सुनकाण्ड : डीएसपी प्रजित केसी पनि साधारण तारेखमा छुटे
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रहरी नायब उपरीक्षक डीएसपी प्रजित केसी साधारण तारेखमा छुटेका छन् । उच्च अदालत विराटनगरको आदेशमा उनी साधारण तारेखमा छुटेका हुन् ।
त्यस्तै साढे ३३ किलो सुन तस्करीका मुख्य योजनाकार मानिएका चुडामणि उप्रेती गोरेका सहयोगी रामकुमार केसीलाई भने उच्च अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
सुन तस्करी र सनम शाक्य हत्यालगायतको अभियोगमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाए पनि अभियुक्तले उच्च अदालतमा अपिल गरेका थिए । यसअघि गत शुक्रबार उच्च अदालतले एसएसपी दिवेश लोहनीलाई पनि साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।
अब चर्पी छ, कोठा छन्, ज्वाईं दशैंमा आउँछन्
फूलमाया तामाङको नाममा फूल जोडिए पनि बाल्यकालबाटै जीवन भने काँडाजस्तै भयो । सानैमा उनका आमाबुवा बिते । उनी भारतको आसाममा अर्काको घरमा काम गर्दै हुर्किन् । अक्षर चिन्दिनन्, न त आफ्नो जन्ममिति थाहा छ । भन्छिन्, ‘जन्म दिने आमा मरिन् । कसरी जन्ममिति थाहा पाउनु?’
आफ्नो जन्ममिति आफूलाई थाहा नभए पनि गत साल आएको नागरिकताको टोलीले उनको उमेर ५० वर्ष बनाइदिएको छ । कारण देखाउँदै उनी भन्छिन्, ‘बुढा ६० को भएकाले मलाई ५० वर्ष बनाइदिए ।’
बच्चाबाटै अभिभावक नभएकी फूलमायाको उभिने आफ्नै जमिन थिएन । त्यही भएर मोरङको बेलबारी-५ को लोहन्द्रा पुल नजिक खोलाको बगरमा बसिन् । फूलमाया र उनका श्रीमान् प्रेमबहादुरले बालुवा चालेर छोराछोरी दुःखमा हुर्काए ।
चार वर्षअघि फूलमायाले जेठी छोरीको बिहे पनि दुःखैले गरिन् । उनी भन्छिन्, ‘जेठी छोरी सावित्रीको बिहे त खोला किनारबाटै गरियो ।’
‘अब चर्पी छ, कोठा छन् ज्वाईं दशैंमा आउँछन्’
खोला किनारबाटै छोरी अन्माएर पठाएपछि छोरीज्वाईं घरमा पाहुनाको रूपमा आएकै छैनन् । आउँदा समस्या हुने भएकाले नै नआएको हुनसक्ने फूलमाया बताउँछिन् । ‘खोला किनारको झुप्रोमा दुई कोठा मात्रै छन्,’ तामाङ भन्छिन्, ‘दिशापिसाब बस्ने चर्पी नभएर बिहानै खोलातिर जानुपर्छ ।’
गत वर्षको बाढीमा लाहन्द्रा खोलाले घर बिगारिदियो । त्यसपछि उनीहरूका लागि देश-विदेशबाट सहयोग जुट्यो । बेलायती गोर्खा सैनिकहरूको संस्था गोर्खा पिस फाउन्डेसनले उनीहरूलाई नयाँ घर बनाइदियो ।
अब उनीहरूसँग तीन कोठे पक्की घर, कल र चर्पी सबै छन् । नयाँ व्यवस्थित घरमा काठमाडौंमा काम गर्ने छोरीज्वाईं चाँडै आउनेमा तामाङ ढुक्क छिन् । ‘अब यो दशैंमा छोरीज्वाईं आउँछन् होला,’ तामाङ भन्छिन्, ‘अब चर्पी छ, कोठा छन् ज्वाईंलाई दशैंमा आउन सजिलो छ ।’
बेलबारी-५ कसेनी बस्तीकी तामाङ नयाँ घर हुनुमा थप खुशी हुने अरू कारण पनि छन् । घरको लाजपुर्जा अब उनीहरूसँगै छ । नयाँ पक्की घर खोला किनारमा नभएर निक्कै पर छ । जसले खोला अलिक धमिलो हुनासाथ बाढी बस्छ कि भन्दै जाग्राम बस्ने दुःख छैन । अब पोहोरजस्तै बाढीको समयमा छिमेकी कमला गिरीकोमा शरण माग्नु पर्दैन, उनको परिवारलाई ।
आफू मात्रै होइन, कक्षा-७ मा पढ्ने छोरी सरिता र कक्षा-१० मा पढ्ने छोरा सञ्जीवलाई पनि नयाँ घर बनेपछि सहज भएको छ । पढ्ने ठाउँ फराकिलो भएको छ ।
बुढेसकालमा दुई खोलाले छेक्ने डर
अहिले बनेको नयाँ घरमा सबै कुरा छ । पक्की कोठा छन् । चर्पी छ । राम्रो पानी पेल्ने नयाँ कल छ । कोठा फराकिला छन् । यी सबै कुरामा खुशी फूलमाया तामाङलाई आफ्नो आइतबार मात्रै चाबी पाएको नयाँ घर केही वर्षपछि दुई खोलाले छेक्ने डर छँदैछ ।
नयाँ घरबाट एक किलोमिटर पूर्वमा पहिले विस्थापित बनाउने लोहन्द्रा छ । एक किलोमिटरभन्दा कम दूरी पश्चिममा छ, मरिया खोलो । यी दुवै खोलाले हरेक वर्ष कटान गर्दै आएका छन् । कटान बढ्दै जाँदा दुवै खोलाको मारमा पर्ने डर छ, उनलाई ।
‘लोहन्द्रा पुलको भित्तामा बसेको धेरैपछि बाढीले भत्कायो । यी दुई खोलाले कटान गरेर भत्काउने समयमा त धेरै बुढी हुन्छु होला,’ उनले भविष्यको सम्भावित खतरा औंल्याइन्, ‘अब भत्कायो भने त हाम्रो घरसँगै गाउँ नै भत्काउँछ । त्यो त सरकारले हेर्ला ।’