निर्मला बलात्कार तथा हत्या प्रकरण : कञ्चनपुरदेखि काठमाडौंसम्मको कहर



 

पहिलोपटक ९ भदौ ०७५ मा कञ्चनपुरको महेन्द्रनगर पुग्दा स्थानीय प्रहरी र सिआइबीको नयाँ टोलीले निर्मला बलात्कार तथा हत्या प्रकरणमा पाँचौँ अभियुक्तका रूपमा दिलीपसिंह विष्टलाई पक्राउ गरिसकेको थियो । उनलाई ३ भदौ साँझ ८ बजे पक्राउ गरी ४ भदौमा सञ्चारकर्मीसामु सार्वजनिक गरिएको थियो ।

 

त्यसअघि ३ भदौमा नास्पाती किन्ने बहानामा विष्टको घरमा पुगेका सादा पोसाकका प्रहरीले उनको सुकाइराखेको सर्टको खल्ती च्यातेर ल्याएका थिए, जुन अर्को दिन घटनास्थलमा फेला परेको थियो । यसबाट प्रहरी जबर्जस्ती अर्को एक निर्दोषलाई अपराधी साबित गर्न खोजिरहेछ भन्ने शंका झनै चुलियो । परिणामतः महेन्द्रनगर आन्दोलित बन्यो ।

 

किनकि, त्यसअघि प्रहरीले अन्य ४ निर्दोषलाई हिरासतमा लिई जबर्जस्ती अपराध कबोल गर्न यातना दिइसकेको थियो । दीपक नेगी र जीवन घर्ती मगरलाई शव फेला परेकै दिन ११ साउनमा पक्राउ गरी १० दिनसम्म हिरासतमा लिएर यातना दिएर छाडिएको थियो । १८ साउनमा स्थानीय किशोरी हेमन्ती भट्टलाई गैरन्यायिक रूपमा दिवा हिरासतमा लिई ५ दिनसम्म यातना दिइयो ।

 

र चौथो अभियुक्तका रूपमा २१ साउनमा स्थानीय चक्रदेव बडूलाई गैरकानुनी हिरासतमा लिइयो । चार दिनसम्म परिवारका सदस्यलाई पनि भेट्न दिइएन । प्रहरी जवानका रूपमा रोल्पामा कार्यरत उनका दाजु आएपछि मात्र ३१ साउनमा उनलाई छाडियो ।

 

छद्म अभियुक्तको निरन्तर खोजी

अपराधका घटनामा तत्कालै अपराधी पक्राउ नपर्न सक्छन् । अनुसन्धान प्रक्रियामा केही समय लाग्न सक्छ । तर, प्रहरीले निर्मलाको शव बरामद गरेसँगै निरन्तर छद्म अभियुक्तको खोजी गर्नुले ‘कसलाई जोगाउन यस्तो गरिँदै छ ?’ भन्ने शंका उत्पन्न हुनु स्वाभाविक थियो । प्रहरीले पक्राउ गरेकामध्ये मगर र विष्टको मानसिक अवस्था ठीक थिएन भने नेगी एचआइभी संक्रमित हुनुका साथै गम्भीर प्रकृतिका यौन रोगी थिए ।

 

विष्टलाई पक्राउ गर्नुको कारणसम्बन्धी प्रतिवेदनले पनि प्रहरी नियतलाई स्पष्ट पार्छ । प्रतिवेदनमा उल्लेख छ, ‘बलात्कार र कर्तव्य ज्यान मुद्दामा जेलबाट छुटेका अपराधीको सूची तयार गरी निजहरूको खोजतलास तथा सोधपुछ गरिरहेकोमा अभियुक्त दिलीपसिंह विष्टसमेतको खोजी गर्दै जाँदा मिति ०७५ भदौ ३ गते अन्दाजी साँझको ८ बजेको समयमा उक्त घटनास्थलमा साइकल भेटिएको स्थानबाट करिब ५० मिटर पश्चिमतर्फ सडक किनारामा हातमा लाठी लिई उभिइरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएका सादा पोसाकका प्रहरीले फेला पारी नियन्त्रणमा लिइएको हो ।’

