नेपालको संविधान विश्वकै उत्कृष्ट, अब जनताले भोकै बस्नु पर्दैन, सबै नेपाली अधिकार सम्पन्न



 

 

हामी संविधान कार्यान्वयनको चरणमा छौं । यस क्रममा देशले नयाँ राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्राप्त गर्‍यो । सबै तहको निर्वाचन सम्पन्न भयो । संविधानको कार्यान्वनबारे केही प्रश्न उठिरहेका बेला तीनवटै तहको निर्वाचन सम्पन्न हुनुले एकप्रकारको सुनिश्चिता प्रदान गर्‍यो ।

 

सबै दल निर्वाचनमा सहभागी भए । अघिल्लो संविधानसभाको निर्वाचनलाई अस्वीकार गर्ने दलहरुले समेत भाग लिए । अन्ततः संविधानलाई सबैले स्वीकार गरे । हामीले ३ वर्षभित्रै बनाइसक्नुपर्ने मौलिक हकसम्बन्धी कानुन बनाइसकेका छौं ।

 

हाम्रो संविधानसभा निकै समावेशी रह्यो । सबै किसिममा राजनीतिक दलहरु संविधान सभामा उपस्थित भए । झन्डै ३१ दल संविधानसभामा सहभागी भए । पञ्चायती व्यवस्थालाई समर्थन गर्नेदेखि त्यसविरुद्ध संघर्ष गरेका र यी कुनै पनि प्रकृयाबाट हुँदैन भन्दै सशस्त्र आन्दोलन नै गर्न पुगेका पार्टीसमेत सहभागी भए । त्यसले संविधान निर्माण प्रक्रिया निकै जटिलसमेत बनायो।

 

 

निर्माणका उतारचढाव  

नेपालमा संविधान निर्माणका लागि दुई पटक निर्वाचन गर्नु पर्‍यो । विश्वमा यस्तो देखिँदैन । पहिलो संविधानमा ८० प्रतिशत काम सकियो भन्यौं । तर, संविधान बन्न सकेन । फेरि अर्को संविधानसभाको निर्वाचन गर्नु झन्डै झन्डै असम्भव थियो ।

 

सबै दलको प्रयासले सम्भव भयो । त्यसपछि धेरै अप्ठेरा आए । शून्यबाट थालनी गरौं भने झनै अप्ठेरो हुने । चार वर्ष काम गरेको पृष्ठभूमि खेर जाने । त्यसलाई जोड्न समस्या भयो । तर, हामीले मेहनतसाथ पहिलो संविधानसभाको उपलब्धिलाई जोड्यौं । त्यसको स्वामित्व ग्रहण गर्‍यौं र संविधान निर्माणको प्रकृयालाई पूर्णतामा पुर्‍यायौं ।

 

संविधान निर्माणका बेला दलहरुका आ–आफ्ना खालका अडान थिए । कहिले काँही ‘दलहरुले यति अडान नराखेको भए पनि हुन्थ्यो’ जस्तो लाग्थ्यो । त्यस्तै अडानले बनिसकेको भन्ने लाग्दा लाग्दै पहिलो संविधानसभा नै भंग भयो । पहिलो संविधानसभा भंग हुनु अघिको अन्तिमतिरको दृश्य अहिले पनि सम्झना आउँछ ।

 

जेठ २ गते दलहरुको बिचमा सहमति भयो । तर दलहरु सहमतिमा दुईदिन पनि टिक्न सकेनन् । त्यही सहमतिमा दलहरु टिकेको भए जेठ १४ गते नै पहिलो संविधानसभाबाट संविधान घोषणा हुन्थ्यो ।

 

