बलात्कारमा मिलापत्र गराउन सांसदकै घरमा छलफल



हाम्रो इकोनोमि

 

 

बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।

 

गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । सो घटना मिलाउन प्रदेश सांसद आजादले आफ्नै घरमा पञ्चायत (स्थानीयको भेला) राखेका थिए । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखे ।

 

पञ्चायतले बलात्कारको आरोप लागेका अन्सारीसँग एक लाख ७० हजार क्षतिपूर्ति भराउने निर्णय गरेको थियो । सो रकमबाट एक लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर लिने निर्णय गरिएको थियो ।

 

तर, पञ्चायतको निर्णय चित्त नबुझेपछि पीडित परिवार उजुरी लिएर इलाका प्रहरी कार्यालय गरुडा पुगेका थिए । बालिकाकी आमाले अन्सारीविरुद्ध उजुरी दिएकी छिन् । गत २० भदौमा घरमा कोही नभएको मौका छोपी अन्सारीले बलात्कार गरेको उल्लेख छ ।

 

उजुरीपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको छ । उनलाई पक्राउ गरेपछि केही स्थानीयले प्रदर्शन र तोडफोड गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज ओझाले जानकारी दिए । घटनालाई प्रभावित पार्न प्रदर्शन गरिएको ओझाको भनाइ छ ।

 

यता सांसद अब्दुल कलाम आजादले भने बलात्कारको घटना मिलाउने र ढाकछोप गर्ने आफ्नो उद्देश्य नरहेको बताए । गाउँमा भएको घटनाबारे जानकारी लिन मात्र आफूले स्थानीयलाई बोलाएको उनको दाबी छ ।

 

 

आठ वर्षकी बालिका पनि बलात्कृत
रौतहटको बिर्तास्थित प्रहरी आवासीय माध्यमिक विद्यालयका एक विद्यार्थीले आठ वर्षीया बालिका बलात्कार गरेका छन् । प्रहरी विद्यालयमा १० कक्षामा पढ्ने ती विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिका गत २४ भदौमा बलात्कृत भएकी थिइन् । बालिका अभिभावकसँगै भाडाको घरमा बस्थिन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यी हुन् छलफल गराउने सांसद
मिलापत्रका लागि दबाब दिने प्रदेश सांसद फुलबाबु भनिने अब्दुल कलाम आजाद गत निर्वाचनमा रौतहट क्षेत्र नं. ४ (ख) का सांसद हुन् । उनी निर्वाचनअघिसम्म कांग्रेस राजनीतिमा थिए । तर, टिकट नपाएपछि संघीय समाजवादी फोरमबाट उम्मेदवार भए ।

 

गढिमाई नगरपालिका– ३ गमरिया बिर्ताका स्थायी बासिन्दा आजाद ०५४ सालमा तत्कालीन गमरिया पर्सा गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गणतन्त्र आइसकेपछि उनी केही समय प्रकाश कोइराला समूहमा लागेर हिन्दू राज्यको माग गर्दै हिँडेका थिए ।नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...