 

यसबाहेक विष्टलाई पक्राउ गर्नुको अन्य ठोस आधार प्रहरीसँग थिएन । यो प्रतिवेदनअनुसार प्रहरीले छद्म अभियुक्त खडा गर्नकै लागि यस्तो व्यक्तिको खोजी गरिरहेको थियो, जसको विगत बदनाम होस् । त्यसैले निर्दोष विष्टलाई पक्राउ गर्‍यो र बन्दुकको टुप्पोले घोचेर यातना दिँदै अपराध सकार्न लगायो ।

 

यी नयाँ रहस्यबारे प्रहरी मौनता

दोस्रोपटक २३ भदौमा महेन्द्रनगर पुग्दा केही थप नयाँ तथ्य खुलेका छन्, जसबारे प्रहरीले अहिलेसम्म मुख खोलेको छैन । मानवअधिकार आयोगको एक कार्यक्रममा सहभागी हुन पुगेका वेला २२ भदौमा केही स्थानीय महिलाले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसमक्ष थप कुरा खोलेका थिए, ती रहस्यमाथिको छानबिनका लागि प्रहरीले कुनै अग्रसरता देखाएको छैन ।

 

बमको घरमा भएको हल्ला :

स्थानीय महिला समूह र अगुवाले आइजिपी खनालसमक्ष निर्मला हराएको वविता र रोशनी बमको घरमा सोही दिन राति हल्लाखल्ला सुनेको बताएका थिए । आइजिपीसँगको छलफलका वेला उपस्थित कान्तिपुर दैनिकका पत्रकार चित्राङ्ग थापाका अनुसार छिमेकमा भैँसी ब्याएकाले साल नझरुन्जेल रुँगेर बस्दा त्यस्तो हल्ला सुनिएको उनीहरूको भनाइ थियो । उनीहरूले ओपेरा होटेलमा भएको निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टको जन्मदिनको पार्टीको प्रसंग पनि निकालेका थिए ।

 

ओपेराको जन्मदिनको पार्टी :

ती महिलाले ओपेरा होटेलमा निलम्बित एसपी डिल्लीराज विष्टका छोरा किरणराज विष्टले जन्मदिनको पार्टी दिएको र फोटो सेसन गरेको बताएका थिए । मोडल बनाइदिने भन्दै नयाँ लुगासमेत किनिदिएर निर्मलालाई बोलाइएको जानकारी आइजिपीलाई गराएका थिए । तर, सुरुदेखि नै यो विषयमा छानबिन गर्न आग्रह गर्दा स्थानीय प्रहरीले बेवास्ता गरेको उनीहरूको भनाइ थियो ।

 

आइजिपीलाई जानकारी गराउँदासम्म ढिलो भइसकेको थियो । किनकि, होटेलको सिसिटिभी फुटेजको संग्रहणीय क्षमता १५ दिन मात्र थियो । तर, होटेल प्रशासन र कर्मचारीसँग बुझेर पनि केही तथ्य जुटाउन सकिने अवस्थामा प्रहरीले त्यसतर्फ कुनै ध्यान दिएन ।

 

फेसबुकबाट फोटो हटाइयो :

किरणराजको ‘वाइज किरण’ नामको फेसबुक खाता छ । खातामा उनले आफूलाई ‘फ्रिलान्स फोटोग्राफर, भिडियोग्राफर र ड्रिमरका रूपमा चिनाएका छन् । सुरुमा उनले जन्मदिन पार्टीको र फोटो सुटका तस्बिरहरू फेसबुकमा अपलोड गरेका थिए । तर जसै उनी पनि शंकाको घेरामा तानिए, ती सबै फोटो हटाइयो ।

 

 