दलहरु आफ्नो अडानका कारण सहमतिमा पुग्न नसकेको विषय छँदैछ, त्यो भन्दा बढी सहमति गरेर पनि त्यसमा टिकीरहन नसक्नु मुख्य समस्या बन्यो । दललाई भड्काउन सहयोग गर्ने साथीहरु आज सम्झिन्छु । नाम नभनी हालौं । सहमतिमा अडिक रहौं भन्दा उहाँहरुले मलाई भन्नुभएको कुरा अहिले पनि सम्झन्छु । उहाँहरु भन्नुहुन्थ्यो, ‘उधारो होइन नगद चाहिन्छ ।’ अन्ततः संविधानसभा नै भंग भयो ।

 

पहिलो संविधानसभाबाटै देशले संविधान पाएको भए अहिलेको भन्दा राम्रो संविधान पाउने थियो भन्ने कतिपयको भनाइ छ । तर कतिपय भन्छन्, ‘पहिलो संविधानसभा भत्किएको हुनाले जुन यथार्थ हो त्यसप्रति सबैको ध्यान गयो र अहिले अझ राम्रो संविधान बन्यो ।’ दुबै थरी मत छ । पहिलो संविधान सभाबाटै संविधान बनेको भए अहिलेको भन्दा तुलात्मक रुपमा समावेशी संविधान बन्थ्यो कि भन्ने मलाई पनि लाग्छ ।

 

धर्म निरपेक्षको मुद्दालाई लिएर भारतले नाकाबन्दी लगायो भन्ने पनि कसैकसैले चर्चा गरेको सुनें । तर मलाई त्यो थाहा भएन । नेपाली जनता आफ्नो संविधान बनाउन आफै सक्षम छन् भन्ने प्रमाण हामीले देखायौं । सबैको सन्तुष्टि र भावनालाई समेट्दै हामी अगाडि बढ्छौं । त्यो क्षमता हामीसँग छ ।

 

हाम्रो छिमेकीले संविधान बनाउने सन्दर्भमा प्रश्न उठाएर नाकाबन्दी गरेको कुरा आयो । त्यो यथार्थ हो । तर त्यो नाकाबन्दी गलत थियो । दुर्भाग्यपूर्ण छ । तर अहिले नाकाबन्दी लगाउनेलगायत हामी सबै एउटा सुखद निष्कर्षमा पुगेका छौं ।

 

 

तीन वर्षमा कति उपलब्धी ? 

संविधान जारी भइसकेपछि राजनीतिक लडाईं त सकियो तर हामी तुरुन्तै अगाडि बढ्न सकनौं । संविधान कार्यान्वयनका सन्दर्भमा केही जटिलता आए । अब अहिले हामी त्यो जटिलता फुकाएर अगाडि बढ्न थालेका छौं ।

 

तीनवटै तहको निर्वाचन सम्पन्न गरेर अगाडि बढेका छौं । यो विन्दुमा हामीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेका छौं । अब जनताले परिवर्तन महसुस गर्ने ढंगले हामीले काम गर्न सक्नुपर्छ ।

 

जनताले नयाँ संविधान पाइसकेपछि पनि सामाजिक न्याय र सामाजिक सुरक्षाको दृष्टिबाट केही समस्या देखिएका छन् । तर यो समस्या नयाँ होइन । हिजोदेखि समाजमा रहेका विकृति, विसंगती, हिंसा अझै प्रकट भइरहेका छन् । यो ठिक होइन । यसलाई नियन्त्रण गर्नुपर्छ ।

 

 

संविधानको अपनत्वमा केही पनि समस्या छैन । तीन तहको निर्वाचन सम्पन्न भइसक्दा सबैले संविधानलाई स्वीकार गरिसकेका छन् । यसले संविधानमाथि सबै दलको अपनत्व र स्वामित्व देखाउँछ । असन्तुष्टिहरु भने छन् । असन्तष्ट हुनु भनेको संविधानको अस्विकार्यता होइन ।

 

भारतमा १२२ पटकभन्दा बढी संविधान संशोधन भएको छ । तर अहिले पनि त्यहाँ असन्तुष्टि छ । त्यसैले यो संविधान लोकतान्त्रिक विधि बमोजिम समावेशी संविधान सभाबाट सहभागितामूलक ढंगले ५ वर्ष ८ महिना लगाएर बनाइएको हो । सबैले सम्झौता गरेका छन् । समझदारीको दस्तावेजका रुपमा यो संविधान बन्न पुगेको हो ।

