नागढुंगामा सुरुङ मार्ग निर्माण कार्य छिट्टै शुरू हुने, २० मिनेटमै नौबिसेबाट सीतापाइला



हाम्रो इकोनोमि

 

राजधानी भित्रिने प्रमुख नाका नागढुंगामा सवारी आवागमनको चाप घटाउन सुरुङ मार्ग निर्माण कार्य तत्काल अघि बढ्ने भएको छ ।

गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र सुरुङ मार्ग वरिपरिको जग्गाको मुआब्जा समेत निर्धारण भई काम अघि बढेको सडक विभागले जनाएको छ ।

 

यसअघि गत महिना बोलपत्र आह्वान गरिसकेको र आगामी एक महिनाभित्र ठेक्का सम्झौता हुने विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताए ।

 

उनले लोकान्तरसँग भने, ‘सुरुङ मार्ग निर्माणको मुआब्जा वितरण पनि शुरू भएको छ । निर्माण कार्यको टेन्डरको निकालेको ठीक एक महिना भयो । एक महिनाभित्र टेन्डर राख्छन् र तीन चार महिनाभित्र काम शुरू हुन्छ ।’

 

जापानी सहयोग नियोग (जाईका)को सहयोगमा निर्माण हुने सुरुङ मार्ग २ दशमलव ४५ किलोमिटर लम्बाइको हुनेछ ।

 

धादिङको नौबिसेनजिकै पर्ने सिस्ने खोलाबाट नागढुंगाभित्र फेदीमा अवस्थित बस्नेत छाप जोड्ने सुरुङ मार्ग निर्माण भएपछि काठमाडौं भित्रिन र काठमाडौंबाट बाहिरिन निकै सहज हुनेछ ।

 

सुरुङ मार्गलाई सिधै सीतापाइलासँग जोड्न लिंक रोड निर्माण हुनेछ । नागढुंगा सुरुङ मार्ग आयोजनाका लागि जाईकाले १७ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने सम्झौता भइसकेको छ ।

 

श्रेष्ठका अनुसार जापानले नेपाल सरकारलाई शुन्य दशमलव ०१ प्रतिशत ब्याजदरमा यो ऋण उपलब्ध गराएको हो । ४० वर्षभित्र तिरिसक्नु पर्ने यो ऋणको अवधि ३० वर्षको हुनेछ भने १० वर्ष ग्रेस अवधि थपिने छ ।

यो सडकका लागि नेपालमा निर्माण हुन लागेको पहिलो सुरुङ हो ।

 

यस्तो बन्नेछ सुरुङ मार्ग

सडक विभागका अनुसार सीतापाइलाबाट लिंक रोडसहित ६ किलोमिटरको यस खण्डमा सुरुङ भने धादिङको सिस्नेखोलादेखि नागढुंगाभित्र पर्ने बस्नेत छापसम्म मात्र हुनेछ ।

 

सुरुङको लम्बाइ कुल २ दशमलव ४५ किलोमिटर हुनेछ । सीतापाइला-नौबिसे सडकखण्ड पनि अहिलेको भन्दा ८ किमी छोटिनेछ ।

 

यस खण्डमा दुईवटा पुल र २ वटा कल्भर्ट निर्माण हुनेछन् । १२ मिटर चौडाइको यो सडकमा दुवैतिर १ र १ मिटरको फूटपाथ राखिने छ । सुरुङमा १४ वटा भेन्टिलेटर र जेट फ्यान जडान हुनेछन् ।

 

सरकारले सुरुङ मार्गलाई अत्याधुनिक सुविधासहित निर्माण गर्ने योजना बनाएको छ ।

यसमा दुई लेनको सडकसहित पेट्राल पम्प, सर्भिस सेन्टर लगायतका सुविधाहरू पनि राख्ने अवधारणा छ ।

 

सुरुङ मार्ग टू प्लस वान लेन मापदण्डको हुन्छ । टू प्लस वान लेन सडक खण्डमा दुबै साइडका सडक बेलाबेलामा २ लेनमा परिणत हुने र कुनैबेला वान लेनमा खुम्चने हुन्छ ।

एकपट्टिको सडक २ लेन हुँदा अर्कोपट्टिको सडक १ लेनमा परिणत हुन्छ ।

सुरुङ मार्ग निर्माणपछि २० मिनेटमै नौबिसेबाट काठमाडौं आइपुगिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...