काटिएको अम्बाको रुख :

बमको आँगनमा एउटा अम्बाको रुख थियो । प्रहरीले निर्मलालाई सोही रुखमा झुन्ड्याइको हुन सक्ने कोणबाट पनि अनुसन्धान थालेको थियो । त्यससँगै बम परिवारले अम्बाको त्यो रुख काटिदियो । आत्महत्या गरेको देखाउने प्रयासअनुरूप त्यसो गरिएको भन्ने कोणबाट छानबिन भइरहेका वेला रुख काटिएको प्रहरीका एक जुनियर अधिकृतले नाम नबताउने सर्तमा जानकारी दिए ।

 

निर्मला हराएकै दिन दिउँसो साढे ४ बजेतिर घटनास्थलनजिकैको नहरमा डुबेको अवस्थामा साइकल देखेको बताउने धना भण्डारीले कापी र अम्बाको झोला भने नदेखेको बताएकी छिन् ।

 

अघिल्लो रातभर पानी पर्दा पनि नभिजेको अवस्थाको कापी र अम्बाको एउटा पोको भोलिपल्ट मात्रै देखेको उनको भनाइ छ । ती जुनियर प्रहरी अधिकृत भन्छन्, ‘अम्बाको रुखमा झुन्ड्याइएकाले त्यसमा निर्मलासम्बन्धी केही प्रमाण भेटिने सम्भावना थियो । त्यसैले निर्मलाले अम्बा टिप्दा त्यो प्रमाण रहेको हुन सक्ने तर्क गर्न अम्बाको झोला घटनास्थलमा लगेर राखिएको हुन सक्छ ।’

 

निर्मलाको शव फेला परेपछिको एक भिडियोमा घटनास्थलमा खटिएका कर्मचारीले उनको टाउको तीन चारपटक हल्लाएको देखिन्छ । घटनाको भिडियो हेरेका एक अर्थोपेडिक सर्जनका अनुसार झुन्ड्यार हत्या गरिएको अवस्थामा घाँटी त्यसरी लुलो हुन्छ । ‘सामान्यतया अन्य अवस्थामा मृत भइसकेपछि शव अररो हुन्छ र घाँटी त्यसरी हल्लँदैन ।

 

तर, झुन्ड्याइएको अवस्थामा मेरुदण्डसँग जोडिएको घाँटीको हाड भाँचिन्छ र लुलो बन्छ,’ ती चिकित्सकले भने । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक साइन्स विभागका डा. गोपाल चौधरीका अनुसार मृत्यु भएको कति समयपछि शव बरामद भयो भन्ने आधारमा पनि घाँटीको अवस्थामा फेरबदल हुन्छ ।

 

‘सुरुको २–३ घन्टाको अवस्थामा पनि घाँटी लुलो हुन सक्छ । र २०–२२ घन्टापछि पनि लुलो हुन सक्छ । यसबीचको अवधिमा अररो पनि हुन सक्छ । क्यापिटल पनिस्मेन्टमा चाहिँ मेरुदण्डसँग जोडिएको घाँटीको हाड भाँचिनैपर्छ । जस्तो मृत्युदण्ड भएका मुलुकमा दिइने फाँसीमा मेरुदण्डसँग जोडिएको भाग भाँचिएकै हुन्छ । तर, व्यक्ति आफैँले गर्ने आत्महत्यामा त्यस्तो नहुन पनि सक्छ ।’

 

 

मामा तीर्थराजको दबाब :

निर्मलाको शव सद्गत गर्न मामा तीर्थराज भण्डारीले किन दबाब दिए भन्नेतर्फ पनि प्रहरीले कुनै छानबिन नगरेको निर्मलाका पिता यज्ञराज र स्थानीयको गुनासो छ । शव दाहसंस्कार गर्न दबाब दिएर हिँडेका उनले किन त्यसपछि आफ्नो मोबाइल बन्द गरे भन्ने अर्को प्रश्न तेर्सिएको छ । तीर्थराज एमालेनिकट अनेरास्ववियु डोटीका पूर्वअध्यक्ष र हाल नेकपामा सक्रिय रहेकाले सत्तालाई सघाउने गरी दबाब दिएको आरोप उनीमाथि छ ।

