न्याम्स उपकुलपति छनोटमा विवाद



हाम्रो इकोनोमि

 

 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्ति प्रक्रिया पक्षपात भएको भन्दै उजुरी परेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफू निकटका व्यक्तिलाई उपकुलपति बनाउने तयारीका साथ नाम पठाएको भन्दै उजुरी परेको हो ।

 

 

सर्टलिस्टमा प्रस्तुतीकरण र योग्यताका आधारमा दोस्रो नम्बरमा परेका प्राडा. गेहनाथ बरालले सिफारिसको क्रममा तयार भएका मूल्यांकन फारमहरू पुनरवलोकन गरी पुष्टि भएपछि मात्र उपकुलपति नियुक्त गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका हुन् ।

 

 

न्याम्सका पदाधिकारीहरूको पदावधि साउनको अन्तिम सातामा सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ऐनबमोजिम स्वास्थ्यमन्त्री यादवको संयोजकत्वमा सिफारिस समिति गठन गरेका थिए । स्वास्थ्यमन्त्री यादव संयोजक रहेको सो समितिमा मन्त्रालयका १२औँ तहका चिकित्सक डा. सुशीलनाथ प्याकुरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा.धर्मकान्त बाँस्कोटा सदस्य रहेका थिए ।

 

कानुनले निर्दिष्ट गरेको प्रक्रिया पूरा गरी योग्य व्यक्ति नियुक्त गर्न भन्दै सिफारिस समितिले साउन २७ र २९ गते गोरखापत्रमा सूचना प्रकाशित गरी १५ दिनभित्र सूचनामा तोकिएको योग्यता पुगेका चिकित्सकहरूबाट उपकुलपति पदमा आफ्नो कार्य योजनासहित आवेदन माग गरेको थियो ।

 

भदौ १० गते सम्ममा २२ जनाको निवेदन परेकोमा २६ गतेको सिफारिस समितिको निर्णयअनुसार ६ जना सर्टलिस्टमा परेका थिए । उनीहरूलाई ३१ गते कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाइएको थियो ।

 

न्याम्सभित्रैबाट उपकुलपति राख्नुपर्ने चिकित्सकहरूले माग राखिरहेको बेला प्रारम्भिक छनोट सूचीमा परेका चिकित्सकहरूमध्ये प्राडा. बराल, प्राडा.अजित रायामाझी, प्राडा. विधान निधि पौडेल र प्राडा. ढुण्डिराज पौडेल प्रतिष्ठान (न्याम्स) भित्रबाट र प्राडा. देव नारायण साह र प्राडा.विश्वनाथ यादव प्रतिष्ठान (न्याम्स) बाहिरबाट गरी ६ जना परेका थिए ।

 

अन्तिम छनोटका लागि ९ जनाको विज्ञ समूह र सिफारिस समितिका ३ जना गरी जम्मा १२ जनाको टोलीसमक्ष प्रस्तुतीकरण गर्न लगाइएको थियो ।

 

सो प्रक्रियामा संलग्न विज्ञ समूहका एक सदस्यका अनुसार सशक्त र ‘इनोभेटिभ’ प्रस्तुतिका आधारमा प्राडा. बराल पहिलो नम्बरमा परेका थिए । सर्ट लिस्ट तयार गर्दा भने प्रस्ताव र योग्यताको आधारमा प्राडा. साह पहिलो र प्राडा. बराल दोस्रो नम्बरमा परेको स्रोतको भनाइ छ ।

 

तर, प्रधानमन्त्रीसमक्ष नियुक्तिका लागि सिफारिस गर्दा समितिले प्राडा. साहसहित कान्ति बाल अस्पतालमा कार्यरत प्राडा. अजित रायमाझी र वीर अस्पतालकै प्राडा. ढुण्डिराज पौडेलको मात्र नाम पठाएको छ ।

 

स्रोतका अनुसार स्वास्थ्यमन्त्रीले कति योजनाबद्ध रूपमा नाम पठाएका छन् भने जसरी पनि साह नै प्रधानमन्त्रीको छनोटमा पर्नेछन् । किनकि डा. रायमाझी र पौडेल नेपाली कांग्रेस समर्थक चिकित्सकको रुपमा चिनिन्छन् । उजुरीकर्ता डा. बराल चाहिँ पूर्व–एमालेका स्वास्थ्य विभागको समेत रोजाइमा परेका व्यक्ति हुन् ।

 

विज्ञ समूहका एक सदस्यले भने, ‘सुरुआती छनोट गर्दा बराललाई पहिलो नम्बरमा राखिएको थियो । तर, सिफारिस गर्दा मन्त्रीले उनकै नाम छुटाएछन् ।’ यता, सिफारिस समितिले भने बराल हाल प्रसूति गृह अस्पतालमा फेल्लोसिपमा रहेकोले उपकुलपति बनाउन नमिल्ने भन्दै अन्तिम सूचीमा नराखिएको बताएको छ ।

 

यता, बरालले भने छनोट प्रक्रिया सुरु हुनुभन्दा अघि नै आफूले सो कार्यक्रमबाट अलग भएको जानकारी गराएको बताए । ‘यसबारे मलाई विज्ञ समूहले अन्तर्वार्ताको क्रममा सोधेको थियो । मैले भदौ २७ गते नै निवेदन लेखेर २८ गतेदेखि सो कार्यक्रमबाट अलग भएको जानकारी गराएको थिएँ । तर, त्यही कुरालाई इस्यु बनाइएछ जबकि त्यो पूरै इन्भ्यालिट कुरा हो । म सर्ट लिस्टमा परेकै दिन फेल्लोसिपबाट अलग भएको हुँ’ उनको दाबी छ ।

 

विज्ञ समूहमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व–भिसी डा. लोकविक्रम थापा, पाटन एकेडेमीका पूर्व–भिसी डा.अर्जुन कार्की, न्याम्सका पूर्व–भिसी डा.दामोदर पोख्रेल, आइओएमका पूर्वडिन डा. रमेशकान्त अधिकारी, आइओएमकै वर्तमान डिन डा. जगदीश अग्रवाल, रिसर्च काउन्सिलका अध्यक्ष डा.अञ्जनीकुमार झा, आइओएमका डा.

 

भगवान् कोइराला, स्वास्थ्य मन्त्रालयका पूर्व–सचिव डा. सेनेन्द्रराज उप्रेती, स्वास्थ्यमन्त्रीका सल्लाहकार डा.कृष्ण कुमार राईलगायत रहेका थिए । आफू छनोट प्रक्रियाबाट अब्बल ठहर भइसकेको अवस्थामा सिफारिसको अन्तिम सूचीमा नपर्नुपर्ने कुनै कारण नरहेको डा. बरालको दाबी छ । यसिमा महत सौर्य दैनिक

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...