३३ किलो सुन र सनम हत्याकाण्ड, उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालसम्म रहेको खुलासा
३८ किलो सुन र सनम शाक्य हत्याकाण्डमा पक्राउ परी थुनामा रहेका प्रहरी अधिकारीहरूलाई उच्च अदालत विराटनगरले प्रमाण नपुगेको भन्दै धमाधम छाड्न आदेश दिएपछि कम्युनिस्ट सरकारले गठन गरेको बिशेष अनुसन्धान समितिमाथि नै ठूलो प्रश्न खडा भएको छ ।
३८ किलो सुन प्रकरणमा भरिया सनम शाक्यसहित तीन जनाको मृत्यु भएको थियो । साढे ३३ किलो सुन कहाँ छ र सुनका असली मालिक को हुन् भन्ने बारेमा अहिलेसम्म पत्ता लागेको छैन ।
व्यक्तिगत इगोका कारण केही व्यावसायिक प्रहरी उच्च अधिकारीलाई तस्करी र हत्यासँग जोडेर करियर नै ध्वस्त पार्ने काम भएको छ । सुन भेटिन नसक्नु र मालिक पनि पत्ता नलागेका कारण समितिको अनुसन्धान नै नाटकीय र पूर्वाग्रही भएको स्पष्ट भएको छ ।
म्याद समाप्त भई समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । समितिले प्रतिवेदन बुझाएको केही महिनापछि उच्च अदालत बिराटनगरले थुनामा राख्न प्रमाण नपुगेको भन्दै एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसीलाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
उच्च अदालतको आदेशसँग समितिमाथि ठूलो प्रश्न उठेको छ । समिति मात्रै होइन समिति बनाउने कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली र गृहमन्त्री रामबहादुर थापामाथि समेत प्रश्न उब्जिएको छ ।
समितिले सुन तस्करीका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’को समूहले ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको छ । ३८ किलो सुनको तथ्यांक आए पनि तस्करीको एकलाल पनि सुन भेट्टाउन समिति असफल भएको छ ।
प्रहरी अधिकारीहरूलाई विभिन्न अभियोग लगाएर मिडियामार्फत बद्नाम गराई पूर्पक्षका लागि थुनामा हाल्न भने समिति सफल भएको छ ।
यतिसम्मकी तस्करीमा पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेस लोहनी, एसपी विकासराज खनाल र डिएसपी प्रजित केसी तस्करीमा संलग्न नरहेको पुष्टि भइसक्दा समेत उनीहरूलाई विभिन्न बहानामा फसाउने काम भएको उच्च अदालतको आदेशले देखाएको छ ।
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको समितिमा सदस्य रहेका एसएसपी बसन्त लामा र दिवेस लोहनी एउटै ब्याजका प्रहरी अधिकृत हुन् । आफ्नै ब्याजका प्रहरी अधिकारीलाई फसाउन एसएसपी बसन्त लामा निरन्तर लागिपरेको स्रोतले जनाएको छ ।
समितिले सनम शाक्य हत्याकाण्डमा गोरेलाई जोगाउन लोहनीले लापरबाहीपूर्ण अनुसन्धान गरेको अभियोग लगाएको छ । लोहनीले भने अभियुक्त पक्राउ गर्न आफूले गुडफेथमा काम गरेको जिकिर गर्दै आएका छन् ।
सुन तस्करीको अनुसन्धानका क्रममा प्रमाण नभेटिएपछि समितिमा रहेका डिएसपी सुदीप पाठकले एसएसपी लामाको योजनामा एकअर्कामा द्वन्द्व बढाउने काम गरेका थिए ।