 

तर, तीर्थराज भन्छन्, ‘सिडिओ, एसपी, मेयरलगायतले आन्दोलनका कारण घटनाको प्रभावकारी अनुसन्धान हुन नपाएको बताए । शव दाहसंस्कार गरिए आन्दोलन मत्थर हुने र त्यसपछि अनुसन्धानमा लाग्न पाइने भन्ने उनीहरूको आश्वासनका कारण मैले असल नियतले दाहसंस्कार गर्न जोड दिएको हुँ । तर, अहिलेको प्रहरी अनुसन्धान मलाई पनि चित्त बुझेको छैन ।’

 

अनि मोबाइल किन बन्द गर्नुभयो भन्ने प्रश्नमा उनको जवाफ छ, ‘मेरो मोबाइलको डिस्प्ले बन्द भएकाले एकजना भाइको मोबाइल चलाएको थिएँ । मैले प्रहरीलाई त्यही नम्बर दिएको थिएँ । पछि धनगढी पुगेर मैले मोबाइल बनाएँ र आफ्नै सिम चलाउन थालेँ । अर्को नम्बर किन बन्द भयो, थाहा छैन । तर, मेरो नम्बर त्यसपछि सुचारु नै छ ।’

 

अनुसन्धान थप प्रभावित पार्ने यी त्रुटि

सुरुवाती प्रहरी सक्रियता र अनुसन्धान प्रभावकारी नभएको भन्दै परिवारजन र स्थानीय आन्दोलनमा उत्रिएपछि प्रहरीले नयाँ टोली गठन गर्‍यो । तैपनि प्रहरी प्रशासनबाट निरन्तर थप त्रुटि हुँदै गए । जसका कारण अहिलेसम्म पनि निर्मला हत्या तथा बलात्कार प्रकरणमा प्रभावकारी अनुसन्धान हुन नसक्नुका साथै दोषी पक्राउ पर्न सकेका छैनन् ।

 

पुरानो टोलीलाई काठमाडौं झिकाइनु :

प्रहरी मुख्यालयले निलम्बित एसपी डिल्लीराज विष्टसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्कालगायतलाई काठमाडौं झिकाउनु अर्को गल्ती भयो ।

 

जसका कारण गृहसचिव हरि मैनालीको संयोजकत्वमा तीन सुरक्षा निकायका डिआइजी सम्मिलित नयाँ छानबिन समितिले उनीहरूमाथि केरकार गर्नै पाएन । बरु उल्टै काठमाडौंका विभिन्न शक्तिकेन्द्रमा धाएर आफूलाई जोगाउन लबिङ गर्ने अवसर उनीहरूले पाएको सुरक्षा स्रोत बताउँछ ।’

 

प्रधानमन्त्रीको अभिव्यक्ति :

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि निर्मला बलात्कार तथा हत्या प्रकरणमाथिको नयाँ छानबिन प्रक्रिया थप प्रभावित भएको सुरक्षासम्बद्ध स्रोतको भनाइ छ । २२ भदौमा ‘जनतासँग सीधा कुरा’ नामक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले गत शुक्रबार निर्मला हराएको घरका दिदीबहिनी वविता र रोशनी बमको पक्षमा र वास्तविक अपराधी पक्राउ गर्न नागरिकले गरेको शान्तिपूर्ण प्रदर्शनको विरोधमा अभिव्यक्ति दिएका थिए ।

 

