आलोचना बढ्न थालेपछि धमाधम पुनर्निर्माण गर्दै कामपा



 

काठमाडौँ महानगरपालिकाले पुनर्निर्माणको कामलाई तीव्रता दिन थालेको छ ।

भूकम्प गएको लामो समय बितिसक्दा पनि कामपाले केही काम नगरेको जनगुनासो आइरहेकै समयमा कामपाले निर्माणको कामलाई चासोका साथ लिएको छ ।

रानीपोखरी र बागदरवारको पुनर्निर्माणका लागि कामपामा क्रमशः दुई र पाँच आशयपत्र पेश भएका छन् । त्यसैगरी स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले निर्माण गर्न आशयपत्र पेश गरेका छन् ।

ऐतिहासिक सम्पदा रानीपोखरी २०७२ सालको भूकम्पको कारण क्षतिग्रस्त भएको थियो । विभिन्न विवादका कारण क्षति भएको तीन वर्ष बितिसक्दासम्म निर्माण शुरु हुन नसक्दा एक महिनाअघि कामपाले आशयपत्र माग गरेको थियो ।

सोही मागअनुरुप दुई निर्माण कम्पनीले निर्माणका लागि आशयपत्र पेश गरेको कामपा खरिद एकाइ प्रमुख प्रमोद पोखरेलले जानकारी दिए । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ ।

यसअघि कामपाले मन्दिरसहित रानीपोखरीको पुनर्निर्माण गर्दा पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा निर्माण गरेको र निर्माणका क्रममा सिमेन्ट प्रयोग गरेको जनाउँदै विवाद सिर्जना भएपछि निर्माणको सम्पूर्ण काममा रोक लगाएको थियो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्रका नाममा सो पोखरी बनाउन लगाएका थिए । पोखरीको निर्माण करीब पाँच वर्षभित्र अर्थात् विसं १७२५ मा र शिलापत्र विसं १७२७ मा राखिएको थियो । नेपालभाषामा यसलाई न्हुरपुखुर (न्हुपुखु) भनिएको छ जसको अर्थ नयाँ पोखरी हो ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुङ्गाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा पूरानो मन्दिरको रेखाचित्रबाट पनि प्रष्ट हुन्छ । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् ।

प्रताप मल्लले निर्माण गर्दा पोखरीका चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । तीमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह«हाते गणेश स्थापना गरेको देखिन्छ ।
बागदरबार भत्काउन पाँच निवेदन

हाल कामपाको कार्यालय रहँदै आएको बागदरबार (हरिभवन भएको बताइएको छ) भत्काउनका लागि पनि पाँच निवेदन परेको कामपाले जनाएको छ । करीब १८ रोपनी क्षेत्रफलमा निर्माण भएको हरिभवन तीन तलाको छ ।

भवन छिट्टै भत्काउन खरिद प्रक्रियामा लगिने कामपाका सहप्रवक्ता नवराज ढकाल बताउँछन् । भत्काउने काम शुरु भएको तीन महिनामा सकिने बताइएको छ । एक अर्ब ५० करोडको लागतमा पुनर्निर्माणको काम थाल्ने कामपाको योजना छ ।

निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न भई प्रयोगमा ल्याइने जानकारी दिँदै उनले भूकम्पका कारण क्षतिग्रस्त बागदरबारमा अब परम्परागत, मध्यकाल र आधुनिक गरी तीन काल खण्डको ढाँचा उपयोग हुने बताए ।

त्यसैगरी सवारी साधन चापलाई व्यवस्थापन गर्नका लागि नयाँ सडकमा निर्माण गर्न लागिएको स्मार्ट पार्किङ निर्माणका लागि ६ कम्पनीले आशयपत्र पेश गरेको प्रमुख खरेलले बताए । उनका अनुसार रानीपोखरी र स्मार्ट पार्किङ कुन निर्माण कम्पनीलाई दिने भन्ने विषयमा बोलपत्र मूल्याङ्कन समितिले दुई दिनभित्र निर्णय गर्ने छ ।

दुई–तीन दिनपछि रानीपोखरी र पार्किङ निर्माणको काम शुरु हुनेछ । उक्त पार्किङमा एकै पटक ५ सय सवारी साधन अट्ने बताइएको छ । महानगरले स्मार्ट र स्थानीयवासीले अपनत्वबोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीलाई एकल वा संयुक्तरुपमै भए पनि जिम्मा दिने कामपाको योजना छ ।

भूकम्पकै कारण क्षति पुगेको काष्ठमण्डप र धरहराको पुनः निर्माण भने शुरु भइसकेको छ । गत वैशाख ३१ गते क्षमापूजा गरी पुन निर्माण शुरु भएको काष्ठमण्डपको निर्माण आगामी तीन वर्षमा सक्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए ।

बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले दिएको एकै रुखको सालको काठबाट सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको बताइन्छ ।

पछि मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो । केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार बाह्राैं शताब्दीमा बनेको भनिएको मरुसत्तल सातौँ शताब्दीको भएको बताइएको थियो ।

नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । त्यस्तै भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा तीन वर्षअघिको भूकम्पसहित चार पटक ढलिसकेको छ ।

धरहरा पटक–पटक ढलेकाले पूरानो संरचना यथावत् रुपमा सिसाले छोपेर २२ तलाको नयाँ बनाउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तयारी छ । यसअघिको धरहरा नौ तलाको थियो । नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्री प्रयोग गरिने भएको छ । अब बन्ने धरहरामा लिफ्ट र भ¥याङसमेत राखिने छ ।

धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ । भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माण लागत चार अर्ब लाग्ने बताइएको छ । यसअघि नेपाल टेलिकमलाई धरहरा बनाउने जिम्मेवारी दिइए पनि पछि हटेको थियो ।

टेलिकमले आफैँ नबनाए पनि एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘मेरो धरहरा मै बनाउँछु’ अभियानअन्तर्गत धरहरा पुनर्निर्माण कोषमा २४ करोड जम्मा भइसकेको छ । कूल २४ रोपनी क्षेत्रफलमा धरहरा, पार्किङ र बगैंचा समेत बनाइनेछ ।

प्रतिक्रिया दिनुहोस
स्वतन्त्रबाट जितेका वडाध्यक्षसहित २ दर्जन नेता-कार्यकर्ता एमालेमा प्रवेश

    बैतडीमा स्वतन्त्रबाट निर्वाचित वडाध्यक्षसहित विभिन्न दलका करिब २ दर्जन नेता कार्यकर्ता

विपक्षी दलहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै

    संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् ।

ट्रेड युनियन अधिकारसहित निजामती सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित सङ्घीय

एमालेसँग सहमतिमै अघि बढेका छौँ, कुनै समस्या छैन : देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नभएको