निर्मला हत्या प्रकरण : कञ्चनपुरमा फेरि चर्कियो आन्दोलन



 

कञ्चनपुरको भीमदत्तनगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको छानविनका लागि केहि समयदेखि प्रहरीलाई सघाउँदै मौन रहेका कञ्चनपुरबासीले फेरि आन्दोलनलाई चर्काउन थालेका छन् ।

 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग राख्दै आज (शुक्रबार) देखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा पुनः आन्दोलन शुरु भएको स्थानीयले जानकारी दिएका छन् ।

 

महिला अधिकारकर्मी, स्थानीय र नेविसंघले चरणबद्ध आन्दोलन विहीबारदेखि शुरु गरेको हो । भदौ ८ गतेको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर स्थानीय किशोर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन पुनः शुरु भएको हो ।

 

उच्चस्तरीय छानबिन समितिलाई काम गर्न दिने भन्दै यसअघि आन्दोलन रोकिएको थियो । समितिले समेत तोकिएको म्यादसम्म सत्य–तथ्य बाहिर नल्याउनु र अहिलेसम्म हत्यारा सार्वजनिक हुन नसकेपछि पुनः दबावमुलक आन्दोलनका कार्यक्रम शुरु गरिएको दबाब मुलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले जानकारी दिएकी छन् ।

 

‘निर्मलाका हत्यारा पक्राउ र निर्मलाले न्याय पाउनुपर्ने हाम्रो शुरुदेखिको माग हो’, संयोजक श्रेष्ठले भनिन् ‘माग पूरा नभएसम्म आन्दोलन रोकिंदैन ।’ हरितालिका तीजका दिनमा कालो पहिरन लगाएर विरोध शुरु गरेका महिलाहरुले बिहीवार महेन्द्रनगर बजारमा थाल ठटाएर प्रदर्शन गरेका थिए ।

 

उनीहरुले बजार क्षेत्रमा प्रदर्शन गर्दै केहीबेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत दिए । ‘हामी निर्मलाका हत्यारा पक्राउ नपर्दासम्म दबावमुलक कार्यक्रम गरिरहने छौं,’ अधिकारकर्मी प्रीतिधिर भण्डारीले भनिन्, ‘यो आन्दोलन भनेकै निर्मलालाई न्याय दिनका लागि हो ।’

 

नेपाल विद्यार्थी संघ कञ्चनपुरले समेत बिहीवारदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम शुरु गरेको छ । ‘निर्मलाका हत्यारा अहिलेसम्म सरकारले पक्राउ गरेको छैन्’, नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले भने, ‘सरकारलाई दबाव दिनकै लागि हाम्रो चरणबद्ध आन्दोलन शुरु भएको हो ।’

 

उनले सरकारले तत्काल निर्मला पन्तको हत्यारा पत्ता लगाइ कार्बाही गर्नुपर्ने, दिलीपसिंह विष्टलाई फसाउन खोज्ने अनुसन्धान अधिकृत र आन्दोलनका क्रममा गोली हान्ने प्रहरीलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सारेको जानकारी गराएका छन् ।

 

‘शुक्रबार हामीले सरकारी कार्यालय र गाडी बन्दको कार्यक्रम बनाएका छौं’, उनले भने, ‘क्रमबद्ध रुपमा आन्दोलन अघि बढ्ने छ ।’ नेविसंघले ३० गते कञ्चनपुर बन्दको आब्हान समेत गरेको छ । ‘अहिले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएका छौं’, केन्द्रीय सदस्य कैलाश चन्दले थपे, ‘त्यसपछि आगामी आन्दोलनका कार्यक्रम अघि बढ्ने छन् ।’

 

काठमाडौंमा न्याया खोज्दै निर्मलाका बा–आमा

जिल्लाको निर्मलाको हत्यारा सार्वजनिक हुनुपर्ने माग फेरि बढ्न थालिरहेका बेला निर्मलाका बुवा–आमासहित अधिकारकर्मीको एक टोली काठमाडौं न्यायको खोजीमा जुटिरहेको छ ।

 

काठमाडौँमा दबाबमुलक कार्यक्रम अन्तर्गत राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मानवअधिकार आयोगसहित राजनीतिक दल, नागरिक समाज लगायतसँग भेट गर्ने कार्यक्रम चलिरहेको जनाइएको छ ।

 

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० औं दिन पुगिसक्दा पनि अनुसन्धान टुंगोमा पुग्न सकेको छैन । प्रहरीले मुख्य अभियुक्त बनाएका ४१ वर्षीय दिलीपसिंह विष्ट निर्दोष सावित भइसकेका छन् भने बम दिदी बहिनी पनि रिहा भइसकेका छन् ।

 

प्रहरीले अनुसन्धानका क्रममा अब शंकास्पद रहेका सबैको डीएनए परीक्षण गर्नेलगायत अनुसन्धान साँघुरो बनाउदै लैजाने बताएको छ । ‘अनुसन्धान निकै सिरियस भएर गरिरहेका छौं’ डीएसपी कृष्णराज ओझाले भने, ‘अब डीएनए परीक्षण शंका लागेका मानिसहरुको समेत गरिन्छ ।’

 

साउन १० गते साथी रोशनीको घरमा होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकैको उखुबारीमा शव भेटिएको थियो । निर्मलाका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै डेढ महिनादेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर आन्दोलनमय बनेको छ ।

 

गृहमन्त्री भन्छन्, ‘निर्मलाका हत्यारालाई छिट्टै कठघरामा ल्याउँछौं’

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शुक्रबार संसदमा बोल्दै निर्मलाका हत्यारालाई चाँडै कठघरामा उभ्याउने बताएका छन् ।

उनले बलात्कार र महिला हिंसा नियन्त्रण गर्न सरकारले शून्य सहनशीलता अपनाएको पनि दावी गरे । प्रतिनिधिसभा बैठकमा निर्मला पन्तको बलात्कारपछि हत्या प्रकारणबारे जवाफ दिंदै गृहमन्त्री थापाले उच्चस्तरीय छानबिन समिति गठन गरेर हत्याबारे छिटोभन्दा छिटो सत्य–तथ्य बाहिर ल्याई छाड्ने प्रतिवद्धटा जनाए ।

 

गृहमन्त्री थापाले भने, ‘निर्मला हत्याबारे अनुसन्धान जारी छ, घटनाको सत्य तथ्य छानबिन गरी न्याय दिलाउने कार्यमा सरकार क्रियाशील छ ।’ छानबिन समितिका एक जना सदस्यले अलग भएको घोषणा गरे पनि उनले राजीनामा नदिएको र उनको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने प्रतिवद्वतापश्चात समितिमा फर्किसकेको उनले जानकारी दिए ।

 

निर्मला हत्याबारे सदन मात्र नभई आम जनताको माग पनि भएकाले निर्मला हत्याबारे सरकार अत्यन्तै गम्भीर भएको गृहमन्त्री थापाले बताएका छन् । यता सांसदहरुले भने निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीको जवाफ चित्तवुझ्दो नभएको प्रतिक्रिया दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्