निर्मला प्रकरणबारे केही भनिदिनुहुन्छ कि ? भन्ने सञ्चालकको प्रश्नमा प्रधानमन्त्री ओलीले बलात्कारपछि हत्याजस्तो विषयको छानबिनभन्दा पनि सुरुमै आन्दोलनलाई लक्षित गरी टिप्पणी गर्दै भने, ‘अहिले नेपाली समाजलाई अधोगतिमा, एउटा सभ्यताको अधोपतनतिर लाने प्रयास भएको छ ।

 

कतिपय सामाजिक सञ्जालमा, अनधिकृत अनलाइनहरूमा समाजलाई विकृतितर्फ लाने अनेक कथा ल्याएर मानिसलाई उत्प्रेरित गर्ने, समाजलाई ढाँट्न, छल्न, अनैतिकता र व्यभिचार सिकाउने संगठित प्रयास भएका छन् । जसले समाजलाई सांस्कृतिक, नैतिक अधोपतनतिर धकेल्ने प्रयास भइरहेको छ ।’

 

‘त्यो सम्बन्धित भनिएको घरका दिदीबहिनीलाई के–के भनिया छ ? के–के गरिया छ ? समाजले के गरेको छ ? त्यस्तो गर्न हुन्छ ? महिला हिंसा भएन ? नारी अस्मिताका नाममा, महिलाविरुद्धको हिंसाका नाममा ती दिदीबहिनीलाई आत्महत्या गर्न बाध्य पार्ने ?’ नेपाल टेलिभिजनबाट प्रसारित उक्त कार्यक्रममा बम दिदीबहिनीको बचाउ गर्दै प्रधानमन्त्रीले भनेका छन् ।

 

प्रधानमन्त्रीले पोस्टमार्टम गरेर परिवारले सद्गत गर्ने तयारी गरिरहेका वेला स्थानीयले शव खोसेर मेयरको आँगनमा पुर्‍याएको भन्ने झुटो अभिव्यक्ति पनि दिए । जब कि निर्मलाको शव उनको घर लगिएकै थिएन ।

 

प्रधानमन्त्रीले शंकाको प्रमुख केन्द्रमा रहेका बम दिदीबहिनीका पक्षमा अभिव्यक्ति दिएपछि नयाँ आएको जिल्ला प्रहरी नेतृत्व र सिआइबीको टोलीको अनुसन्धान प्रभावित भएको छ । नयाँ टोलीलाई सुरुदेखि नै थाहा थियो कि दिलीपसिंह विष्ट छद्म अभियुक्त हुन् र नयाँ शिराबाट अनुसन्धान गर्नुपर्छ ।

 

विष्टको डिएनए परीक्षण प्रतिवेदन आउनुअघि नै जिल्लाका नयाँ एसपी कुबेर कडायतले नयाँ पत्रिकासँग भनेका थिए, ‘डिएनए परीक्षण प्रतिवेदनमा दिलीपसिंह दोषी हुन् भन्ने देखियो भने बेग्लै कुरा, त्यसबाहेक उनलाई दोषी ठहर्‍याउने कुनै प्रमाण छैन ।’

 

महेन्द्रनगरबाट प्रकाशन हुने स्थानीय दैनिक मानसखण्डका प्रकाशक तथा सम्पादक खेम भण्डारी स्थानीय पूर्वमाओवादी नेता निलम्बित एसपी जोगाउन लागिपरेको बताउँछन् । नेकपाप्रति नै आस्था राख्ने भण्डारी भन्छन्, ‘केही स्थानीय पूर्वमाओवादी नेता निलम्बित एसपी जोगाउन सक्रिय छन् ।

 

उनीहरूले पूर्वमाओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापालाई जे ब्रिफिङ गरे, थापाले प्रधानमन्त्रीलाई त्यही जानकारी गराए । प्रधानमन्त्रीको अभिव्यक्ति र स्थानीय केही पूर्वमाओवादीका नेताको कुरा हुबहु सुनिन्छ । प्रधानमन्त्रीजस्तो मान्छेले अभिव्यक्ति दिनुअघि तथ्यहरूको फरक ढंगले जाँच गर्नुपथ्र्यो ।’

 

 

प्रमाण मेट्ने प्रहरीलाई  हिरासतमा किन लिइएन ?

गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँचजना प्रहरी अधिकृतलाई निलम्बन गरेको छ ।

 

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले शनिबार गृहमन्त्री रामबहादुर थापासमक्ष पेस गरेको प्रतिवेदनका आधारमा जिम्मेवारीपूर्वक काम गर्न नसकेका दुई डिएसपीसहित ५ जनालाई थप अनुसन्धानका लागि निलम्बन गरेको जनाएको छ ।

 

 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई यसअघि नै निलम्बन गरिसकिएको छ । शनिबार प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, सिआइबीका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको हो ।

 

प्रमाण मेट्ने काममा संलग्न रहेको र सुरुदेखि नै अनुसन्धानमा गम्भीर लापर्बाही गरिएको भन्दै उनीहरूलाई निलम्बन गरिएको हो ।

 

 

कानुनमा प्रमाण मेट्ने कार्यमा संलग्न जो–कोहीलाई दण्ड, सजायको व्यवस्था छ । नयाँ कानुनमा त दोषीसरह वा आधा सजायको व्यवस्था छ । नयाँ अपराध संहिता दफा ३६ को ‘मतियार हुन नहुने’ उपशीर्षकको उपदफा ३ को (क) मा भनिएको छ, ‘आपराधिक षड्यन्त्रमा संलग्न भई कसुर गर्ने, साधन वा ठाउँ उपलब्ध गराइदिने, जसविरुद्ध कसुर गरिएको हो, त्यस्तो व्यक्तिलाई निजी रक्षाको अधिकारबाट वञ्चित गराउने वा कसुर गर्न आदेश वा सल्लाह दिनेलाई त्यस्तो कसुर निजले गरेसरहको सजाय हुनेछ ।’

 

त्यसैगरी (ख) मा उल्लेख छ, ‘खण्ड (क) मा लेखिएकोबाहेक अन्य मतियार भए कसुर भए गरेको काममा निजको संलग्नताको मात्राअनुसार त्यस्तो कसुर गरेबापत हुने सजायको बढीमा आधासम्म सजाय हुनेछ ।

 

’प्रमाण मेटेको र अनुसन्धान प्रक्रियामा लापर्बाही गरेको अभियोगमा निलम्बित प्रहरी अधिकारीको हकमा त (क) कै व्यवस्था आकर्षित हुन्छ । यस्तोमा उनीहरूलाई निलम्बन गरेर मात्र पुग्दैन, हिरासतमै लिएर छानबिन अगाडि बढाउनुपर्छ ।

 

गृहको छानबिन समिति र सिआइबीको नयाँ टोलीले ती प्रहरी अधिकारीको त्रुटि यसअघि नै औँल्याइसकेको अवस्थामा तत्कालै नियन्त्रणमा लिएर छानबिन गरिनुपर्नेमा ढिलो गरी निलम्बन मात्र गरिएको छ । न्यायको गुहार लगाउँदै निर्मलाका आमाबुबा यज्ञराज र दुर्गादेवी काठमाडौंसम्मै आइपुगेका छन् ।

 

देशभर ‘निर्मलालाई न्याय देऊ’ भन्दै प्रदर्शन भएका छन् । तैपनि सरकार र प्रहरी प्रशासन अझै घटनाको छानबिनमा जिम्मेवार देखिँदैन । त्यसकारण फेरि पनि प्रश्न उठ्छ– निर्मला बलात्कार र हत्या प्रकरणमा को त्यस्तो ‘शक्तिशाली’ संलग्न छ, जसलाई जोगाउन प्रहरी नेतृत्व प्रमाण मेटिरहेको छ र यो सबै थाहा पाएको राज्य संयन्त्र उदासीन बनिरहेको छ ?

सरोजराज अधिकारी नयाँपत्रिका

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र