सनम हत्या प्रकरणमा लोहनीविरुद्ध निरौला र खनाललाई बयान दिन लगाएको थियो । निरौला र खनालविरुद्ध लोहनी तथा केसीलाई बयान दिन लगाएर फसाइएको स्रोतले उल्लेख गरेको छ ।
उनीहरूबीच एकले अर्काको पोल खोलेको भन्दै पाठकले दुबै पक्षलाई झगडा गराएर द्वन्द्व बढाउने काम गरी मिडियामा सूचना चुहाएका थिए । तिनै मिडियामा आएका कटिङलाई जिल्ला अदालत मोरङमा पठाई न्यायाधीशहरूलाई भित्रभित्रै दवाव दिन लगाएर पूर्पक्षका लागि थुनामा पठाइएको आरोप छ ।
चर्चाका लागि गृहमन्त्री थापालाई गुमराहमा राखेर पौडेल, लामा र पाठकले भ्रम छर्ने काम गरेको अभियुक्तहरूको बयान नसकिंदै सञ्चारमाध्यममा चुहिएका सूचनाहरूबाट पुष्टि भएका छन् ।
गृहमन्त्री थापालाई उक्साउने यो समूहले क्षणिक रुपमा लाभ त पायो तर, अन्तिममा परिणाम हातमा लाग्यो शून्य भएको छ । गृहमन्त्री थापालाई गलत रिपोटिङ गरेर बद्नाम गराइएको छ ।
अनुसन्धानका लागि २०७४ चैत २० को मन्त्रिपरिषद्को बैठकले विशेष टोली गठन गरेको थियो । गृहका सहसचिव पौडेलको नेतृत्वमा गठन भएको टोलीले ७५ जनाविरुद्ध मुद्दा अदालतमा बुझाएको छ ।
४५ जना पक्राउ परेका थिए । अनुसन्धानमा यतिसम्म लापरवाही भएको थियो कि, समितिले पक्राउ गरेका अभियुक्त नै नक्कली भएको खुलेको छ ।
नाम मिलेकै आधारमा महावीर गोल्यानलाई पक्राउ गरिएको थियो । समितिका सदस्य डीएसपी सुदिप पाठकले चाचाजी भन्ने महावीर गोल्यानलाई नभेटेपछि कान नसुन्ने व्यक्तिलाई नाम मिलेकै आधारमा पक्राउ गरेका थिए ।
विगतमा चोरीको गाडी चडेर बद्नामी कमाएका डिएसपी पाठकले श्रवण शक्ति नै नभएका गोल्यान चण्डोलको प्रेष्टिज अपार्टमेन्टबाट दैनिक पैदल हिंडेर जाने क्रममा पक्राउ गरी फसाएका हुन् ।
मुटुका रोगी गोल्यानले भारतको मेदान्त अस्पतालमा नियमित चेक गराउँदै आएका छन् । टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गर्ने डिएसपी पाठकले गाडी चोरी गर्ने गिरोहलाई संरक्षण दिने गरेका छन् ।
समितिले पूर्वएआईजी विजयलाल कायस्थको बयान लिएर पनि घटनालाई गुपचुप राखेको छ । राष्ट्रिय अनुसन्धान बिभागका डिआईजी हुतराज थापाको कार्यकक्षमा कायस्थलाई बोलाएर एसएसपी लामा र डिएसपी पाठकले बयान लिएका थिए ।
सुन तस्करीमा पत्रकारलाई नै बोलाएर बयान लिएकाहरूको एसएमएसदेखि अडियो रेकर्डसम्म सार्वजनिक गर्ने लामा र पाठकले कायस्थले दिएको बयानको तथ्य भने लुकाएर बचाउन सफल भएका छन् ।
सुन तस्करीमा गोरेसँग कारोबार गर्ने एसएसपी श्याम खत्री एयरपोर्टमा रहँदा उनका हाकिम रहेका कायस्थ १६ महिनासम्म सुन तस्करहरूकै सेटिङमा एयरपोर्टमै बसेका थिए ।
मकवानपुरमा रहेका एसपी विकासराज खनाललाई भने विमानस्थलमा बसेकै आधारमा फसाइएको थियो । विमानस्थलमा कार्यरत रहँदा खनालले पूर्वडिआइजी गोविन्द निरौलासँग मिलेर तस्करीमा सघाएको भन्ने आरोप लगाइएको थियो ।
