाडासँग मिलेर बाँसुरीमा ‘फूलको थुँगा’ गाउँदा राष्ट्रकवि चिउँडोमा बुढी औँला राखेर, ओठमा माझी औँला राखेर, चोरी औँला खुम्च्याएर मुग्ध भएका थिए र सोचमग्न पनि । त्यतिवेला लाग्थ्यो, उनी कतै हराएका छन्, आफ्नै सुमधुर विगततिर ।
कुराकानीको अन्त्यतिर जीवन र मृत्यु के हो भनेर सोधियो । राष्ट्रकवि घिमिरेको जवाफ थियो, ‘जीवनचाहिँ भगवान्को वरदान हो । मृत्युचाहिँ कतिवेला आउँछ थाहै नहुने ।’ फेरि मृत्यु कतिवेला अर्थपूर्ण हुन्छ भनेर सोधियो । उनले कान यसो घुमाएर फेरि भन्ने इशारा गरे । प्रश्नमा स्पष्ट भएपछि भने, ‘केही दिएर मरेको छ भने उसको मृत्यु सार्थक हुन्छ ।’
हुन पनि हो, राष्ट्रकविको जीवन नै महाकाव्य बनेको छ । जसलाई पढेर कहिल्यै सकिन्न । जति पढ्यो, उति नै आनन्द र प्रेरणादायी । जसको आँखाले राणा शासनदेखि लोकतान्त्रिक गणतन्त्रसम्म प्रत्यक्ष देख्यो । अझै धेरै परिवर्तन देख्नेछ ।
जाँदाजाँदै राष्ट्रकविपत्नीले भनिन्, ‘उहाँलाई अझै १० वर्षसम्म त केही पनि हुन्न !’ ओहो, कत्रो ठूलो आत्मविश्वास ! हुन त राष्ट्रकवि अहिले जे छन्, श्रीमतीको प्रेम, सहयोग र हौसलाका कारण पनि छन् । राष्ट्रकवि दशकौँ बाँचून् ।नयाँपत्रिकाबाट