सप्तरीमा स्वाइन फ्लु भेटियो, भीडमा नजाऔं र हिँड्दा पनि मास्क लगाउँ



हाम्रो इकोनोमि

 

सप्तरीमा स्वाइनफ्लु र हङकङ फ्लु रोग फेला परेको छ । जिल्लाको कञ्चनरुप र हनुमाननगर कंकालनी नगरपालिकामा यो दुबै रोग फेला परेको हो ।

 

कञ्चनरुप नगरपालिकामा ज्वरोका कारण तीन जनाको मृत्यु भएपछि स्वास्थ्य सेवा विभागबाट चिकित्सकहरुको टोली यहाँ आएर रगत संकलन गरी परीक्षण गरेको थियो ।

 

परीक्षण गरिएको रगतबाट एक जनामा स्वाईन फ्लु (एचवानएनवान) र १० जनामा हङकङ फ्लु (एच थ्री एन टू) को भाइरस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरञ्जन यादवले जानकारी दिए ।

 

केही दिनअघि कञ्चनरुप नगरपालिका ७ का १४ बर्षका दिवश बस्नेत, वडा नम्बर ३ का १४ वर्षका किशोर राम र वडा नम्बर ९ का १४ बर्षका आमोदकुमार रामको ज्वरोका कारण मृत्यु भएको थियो । एक महिनाको बीचमा ज्वरोका कारण तीन जनाको मृत्युपछि अनुसन्धान गर्न स्वास्थ्य विभागबाट चिकित्सकहरुको टोली यहाँ आएको थियो ।

 

 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. प्रकाश साहसहितको टोली र डब्लुटिओ विराटनगर फिल्ड कार्यालयबाट डा. सन्ध्या भगत अनुसन्धान गर्न आउँदा रगतको नमुना संकलन गरेका थिए ।

 

 

तीन दिनसम्म रगत जाँचका लागि शिविरै सञ्चालन गरिएपछि १ हजार १ सय २२ जनाले रगत जाँच गराएका थिए । जाँच गरिएकामध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा कञ्चनरुप ७ बलुवाका ६० वर्षका हरिलाल साहमा स्वाइन फ्लुको संक्रमण पाइएको छ ।

 

कञ्चनरुपकै ४ जना तथा हनुमाननगर कंकालनी नगरपालिकाका ६ जनामा हङकङ फ्लु फेला परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लु कहाँबाट सरेर आएको हो ? भन्ने कुरा यकीन हुन नसकेको जनस्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए । यद्यपी भारतको झारखण्ड राज्यस्थित बाबाम धाम पुगेर आएकाहरुबाट यो रोग सरेको हुन सक्ने आशंका गरिएको छ ।

 

 

भीडभाड नगरौं, भीडमा नजाऔं

जिल्लामा स्वाइन फ्लू र हङकङ फ्लू फेला परेपछि चिकित्सकहरुले सावधानी अपनाउन जिल्लाबासीसँग आग्रह गरेका छन् । उनीहरुले नियमित र खाना खाने समयमा अनिवार्य साबुन पानीले हात धुन पनि भनेका छन् ।

 

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमन लाल दास यी दुबै रागेको जिवाणु एक अर्काबाट सर्न नदिन भिंडभाड नगर्न र भींडमा नजान सुझाव दिन्छन् ।

 

‘भीडमा नजाऔं र हिँड्दा पनि मास्क लगाएर हिंडौं’ उनी भन्छन्, ‘यसबाट बच्न अर्काे सुरक्षित उपाय हो साबुन पानीले नियमित र अनिवार्य हात धोऔं ।’

 

यो एक प्रकारको इन्फ्लुएन्जा भएका कारण यो रोग लागेकालाई छुट्टै राखेर ध्यान पुर्‍याई उपचार गर्नुपर्ने सुझाव उनको छ । घरमा कसैलाई ज्वरो आउँदा झोलिलो कुरा बढी खान भन्दै डा. दासले शंका लागेमा तुरन्तै स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...