एसपी खनाल विमानस्थलमा रहँदा निरौला त्यहाँ नरहेको र खनालको सरुवापछि मात्र निरौला विमानस्थल गएको प्रहरी अभिलेखबाट पुष्टि हुन्छ । खनाल र निरौला विमानस्थलमा सँगै रहेको रेकर्ड नभएपनि छानविन समितिका सदस्य पाठकले केही अनलाइन र दैनिक पत्रिकालाई गलत सूचना दिएर एकोहोरो चरित्रहत्या गराएको आरोप छ ।
एसपी खनाल विमानस्थलमा छँदा विजयलाल कायस्थ प्रमुख थिए, निरौला थिएनन् । कायस्थलाई पक्राउ गरिएन ।
निरौला, खनाल र डिएसपी सञ्जय राउतलाई गोरेको समूहसँग पैसा लिएको आरोप लगाइएको थियो । हत्या गरिएका सनमको डायरीमा लेखिएको भनिएको रकमको आधिकारीकतामाथि नै प्रश्न उठेको छ ।
सो बारेमा अहिलेसम्म प्रहरीको फरेन्सिक रिपोर्ट पनि आएको छैन । जसका कारण एकोहोरो मिडियामा प्रहरी अधिकारीले पैसा लिएको विवरण पठाएर चरित्रहत्या गरेको प्रस्ट देखिएको छ ।
तस्करी र हत्यामा संलग्न गोरे र एसएसपी खत्रीबीच कारोबार रहेको बलियो प्रमाण रहेको छ । अरु प्रहरी अधिकारीलाई खत्रीसँगै मुछेर समितिले अनुसन्धानलाई ठूलो बनाउन गलत सूचना मिडियामा दिएको थियो ।
शुरुमा एसएसपी खत्रीलाई तत्कालीन सीआइबी प्रमुख नवराज सिलवालले नै सुन तस्करीमा पक्राउ गरेका थिए । अनुसन्धानका क्रममा खत्रीको कनेक्सन पूर्वआईजीपीद्वय उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालसम्म रहेको सिलवालले पत्ता लगाएका थिए ।
खत्री सुरक्षा प्रमुख रहेकै बेला दुबईबाट आएको ३३ किलो सुन विमानस्थलबाट बाहिरिएको थियो । खत्रीलाई पक्राउ गरी मुद्दा चलाइएपछि काठमाडौं जिल्ला अदालतले खत्रीलाई २ लाख धरौटीमा छाडेको थियो ।
दुवईमा रहेका सुन तस्करीका नाइके रोशन भन्ने गुप्तलाल भुसाल र हरिशरण खड्कालाई किन जोगाइयो ? भन्ने प्रश्न अहिले उठेको छ । भुसालसँग पूर्वआईजीपी प्रकाशको निरन्तर सम्पर्क रहेको प्रमाण पनि भेटिएको छ ।
विमानस्थलमा तिनै खत्रीका हाकिम भएर तस्करीलाई सघाउने बिजयलाल कायस्थलाई पक्राउ गरी अनुसन्धान नगरेका कारण समितिको काम नै पूर्वाग्रही रहेको पुष्टि भएका स्रोतको भनाइ छ ।
समितिले सुन तस्करीको मुख्य नाइके भनेका गोरेले बयानका क्रममा तस्करका नाइके एमके भनिने मोहन अग्रवाल भएको बताउँदै आएका छन् । अग्रवाल यसअघि पनि पटक–पटक सुन तस्करीमा संग्लन भएको आरोपमा पक्राउ पर्दै र सेटिङमा छुटदै गरेका व्यक्ति हुन् ।
उनलाई अझै पक्राउ गर्न सकिएको छैन । सुन तस्करीमै मुद्दा झेलिरहेका विमल पोद्दारले आफ्ना साझेदार र केही उच्च प्रहरी अधिकारीको नाम मोरङ जिल्ला अदालतमा बयानका क्रममा पोले पनि ती कसैलाई अनुसन्धानको दायरामा नल्याउनुलाई ठूला तस्करलाई राजनीतिक संरक्षण रहेको प्रस्टै रहेको चर्चा हुन थालेको छ ।रिपब्लिका दैनिकबाट