 

त्यसैले यो संविधानलाई अब हामीले परिणाम आउने गरी देश, जनताको हितमा, देशलाई समृद्धि र जनतालाई सुखी बनाउन लागू गर्नु पर्छ । कहिँ असन्तुष्टि छ भने देश र जनताको हितमा समय सापेक्ष परिवर्तन र परिमार्जन गरी अगाडि बढ्नुपर्छ ।

 

 

संविधानमा समाजवादउन्मुख भनिए जस्तै समाजवादमा पुग्ने आधार निर्माण गर्दै हामी अगाडि बढिरहेका छौं । त्यसको परिणाम हेर्ने अहिले समय भइसकेको छैन । संविधान उन्मुख भनेको के हो भन्नेबारे पनि संविधानमा लेखिएको छ । त्यो शब्दलाई लिएर धेरै आलोचना र माथपच्ची गर्नुको कुनै तुक छैन । कतिपय साथी यसबारे माथापच्छी गरिरहेको देख्छु ।

 

हामीले भनेको समाजवादको विशेषता आवधिक निर्वाचन, बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष, स्वतन्त्र न्यायपालिका, कानुनको शासन, मानवअधिकार हो । यस आधारमा उभिएर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशितालाई स्थापित गर्नु हाम्रो प्रष्ट उदघोष हो । समाजवादउन्मुख भनेर कोही पनि अत्तालिनु पर्दैन ।

 

 

वितेको तीन वर्षमा देखिएका मूल परिदृश्य भनेको सिंहदरबारको अधिकार जनताको विचमा पुग्ने गरेर स्थानीय तह स्थापित गर्‍यौं । त्यो स्थानीय तहसँग कार्यकारिणी अधिकारसमेत छ । न्यायिक अधिकार पनि छ । प्रदेश संसद पनि स्थापित भयो ।

 

संविधान निर्माण गरिसकेपछि हामी नाकाबन्दीका छट्पटियौं । नाकाबन्दी रहिरहेको भए के हुन्थ्यो रु अहिले त्यो नाकाबन्दीलाई सम्बोधन गर्दै नाकाबन्दी लगाउने मित्रहरुसँग पनि सुमधुर सम्बन्ध स्थापित गरेका छौं ।

 

 

छिमेकी चीनसँग सुमधुर सम्बन्ध कायम गर्दै समुद्रसम्म पुग्ने आधार तयार पारेका छौं । भारतवेष्टित अवस्था थियो । तर अब नेपालमा कहिल्यै नाकाबन्दी नलाग्ने अवस्था सिर्जना गरेका छौं । संविधान घोषणाको यो छोटो अवधीमा यति काम सम्पन्न गर्नु सुखद हो ।

 

 

संविधान पूर्णतः कार्यान्वयनमा जानु पर्‍यो । तीन वर्षभित्र मौलिक अधिकारलाई कानुन बनाएर कार्यान्वयन गर्ने जिम्मेवारी थियो । वर्तमान सरकारले यो जिम्मेवारी लिँदा एउटा पनि विधेयकको काम अगाडि बढेको थिएन । अहिले सबै विधयेकमाथि सदनमा छलफल भएर समितिहरुमा छलफल हुने र पारित हुने क्रममा छ । असोज ३ गतेसम्म यी सबै कानुन बनिसक्दा जनता अधिकार सम्पन्न हुनेछन् ।

 

यो अधिकार पाइसकेपछि आर्थिक लगायत सबै पक्षमा जनता समृद्ध हुनका लागि कानुनलाई व्यवहारमा राम्रोसँग कार्यान्वयन गर्दै अगाडि लानु पर्छ । त्यस दिशातर्फ हामी क्रमशः अगाडि बढेका छौं ।अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र